सर्लाहीमा हुरीका कारण ६ जना घाइते
सारांश
- शुक्रबार साँझ आएको हुरीले सर्लाही जिल्लाका विभिन्न स्थानमा ६ जना घाइते भएका छन् र घर तथा सवारी साधनमा क्षति पुगेको छ।
- बागमती नगरपालिका र हरिपुर्वा नगरपालिका लगायतका स्थानमा बकाइनोको रुख ढल्दा र घरको छतबाट लड्दा व्यक्तिहरू घाइते भएका छन्।
- हुरीका कारण गोडैता नगरपालिकामा होटलमा क्षति पुगेको छ भने हरिवनमा प्रहरी कार्यालयको पार्किङमा रहेका मोटरसाइकल र पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना भएको छ।
बरहथवा । शुक्रबार साँझ आएको हुरीका कारण जिल्लाका विभिन्न स्थानमा छ जना घाइते भएका छन् । हुरीका कारण घर तथा सवारी साधनमा क्षति पुगेको छ । शुक्रबार साँझ सर्लाहीसहित तराईका विभिन्न जिल्लामा हुरी आएको थियो । हुरीका कारण कच्ची घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार हुरीका कारण बकाइनोको रूख भाँच्चिदा बागमती नगरपालिका–२ धरहराका अन्दाजी ३८ वर्षका नवराजराय क्षेत्री घाइते भएका छन् । उनको ढाडमा चोट लोको छ । घाइते क्षेत्रीलाई नमुना अस्पताल हरिवनमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । बारीमा काम गरिरहँदा एक्कासी आएको हुरीले बकाइनोको रूख भाँचिएको थियो ।
हुरीले उडाउँदा हरिपुर्वा नगरपालिका–६ निवासी ५० वर्षकी सुमीदेवी घरको छतबाट लडेर घाइते भएकी छन् । उनको हात, मुख र आँखामा चोट लागेको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ ।
हुरीका कारण रुखको हाँगा भाँचिएर लाग्दा यहाँको हरिवन नगरपालिका–५ घुर्कोली निवासी १८ वर्षका बलिराम महतो र ५२ वर्षका गङ्गाराम महतो पनि घाइते भएका छन् । उनीहरूलाई हरिपुर नगरपालिका–२ सानो जगतपुरस्थित भित्री सडक खण्डमा मोटरसाइकल चलाइरहेको अवस्थामा रुखको हाँगा झरेर लागेका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
हुरीको उडाएको जस्ता पाताले लागेर हरिवन नगरपालिका–५, घुर्कौली निवासी ७५ वर्षकी दलेमुन खातुन घाइते भएकी प्रहरीले जनाएको छ । हुरीको समयमा आफ्नै घरमा रहेको किराना पसलमा बसिरहेकी उनलाई कठघराको जस्ता उडेर लागेको थियो । उनको दायाँ आँखामा चोट लागेको छ । घाइते खातुनको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको हो ।
हुरीले सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनी गाउँको चोकमा रहेको होटलमा क्षति पुग्दा रु ६० हजार मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरीका प्रवक्ता राईका अनुसार सोही स्थान निवासी मुन्ना सिंहको जग्गामा सञ्जीव पासवानले काठ र फुसको घर बनाएका थिए । उक्त घरमा रामनगर गाउँपालिका–७, निवासी उमेश साहले भाडामा होटल सञ्चालन गरिरहेका थिए ।
हुरीले रूख लडेर च्याँपिदा हरिवन नगरपालिका–११ स्थित इलाका प्रहरी कार्यालय हरिवनको पार्किङमा रहेका तीन वटा मोटरसाइकलका क्षति पुगेको छ । रुख ढल्दा इलाका प्रहरी कार्यालयका नाममा रहेको बा एएसी ३४०९ नम्बरको मोटरसाइकल र अनुसन्धानका लागि कार्यालय परिसरमा राखिएको नम्बर नखुलेको थप दुई वटा मोटरसाइकलमा क्षति पुगेको हो ।
पूर्व–पश्चिम राजमार्गस्थित ईश्वरपुर नगरपालिका–१२ मा हुरीका कारण रूख ढल्दा सवारी दुर्घटनामा परेको छ । हावाहुरीले सडकमा ढलाएको रूख छलाउन खोज्दा बाँकेबाट लालबन्दीतर्फ आउँदै गरेको मधेस प्रदेश–०४–००१ च ०२७७ नम्बरको पिकअप गाडी सडक छेउमा पल्टिएको हो ।
दुर्घटनामा पिकअप चालक पर्सा गाउँपालिका–४ का ३५ वर्षका राजनारायण महतो घाइते भएका प्रहरीले जनाएको छ । उनको हातको औँलामा चोट लागेको छ । घाइते महतोलाई उपचारका लागि लालबन्दीस्थित स्वास्थ्य संस्थामा राखिएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण