सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

‘संगिना बागमतीको शान’
आइतबार, ०४ जेठ २०८२, २२ : १७
आइतबार, ०४ जेठ २०८२

हेटौँडा । बागमती प्रदेश सरकारले ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान गरेको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रमको आयोजना गर्दै खेलाडी प्रशिक्षक तथा पत्रकारलाई नगद सहित सम्मान गरेको हो ।

बागमती प्रदेशका जिल्लामा जन्मेर खेलकुद क्षेत्रका सक्रिय जीवन बिताएर देशको नाम उच्च बनाएको भन्दै मन्त्रालयले हेटौँडा–४ स्थित हुप्र चौरमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो ।

समारोहमा उत्कृष्ट वर्ष खेलाडी अवार्डका रूपमा महिला तर्फ कराँतेकी एरिक गुरुङ र पुरुष तर्फ खोखोका राजन बललाई सम्मान गरेको थियो । उनीहरूलाई नगद १/१ लाख रुपैयाँ सहित अवार्ड प्रदान गरिएको थियो ।

कराँतेकी खेलाडी एरिकाले २०औँ सिनियर एकेएफ च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् भने १९औँ एसियाली खेलकुदमा २५ वर्षपछि देशका लागि रजत पदक जितेकी थिइन् । 

उनले पहिलो पटक नेपाललाई करातेमा एसियन गेम्सबाट रजत पदक दिलाएकी थिइन् । उनले २ वर्षको खेल अवधिमा ८ अन्तर्राष्ट्रिय प्रतियोगिताबाट ५ स्वर्ण र ४ रजत पदक जितेकी छिन् ।

खोखो खेलका एक सदस्यका रूपमा रहेका राजन उत्कृष्ट  वर्ष खेलाडीका रूपमा पुरस्कृत भएका छन् । खोखो विश्वकपमा दोस्रो स्थान हासिल गर्दा राजन टोलीका महत्त्वपूर्ण सदस्यका रूपमा रहेका थिए । 

उनले देशका लागि १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा कांस्य पदक, सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुदमा पनि पदक प्राप्त गरेका थिए ।एथलेटिक्सका बैकुण्ठ मानन्धर र जित बहादुर केसीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड मार्फत् सम्मान गरेको थियो । उनीहरूलाई नगद १/१ लाख रुपैयाँ सहित अवार्ड प्रदान गरिएको थियो ।

बैकुण्ठले दक्षिण एसियाली खेलकुद (साग) को पहिलो, दोस्रो र तेस्रो संस्करणमा लगातार म्याराथन स्वर्ण जितेका छन् । साग म्याराथनमा सन् १९८७ मा उनले बनाएको २ घण्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमानी रेकर्ड ३८ वर्षसम्म कायमै रहेको छ ।

सन् १९७६ देखि १९८८ सम्म लगातार ४ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एक मात्रा पात्र हुन् बैकुण्ठ ।जितबहादुर नेपाली खेलकुद क्षेत्रका पहिलो पदक बाहक खेलाडी हुन् ।

१९७३ मा फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनसिपमा उनले म्याराथन दौडमा कांस्य पदक जितेका थिए । उनले खाली खुट्टा दौडिएर देशका लागि खेलेका थिए ।

समारोहमा बागमती शान अवार्डबाट तेक्वान्दोकी संगिना वैद्यलाई सम्मान गरेको थियो । वाइल्ड कार्डको भरमा ओलम्पिकमा उपस्थिति जनाउँदै आएको नेपालका लागि संगिना टनिङ्ग प्वइन्ट बनेकी थिइन् । संगिना सन्‌ २००४ को एथेन्स ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी हुन् ।

 हङकङमा आयोजित एसियाली च्याम्पियनसिपमा उनले कांस्य पदक जितेकी थिइन् । संगिनाले दक्षिण एसियाली खेलकुद (साग) मा आठौँ र नवौँ संस्करणमा स्वर्ण र दसौँमा कांस्य पदक जितेकी थिइन् ।

त्यस्तै समारोहमा उत्कृष्ट प्रशिक्षक अवार्डबाट पलेशा गोवर्द्धनका प्रशिक्षक कवि राज नेगी, उत्कृष्ट पत्रकार अवार्डबाट वरिष्ठ पत्रकार श्याम चित्रकार, लोकप्रिय खेलाडीका रूपमा फुटबलका आयुष घलान, भलिबलकी सलिना श्रेष्ठ एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई अवार्ड सहित सम्मान गरिएको थियो ।

उत्कृष्ट पारा तेक्वान्दो खेलाडी अवार्डबाट पलेशा गोवर्द्धन, युवा खेलाडी अवार्डबाट गल्फका सद्भाव आचार्य र उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष अवार्डबाट ललितपुरमा विनोद महर्जन सम्मानित भएका थिए । उनीहरूलाई जनही ५० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप