सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय
हुम्लामा पहिरो

उत्तरी हुम्लाको तिलगाउँ पहिरोले क्षतविक्षत, नागरिक राहत र उद्धारको पर्खाइमा

हिमताल फुटेर पहिरो आएको दाबी, खुला चौरमा नागरिक, खानेपानी समस्या, राज्यको उपस्थति देखिएन
आइतबार, ०४ जेठ २०८२, २१ : २३
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • हुम्लाको नाम्खा गाउँपालिका-६ को तिलगाउँ लेदोसहितको पहिरोको जोखिममा छ। हिमताल फुटेर पहिरो आएको र घरहरू जोखिममा परेका छन्।
  • पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको छ। स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा छन्।
  • अहिलेसम्म राज्यको उपस्थिति नभएको र स्थानीय सरकारको पनि सहयोग नभएको गुनासो छ। तत्काल उद्धारको लागि हेलिकप्टरको व्यवस्था गर्नुपर्ने माग छ।

सुर्खेत । हुम्ला जिल्लाको सुदूर उत्तरपश्चिम भागमा पर्ने नाम्खा गाउँपालिका—६, को तिलगाउँ पहिरोको उच्च जोखिमा छ । 

बिहीबार नै त्यहाँ लेदोसहितको पहिरो आए गाउँ जोखिमा परेको छ । खानेपानी संरचनादेखि बाटोहरू भत्किएका छन् भने घरहरू उच्च जोखिमा छन् । यद्यपि त्यो कुरा आइतबार मात्रै बाहिर आएको छ । 

जिल्ला सदरमुकामदेखि निकै टाढा पर्ने उक्त क्षेत्र गाउँपालिकाको मुकामदेखि पनि एक दिनको यात्रा गर्नुपर्ने बताउँछन्, नाम्खा—६ का वडाध्यक्ष पाल्जोर तामाङ । उनका अनुुसार गाउँभन्दा धेरैमाथि हिमतालहरू फुटेर पहिरो आएको छ । घरभित्र बस्न सक्ने अवस्था छैन भने नागरिकहरू राहत र उद्धारको पर्खाइमा छन् ।

यद्यपि अहिलेसम्म राज्यको उपस्थिति त्यहाँ हुन सकेको छैन । तिलगाउँको पछिल्लो अवस्थाबारे वडाध्यक्ष तामाङसँग रातोपाटीका पंखबहादुर शाहीले कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँगको कुराकानीको अंशः

paljor-tamang

तपाईंको वडामा पर्ने तिलगाउँ लेदोसहितको पहिरोले जोखिममा परेको खबर छ, कस्तो छ अवस्था ?

— तिलगाउँमा हो । त्यहाँ ठुलो जोखिम छ । जेठको १ गते रातिको कुरा हो । राति साढे १० बजेदेखि रहेछ । पानीपहिरो नै हो । मैले त २ गते बिहान मात्रै थाह पाएको हुँ । म हल्दी भन्ने गाउँमा बस्छु, वडा कार्यालय पनि यहीँ छ । यहाँबाट दुई घण्टा लाग्छ । अहिले बाटो भत्केर त्यहाँ पुग्न तीन घण्टा लाग्यो । तल गाउँबाट जाउँ भन्दा बाटो नै छैन । माथि उकालो चढेर गएँ ।

पहिरो भन्ने छ, कस्तो पहिरो हो, क्षतिको अवस्था कस्तो पाउनुभयो ?

— २ गतेसम्म मान्छेले यो कसरी भयो कुनै पत्तो पाएको रैनछ । पानी पहिरो त आयो, तर कहाँबाट आएछ भन्ने कसैलाई पत्तै भएन । भूगोलका हिसाबले पनि निकै अफ्ठेरो छ । हिजो (शनिबार) त्यहाँको स्थानीय ४/५ जना लेदोसहितको पहिलो आइरको स्थान खोज्दै पठायौँ । त्यसको मुख्य ठाउँमा ताल छ कि, अरु केही भएर हो कि भनेर पठाएका थियौँ । अहिलेसम्म त्यहाँका स्थानीय कसैलाई पनि केही थाह रहेनछ । साढे ८ घण्टाजति लागेर उनीहरू त्यहाँ पुगे । ५ हजार ३ सयभन्दा उचाइमा पुग्दा त्यहाँ दुई वटा तालहरू रहेको पत्ता लाग्यो । हिमताल रहेछ । दुईवटै ताल फुटेको कुरा तस्बीर खिचेर ल्याएका छन् ।

भनेको हिमताल नै फुटेको कारण गाउँमा लेदोसहितको पहिरो आयो ? 

— हजुर...! गाउँदेखि तालको छेउसम्म पुग्न ८ घण्टा लाग्यो । पठाएका केटाहरूले ताल नै फुटेर आएको र गाउँमा क्षति भएको भनेका छन् । खासका नेपाल सरकार आएर हेलिकप्टोरबाट अनुसन्धान गरेको भए हुने थियो, नआएपछि गाउँको मान्छे त्यहाँ गएर फोटो खिचेर ल्यायो । 

अहिले गाउँको अवस्था कस्तो छ ? मान्छेहरू कति छन् ?

— सबैगरी तीन सय हाराहारीमा जनसंख्या छ । तर अहिले त्यहाँ खासै मान्छे छैनन् । धेजै मान्छेहरू बाहिर गइसकेका छन् । अहिले १९ घरधुरी छ । मान्छेको संख्या ३३ जना रहेको पाएँ । मैले आफैले गणना गरेको हुँ ।

धनजनको क्षति भयो वा के छ ?

—अहिलेसम्म धनजनको क्षति केही भएको छैन । घरहरूमा पनि क्षति भएको छैन । तर घरहरू निकै जोखिममा छन् । पहिरोले खोला ३०—४० मिटर गहिरो बनाइसकेको छ, लेदोपानीले । घर नजिकै भएकाले क्षति हुने जोखिम अत्यधिक छ । दुईवटा घर त २ मिटरको दूरीमा मात्रै छ । त्यसैले जोखिम धेरै छ । 

अन्य क्षतिको अवस्था ?

—गाउँको खानेपानीको संरचना बगेको छ । गाउँको वरिपरि खेतीपाती लगाएको थियो, त्यसमा पनि उधनेको छ । अर्को बाटो नै बगाइदिएको छ । सानो तीन काठे पुल थियो, त्यो पनि बगाएको छ । अर्को पानी घट्ट बगेको छ । त्यही खोलामा पावर हाउस थियो, १५ किलोवाटको । करिब १ करोडभन्दा माथि लागतको हो । त्यो संरचना पनी भताभुङ्ग भइसकेको छ । 

अनि नागरिकको अवस्था के छ, कतै सुरक्षित स्थानमा सार्नुभयो कि ?

—नागरिकको अवस्था गाह्रो छ । उनीहरू घरभित्र बस्ने अवस्था छैन । सबै बाहिर नै चौरमा बसेका छन् । खोलाभन्दा पारि एउटा फाँट छ, त्यही बसेका छन् । त्यहाँ स्कुल पनि छ, कोही स्कुलमा सुतेका छन् । खाने कुराको खासै समस्या अहिले छैन, घरबाट लगेका छन् । मुख्य समस्या भनेको तत्कालै खानेपानीको नहुने देखियो । पानी खान नपाएर मान्छेलाई समस्या हुने भयो । खोलाको पानी धमिलो हुन्छ । 

अहिलेसम्म राज्यको उपस्थिति यहाँ छैन । कोही पनि आएका छैनन् । घटनाबारे जिल्लादेखि केन्द्रसम्म जानकारी गराएको हो । २ गते नै तुरुन्तै जिल्ला प्रशासन कार्यालयमा खबर गरेको हो । गाउँपालिकामा पनि जानकारी गराइसकेको छु । बाटोबाटो मै फोन गर्दै गएको हुँ । हिल्साबाट त्यहाँ पुलिस त आएको छ, १० जनाको । उनीहरूले विवरण संकलन गरे ।

हाम्रो चाहना हेलिकप्टर ल्याएर तत्काल नागरिकलाई उद्धार गर्नुपर्छ । नेपाल सरकारबाट हेलिकप्टोरको व्यवस्था गरेर त्यो ठाउँको अवस्थाबारे अनुगमन गर्नुपर्छ । यस्तो दुर्गम ठाउँमा कसैले उद्धार गरेको छैन । स्थानीय आफैले जानुपर्ने भयो । गाउँपालिकाको मुकाम जान धेरै टाढा छ । न गाउँपालिका आएको छ, न नेपाल सरकार आयो । जिल्लाबाट पनि आएको छैन । गाउँ बस्न लायक छैन ।

तस्बीर सौजन्यः नरजङ्ग तामाङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप