शनिबार, ०१ असार २०८१
ताजा लोकप्रिय
कला

पथरी–शनिश्चरेमा फुल्दै गरेको कला बजार

शनिबार, १३ जेठ २०८०, १७ : ०५
शनिबार, १३ जेठ २०८०

मोरङमा अवस्थित पथरी–शनिश्चरे द्रूत गतिमा विकास हुँदै गरेको नगरपालिका हो । यहाँदेखि अलि पर झापाको पुरानो अनि अलिक ठूलो दमक बजार छ । पथरी–शनिश्चरे अहिले कला, साहित्य, संगीत, दृश्य कलाको उर्वर भूमिका रूपमा परिचित बन्दै गइरहेको देखिन्छ । यस स्वच्छ सानो सहर नमुना पर्यटन स्थलका रूपमा विकास हुँदै छ । 

बिहानीपख घरअगाडि सडक सफा गर्दै गरेका आम–महिला स्वतःस्फूर्त देखिनु यहाँका लागि नौलो होइन । बस बिसौनीमा कसैले कुनै फोहोर फाले व्यवस्थित रूपमा बसिरहेका सफारी–चालक (ट्याक्सी ड्राइभर) अगाडि आई त्यहीँ व्यवस्था गरिएको डस्टबिनमा राख्न लगाउँछन् । घना वनसँगै बजार टाँसिएकाले त्यहाँ व्यवस्थित पार्क निर्माण गरिएको छ । जहाँ साँझ वा बिहानपख प्रौढ, वयस्क र बालबालिकाको भीड लाग्छ । 

महिनाको पहिलो साता धुमधामका साथ यहाँ संगीत, कला र साहित्यको सम्बोधन हुने गरी विभिन्न कार्यक्रम भइरहन्छन्, ‘एभरेस्ट आर्ट फ्युजन’को आयोजनामा । यस्तै कार्यक्रम गत पाँच वर्षदेखि गर्दै आएको अर्को निकाय छ — कला–साहित्य प्रवर्धन समिति, जुन पथरी–शनिश्चरे नगरपालिकाद्वारा कला, साहित्य, संगीत आदिलाई विकास, संवर्धन गर्न खोलिएको निकाय हो । 

गत वैशाख २४ देखि एक हप्ताका लागि यस निकायले ‘बाल साहित्यिक महोत्सव’ आयोजना ग¥यो । जसमा कला, साहित्य, नाटक, लोक–संस्कृति, नाचगान आदि अनेकौँ विधा प्रस्तुत भए । योसँगै कला लगायत धेरै विधाका सर्जकलाई सम्मान समेत गरियो ।  

1662961435292_s__01__01-08 (1)

एभरेस्ट आर्ट फ्युजन 

एभरेस्ट आर्ट फ्युजन संस्थाको परिकल्पनाकार र संस्थापक अध्यक्ष हुन्, कलाकार सरोजा खड्गी । २०६५ सालमा खुलेको यो संस्थाले धेरै हाँगालाई जन्म दिएको छ । युवालाई सक्रिय गराउन यो संस्थाको एउटा अलग्ग विङ छ, जसलाई ‘फाइभ–एट फाइभ–नाइन’ नाम दिइएको छ । यो विङअन्तर्गत नवयुवाहरू किसिम–किसिमका कार्यक्रममा संलग्न भएका देखिन्छन् । 

यस्तै अन्य संस्थाको नामै लिनुपर्दा ‘सिर्जना चौतारी’, ‘सिरामिक उद्योग’, ‘पञ्चायत फाइन आर्ट फ्याकल्टी’, ‘सेरामिक पार्क’ आदि हुन् । यी सबैबीच समन्वय र उत्तरदायी सहकार्य गराउन आर्ट फ्युजन संस्था लागिपरेको देखिन्छ । यी सबै निकायलाई सुरुमा इनिसिएसन लिने काम ‘एभरेस्ट आर्ट फ्युजन’ले ग¥यो । पछि बिस्तारै यी सबैजसो परियोजना आफैँ सबल र सक्षम हुँदै गए, अनि स्वतन्त्र रुपले काम गर्न थालेका छन् । आर्ट फ्युजनको सहयोग र सहकार्य अद्यापि कायमै छ । अहिले यस संस्थाको अध्यक्षमा भूमिप्रसाद पाठक र महासचिवमा दीपक ढुंगाना छन् । सरोजा कुनै पदमा छैनन्, तर जुनसुकै काममा सरोजाकै अग्रसरता देखिन्छ । कुनै पनि कार्यक्रम गर्दा अघि–पछि ठूलो समूहले सहयोग गरिरहेको देखिन्छ । यही नै यस संस्थाको विशेषता हो । यही प्रकृति र स्वरूपमा यो संस्था विगत १५ वर्षदेखि निरन्तर सक्रिय छ ।

कसको परोक्ष र कसको प्रत्यक्ष संलग्नता हुन्छ, यो गौण कुरा हो । तथापि पर्यटन स्थलको पूर्वाधारका रूपमा विकास हुँदै गइरहेका यी ठाउँका लागि यस्ता कार्य भइरहनुलाई शुभ संकेत मान्नुपर्छ ।

सिरामिक पार्क 

बजारछेउकै घना वनको चार बिघा जति क्षेत्रमा सिरामिकका मूर्तिहरूले सिँगारिने योजनाका साथ ‘सिरामिक पार्क परियोजना’ अगाडि बढ्दै छ । योजना अनुसार यसले काम पूरा गरे सिरामिक मूर्तिहरूले मात्रै भरिएको यो नेपालकै पहिलोे पार्क हुनेछ । 

अहिले यहाँ बन्दै गरेको यमानको टहरोजस्तो घर करिब–करिब पूरा भएको देखिन्छ । तत्कालका लागि यी मूर्ति यहाँ प्रदर्शनार्थ राखिने कार्यक्रम रहेछ । यही काम चालू रहे सिरामिक मूर्तिलाई मात्र अवलोकन गर्न सकिने यो एक मात्र कला–सङ्ग्रहालय हुनेछ । यहाँ राख्नका लागि नेपालभरका मूर्तिकारबाट सिरामिकका कैयौँ मूर्ति बनिसकेका छन्, कति बन्ने क्रममा छ । 

FB_IMG_1684316726393

पथरीस्थित पञ्चायत माध्यमिक विद्यालयमा प्लस टुमा कला पढाउन थालिएको छ । अहिले यहाँ १८–२० विद्यार्थीले कलाको आधारभूत शिक्षा ग्रहण गरिरहेका छन् । यहाँ कलाको स्नातक र स्नाकोत्तरसम्म पढाउने लक्ष्य राखिएको छ । नेपालमै ललीतकलामा स्नातक अध्ययन गर्न सकिने तीनवटा मात्र ठाउँ छन् । स्नातकोत्तर टियुबाट गर्न सकिन्छ, भर्खरै अर्को खुलेको छ केयुमा । यी सबै काठमाडौँ उपत्यकाभित्रै छन् । यसर्थ पथरीको यो कला स्कुल महत्त्वका साथ देखिन गएको छ ।

यहाँ कलाका विद्यार्थीलाई  नेपालको कला इतिहास बुझाउन अन्तक्र्रियात्मक कार्यक्रम गरिन्छ । काठमाडौँमा यस्ता कार्यक्रम हुने गरेको छैन । अहिले कलामै स्नातकोत्तर गरेर खुला रूपमा कलाकार बनिसक्दा पनि कतिले अन्य कलाकारलाई चिन्दैनन्, इतिहास पनि थाहा हुँदैन । यसो हुँदा अहिले नेपाली मौलिक कलाको पहिचानमा ठूलो चुनौती देखिन्छ । कलाका आधिकारिक निकायले यसप्रति चासो राखेको देखिँदैन । 

यसबाहेक सिरामिक कलालाई व्यावसायिक, उपयोगी र सजाउने कलाको रूपमा विकास गर्नका लागि सिरामिक उद्योग खोलिएको हो । उद्योग भएकाले स्वभावतः कामदारले काम पाएका छन् । यसले कलाको विकाससँगै अनेकौँ कुरा जोडेको छ ।

मूर्तिका कला नितान्त इन्डिजनस कला हो । मानवले यसैबाट सबैभन्दा पहिला मूर्तिकलालाई जन्म दिएको भन्ने गरिन्छ । स्वभावतः नेपाली समाजसँग यो कला गहिरोसँग गाँसिएको छ । यही कला आज विकसित रूपमा चिटिक्क परेर सिरामिक कलाको रूपमा विकास भएको हो । 

यो योजना अगाडि बढ्दै गए कालान्तरमा नेपालकै नमुना सिरामिक कलाको रूपमा विकास हुनेछ । यी र यस्तै नौला कामको परिकल्पना, योजना र इनिसियसन गर्ने एभरेस्ट आर्ट फ्युजन संस्थाको गरिमा बेग्लै छ ।  

FB_IMG_1684388365019

सरोजाको सक्रियता

सरोजाले आफ्नै बुवाआमाको नाममा ‘विष्णु–मीना ललित कला पुरस्कार’ स्थापना गरेकी छन् ।  यस क्षेत्रका चार ललितकलाकर्मीहरू यो पुरस्कारबाट सम्मानित भइसके । सम्मानित हुनेहरु हुन्– गोपाल कलाप्रेमी उपाध्याय, (चित्रकार) रुद्र वुमरुक, (मूर्तिकार) स्व.स्वयं प्रकाश श्रेष्ठ, (चित्रकार) र धु्रव डंगोल (चित्रकार) । सरोजाकै सक्रियतामा यही संस्थाबाट प्रदान गर्ने गरी अमेरिका बस्दै आएका दम्पती नवराज सुवेदी र शुभेच्छा खड्गीले ‘सावित्री–रीता साहित्यिक पुरस्कार’को स्थापना गरेका छन् । यो क्षेत्रका लागि यो एउटा अर्को उपलब्धि हो । 

सबै विधाका सर्जक बटुलेर आर्ट फ्युजन संस्थालाई क्रियाशील बनाउन सरोजाले धेरै काम गरेकी छन् । ५२ मा हिँड्दै गरेकी सरोजा मानिएकी चित्रकार हुन्, उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनी, कला कार्यशालामा भाग लिइसकेकी छन् । 

भर्खरै यही २०२३ मा उनले दुबई र बंगलादेशको भ्रमण गरिन् । दुबईमा जिआर्ट भन्ने संस्थाले ‘डेयर टु ड्रिम’ नामक थिमका साथ आयोजना गरेको कार्यक्रममा विश्वभरका एक सय १२ महिला कलाकारलाई निम्त्याएको थियो, जसमा नेपालबाट सरोजा मात्र परेकी थिइन् । त्यहाँ उनले आफ्ना कला प्रदर्शन गर्नुपर्ने कार्यक्रम थियो । हरेक राष्ट्रबाट राष्ट्रकै प्रतिनिधित्व हुने गरी कलाकार बोलाउने कार्यक्रममा सहभागी हरेकलाई ‘एम्बासडर अफ आर्ट कनेक्ट्स वुमन २०२३’ अवार्ड प्रदान गरिएको थियो । यो कार्यक्रममा महिलाको सवाललाई केन्द्रमा राखेर छलफल, बहससँगै कला प्रदर्शनी भएका थिए । 

यसै वर्ष ‘नो बाउन्ड्रिज’ थिममा भएको कला कार्यशाला र चित्रकला प्रदर्शनीमा भाग लिन उनी  बंगलादेशको ढाका पुगिन् । यसबाहेक यही साल ‘कलर्स अफ सिक्किम गान्तोक’मा पनि उनले सहभागिता जनाइन् । सन् १९९२ मै जापानको भ्रमण गरिसकेकी उनी सन् २०१३ मा भारतको दिल्लीमा भएको ‘इन्टरनेसनल सिम्पोइजम्’मा भाग लिन पुगेकी थिइन् । 

२४सै घन्टा कला, साहित्य, संगीत विधामा सक्रिय भइरहने सरोजा सिरामिक्सका कला पनि बनाउँछिन्, यसैको व्यवसाय पनि गर्छिन् । हुन त उनको पारिवारिक पेसा हो, सुन व्यापार । छाड्नै नमिल्ने अति व्यस्त व्यवसाय तर उनका श्रीमान प्रल्हाद खड्गी राम्रो सहयोगीका रूपमा पाउँदा उनी कलामा मन खोलेर लाग्न सकेकी छन् ।

जहाँसम्म उनको चित्रको शैली र प्रवृत्ति छ, उनको स्वभाव उनको सिर्जनामा जोडिएको देखिन्छ । उनी भावुक छन् । भावनात्मक, आकारलाई खेलाएर उनी लयात्मक रूपमा रङ र रेखालाई बंग्याएर कवितात्मक चित्रको निर्माण गर्छिन् । महिलाका पीरमर्का, दुखेसो, महिलाहरू महिला भएकै कारण हेपिएको विषयवस्तु उनका चित्रमा पाइन्छन् । घरको काम पनि गर्नु अनि समुदायको विकासका लागि पनि लागिपर्नु उनको स्वभाव हो, यसमा आइपरेका व्यवधानलाई उनले कलाको मुख्य विषय बनाएको देखिन्छ । समग्रमा भन्दा महिलाका मुद्दालाई सम्बोधन गर्ने खालका चित्र बनाउँछिन् उनी । यही उनको योगदानको कदर गर्दै गत वैशाख ३० मा उनलाई विशेष समारोहमा विशेष स्रष्टाको सम्मान पनि गरियो । 

DSC_0346 (1)

दमक अनि एलपी जोशी

यहाँ दमकको प्रसंग ल्याउनुको कारण अलग्गै छ । दमक बजार पथरीबाट १४ किलोमिटर टाढा छ । धनकुटामा जन्मे–हुर्केका यी बहुआयामिक प्रतिभा एलपी जोशी अर्थात् लक्ष्मीप्रसाद जोशी दमक बजारको फाल्गुनन्द चोक (उनका अनुसार यसअघि यसलाई जोशी चोक भनिन्थ्योे) मा बस्दै आएका छन् । ‘रिटिङ रिटिङ नबजाऊ बिनायो बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोला पल्लो खोला’, ‘खितिमा खिती’ आदि कालजयी लोकगीत गाएर एकताका यिनले तहल्का मच्चाएका थिए । 

लोकगीत सङ्कलन, लेखन, गायनमा उनको योगदान समान छ । ८७औँ वसन्तमा हिँड्दै गरेका उनी अचेल फेसबुकमा आफ्ना कविता साझा गर्छन्–

ओठको तिम्रो हाँसोमा
हाँसो मेरो बसेपछि
आँखामा तिम्रो नानीमा 
आँसु मेरो खसेपछि 
नौमती बाजाले नै 
पहाड, पर्वत घन्काउँछ 
घुम्टो तिम्रो खोलुँ भन्दा 
फूल पनि लजाउँछ ।

हामी जन्मेको जिल्ला एउटै– धनकुटा, जहाँ म धेरै सानो छँदा उनले राष्ट्रिय रूपमा चर्चा कमाइसकेका थिए । यो क्षेत्रका उनी आदरणीय व्यक्तित्व हुन् । मैले सानैमा यिनको बारेमा सुनेको र देखेको थिएँ । आज ५५ वर्षपछि साक्षात्कार गर्ने अवसर जु¥यो । नेपालका वरिष्ठ लोकगायक, नृत्यमा प्रखर, चित्र समेत बनाउने, कवितामा पनि पोख्त यी व्यक्तित्वलाई भेट्ने र कुराकानी गर्ने रहर थियो । 

उनले मलाई मलाई चित्रकलाबारे नयाँ जानकारी दिए । ‘मभन्दा अलि पाको पुरानो चित्रकार चाहिँ सुन्दर श्रेष्ठ सर नै होला । अलिपछि गोविन्द जोशी,’ उनले भने । उनको कुराले धनकुटामा निकै पहिलादेखि कलाको वातावरण रहेछ भन्ने लाग्यो ।

स्कुल पढ्दा मैले आजका वरिष्ठ कविवर तुलसी दिवसले राम्रो व्यक्तिचित्र बनाएको देखेको थिएँ । मेरै बुवा खगेन्द्र प्रधानाङ्ग पनि राम्रो साहित्यकार हुनुहुन्थ्यो, एलपी जोशीभन्दा अझ पहिला । एलपी जोशीकै अनुसार २००९ सालतिर खगेन्द्र प्रधानाङ्गले लेखेको नाटक ‘पुतली’मा स्थानीयवासी मरिचमान श्रेष्ठले अभिनय गरेका थिए । त्यसबेला पनि गाउँठाउँमा नाटक हुने गर्दो रहेछ । 

धनकुटामै जन्मेकी समाजसेवी वयोवृद्ध सरला कायस्थका अनुसार, धनकुटामा २००७ सालअगाडि चन्द्रलाल श्रेष्ठ, हरिमान अमात्य आदिले धनकुटाको बीच बजारमा रहेको भीमसेन थानअगाडि खुला रूपमा नाटक देखाउने गर्थे । सरला कायस्थ आफैँ धरानमा रेडक्रस सोसाइटी स्थापना गर्ने स्थापित समाजसेवी हुन् । यिनको सम्मानार्थ धरान अहिले रेडक्रस सोसाइटीले उनको स्ट्याचु बनाएर स्थापित गरेको छ । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप