एमालेमा युवाको अवस्था र अबको भूमिका
एउटा भनाइ छ, ‘यदि असल मानिस राजनीतिमा सहभागी नहुने हो भने उनीहरू खराब मानिसबाट शासित हुनुपर्छ ।’ आजको समाजलाई अग्रगमनतर्फ लैजाने मुख्य माध्यम राजनीति हो, अर्थात् वर्तमान परिवेशमा राजनीतिविना न सामाजिक विकास सम्भव छ, न त भौतिक विकास नै । सामाजिक तथा भौतिक समृद्धि र आर्थिक उन्नतिका लागि राजनीतिमा युवाको सहभागिता अनिवार्य छ । युवा भनेको कुनै उमेर समूह होइन, यसले विज्ञानसम्मत र तर्कसंगत सोचलाई जनाउँछ, जुन सोचले समयको गतिलाई समाएर युग सुहाउँदो यात्रा गर्न सकोस् ।
जैविक दृष्टिकोणले मानिसका आफ्नै विषेशता छन् । मानिसको उमेर उसको शारीरिक र मानसिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । उमेरका कारण मानिसका दैनिक गतिविधि प्रभावित भइरहेका हुन्छन् । आजको आधुनिक तथा वैज्ञानिक युगमा राजनीतिको स्वरूप फेरिँदै गएको छ । परम्परागत राजनीतिक शैली विस्थापित हुँदै गएको छ भने आधुनिक, वैज्ञानिक, गुणस्तरीय, डाटाबेस्ड तथा प्रविधिमैत्री राजनीतिक शैली विकसित हुँदै गएको छ । यस्तो किसिमको बदलिँदो परिवेश र राजनीतिक वातावरणलाई सन्तुलित र वैज्ञानिक तरिकाले डो¥याउन शरीरमा जोश, जाँगर र ऊर्जा भएको उमेर समूह आवश्यक पर्छ । त्यसैले होला, अहिले नेपालको राजनीतिमा विचारसहितका युवाको प्रत्यक्ष सहभागिता र भूमिका खोज्न थालिएको छ ।
‘युवाले जिते संसारले जित्नेछ, युवाले हारेँ सिङ्गो संसारले हार्नेछ,’ माक्र्सको यो भनाइ ठ्याक्कै नेपालको वर्तमान परिस्थितिसँग मिल्ने खालको देखिन्छ । नेपालमा पनि २०४६ सालपछिको परिस्थितिलाई विश्लेषण गर्ने हो भने धेरै ठूलाठूला परिवर्तन र आन्दोलन भएका छन्, तर ती आन्दोलनको नेतृत्व न युवालाई गर्न दिइयो, न त प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रक्रियामा युवालाई सहभागी गराइयो । केवल सत्ता र शक्ति आर्जन गर्ने माध्यम बनाएर युवालाई आन्दोलनमा व्यापक प्रयोग गरियो ।
नेपालमा भएका युगान्तकारी परिवर्तन र प्राप्त उपलब्धिमा युवाको अग्रभूमिका रहे पनि राजनीतिक नेतृत्वले युवालाई सधैँ म्यादी प्रहरी जसरी प्रयोग गरेको तितो यथार्थ हाम्राअगाडि आज पनि घामजत्तिकै छर्लंग छ ।
राजनीतिमा अग्रस्थान ओगट्नेहरूले सधैँ युवालाई भविष्यका कर्णधारका रूपमा परिभाषित गर्ने गरेका छन् । नेताहरू भ्रातृ विद्यार्थी संगठनलाई पार्टीको नर्सरीका रूपमा परिभाषित गर्छन्, तर नर्सरीमा हुर्किरहेका कैयौँ वृक्ष बुढा हुन थालिसकेका छन्, ती वृक्षका हाँगा लुत्किन थालिसकेका छन् । ती बुढा हुँदै गरेका वृक्षलाई कहिले उर्वर माटोमा सार्ने ? ती वृक्षमा फूलेका फूलको सुगन्ध देशको उन्नति, प्रगति र आर्थिक समृद्धिका लागि कहिले प्रयोग गर्ने ? नेतृत्वको ध्यान त्यतातिर केन्द्रीकृत होस् ।
माओले भनेका थिए, ‘युवाहरू यो देश तिमीहरूको हो, यो देश हाम्रो पनि हो, तर अन्तिममा यो देश तिमीहरूकै हो ।’ हामीकहाँ कतिपय कम्युनिस्ट पार्टीको नामकरण नै माक्र्स, माओ र लेनिनलाई समेटेर गरिएको छ । ती पार्टीका नेतृत्वले कहिले भन्ने हुन्– युवाहरू ! अन्तमा यो देश तिमीहरूकै हो, जाऊ, देश बनाऊ । हामी विश्राम गर्छौं । आज नेकपा एमालेमा आस्था राख्ने सम्पूर्ण युवा पंक्ति यही उद्घोषको प्रतीक्षामा छन् ।
नेपालमा भएका युगान्तकारी परिवर्तन र प्राप्त उपलब्धिमा युवाको अग्रभूमिका रहे पनि राजनीतिक नेतृत्वले युवालाई सधैँ म्यादी प्रहरी जसरी प्रयोग गरेको तितो यथार्थ हाम्राअगाडि आज पनि घामजत्तिकै छर्लंग छ । यो नै नेपाल र नेपालीका लागि सबैभन्दा ठूलो दुर्भाग्य हो । अझै पनि पार्टीभित्र महाभारतीय शैलीको राजनीति हाबी छ । युग अनुसार यो पार्टीले आफूलाई बदल्न सकेको छैन । पार्टीमा मदनको जबजलाई बोकेर केसरजङ्ग शैलीको राजनीति गर्ने तत्त्व हाबी छन्, जो चाहन्नन्, यो उर्वर माटोमा युवा पनि पोखिऊन् र देशका कुना–कन्दरामा हरियाली छरून् ।
युवा शक्ति भनेको नवीनताको पर्याय हो । युवाहरू राजनीतिक स्तम्भका रूपमा समाजको अगाडि उभिदै गर्दा जनताले उनीहरूबाट नवीन शैलीको आर्थिक, राजनीतिक र समाजिक रूपान्तरण खोजेका हुन्छन् ।
अहिलेको अवस्थामा नेपाली जनतामा युवाप्रतिको आकर्षण बढ्दै गएको छ । यसरी युवाप्रति जनतामा विश्वासको वातावरण बन्दै जानू र परिवर्तनको अपेक्षा युवाको धु्रवतिर सर्नु निकै राम्रो र सकारात्मक पक्ष हो, तर यो गम्भीर जिम्मेवारी र यति ठूलो विश्वासको पहाडलाई आत्मसात गरेर के अहिले नै हाम्रो पार्टीमा राजनीति गरिरहेका युवाले देशको बागडोर आफ्नो हातमा लिन सक्छन् त ? यो बहसको विषय हो ।
त्यसो त समस्या युवाभित्र पनि छन् । निकै लामो अध्ययन र अनुसन्धानको बाटोबाट आफ्नो विरासत नेपाली जनतामा स्थापित गरेको देशको पहिलो कम्युनिस्ट पार्टीभित्रका युवा कार्यकर्ता अध्ययन र छलफलका कार्यक्रमभन्दा पनि नेताका दैलातिर धाउन अथवा भृकुटीमण्डपमा गफ चुट्न अभ्यस्त देखिन्छन्, यसले पार्टीभित्रको बौद्धिक आन्दोलन कति कमजोर भएको छ भन्ने दर्शाउँछ । हामी के हौँ, के होइनौँ र हामी किन कांग्रेसभन्दा फरक हौँ भन्ने चेतना एमालेको पछिल्लो पुस्तामा देखिँदैन । यो खालको स्कुलिङ नेताहरूबाट पनि भएको छैन, यसले पार्टी वैज्ञानिक राजनीतिको दिशाभन्दा पनि परम्परागत राजनीतिकै बाटोमै छ भन्ने इङ्गित गर्छ । यसको निराकरणका लागि नेपालको राजनीतिमा रूचि र चासो राख्नेदेखि हरेक पार्टीबाट राजनीति गर्ने प्रत्येक युवाले आफूलाई आत्मैदेखि सुधार गर्न आवश्यक छ ।
युवा शक्ति भनेको नवीनताको पर्याय हो । युवाहरू राजनीतिक स्तम्भका रूपमा समाजको अगाडि उभिदै गर्दा जनताले उनीहरूबाट नवीन शैलीको आर्थिक, राजनीतिक र समाजिक रूपान्तरण खोजेका हुन्छन् । युवाबाट समाजमा नौलो राजनीतिक सिद्धान्त, सहिष्णुता, विचारका साथै फरक शैलीमा देशको भौतिक तथा सामाजिक विकास होस् भन्ने चाहन्छन् जनता । जनतामा आफूप्रति बढेको यो विश्वासलाई चिरस्थायी बनाउन युवाले सधैँ उन्नत सामाजिक चेत बोक्नु जरुरी छ, यसका साथै आजका युवाले पार्टी भित्र र बाहिर हुने अनियमितता, भ्रष्टाचार, नातावाद, कृपावादका विरुद्ध आलोचनात्मक चेतसहित आइपरे आफ्नै नेता विरुद्ध पनि फरक ध्रुवमा उभिन सक्ने सामथ्र्य र हैसियत बोक्नु अनिवार्य छ । कुनै पनि देशको समग्र विकासको मापन त्यो देशका युवा कति अनुशासित, सुसूचित, सभ्य र शिक्षित छन् भन्ने कुराबाट हुन्छ, त्यसैले राजनीतिमा आबद्ध हरेक युवाले समाजमा इमानदारीका साथ उच्च राजनीतिक आचरण मात्र प्रस्तुत गर्नुपर्छ, युवा जोश र युवा चेतना कहिल्यै पनि गलत काम र गलत प्रवृत्तिको ढाकछोपका लागि प्रयोग हुनुहुँदैन ।
विज्ञान प्रविधिको उल्लेख्य विकास र पछिल्लो समय आर्टिफिसियल इटिलिजेन्समा देखिएको नयाँ विकास क्रमले अहिले विश्वमा नयाँ शैलीको आर्थिक तथा सामाजिक क्रान्तिले स्थान ओगट्दै गइरहेको छ । यसले सामाजिक संरचनामा उथलपुथलको अवस्था सिर्जना गर्ने लगभग निश्चित छ । यसबाट विश्वमा आइपर्ने चुनौतीको सामना गर्न अब हाम्रोजस्तो न्यून विकसित मुलुकमा मानिस कसरी तयार रहने ? नयाँ नयाँ राजनीतिक तथा आर्थिक सिद्धान्तको निर्माण कसरी गर्ने । आज बौद्धिक युवासमूह यसमा लाग्नुपरेको छ ।
विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्न सकिन्छ ? बढ्दो प्रदूषणलाई रोक्न हामीले के गर्न सक्छौँ ? बढ्दै गरेको ऊर्जाखपतलाई वैकल्पिक ऊर्जा खपतका माध्यमबाट हामी कसरी न्यूनीकरण गर्न सक्छौँ यस्ता किसिममा विषयमा ठोस नीति निर्माण गर्नका लागि युवाले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु अहिलेको आवश्यकता हो । बेरोजगारी अहिले देशको सबैभन्दा ठूलो समस्या हो, जसले गर्दा हाम्रो दक्ष जनशक्ति ठूलो संख्यामा निर्यात भइरहेको छ । यो समस्या सम्बोधन गर्ने सवालमा अहिले राजनीति गर्ने हरेक युवा गम्भीर बन्न जसरी छ ।
देशमा कृषि र पर्यटनको निकै ठूलो सम्भावना छ, जसले देशमा विद्यमान रहेको बेरोजगारीको समस्यालाई ठूलो मात्रामा हल गर्न सक्छ, कृषि तथा पर्यटन क्षेत्रलाई अझै व्यवसायीकरण गर्नका लागि थुप्रै नीति सुधार गर्नुपर्ने र नयाँ नीतिहरू निर्माण गर्नुपर्ने छ । जसका लागि युवा वर्गले दबाब सिर्जना गर्नुपर्ने हुन्छ । युवाले यसो गर्न सके हामीले खोजेको समाजवाद, आर्थिक समृद्धि र उन्नति त्यति टाढा छैन ।
(लेखक सापकोटा अखिल नेपाल महिला संंघको केन्द्रीय सदस्य हुन् ।)