शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारमा जनताको निगरानी : को, कसरी, यति छिटो धनी भयो ?

बुधबार, १७ जेठ २०८०, ०८ : ५२
बुधबार, १७ जेठ २०८०

भ्रष्टाचारको विरोध तथा पारदर्शिता, निष्ठा र जवाफदेहिताको पक्षमा काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्ट अनुसार, विश्वमै धेरै भ्रष्टाचार हुने मुलुकमध्ये नेपाल गत वर्षभन्दा अझ चार स्थान तल झरेको छ । अघिल्लो वर्ष ११३औँ स्थानमा रहेको थियो भने यस वर्ष ११७औँ स्थानमा झरेको छ ।

उक्त अन्तर्राष्ट्रिय संस्थाले यसो हुनुको मुख्य कारणमा व्यक्तिगत स्वार्थका लागि सार्वजनिक पदहरूको दुरुपयोग हो भनेको छ । अर्को वर्ष यो तथ्यांक यसभन्दा पक्कै तल झर्ने सम्भावना छ । किनकि अहिले भर्खर पटाक्षेप भएका भ्रष्टाचारका काण्ड ज्यादै संवेदनशील छन् । नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएसँगै यो तथ्यांकमा फेरबदल हुनुका साथै यसले नेपालको अन्तर्राष्ट्रिय साख गिराएको छ ।

आज इमान, इज्जत र नैतिकतामा संकट आउँदै छ । सिङ्गो देशको विश्वसनीयता गुम्दै छ । आफ्नै देशका नागरिकलाई अनागरिक बनाई अमेरिका पठाउने जुन हर्कत भयो, यसको जति निन्दा गरे पनि कम हुन्छ । यो मानव तस्कर तथा सङ्गठित अपराध अनि देशद्रोही कार्य हो । आजभोलि मिडिया, सामाजिक सञ्जाल, सार्वजनिक स्थल जताततै हरेक मानिस भ्रष्टाचारका बारेमा बहस छलफल गरिरहेका भेटिन्छन् । हाम्रो देश कसरी आजको अवस्थामा आइपुगेछ, हामीमाथि कस्ताले शासन गरेछन्, सोझा नागरिकलाई सार्वजनिक पदको दुरुपयोग गरी कसरी मूर्ख बनाएर लुट्दा रहेछन् बल्ल थाहा पाइयो भनेर चर्चा गर्दै हुन्छन् ।

भ्रष्टाचार गर्नु अपराध हो, यो गर्नु हुँदैन भन्ने थाहा हँुदाहँुदै कसैले भ्रष्टाचार किन गर्छ र भ्रष्टाचारबारे समाजको चरित्र, धारणा र भूमिका कस्तो हुनुपर्छ, त्यसबारे केही विश्लेषण यस लेखमा गर्न चाहन्छु । 

वास्तवमा जीवनको सफलता असफलतालाई उसले कमाएको धन सम्पत्तिमा मूल्यांकन गर्ने हाम्रो समाजको गलत परिपाटीले व्यक्ति भ्रष्ट हुन मलजल गरिरहेको छ ।

आधुनिक तथा भौतिक प्रगति र उन्नतिले शिखर चुमेपछि प्रविधिको उच्चतम प्रयोगद्वारा विश्वका विकसित देश अन्तरिक्ष, चन्द्रमा, मंगल, ग्रहतिर बसाइँ सर्ने ठुल्ठुला महत्त्वाकांक्षी योजना बनाउँदै गर्दा हामी नेपाली जुन स्तरको जीवन जिउन बाध्य छौँ, त्यसको प्रमुख कारणमध्ये एक हो, हाम्रो देशमा व्याप्त भ्रष्टाचार । आज हामी भ्रष्टाचारले जरा गाडेको समाजमा बाँच्न अभिषप्त छौँ । त्यसैले भ्रष्टाचार मुक्त समाज निर्माण गर्न त्यो समाजमा रहने हरेक सचेत नागरिकको पनि अहं भूमिका हुनुपर्छ । 

जबसम्म समाजले कुनै पनि व्यक्तिको इज्जत, प्रतिष्ठा, मान–सम्मान, सफलता असफलता आदिको मानक उसले कमाउने पैसा, उसले चढ्ने गाडी, ऊ बस्ने घर, ऊसँग भएको धनसम्पत्ति, उसले बाँच्ने रवाफिलो जीवनशैलीलाई बनाउँछ, तबसम्म यस्ता भ्रष्ट आचरण र नैतिक पतनका घटनामा बढोत्तरी भइरहन्छन् । 

वास्तवमा जीवनको सफलता असफलतालाई उसले कमाएको धन सम्पत्तिमा मूल्यांकन गर्ने हाम्रो समाजको गलत परिपाटीले व्यक्ति भ्रष्ट हुन मलजल गरिरहेको छ । कुनै सम्पन्न व्यक्तिलाई हाम्रो धनुष्टङ्कारवाला नमस्कार र चाकडीबाजले उसलाई अझ भ्रष्टाचार गर्न र पैसा थुपार्नेतर्फ लालायित बनाइरहेछ । यसो गर्दा उसलाई के लाग्छ भने समाजबाट इज्जत, मान–सम्मान पाउन त मैले पैसा नै कमाउनुपर्ने रहेछ । बरु पद र शक्तिको दुरुपयोग गरेर, गुन्डागर्दी गरेर, राज्यको ढुकुटी मासेर या गलत आश्वासन र प्रलोभनमा पारेर अथवा जनता नै लुटेर किन नहोस् तर पैसा कमाउनुप¥यो । जुनसुकै मूल्य चुकाएर भए पनि, इज्जत प्रतिष्ठालाई दाउमा राखेर भए पनि धनी बन्नुप¥यो ।

एउटा छद्मभेषी अवतारवाला (बाहिर एउटा रूपमा देखिने अर्थात् सामाजिक सेवा गरेझैँ गर्ने भित्र अर्कै रूपमा काम गर्ने) बौद्धिक दरिद्रताले युक्त तर भौतिक रूपले धनी र सम्पन्न मानिस कुनै कार्यक्रममा प्रमुख अतिथि बनेर मञ्चमा सम्मानित हँुदै गर्दा एउटा बौद्धिक रूपले सम्पन्न तर आर्थिक रूपले विपन्न बुद्धिजीवी मानिस तल खाली भुइँमा त्यहीँ सम्पन्न व्यक्तिको सम्मान कार्यक्रममा ताली बझाउन बाध्य हुन्छ । विद्वान् समाजलाई मार्गदर्शन गर्ने मानिस होइन ? उसको विद्वताको खोइ समाजले कदर गरेको ? उसको बौद्धिकतालाई खोइ समाजले सम्पत्ति मानेको ? उसको क्षमतालाई खोइ प्रयोग गरेको ? विद्वता समाजको सम्पत्ति हुनुपर्ने हो नि । ‘विद्वान् सर्वत्र पुज्यतेः’ को ठाउँमा किन आज ‘धनवान् सर्वत्र पुज्यते’ जस्तै भइरहेछ । जबसम्म समाजमा भ्रष्टाचारीको पूजा गरिन्छ, अनि यस्तो समाज र देशमा विद्वान् किन बस्छ ? जहाँ उसको क्षमता र योग्यताको कदर गरिँदैन । हामी आज बौद्विक पलायनको चर्को मार खेपिरहेका छौँ । एउटा देशको विकासका लागि बौद्धिक सम्पत्ति ज्यादै महत्त्वपूर्ण हुन्छ । त्यो कम्प्युटरको प्रोग्रामिङ सफ्टवेयरजस्तै हो । एउटा युवा जोश उत्तिकै जरुरी छ, जोसँग शारीरिक श्रम गर्ने प्रचुर क्षमता हुन्छ, तर दुःखद यथार्थ यही हो कि आज देशबाट बौद्धिक व्यक्तित्व र युवा जोश दुवै असंख्य पलायन भइरहेको छ । जब देश निर्माणका लागि अति आवश्यक शक्ति विदेश पलायन हुन्छन्, अनि कसरी बन्छ देश ? विडम्बना, आज देशभित्र बिचौलिया र दलालको रजगज चलिरहेको छ । यी बिचौलिया र दलालहरू राज्यका सम्पूर्ण संयन्त्रहरू आफ्नो हातमा लिएर बिनालगानी, बिनापरिश्रम रातारात करोडौँ कमाउन सफल हुन्छन् ।

भ्रष्टाचार नियन्त्रणका लागि अब समाजले पनि फलानोले यति पैसा कमायो, ऊ त करोड पति हो, ऊसँग यति सम्पत्ति छ भनी प्रशंसाका शब्द खर्च गर्नुभन्दा यसतर्फ ध्यान दिनुपर्छ कि उसले कसरी त्यति पैसा कमायो ?

हामी बाँचिरहेको वर्तमान समय पुँजीवादी युग हो । यो व्यवस्थामा व्यक्तिले स्वतन्त्र ढङ्गले आर्थिक क्रियाकलाप गर्न पाउँछ । विश्वभरि खुला तथा बन्द व्यापार गर्न पाउँछ । धनी बन्न, पैसा कमाउन प्रयास गर्नु ठिक छ, यो गर्नु पनि पर्छ, तर नेपालका दलाल पुँजीपति वर्ग र यसका हिमायतीले जसरी जनतालाई मूर्ख बनाई चरम भ्रष्टाचार गरे, राज्य संयन्त्रहरूलाई प्रभावित पारी राज्यलाई खोक्रो बनाए, यसले गर्दा अब यसको प्रतिरोध जनस्तरमा नै हुनु जरुरी छ  । किनकि राज्य सञ्चालन गर्ने अधिकारीहरू उनीहरूसँगै मिलेमतोमा रहेको देखियो । त्यसैले अब जनता जाग्नु जरुरी छ । भ्रष्टाचारविरुद्ध दुई–चार मानिस माइतीघरमा पुगेर कराएर मात्र हुँदैन । भ्रष्टाचारीको कुनै वर्ग, जात, धर्म र देश हुँदैन । त्यसैले देशको विकासका लागि बाधक बनेको, धमिराले झैँ भित्र भित्रै देश खोक्रो बनाएको भ्रष्टाचार उन्मूलनमा सबैको एक मत एक मन हुनु जरुरी छ ।

भ्रष्टाचार नियन्त्रणका लागि अब समाजले पनि फलानोले यति पैसा कमायो, ऊ त करोड पति हो, ऊसँग यति सम्पत्ति छ भनी प्रशंसाका शब्द खर्च गर्नुभन्दा यसतर्फ ध्यान दिनुपर्छ कि उसले कसरी त्यति पैसा कमायो ? त्यसको स्रोत के हो ? उसको काम के हो ? यस्ता प्रश्न तेस्र्याउनु जरुरी छ । यसो भन्दै गर्दा कुनै व्यक्तिले रातदिन नभनी आफ्नो मिहिनेत र पसिनाले कमाएको सम्पत्तिउपर प्रश्न खडा गर्ने दुस्साहस मेरो पक्कै होइन छैन, तर कुनै व्यक्तिले सन्देहपूर्ण तरिकाले छोटै समयमा अस्वाभाविक सम्पत्ति आर्जन गरेको जस्तो लागेमा आधिकारिक निकायलाई गोप्य जानकारी दिनु जरुरी छ । उसको विगतको पृष्ठभूमि केलाई वर्तमानको जीवनयापनको शैली नियालेर हेरेमा यो थाहा हुन्छ । यस्ता छद्मभेषी अवतार (बाहिर एउटा रूपमा देखिने भित्र अर्कै रूपमा काम गर्ने) हरूको पहिचान गरी सामाजिक बहिष्कार गर्नुपर्छ ।

नैतिक आचारणहीन र स्वार्थी मानिस देश र जनताका बारेमा सोच्दैनन् । मानिसलाई थाहा छ कि भ्रष्टाचार कुकर्म हो गर्नु हुँदैन भन्ने तर भौतिक सुख–सयल र धन सम्पत्तिको अति मोहले उसलाई त्यस कुकर्मतर्फ डोहो¥याइरहेको हुन्छ । त्यसैले समाजमा बस्ने नैतिक चरित्रवान मानिसले समाजको अनि देशका लागि जिम्मेवार नागरिकको भूमिका खेल्नैपर्छ । समाजमा बस्नेहरूले पनि हरेकले हरेकलाई रखवारी र खबरदारी गर्नु जरुरी छ । अनि मात्र यसमा केही प्रगति होला, नत्र भ्रष्टाचार नियन्त्रणमा यस्तै मौसमी गफ मात्र चल्ने हुन् । सबै जुटौँ, भ्रष्टाचाररूपी काँडालाई जरैदेखि उखेलेर फालौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामप्रसाद सेढाई
रामप्रसाद सेढाई
लेखकबाट थप