शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डिभी परेपछि के के कुरामा ध्यान दिने ?

डिभी चिट्ठा पर्दैमा भिसा प्राप्त हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन
शनिबार, २० जेठ २०८०, १६ : ५९
शनिबार, २० जेठ २०८०

विश्वभरीका लगभग २० देशबाहेक अन्य सबै देशका नागरिकलाई योग्य मानिएको डिभीको भर्खरै नतिजा प्रकाशन गरिएको छ । तपाईं अथवा तपाईंले चिनेका साथी भाइहरुलाई पनि डिभी परेको हुन सक्छ । यस लेखमा डिभी परेपछि के के कुरामा ध्यान दिनु उपर्युक्त हुन्छ भनेर जानकारी दिने प्रयास गरिएको छ । 

डिभी पर्नु भनेको थप प्रक्रियाको लागि फर्म भर्न योग्य हुनु मात्र हो, डिभी चिट्ठा पर्दैमा भिसा प्राप्त हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यसैले, आफूले गरिरहेको कामलाई डिभीको भिसा प्राप्त नहुन्जेल निरन्तरता दिइरहनु उचित हुन्छ । 
डिभी भर्दा प्राप्त भएको कन्फरमेशन कोड जहीतहीं शेयर गर्नु हुन्न । किनकि। प्रत्येक वर्ष गलत नियत भएका व्यक्ति तथा संस्थाहरुले डिभी विजेताहरुलाई विभिन्न प्रकारका आर्थिक तथा मानसिक यातना दिइरहेका छन् । 

थप प्रक्रियामा जानको लागि डिएस २६० फारम भर्नुपर्ने हुन्छ । जबसम्म यो फारम भरिदैन, तबसम्म प्रक्रिया अगाडि बढ्दैन । यही फर्मको आधारमा अन्तरवार्तामा निर्णय लिइने हुँदा त्रुटिरहित तरिकाले भर्न जरुरी छ । य ियसबारे पूर्ण रुपमा जानकार हुनुहुन्छ भने आफै भर्दा हुन्छ । नभए अनुभवी व्यक्ति तथा संस्थाको सहयोग लिन उचित हुन्छ । यो फारम भर्न आवश्यक कागजात तथा जानकारीहरु निम्नअनुसार रहेका छन् ।

पासपोर्ट  

पासपोर्टलाई हालका वर्षमा त्यति महत्व दिएको पाइँदैन । केसीसीलाई पासपोर्टको कपी पठाउने नियम खारेज गरिएको छ । कतिपयको डिएस २६० भरिसकेपछि पनि पासपोर्ट हराउने, खराब हुने जस्ता समस्या देखिएका छन् । यसलाई अन्तरवार्ता सम्ममा दिदा पनि हुन्छ । तर सम्भव भएमा पासपोर्टसहित डिएस २६० भर्नु उचित हुन्छ । 

शैक्षिक प्रमाण पत्र 

डिभीको भिसा प्राप्त गर्नको लागि छानिएको वर्ष (अक्टोबरदेखि सेप्टेम्बर अन्त्य) भरिमा प्लस टु अथवा समकक्षता प्राप्त गरेका शैक्षिक कार्यक्रम उत्तीर्ण गरेको प्रमाणपत्र पेश गर्नुपर्छ । सो तह भन्दा माथिको अध्ययन गर्नु भएको छ भने सम्पूर्ण शैक्षिक योग्यतालाई फर्ममा जानकारी दिनुपर्छ ।

कामको आधारमा पनि योग्य हुन सकिन्छ । मान्यता दिइइएका कामहरुमा कम्तीमा २ वर्षको अनुभव भएमा पनि भिसा प्राप्त गर्न सकिन्छ । साधारण काम भन्दा पनि सुपरभाइजर लेभलको कामलाई मान्यता दिइन्छ ।

तर नक्कली मार्कसिटबाट भिसा प्राप्त गर्ने आश कदापि गर्नु हुन्न । सानो आशले प्रत्येक वर्ष धेरैको जेलको बास भैरहेको छ । 

पारिवारिक विवरण 

यो फर्ममा परिवारका सदस्यहरुको (श्रीमान् श्रीमती, बाबुआमा, छोराछोरी) नाम, जन्ममिति, जन्मस्थान तथा हाल बसिरहेको स्थानको पनि जानकारी दिनुपर्छ । विवाहित भएमा विवाह मिति तथा स्थानको जानकारी, पहिला विवाह भई डिभोर्स भएको, जीवनसाथीको मृत्यु भएको साथै पहिलो विवाहबाट कुनै सन्तान भएमा त्यसको पनि सही जानकारी राख्नुपर्छ । 

डिभी भर्दा गलत पारिवारिक विवरण दिइएको पाइएमा भिसा खारेज हुन्छ । 

अमेरिकी ठेगाना तथा सम्पर्क व्यक्ति 

आफूले जान चाहेको अमेरिकी ठेगाना तथा सम्पर्क व्यक्तिको नाम तथा फोन नम्वर अनिवार्य उपलब्ध गराउन जरुरी हुन्छ । स्पोन्सरको ठेगाना परिवर्तन भएमा अथवा स्पोन्सर नै परिवर्तन गर्नु परेमा समयमा नै परिवर्तन गर्नु पर्छ ।
गलत ठेगाना भएमा ग्रीनकार्ड लगायतका अन्य सरकारी कागजात हराउन सक्छ । 

कार्य अनुभव 

हाल गरिरहेको कामको संस्थाको नाम तथा ठेगाना साथै पहिला काम गरेको भए उक्त कामहरुको विवरण (कम्पनीको नाम तथा पुरा ठेगाना, काम सुरु तथा छोडेको मिति, सुपरभाइजरको नाम तथा कम्पनीको फोन नम्बर) उपलब्ध गराउनु पर्छ । 

डिभी भिसा प्राप्त गर्न प्लस टु पास भएपछि हुन्छ । काम गरेको भए देखाउने, काम नभए पनि हुन्छ । तर गलत कार्य विवरण राख्नु हुन्न । 

यात्रा तथा बसोवास विवरण 

तपाईंले आफू १६ वर्ष पुगेदेखि कुन कुन स्थानमा बस्नु भयो, उक्त स्थानको पु्रा ठेगाना, बस्न सुरु गरेको मिति तथा बस्न छोडेको मिति खुलाउनु पर्छ । कुनै स्थानमा एक वर्ष भन्दा बढी बसोबास गरेको भए उक्त स्थानको पुलिस रिपोर्ट अन्तरवार्तामा बुझाउनु पर्छ । समयमा नै प्रक्रियामा जानुपर्छ । 

सामाजिक सञ्जाल तथा सम्पर्क ठेगाना  

फेसबुक तथा अन्य सामाजिक सञ्जालको लिंक, इमेल ठेगाना, सम्पर्क नम्बर, कार्यस्थलको नम्बर आदि अनिवार्य रुपमा राख्न जरुरी छ । 

केसीसीले आवश्यक सूचना दिइएको इमेलमा पठाउँछ । त्यसैले, आफ्नो इमेल नै राख्नु पर्छ । अन्य व्यक्ति तथा संस्थाको इमेल राख्दा तपाई ठगिने जोखिम हुन्छ ।

आपराधिक विवरण  

यो भन्दा पहिला तपाईंलाई कुनै क्रियाकलापका कारणले गर्दा जेल सजाय भएको थियो भने त्यसको विवरण खुलाउनु पर्छ । 

आर्मी रेकर्ड 

जीवनको कुनै समयमा आर्मीमा काम गरेको भए उक्त कुरा खुलाउनु पर्छ ।

अमेरिकी भिसा आवेदनको जानकारी  

कुनै समयमा अमेरिकी भिसा आवेदन दिई उक्त आवेदन स्वीकृत या अस्वीकृत जे भए पनि त्यसको पूर्ण जानकारी उपलब्ध गराउनु पर्छ । 

अमेरिकी भिसाबारे जानकार लेखक गो ग्रीन ट्राभल्स् तथा गो ग्रीन ग्लोबल भिसा सर्भिसेस गोंगबुका सञ्चालक हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन रिमाल
मधुसुधन रिमाल
लेखकबाट थप