सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
भारत-पाकिस्तान तनाव : युद्धमा तत्काल विराम !
भारत-पाकिस्तान तनाव

LIVE UPDATES : भारत-पाकिस्तान तनाव : युद्धमा तत्काल विराम !

शनिबार, २७ वैशाख २०८२, १८ : ००
Live

काठमाडौँ । भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। यो दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्।

डोनाल्ड ट्रम्पले भने, 'अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफल पछि, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले तुरुन्तै र पूर्ण रूपमा आक्रमणहरू रोक्न सहमत भएका छन्। म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु।’

भारत–पाकिस्तान संघर्ष चीनका लागि कसरी अवसर बन्दै थियो ?

हङकङ । कश्मीरमा भएको पछिल्लो घटनालाई लिएर भारत–पाकिस्तानबिच भइरहेको द्वन्द्वले चीनलाई भारतसँगको प्रतिस्पर्धामा सम्भावित रूपमा महत्त्वपूर्ण खुफिया जानकारी संकलन गर्ने अवसर दिइरहेको थियो । यस युद्धमा पाकिस्तानले प्रयोग गरेका लडाकु विमान र अन्य हतियारहरूमार्फत चीनले डेटा संकलन गरिरहेको थियो ।

रक्षा विशेषज्ञ तथा कूटनीतिज्ञहरूका अनुसार, चीनको सैन्य आधुनिकीकरण अब त्यस्तो बिन्दुमा आइपुगेको छ, जहाँ उसले आफ्ना सीमास्थित चौकीहरू, हिन्द महासागरमा रहेका सैन्य वेडाहरू र अन्तरिक्षबाट पनि भारतीय गतिविधिहरूको वास्तविक समयमा नजिकबाट निगरानी गर्न सक्छ । 

सिङ्गापुरस्थित रक्षा विश्लेषक अलेक्जान्डर निलले रोयटर्सलाई भने, ‘गुप्तचरीको दृष्टिकोणबाट, यो चीनको सिमानामै भई रहेको एक दुर्लभ अवसर हो, जसमा सम्भावित मुख्य प्रतिस्पर्धी शक्ति नै संलग्न छ ।’ 

भारत र पाकिस्तानबिच एक तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमति

वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्ने र एक तटस्थ स्थानमा विभिन्न मुद्दाहरूमा वार्ता सुरु गर्ने सहमति गरेको बताएका छन् । 

रुबियोले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, ‘हामी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र  पाकिस्तानी प्रधानमन्त्री  शहबाज शरिफलाई शान्तिको मार्ग रोजेकोमा उनीहरूको बुद्धिमत्ता, विवेकशीलता र नेतृत्वको सराहना गर्छौं।’

उनले र जेडी भ्यान्सले विगत ४८ घण्टा भारतीय र पाकिस्तानी उच्च अधिकारीहरूसँग छलफल गरेका थिए। यसैगरी पाकिस्तानका उपप्रधानमन्त्री इसहाक डारले पनि पाकिस्तान र भारत तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएको बताएका छन्।

उपनिवेश विरुद्ध सँगै लडेका भारत र पाकिस्तान जुध्नु हुँदैन

युद्धको औपचारिक थालनी नै भयो भने अन्ततः भारत र पाकिस्तान दुवै मुलुकले युद्ध धान्न सक्दैनन् । बदला तथा प्रतिबदलाको शृङ्खलाले अहिलेका लागि भावनात्मक रूपमा केही प्राप्त भए जस्तो लागेता पनि त्यसले अन्ततः दुवै पक्षलाई नै क्षति पुर्‍याउँछ । यस्तो अवस्थामा रक्तपातको बदला अर्को ठुलो रक्तपातको के अर्थ हुन्छ ? 

भारत र पाकिस्तान दुवै तर्फका सम्भ्रान्तहरू आफ्नो वर्चस्व स्थापित गर्न वा कायम राख्न यस्ता द्वन्द्व प्रयोग गर्ने गर्छन् । उनीहरू यस्ता समस्या समाधान हुनुको सट्टा गरिबहरू मारिदा पनि केही फरक पर्दैन भन्ने ठान्छन् । सिन्धु नदीको पानी बाँडफाँटलाई लिएर भएको जल सन्धि असाध्यै ठुलो महत्वको सन्धि हो । 

सन् १९६० पछि भएका हरेक विवाद र युद्धको अवस्थामा पनि यो जोगिँदै आएको थियो । तर, अहिले यसलाई खारेज गरिएको छ । यसले शान्तिको बाटोमा लैजाँदैन । पानीलाई युद्धको हतियार बनाउने कामले तनाव घटाउनुको सट्टा अझै बढाउँदै लैजान्छ । यसले अझै खतरनाक नजिरको रूपमा काम गर्छ । 

भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्तापछि सहमति

काठमाडौँ । भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । भारत र पाकिस्तानले पनि यसको पुष्टि गरेका छन् । 

एएनआईको रिपोर्ट अनुसार, गोलाबारी र सैन्य कारबाही रोक्न भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्ता समेत भएको छ। आज दिउँसो दुवै देशका डाइरेक्टर जेनेरल अफ मिलिटरी अपरेसन बिच छलफल भएको र त्यसपछि युद्धविरामको सहमति भएको रिपोर्टमा उल्लेख छ । 

भारतले भन्यो– अब कुनै स्थल र हवाई आक्रमण हुँदैन

नयाँदिल्ली । भारत र पाकिस्तानबीच युद्धविराम भएको छ। भारतीय विदेश सचिव विक्रम मिश्रीले दुवै देश युद्धविरामको लागि तयार रहेको बताए । 

शनिबारको प्रेस ब्रिफिङमा उनले साँझ ५ बजेदेखि स्थल र हवाई दुबै तर्फबाट आक्रमण नहुने बताए । उनका अनुसार १२ तारिख दिउँसो १२ बजे भारत पाकिस्ताबिच वार्ता हुनेछ । 

यसअघि भारत र पाकिस्तानले एक अर्काविरुद्ध सैन्य कारबाही गरिरहेका थिए ।

युद्धविराममा सहमति जनाउँदै भारत र पाकिस्तानले ‘दूरदर्शिता’ देखाए : अमेरिका

वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानले एकअर्काविरुद्ध भएका घातक आक्रमणपछि ठूला संघर्षतर्फ उन्मुख भइरहेका बेला युद्धविराममा सहमति जनाउँदै ‘दूरदर्शिता’ देखाएको बताएका छन्।

‘भारत र पाकिस्तानका सरकारहरूले तत्काल युद्धविराम गर्ने र तटस्थ स्थलमा विविध मुद्दाहरूमा वार्ता सुरु गर्ने सहमति जनाएको यो घोषणा गर्न पाउँदा म खुसी छु ,’ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा युद्धविराम घोषणा गरेकै केही मिनेटपछि रुबियोले शनिबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

रुबियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका पाकिस्तानी समकक्षी शहबाज शरिफलाई ‘शान्तिको बाटो रोज्दै देखाएको उनीहरूको बुद्धिमत्ता, दूरदर्शिता र नेतृत्व’ को प्रशंसा गरेका छन्।

पाकिस्तानका विदेशमन्त्रीले भने, ‘तत्काल लागू हुने गरी युद्धविराममा सहमति भयो’

काठमाडौँ । पाकिस्तानका विदेशमन्त्री इशाक डारले पाकिस्तान र भारत तत्काल प्रभावकारी हुने गरी युद्धविराममा सहमत भएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको घोषणालाई डारले पुष्टि गरेका हुन्।

‘पाकिस्तानले सधैं आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा सम्झौता नगरी क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रयास गर्दै आएको छ,’ डारले एक्समा लेखेका छन्। यो अप्रत्याशित युद्धविरामको घोषणा भारत र पाकिस्तान दुबै पक्षले शनिबार बिहानसम्म एकअर्कामाथि आक्रमणको आरोप लगाइरहेका बेलामा आएको हो।

ट्रम्प भन्छन्, ‘भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भए’

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्कालै पूर्ण युद्धविरामका लागि तयार भएको दाबी गरेका छन् । 

शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले शुक्रबार राति अमेरिकाले गरेको छलफल भएपछि दुवै देश यसका लागि तयार भएको बताएका हुन् ।

‘अमेरिकाको समन्वयमा राति लामो समय भएको छलफलपछि, भारत र पाकिस्तान तत्कालै पूर्ण युद्धविराम गर्न सहमत भएको घोषणा गर्न पाउँदा म खुसी छु ।’ उनले ‘कमन सेन्स’ र उत्कृष्ट बुद्धिमत्ताका प्रयोग गरेको दुवै देशलाई बधाईसमेत दिएका छन् ।

‘पाकिस्तानलाई भारतको हमलाको जवाफ दिने पूर्ण अधिकार छ’

इस्लामाबाद । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तानलाई भारतको हमलाको जवाफ दिने पूर्ण अधिकार रहेको स्पष्ट पारेका छन् ।

बीबीसीसँग कुराकानी गर्दै उनले भने , ‘यो पाकिस्तानले भड्काएको होइन र पाकिस्तानलाई जवाफ दिने अधिकार छ। देशको सेनालाई आक्रमणको जवाफ दिने पूर्ण अधिकार छ।’

जम्मू शहरको रेहारी कोलोनीमा भएको आक्रमणमा धेरै घरहरूमा क्षति पुगेको छ । धेरै सवारी साधनका झ्यालहरू फुटेको स्थानीय मानिसहरूले बताएका छन्।

अपरेसन सिन्दूरमा कान्दाहार अपहरणका मास्टर माइन्डसहित ५ आतंकवादी मारिए : भारत

नयाँ दिल्ली । गत मे ७ मा भारतले गरेको ‘अपरेशन सिन्दूर’ मा पाकिस्तान र पाकिस्तान प्रशासित कस्मिरमा मारिएका ५ जना आतंकवादीहरुको सूची सार्वजनिक गरेको छ । समाचार एजेन्सी एएनआईले शनिबार गुप्तचर एजेन्सीहरूलाई उद्धृत गर्दै ५ आतंककारीहरूको सूची जारी गरेको हो।

मारिनेमा अबु जुन्दल, हाफिज मुहम्मद जमील, मोहम्मद युसुफ अजहर, मोहम्मद सलीम, घोसी साहब र मोहम्मद हसन खान छन्। युसुफ कान्दाहार अपहरणको मास्टरमाइन्ड थिए भने जुन्दल मुम्बई आक्रमणमा संलग्न थिए।

अप्रिल २२ मा भएको पहलगाम हमलापछि भारतले ९ वटा स्थानलाई निशाना बनाएको थियो। यी पाँच आतंकवादी सँगै मारिएका थिए वा छुट्टाछुट्टै मारिएका थिए भन्ने जानकारी सार्वजनिक गरिएको छैन।

साउदी अरबका विदेशमन्त्रीद्वारा भारत र पाकिस्तानसँग छलफल

काठमाडौँ । भारत र पाकिस्तानबिच जारी तनावका बिच साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले दुवै देशका विदेशमन्त्रीहरूसँग फोनमा कुराकानी गरेका छन्।

साउदी अरबको विदेश मन्त्रालयले राजकुमार फैसल बिन फरहानले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानका विदेशमन्त्री इशाक डारसँग भारत र पाकिस्तानबिच जारी सैन्य टकराब अन्त्य गर्ने र तनाव कम गर्ने प्रयासबारे छलफल गरेको जानकारी दिएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले साउदी विदेशमन्त्री र इशाक दारबिच भएको वार्ताको बारेमा पनि जानकारी दिँदै भनेको छ , "इशाक डारले हिजो राति भारतीय आक्रमण र पाकिस्तानको बदला लिने कारबाहीपछि क्षेत्रको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छन्। साउदी विदेशमन्त्रीले निर्दोष जीवनको क्षतिप्रति समवेदना व्यक्त गरे । साथै, पाकिस्तानको संयम र सन्तुलित प्रतिक्रियाको कदर गरेका छन् । दुई नेताहरू सम्पर्क कायम राख्न सहमत भएका छन् ।’

पूर्वाधारमा आक्रमण गरेको भन्ने पाकिस्तानको दाबी 'झूटो' : भारत

नयाँ दिल्ली । भारतका विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानद्वारा ‘भारतको पूर्वाधारमा आक्रमण’ गरेको भन्ने दाबीलाई 'झूटो' भनेका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भारतको महत्वपूर्ण पूर्वाधार, ऊर्जा प्रणाली, साइबर प्रणाली आदिमा ठूलो मात्रामा आक्रमण गरी नष्ट गरिएको दाबी पूर्णतया गलत छ।’

विदेश सचिव विक्रम मिश्रीले भने, ‘म तपाईंहरू सबैलाई अपील गर्दछु, कृपया पाकिस्तान सरकारले फैलाएको गलत कथाबाट भ्रमित नहुनुहोस्। पाकिस्तानी अधिकारीहरूले भारतले श्री अमृतसर साहिबतर्फ मिसाइल प्रहार गरेको भन्ने हास्यास्पद दाबी पनि गरिरहेका छन्। भारतलाई विभाजन गर्ने यी कमजोर प्रयासहरू असफल हुने निश्चित छ।’

अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई के भने ?

वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरसँग कुरा गरेका छन्।

भारतका विदेशमन्त्री जयशंकरले आफ्नो एक्स अकाउन्टमा मार्को रुबियोसँगको कुराकानीको बारेमा जानकारी दिएका छन् । उनले भने, ‘आज बिहान मैले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी गरेँ। भारतको अडान सधैँ संयम र जिम्मेवार रहेको छ र भविष्यमा पनि यस्तै रहनेछ।’

यससँगै अमेरिकाले जयशंकरसँगको वार्ताबारे विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग कुरा गरेका छन्। विदेशमन्त्री रुबियोले दुवै पक्षले एकअर्कासँग प्रत्यक्ष कुराकानी गर्ने तरिकाहरू खोज्नुपर्नेमा जोड दिएका छन्, ताकि तनाव कम होस् र कुनै भ्रम नहोस्।’

श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई आक्रमण भयो : कर्नेल सोफिया कुरेशी

नयाँ दिल्ली । कर्नेल सोफिया कुरेशीले शनिबार एक पत्रकार सम्मेलन गर्दै शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानसँगको सीमामा भएको सैन्य कारबाहीबारे जानकारी दिएकी छन् ।

उनले भनिन्, ‘पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधिहरू जारी राखेको छ। नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलाबारी भएको छ। श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो, जसमध्ये धेरैजसोलाई विफल पारिएको थियो।’

कर्नेल कुरेशीका अनुसार पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरणहरूलाई क्षति पुर्‍याएको छ। बिहान १:४० बजे पञ्जाबको सैन्य अड्डामा उच्च गतिको क्षेप्यास्त्र प्रहार गरिएको उनले बताइन् । भारतले यो क्षेप्यास्त्रलाई निष्क्रिय पारेको कर्नेल कुरेशीको दाबी छ।

भारतले भन्यो - पश्चिमी सीमामा ड्रोन आक्रमण गरियो

नयाँ दिल्ली । भारतीय सेनाले शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानले आफ्नो पश्चिमी सिमानामा आक्रमण गरेको बताएको छ। भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालयले पश्चिमी सीमामा पाकिस्तानबाट ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर आक्रमण भइरहेको बताएको हो।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ , ‘आज बिहान ५ बजे अमृतसरको खासा क्यान्टमाथि धेरै सशस्त्र ड्रोनहरू उडिरहेको देखिएको थियो। हाम्रो वायु रक्षा प्रणालीले तिनीहरूलाई विफल पारेको छ। भारतको सार्वभौमसत्ता उल्लङ्घन गर्ने र आफ्ना नागरिकहरूलाई खतरामा पार्ने पाकिस्तानको प्रयास स्वीकार्य हुन सक्दैन।’

india pak war

कश्मीर : भारत–पाकिस्तानबिच आजसम्मका तनाव शृङ्खला

भारतले गत बुधबार पाकिस्तानमा क्षेप्यास्त्र आक्रमण गर्‍यो । दुई हप्ता अघि विवादास्पद कश्मीर क्षेत्र अन्तर्गत भारतको नियन्त्रणमा रहेको कश्मीरको भूभागमा भयानक आतङ्ककारी हमला भएको थियो । आपसमा प्रतिद्वन्द्वी रहेका भारत र पाकिस्तानबिच यो हमलाले थप आक्रामकता बढायो ।

यही हमलाको केही समयपछि भारतले पाकिस्तानमा क्षेप्यास्त्र प्रहार गरेको हो । पाकिस्तानी अधिकारीहरूका अनुसार ३० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । साथै पाकिस्तानले ‘आफैँले रोजेको स्थान र समयमा’ यसको जबाफ फर्काउने घोषणासमेत गरेको छ ।

भारतले अप्रिल २२ मा कश्मीरमा भएको हमलाको बदला लिएको बताएको छ । कश्मीरमा भएको हमलामा दुई दर्जनभन्दा धेरै सर्वसाधारण मारिएका थिए । मारिनेहरूमा अधिकांश हिन्दु पर्यटक थिए । भारतका अनुसार त्यो हमलाका पछाडि पाकिस्तानको हात छ । पाकिस्तानले भने पटक–पटक भारतीय दाबीको खण्डन गर्दै आएको छ ।

पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु

जम्मू । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएका हुन् । 

उनले लेखेका छन्, ‘राजौरीबाट दुखद खबर ! हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौँ। हिजो मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिएका थिए ।’

उमर अब्दुल्लाहका अनुसार राजौरी सहरमा पाकिस्तान तर्फबाट गोलाबारी भइरहेको छ। उनले लेखेका छन्, ‘आज पाकिस्तानले गरेको गोलाबारीबाट राजौरी सहरलाई निशाना बनाइएको थियो। यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बनाइयो । आक्रमणमा उनको मृत्यु भयो।’

भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह

काठमाडौँ । जी-सेभेन देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्। यो अपिल दुई देशबिच तनाव बढिरहेको बेला आएको हो।

क्यानडाले जारी गरेको विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। यसका साथै, जी-सेभेन देशहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन्।

जी-सेभेनको विज्ञप्तिमा भनिएको छ, ‘हामी चाहन्छौँ दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढुन्।’

पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण

काठमाडौँ । भारत–पाकिस्तानबिचको तनाव तीव्र भइरहेका बेला पाकिस्तानले सञ्चालन गरेको ‘अपरेशन बुनयान-उन-मरसूस’ अन्तर्गत भारतका विभिन्न प्रमुख पूर्वाधार र सैन्य संरचनाहरूलाई निशाना बनाइएको दाबी गरिएको छ।

पाकिस्तानी राज्य सञ्चालित मिडिया र सुरक्षा स्रोतहरूका अनुसार निम्नलिखित स्थानहरूमा आक्रमण भएको बताइएको छ:

तर पाकिस्तानले दाबी गरेको यो कारवाहीबारे भारत सरकारले आधिकारिक प्रतिक्रिया जनाएको छैन । डनन्युज

पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्‍यो

काठमाडौँ । भारत र पाकिस्तानबिचको सैन्य तनाव चुलिँदै जाँदा दुवै देशले आफ्नो हवाई क्षेत्र तथा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेका छन्।

स्थानीय समय अनुसार राति करिब ३:१५ बजे पाकिस्तानका तीन वटा हवाई बेसमा भारतीय वायुसेनाले हमला गरेको दाबी पाकिस्तानी पक्षले गरेको केही समयपछि पाकिस्तानको विमानस्थल प्राधिकरणले आफ्नो हवाई क्षेत्र बिहान १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

यसैबिच केही क्षणअघि भारतको विमानस्थल प्राधिकरणले पनि उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थलहरू १५ मे बिहानसम्मका लागि बन्द गरिने घोषणा गरेको छ। दुवै देशका एयर स्पेस बन्द हुँदा हवाई यातायातमा व्यापक असर पर्ने अनुमान गरिएको छ। बीबीसी

भारतविरुद्ध आक्रमणको घोषणालगत्तै पाकिस्तानी प्रधानमन्त्रीले बोलाए कमान्ड प्राधिकरणको बैठक

काठमाडौँ ।  पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रिय कमान्ड प्राधिकरणको बैठक बोलाएका छन् । भारतविरुद्ध 'अपरेसन बानयन मर्सस' सुरु गरे लगत्तै उनले प्राधिकरणको बैठक बोलाएका हुन् । 

राष्ट्रिय कमान्ड प्राधिकरण पाकिस्तानको सर्वोच्च निकाय हो जसले देशको आणविक हतियारको उत्पादन, नियन्त्रण, सुरक्षा र प्रयोगको निरीक्षण गर्दछ।

यो प्राधिकरण २००० मा स्थापित भएको थियो। यसको उद्देश्य आणविक हतियारहरू कडा र व्यवस्थित रूपमा प्रयोग गरिएको सुनिश्चित गर्नु थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया