देवानगञ्ज : कृषि क्रान्तिको भूमि, जहाँ एक कट्ठा जमिन पनि छैन बाँझो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको केन्द्रस्थित मुख्य बजार आसपासका अन्य बजारभन्दा चाँडै ब्युँझिन्छ । उज्यालो नहुँदै त्यहाँ साना–ठुला मालवाहक गाडीहरूको ताँती नै लाग्छ । गाडीको आवाज, मानिसको चहलपहलले बजारका मात्रै होइन, आसपासका मानिसहरू पनि चाँडै ब्युँझिन्छन् । प्रत्येक दिन बिहान ४ बजेदेखि व्यापारी र तरकारी किसानको चहलपहल सुरु हुन्छ ।
कृषकहरू साँझ टिपेर राखेको तरकारी बोराका बोरा लिएर बजारमा विक्रीका लागि आउँछन् । व्यापारीहरू तिनै किसानसँग तरकारी खरिद गरेर देश दुनियाँमा पुर्याउन त्यहाँ पुग्छन् ।
त्यहाँ पुग्दा तरकारीका अनेक आइटमको किनबेच भइरहेको देखिन्छ । किसानलाई व्यापारीले खनखन पैसा गनेर दिन्छन् भने व्यापारीले तरकारी पूरै ठेक्का लिएर जान्छन् । सयौँको सङ्ख्यामा किसान र व्यापारी पुग्ने यो बजार बिहानको ११ बजेसम्म लाग्छ । त्यसपछि दिनभर सुनसान हुन्छ ।
यो बजारमा भारतीय तरकारी आउँदैन । त्यहाँ स्थानीय किसानले उत्पादन गरेको तरकारीको मात्र किनबेच हुन्छ । ‘देवानगञ्ज लोकल बजार हो । खेतबाट टिपेर बजार ल्याउँछौँ । देवानगञ्ज बजारमा बाहिरबाट व्यापारी आउँछन् । उनीहरू स्थानीय किसानसँग तरकारी खरिद गरेर काँकडभिट्टा, गाईघाट, दमक, इनरुवा, इटहरी, धनकुटा, धरान जान्छन्,’ ६ नम्बर वडाका किसान विद्यानन्द मेहताले भने ।
देवानगञ्ज बजारमा साना किसानले आफ्ना तरकारी बेच्न ल्याउँछन् । यहाँ थोरै परिमाणमा उब्जनी गर्ने किसानले आफ्ना उत्पादन खेतबारीबाट टिपेर ल्याउँछन् र बेच्छन् ।
त्यही पालिकाका ठुला र व्यावसायिक किसानको तरकारी किनबेचको अर्कै समय छ । धेरै फलाउने किसानको खेतबारीबाटै व्यापारीले तरकारी किनेर लान्छन् । ‘ठुला किसानहरू दिउँसो ३ बजेदेखि तरकारी टिप्न खेतमा पस्छन् । बेलुका ७ बजेसम्ममा टिपिसक्छन् । व्यापारीले राति १२ बजेसम्म गाडीमा लोड गर्छन् । ती गाडी राति नै तरकारी लिएर जान्छन्,’ स्थानीय व्यापारी विशुनलाल मेहताले भने ।
मेहताका अनुसार त्यसरी तरकारी लिएर जाने गाडीहरू काँकडभिट्टा, जनकपुर, धरान, विर्तामोडको थोक बजारमा बिहान ४ बजेसम्ममा पुगिसक्छन् । ४ बजेदेखि बिहानको १० बजेसम्ममा त्यहाँको बजारमा पनि तरकारी सकिन्छ । मेहताले भने, ‘त्यसपछि फेरि अर्को दिनको काम सुरु हुन्छ । किसानलाई हामी नगद दिन्छौँ । व्यापारीले पनि हामीले लगेर बेच्ने ठाउँका व्यापारीले पनि नगद नै दिन्छन् । आजको तरकारीको पैसा भोलि, भोलिको तरकारीको पैसा पर्सि गरेर किसानले पैसा पाउँछन् ।’
कोशी प्रदेशको राजधानी विराटनगरबाट झण्डै १३ किलोमिटर टाढा छ सुनसरीको देवानगञ्ज गाउँपालिका । देवानगञ्ज गाउँपालिकामा एक कट्ठा पनि जग्गा बाँझो छैन ।
‘हाम्रो बारी वर्षभरिमा एक महिना पनि खाली हुँदैन,’ देवानगञ्जका किसान विद्यानन्द मेहता भन्छन् । सुनसरीको दक्षिणी सिमानामा अवस्थित देवानगञ्ज गाउँपालिकामा पुग्नासाथ आँखा जुधाउने हरियो परिदृश्यले पाहुनालाई स्वागत गर्छ ।
टाढैबाट देखिने हरिया फाँटहरू, लहलह फल्दै गरेका बालीनाली र व्यस्त किसानहरूको दृश्यले समृद्धिको झल्को दिन्छ । देशका धेरैजसो स्थानमा जमिन बाँझो राख्ने प्रचलन बढेको भन्दै सरकारीस्तरबाट चिन्ता व्यक्त हुने गरेको छ तर, देवानगञ्जमा त्यस्तो छैन ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले भने, ‘यहाँका किसानहरू धेरै मेहनती हुनुहुन्छ । जमिनबाट वर्षमा चार बालीसम्म उत्पादन लिइरहनुभएको छ । उहाँहरूलाई कसैसँग बोल्ने र अनावश्यक काममा एक–दुई घण्टा समय खर्चिने फुर्सदसम्म छैन ।’
‘देवानगञ्ज कोशी प्रदेशमै सबैभन्दा धेरै तरकारी उत्पादन हुने गाउँपालिका हो,’ गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले गर्वका साथ भने । यहाँ उत्पादन भएको तरकारीले प्रदेश राजधानी विराटनगरको झण्डै ७० प्रतिशत हरियो तरकारीको माग पूरा गर्ने उनको दाबी छ ।
त्यतिमात्र होइन, देवानगञ्जको तरकारी इटहरी, धरान, बिर्तामोड, काठमाडौँ, काँकडभिट्टा, गाईघाट, दमक, इनरुवा, धनकुटा, र पोखरासम्म पुग्ने उनले बताए ।
किसानको अथक मेहनत
देवानगञ्जको सफलता पछाडि कुनै जादु छैन । यहाँका किसानहरूको अथक परिश्रम र समर्पण छ । विकु मेहताको कथा प्रेरणादायी छ, जसले आफ्ना बुबाले दिएको ८ कट्ठा जमिनबाट तरकारी खेती सुरु गरी आज ८ बिघा जमिनमा उत्पादन गर्दैछन् । यो सफलता उनकै मेहनतको फल हो ।
देवानगञ्ज–६ का अमर हिटलर नेपोलियन सरोसद मेहता ८–१० कट्ठामा तरकारी खेती गर्छन् र वार्षिक ५ लाखसम्म नाफा कमाउँछन् । यस्ता सयौँ किसानको मेहनतले नै देवानगञ्जलाई कृषि क्रान्तिको अग्रणी केन्द्र बनाएको छ ।
यहाँ महिलाहरूको योगदान पनि उल्लेखनीय छ । देवानगञ्ज–६ की हिरा मेहता महिला कृषि सहकारीको अध्यक्ष छिन् । ‘तरकारी लगाउने र टिप्नेदेखि सबै काम महिलाले गर्छन् । गोड्ने र रोप्ने ९९ प्रतिशत काम महिलाले गर्छन् । तरकारी खेतीलाई नराम्रो कसैले भन्न सक्दैन,’ उनले भनिन्, ‘तरकारी खेती गरेरै हामी अगाडि बढेका छौँ । ठुलाठुला बिल्डिङ बनाएका छौँ ।’
मेहताका अनुसार पुरुषको काम बजार खोज्ने र तरकारी लोड–अनलोड गर्ने हो ।
देवानगञ्जको कृषि प्रणाली अत्याधुनिक पनि बन्दै गएको छ । यहाँका किसान दिउँसो ३ बजेदेखि तरकारी टिप्न थाल्छन् र बेलुका ७ बजेसम्म टिपिसक्छन् । व्यापारीहरूले राति १२ बजेसम्म गाडीमा लोड गर्छन् र ती गाडी मध्यरातमै तरकारी लिएर विभिन्न बजारतर्फ लाग्छन्, ताकि बिहान ४ बजेसम्म थोक बजारमा पुगिसकुन् ।
‘३६५ दिन नै गाडीमा लोड गरेर तरकारी पठाउँछौँ । हामी बजारको भाउ बुझेर किसानलाई उचित मूल्य दिन्छौँ र प्रतिकिलो २ रुपैयाँसम्म कमिसन लिएर बाहिरको व्यापारीलाई बेच्छौँ,’ किसान तथा तरकारी व्यापारी रामदेव यादव भन्छन् ।
- समस्याको चाङ
देवानगञ्जको सफलताको कथामा कालो बादल पनि छन् । मूल्य अस्थिरता देवानगञ्जका किसानहरूको सबैभन्दा ठुलो समस्या हो ।
‘किसानको लगानी नै प्रतिकिलो १०–१२ रुपैयाँभन्दा बढी पर्छ, अनि बजारमा ३ रुपैयाँमा गोलभेंडा बेच्नु परेपछि कसरी कृषि गर्न सकिन्छ ?’ गाउँपालिका अध्यक्ष मेहता भन्छन् ।
अहिले पनि मलखादको अभाव छ । किसानले मल पाउन सकेका छैनन् । यहाँ तरकारी खेतीको प्राविधिक समस्या छ । प्रत्येक वडामा एक जना जेटीए चाहिने स्थानीय विशेश्वर मेहताको भनाइ छ । उनले भने, ‘कतिपय अवस्थामा एक्कासी रोग आउँछ । त्यसबाट तरकारी कसरी बचाउने ?’
यहाँ काम गर्ने मजदुरको पनि अभाव छ । मजदुर पाए पनि महँगो रहेको अगुवा किसान रामवृक्ष मेहता बताउँछन् । सीमापारबाट आउने तरकारीका कारण स्वदेशी तरकारी उत्पादक किसान समस्यामा परेका छन् । त्यसलाई रोक्नु पर्ने किसानको माग छ ।
किसानले उत्पादन गरेको तरकारी निकासीमा पनि समस्या छ । देवानगञ्जमा फलेको तरकारीलाई प्रहरीले भारतीय तरकारी भनेर बाटोमा दुःख दिने गरेको किसानको गुनासो छ । ‘बाटोमा गएर प्रहरीले समातेर यो भारतबाट आएको हो भन्छ । अनि बिचमा समातेर भन्सारमा पुर्याइन्छ,’ एक स्थानीय किसान गुनासो गर्छन् ।
सरकारी पक्षबाट देवानगञ्जका किसानहरूलाई सहयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन भएको दाबी गरिएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेल भन्छन्, ‘हामीले स्थानीय तहमार्फत व्यावसायिक तरकारी खेतीका लागि कृषि बजार सेड निर्माण गरेका छौँ । सिँचाइ सुविधा उपलब्ध गराउन स्यालो ट्युवबेल बाँड्नका लागि सशर्त अनुदान पठाएका छौँ । यो आर्थिक वर्षदेखि कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम सञ्चालन गरेका छौँ ।’
यद्यपि धेरै किसान यी कार्यक्रमको प्रभावकारितामा प्रश्न उठाउँछन् । देवानगञ्ज गाउँपालिका–२ का वडा अध्यक्ष जगनारायण मेहताले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम लागु भएको थियो तर, त्यो कागजमै सीमित भयो । देवानगञ्जमा पठाएको भनिएको मलमा पनि ५० प्रतिशत कमिसनमा जाने गरेको छ ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना देशभर बद्नाम भएजस्तै देवानगञ्जमा पनि बद्नाम भएको देखियो । परियोजनाले गरेको लगानी स्वार्थप्रेरित रहेको तल्लो तहका किसानहरू बताउँछन् । त्यहाँका किसान भन्छन्, ‘वास्तविक किसानले अनुदान पाएको छैन । कागज मिलाउनेले मात्रै पाएका छन् । जसको पहुँच भयो, त्यसले मात्रै अनुदान पाउँछ ।’
अहिले फर्मवालाले मात्रै अनुदान पाउने भनिएको किसानको गुनासो छ । वास्तविक किसानले फर्म दर्ता गरेकै नहुने उनीहरू बताउँछन् । उनीहरूको प्रश्न छ– कागज मिलाउन जानु कि तरकारी खेती गर्नु ?
किसानले उत्पादन गरेको वस्तुको न्यूनतम मूल्य निर्धारण गरेर सरकारले प्रोत्साहन गर्नुपर्ने स्थानीय किसान परमानन्द मेहता बताउँछन् । किसानको वर्गीकरण गर्नुपर्ने उनीहरूको माग छ । विक्री नभएको तरकारीबाट वैकल्पिक वस्तु उत्पादन गर्ने सिप, ज्ञान र प्रविधि सरकारले सहयोग गर्नुपर्ने हिरा मेहताको भनाइ छ ।
‘तरकारी खेती गर्दा महिलामा प्राविधिक ज्ञान कम छ । हामीलाई आवश्यक ज्ञान र सिप दिने व्यवस्था गर्नुपर्छ,’ उनी भन्छिन् ।
देवानगञ्जमा तरकारीको ठुलो बजार रहे पनि कोल्ड हाउसको व्यवस्था छैन । मेसिनरीको व्यवस्थापन भयो भने मजदुर अभाव हट्छ । सरकारले आधुनिक मेसिन भित्र्याउन पहल गर्नुपर्ने किसानको माग छ ।
७ नम्बर वडाकी स्थानीय ललितादेवी यादवको पीडा अर्कै छ । ‘महिलालाई बैंकहरूले ऋण दिँदैन । हामीलाई पत्याउँदैनन् । सरकारले हामीलाई जानकारी पनि दिँदैन । के–के कार्यक्रम आयो, वडा र पालिकाले पनि जानकारी दिँदैन,’ उनले भनिन् ।
देवानगञ्ज कृषि क्षेत्रको एक सफलताको नाम हो । यहाँका किसानहरूको अथक परिश्रम, लगनशीलता, र दृढता प्रेरणादायी छ । तर साँचो क्रान्तिका लागि अझै धेरै काम गर्न बाँकी छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले देवानगञ्ज जस्ता कृषिप्रति लगाव राख्ने किसानहरू भएको ठाउँमा गुणस्तरीय उत्पादन बढाउन अधिकतम् सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
- तथ्याङ्कमा देवानगञ्ज
आर्थिक वर्ष २०८०/०८१ मा सुनसरीमा ८ हजार १५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती भएको थियो । त्यस क्षेत्रमा जम्मा १ लाख ५ हजार १५२ मेट्रिक टन तरकारी उत्पादन भएको तथ्याङ्क छ । सुनसरीको यो क्षेत्रमा भएको तरकारी उत्पादन प्रतिहेक्टर क्षेत्रफलमा १२ दशमलव ९० मेट्रिक टन हो ।
देवानगञ्ज गाउँपालिकामा मात्रै आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्क अनुसार ६ हजार ९६७ हेक्टर क्षेत्रफलमा तरकारी खेती भयो । जसमा विक्रीयोग्य तरकारी उत्पादन ६४ हजार ६७९ मेट्रिक टन छ । उत्पादकत्व भने प्रतिहेक्टर २० दशमलव १८ मेट्रिक टन छ ।
पालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार पालिकामा जम्मा ७ हजार ८०५ घरधुरी संख्या छ । ४ हजार १४४ घरधुरी त तरकारी खेतीमा अर्थात् कृषि कर्ममा जोडिएको छ । यस पालिकामा आलु १ हजार ३८४, उखु ५१३ र जुट ५४९ हेक्टर क्षेत्रफलमा उत्पादन हुन्छ । आलु, उखु र जुट नगदेबालीका साथै औद्योगिक बाली पनि हो ।
यस पालिकामा तरकारी बालीमा काउली, बन्दा, ब्रोकाउली, टमाटर, मुला, रायो साग, गाजर, सलगम, खुर्सानी, भिण्डी, भाण्टा, प्याज, करेला, परवल, घिरौला, चिचिण्डो, लौका, सजिवन, धनिया पात, पालुङ्गो, चमसुर, लट्टे साग, मेथीको साग, पिँडालु, तरुल र ओल उत्पादन हुने गरेको छ । देवानगञ्जका गडेरी पाल समुदायका किसानहरूले पुर्ख्यौैली पेसाका रूपमा भेंडा पालन पनि गर्दै आएका छन् । त्यसका अलावा वडा नम्बर ७ मा भैंसी पालन अत्यधिक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो
-
तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु
-
यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
चार वायुको सक्रियता कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा