बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओडिशा रेल दुर्घटनामा षड्यन्त्रको पनि शङ्का

सोमबार, २२ जेठ २०८०, १० : ३४
सोमबार, २२ जेठ २०८०

रेलवे बोर्डले ओडिशाको बालासोरमा भएको रेल दुर्घटनामा सीबीआई जाँचको सिफारिस गरेको छ । रेलमन्त्री अश्विनी वैष्णवले आइतबार भुवनेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।

द हिन्दुमा प्रकाशित रिपोर्टका अनुसार रेलवे बोर्डले ‘सिग्नलमा गडबडी’ लाई दुर्घटनाको मुख्य कारण मानिएको जनाएको छ । यो रेल दुर्घटनामा २७५ जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

रेलवे बोर्डले ‘षड्यन्त्र’ लाई अस्वीकार नगरिएको बताएको छ । आइतबार साँझ भुवनेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै वैष्णवले भने, ‘परिस्थिति र हालसम्म प्राप्त प्रशासनिक जानकारीलाई ध्यानमा राख्दै रेलवे बोर्डले यो दुर्घटनाको सिबिआई अनुसन्धानको सिफारिस गर्छ ।’

रेल मन्त्रीले रेलवे सुरक्षा आयुक्तले अनुसन्धान पूरा गरी दुर्घटनाको मूल कारण ट्र्याकको यस भागमा रहेको इलेकट्रोनिक इन्टरलकिङ र अपरेसनल सिग्नल प्रणालीमा समस्या रहेको पत्ता लगाएको पनि जानकारी दिए ।

यसका लागि जिम्मेवार व्यक्तिको पहिचान भइसकेको पनि रेलमन्त्रीले बताए । यसैबीच, रेलवे बोर्ड सदस्य जया वर्मा सिन्हाले पनि षड्यन्त्रको सम्भावनालाई अस्वीकार नगरेको बताएकी छिन् ।

सिन्हाले भनिन्, ‘दुर्घटनापछि सबैभन्दा पहिले कोरोमण्डल एक्सप्रेसका लोको चालकसँग कुरा भएको थियो । उनले मेन लाइनको लागि ग्रिन सिग्नल पाएको र तीव्र गतिमा रेल यहाँबाट गुज्रिएको बताए । चालक हाल अस्पतालमा छन् र उनको अवस्था नाजुक छ ।’

मानवीय हस्तक्षेपबिना यो सिग्नल प्रणालीमा गडबडी हुन नसक्ने उनले जोड दिइन् ।

गृह मन्त्रालयका अधिकारीको एक समूहले पनि घटनास्थलको भ्रमण गरेको छ र रेलवे अधिकारीसँग चर्चा गरेको छ ।

रेलवेमा सिग्नल व्यवस्थाका मुख्य कार्यकारी निर्देशक संदिप माथुरले द हिन्दुसँग भने, ‘त्यस रातको डिजिटल रेकर्डबाट अहिलेसम्म जे जति पत्ता लागेको छ, त्यस अनुसार जुन सिग्नल पठाइएको थियो त्यो पूर्ण रूपमा ठिक थियो र आशा गरे अनुसारकै थियो । तर पनि दुर्घटना भयो र अब कहाँ निर कुरा बिग्रियो भनेर पत्ता लगाउनु छ ।’

यस्तै एक वरिष्ठ रेलवे अधिकारीले इन्टरलकिङमा गडबडी हुनु एउटा ठुलो कुरा हो । यसका दुई कारण हुन सक्छन् – या त यसमा छेडछाड भएको छ वा यसको सफ्टवेयर वा हार्डवेयरमा त्रुटि छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप