शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
संस्मरण

बुबाको सम्झना

शनिबार, ०२ असार २०८०, १० : ३२
शनिबार, ०२ असार २०८०

“लोकबहादुरले कुखुरा पाल्न थालेछ  । अब बिहान बिहान अण्डा ल्याएर खुवाउनु पर्यो । यो त सधैँ दुब्लो भयो । अरु कति मोटाघाटा छन् ।” बुबाले भन्नुहुन्थ्यो । 

अनि, झोला लिएर लोकबहादुर दाईको घरमा जानुहुन्थ्यो । 

“बाहिर नै पकाउने होला नि ?” आमाले भन्नु हुन्थ्यो । 

“चुलामा नलगे त भयो, तल्लो अगेनामा पकाए हुन्छ, मासु हैन ।” हजुरआमाले भन्नु भयो । 

यसरी मेरो मायाले घरमा पहिलो पटक अण्डा भित्रिएको थियो । वन नभएको परिवार ,भैंसी दुईवटा पाल्न कठिन थियो । प्रत्येक बर्ष बाली गए पनि चार महिना दूध सुक्थ्यो घरमा । 

बुबालाई हरदम मेरै चिन्ता हुन्थ्यो । छिमेकीलाई भन्नु हुन्थ्यो, “पुगे एक माना, नपुगे पाँच मुठी भए पनि दूध देउ है जेठा ? त्यसै नखाएको चरा जस्तो छ यो त ठाडै सुक्छ ।” 

बुबाले ठूलो वर्णमाला लेखेको सानो पुस्तक किनेर ल्याउनु भयो र पिढीँमा बसेर अक्षर चिनाउन सुरु गर्नु भयो । “पढ्न सुरु गरेपछि ज्यान अझ सुक्छ । अब बढी खानु पर्छ है ?” बुबाले भन्नु हुन्थ्यो । 

आजको आफ्नो जीवन भोगाइको अनुभवले बुबाले कति कठिन संघर्ष गर्नु पर्यो होला जस्तो लाग्छ । टुहुरो मान्छे शिक्षाको महत्व देखाउने कोही भएन र औपचारिक शिक्षामा पछाडि पर्नु भयो उहाँ ।

कामको सिलसिलामा बुबा बाहिर गईरहनु पर्ने उहाँलाई मेरो पढाईको चिन्ता हुन थाल्यो र कहिले पामेबाट आएर पढ्न बसेका कुल प्रसादलाई, कहिले छिमेकी धरणीधरलाई बोलाएर मलाई पढाउन लगाउनु हुन्थ्यो । 

अहिले घरहरुले भरिएको पार्दी बिरौटाको फाँट पोखरेलीहरुको मुख्य धान खेत थियो तर हाम्रो त्यहाँ कुनै हिस्सा थिएन । फेवाको पानीले सिञ्चित हुने उक्त विशाल फाँट फेवातालको बाँध फुटेपछि सुख्खा हुन गयो, जसले पोखरामा खाद्यान्न संकट ल्यायो होला । 

त्यहाँ आफ्नो कुनै हिस्सा नभए पनि त्यसको परोक्ष प्रभाव हाम्रो घरमा पनि पक्कै पर्यो तर बुबाले हामी केटाकेटीलाई त्यसको प्रभाव पर्न दिनु भएन । भैरहवा गयो भने सस्तो पर्दो रहेछ भन्दै चामल किन्न भैरहवासमेत जानु हुन्थ्यो ।

आजको आफ्नो जीवन भोगाइको अनुभवले बुबाले कति कठिन संघर्ष गर्नु पर्यो होला जस्तो लाग्छ । टुहुरो मान्छे शिक्षाको महत्व देखाउने कोही भएन र औपचारिक शिक्षामा पछाडि पर्नु भयो उहाँ । तर, अनौपचारिक शिक्षा र स्वध्यनबाट प्राप्त ज्ञानको आफ्नो जीवन प्रणालीमा पूरा प्रयोग गर्नु भयो बुबाले ।

उहाँको इच्छाअनुसार हामीले प्राविधिक शिक्षा हासिल गर्नुपर्ने हो तर हामी दुबै भाइ त्यसको लायक हुन सकेनौ । त्यसमा हामीलाई ग्लानी छ । तर बहिनीलाई डाक्टर बनाउन नसके पनि नर्सिङ पढ्ने बातावरण मिलाउन सहयोग गर्यौं । 

Dhkamohan baral Bubako Photo

उहाँ हामीलाई सधैँ इमान्दार र असल नैतिक चरित्रवान बन्न भन्नु हुन्थ्यो । एक पटक भाईसँग चल्दाचल्दै मैले खुट्टा उठाउन पुगेछु । बुबाले देख्नु भयो र मलाई सम्झाउनु भयो । 

“भाईलाई रक्षा शिक्षा सम्बन्धमा हातले कहिलेकाहीँ थप्पड हान्नु स्वभाविक होला तर लात्तो नदेखाउनु । अहिले के कारणले हो बिर्सन्छ्न् तर पछि भाइको दिमागमा ‘मलाई दाईले लात्ताले पिट्ने गर्थे’ भन्ने सोचाइ रहन सक्छ ।” बुबाको यो अर्तिपछि मैले भाइलाई खुट्टा त के हात पनि उठाइन । 

बुबाले “राम्रोसँग हात धोएपछि तिमीले र मैले एउटै थालमा मकै खान हुन्छ ।” भनेपछि हामी एउटै थालमा मकै खान्थ्यौँ । आफ्ना बुबाको अगाडि पर्नसमेत डराउने मेरा साथीहरु दंग पर्दथे । आफ्ना बुबा आएपछि खेल्न छाडेर घर भाग्ने उनीहरु मेरो बुबाले उनीहरु खेलेको ठाउँमा आएर खेल्ने, कहिले बल किनेर ल्याइदिने हुनाले उनीहरु पनि हाम्रो बुबासँग झ्याम्मिन्थे । 

एक पटक टोलमा नराम्रो घट्ना घटेछ । खाजामा विष पर्न गएर उक्त घरका र छिमेकीसमेत गरेर आठ नौ जनाको मृत्यु भएपछि ठूलो खैलाबैला भयो ।

हरेक काम नौलो पारामा गर्नुपर्ने सिर्जनशील स्वभाव थियो बुबाको । आफू भन्दा बूढा, आफ्नो उमेरका, अल्लारे र केटाकेटी सबैसँग उत्तिकै मिल्ने स्वभाव थियो उहाँको । 

कसैको घरमा कुनै धार्मिक कार्य हुँदा त्यसलाई पार लगाउन बुबाको नै खोजी हुन्थ्यो । तालिमप्राप्त भान्छे र क्याटरिङ्ग ब्यवसाय सुरुवात नहुने समयमा बुबाजस्तै सहृदयीले नै सामाजिक क्रियाकलाप धान्नु पर्दथ्यो । 

कतै भोज भतेरमा जानु पर्दा “बाबुहरुलाई घरमा टन्न खुवाएर लानुपर्छ । अघाएपछि ढुक्क हुन्छन् । छुचोपन देखिदैन । खान पाए पनि नपाए पनि भलादमी भएर बस्छन् । ” भन्ने बुबाको बुझाई हुन्थ्यो । र, हामीले बाहिरको खाना खानु पर्दैनथ्यो । 

एक पटक टोलमा नराम्रो घट्ना घटेछ । खाजामा विष पर्न गएर उक्त घरका र छिमेकीसमेत गरेर आठ नौ जनाको मृत्यु भएपछि ठूलो खैलाबैला भयो । त्यसपछि बुबाले “जसको घरमा गए पनि उनीहरूले खाजा, खाना खाने बेला भएपछि आफ्नो घरमा आउनु पर्छ ।” भन्नु हुन्थ्यो । 

“कसैको घरमा उनीहरु छैनन् भने आफू बस्नु खेल्नु हुँदैन, आफ्नो घरमा आउनु पर्छ । केही समान हरायो वा बिग्रिन गयो भने दोष लाग्छ ।” भन्दै सतर्क गराउनु हुन्थ्यो । 

करिव आठ नौ वर्षको हुँदासम्म पनि कतैबाट बुबा घरमा आउँदा उहाँको काखमा बस्न मन लाग्थ्यो । आमाको भन्दा बुबाको बुई चढेको धेरै याद आउँछ मलाई । 

एक पटक बुबा कताबाट दुई तीन दिनमा आउनु भयो । म उहाँको काखमा बसेँ । उहाँले ल्याउनु भएको खानेकुराको पोको खोल्नु भयो । मलाई ज्यादै मनपर्ने रहेछ । त्यसबेला त मलाई नाम थाहा भएन, त्यो पेडा थियो शायद । अहिले पनि पेडा देख्दा उक्त घटना याद आउँछ । चन्चल मन रोक्न सकिन । बुबाको हातबाट एउटा झिकेर मुखमा राखें । बुबाले पत्तो पाउनु भएनछ । 

“पैसा लिएर पनि एउटा दिन बिर्सेछ ।” भन्दै घरमा सबैलाई दुई दुई वटा दिनु भयो र एउटा भाँच्न थाल्नु भयो । सायद मलाई दिनलाई होला । मैले पुलुक्क बुबाको मुखमा हेरें । मेरो मुखमा पेडा देखेपछि “ए यसलाई मनपरेर पहिला नै खाईसकेछ । ल अब हिसाब मिल्यो । अबदेखि जतिसुकै मीठो बस्तु भए पनि नसोधी हात नहाल्नु ।” भन्नु भयो ।

मेरा र भाइका साना भन्दा साना प्रश्नमा पनि बुबाको उत्तिकै चासो हुन्थ्यो । एक पटक पढ्दै जाँदा “बाटोमा हिँड्दा सडक पेटीमा हिँड्नु पर्छ ।” भन्ने प्रसंग आयो । त्यस समयमा पोखराको सडकमा कतै पेटी रहेनछ । मेरो मोटो दिमागमा भने “सडक पेटी भनेको के हो ?” भनेर बसिरह्यो । 

बुबा घरमा आउनासाथ मेरो प्रश्न रह्यो, “ बा सडक पेटी कस्तो हुन्छ ?” 

बुबा एक पटक घोरिनु भयो र भन्नु भयो । “ल भोलि देखाउँछु ।” 

म भोलि कति बेला होला भन्दै बसेँ । 

“बा सडक पेटी हेर्न जाउँ न ।” मैले कर गरेँ । 

“ल हिँड ।” उहाँले पृथ्वीचोक भन्दा परको गण्डकीको पुलमा लगेर मान्छे हिँड्ने पेटी देखाउनु भयो र भन्नु भयो, “पोखरामा पुल भएको ठाउँमा मात्र मान्छे हिँड्ने पेटी छ तर काठमाडौमा सबै सडकमा मान्छे हिँड्ने पेटी बनाएका हुन्छ्न् । यस्तो भएपछि मोटरले ठक्कर दिदैन ।” पोखरा अनि काठमाडौंमा कति फरक रहेछ त्यस समयमा । 

आफ्नो मनोबल सधैँ उच्च बनाउने उहाँले अस्पतालमा क्यान्सरको उपचारमा किमो लगाईरहेको समयमा पनि झोलाबाट भागवत गीताको पुस्तक निकालेर पढ्न सुरु गर्नु हुन्थ्यो । 

बुबाले आफ्नी आमालाई असाध्यै माया गर्नु हुन्थ्यो । सायद त्यही देखेर हामीलाई पनि हजुरआमाको असाध्यै माया लाग्थ्यो । बुबा आमालाई पनि धेरै माया गरिन्थ्यो तर दैवले हरेपछि मायाले रोक्न सक्दो रहेनछ । 

“अरुलाई परेको बेलामा सकेको मद्दत गर्नु पर्छ । मद्दत गर्न नसके पनि कसैको हानी नोक्सानी गर्ने गर्नु हुँदैन ।” बुबाले सधैँ भन्नु हुन्थ्यो । 

उहाँले जस्तै अरुलाई मद्दत त गर्न सकेको छैन तर कसैलाई हानी नोक्सानी गर्ने काम जानेसम्म गरेको छैन । इमान्दारिता र असल चरित्र उहाँको आदर्श थिए । 

रक्सी खाएर हल्ला गर्ने मान्छे देखेपछि बुबालाई साहै्र रिस उठ्थ्यो । रक्सी खाने मान्छेसँग रक्सी नखाएको बेलामा समेत बोल्न मन पराउनु हुन्थेन । रक्सी खाने र श्रीमती कुट्नेलाई ज्यादै घृणा गर्नु हुन्थ्यो । 

बिरामीले थला परेको बेलामा होस्, कामले थाकेको समयमा होस् अथवा घर खर्चको तनावमा होस्, उहाँ अनुहारको आभामा कहिले पनि कमी महसुस गरिनँ । सधैंको हँसिलो अनुहारको याद आइ रहन्छ । अरुको ख्याल गरिरहने उहाँले जीवनको अन्तिम घडीसम्म औषधी खुवाउदा “आफ्नो औषधि खायौ त ?” भनेर सोध्नु हुन्थ्यो । 

आफ्नो मनोबल सधैँ उच्च बनाउने उहाँले अस्पतालमा क्यान्सरको उपचारमा किमो लगाईरहेको समयमा पनि झोलाबाट भागवत गीताको पुस्तक निकालेर पढ्न सुरु गर्नु हुन्थ्यो । 

निम्न मध्यम वर्गको परिवार, लगातारको बुबा आमाको उपचारले हामी दुबै भाइलाई आर्थिक रुपमा निकै कमजोर बनाए पनि बुबालाई त्यसको महसुस हुन नदिने निर्णय गरेका थियौं । तर पनि बुबाले भावुक भएर बेलाबेला भन्नु हुन्थ्यो, “केटाकेटीको मुखबाट खोसेर मेरो लागि खर्च नगर ।” जसले हामीलाई अझ भावुक बनाउँथ्यो ।

“अरुसँग बसेर गफ मात्र गर्ने हो, उहाँसँग बसेर कुरा गर्दा धेरै कुरा सिकिन्छ ।” बुबाबारे अरुले भनेको सुनिन्थ्यो । 

उहाँ तरकारीको नयाँ उन्नत बीउ किन्न नौतनवासम्म पुग्नु हुन्थ्यो । त्यस समयका अल्लारे उमेरका केटाहरुलाई तरकारी लगाउन सिकाउनु हुन्थ्यो । कसैले घरमा लगेर लगाउन चाहेमा दिएर सहयोग गर्नु हुन्थ्यो । 

“फुर्सद भए हिँड है, आलु लगाउने तालिम छ ।” उहाँले भनेको सुनिन्थ्यो ।

बुबाले बेला बेलामा भन्ने गर्नु हुन्थ्यो, “रुखमा पुरानो पात झरेर नयाँ पात पलाएजस्तै हामी पुराना मान्छे पनि ढल्दै जाने हो ।” 

उहाँले भनेजस्तै यो त प्राकृतिक नियम नै होला । आफ्नो दिमागलाई सम्झाउन सजिलो रहेछ तर मनलाई फुल्याउन साह्रै कठिन हुँदो रहेछ । हो, मन त साँच्चिकै रुन्चे रहेछ ।

हामीलाई परेको शोक र दुःखमा बेलामा हामीलाई सहानुभूति राख्नु हुने सबैले हामीलाई सम्झाउँदा उठाउने बुबासँगका प्रत्येक प्रसंगले छाती चिर्दथ्यो । कतै गएको समयमा मौसम अनुसारका फलफूल भेटेपछि घरमा ल्याउनु हुन्थ्यो । हामी सबैलाई खुवाउनु हुन्थ्यो । 

तर, जीवनका अन्तिम क्षणमा छानेर पातलो बनाएको दालको झोल एनजी ट्युबको माध्यमबाट दिनु पर्दा हाम्रो मन भक्कानिएर आउँथ्यो । समय बिते पनि बुबासँग बिताएका हरेक क्षण सम्झनाले बेला बेलामा आँखा रसाई रहन्छ ।

पोखरा–७ मासबार, कास्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप