सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
सडक पूर्वाधार

कालोपत्रेसँगै चिटिक्क वीरेन्द्रनगरका सडक !

उपत्यकाको सहरी सौन्दर्यका लागि फुटपाथ ‘क्लियर’सँगै ‘ग्रिनरी’ गर्ने तयारी
आइतबार, १० असार २०८०, १० : १५
आइतबार, १० असार २०८०

सुर्खेत । यतिबेला वीरेन्द्रनगरको सडक पूर्वाधारको अवस्था बदलिएको छ । जीर्ण अवस्थामा रहेका प्रमुख सडक नयाँ स्वरूपसहित चिटिक्क बनेका छन् भने केही सम्पन्न हुने क्रममा छन् । 

वीरेन्द्रनगर नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा प्रदेश राजधानी भित्रका मुख्य सडकका साथै भित्री पुराना सडकलाई भत्काई स्तरोन्नतिसहित कालोपत्रे गरिएको छ । 

birendranagar road (4)

मंगलगढी–वीरेन्द्र चोक हुँदै गणेशचोक जोड्ने मुख्य बजारको सडक वैशाखसम्म निकै कुरुप थियो । दुई महिनाको अवधिमा उक्त सडक फराकिलो बनाइनुका साथै कालोपत्रेको काम समेत सकिएको छ । यो सडक विस्तार र स्तरोन्नतिका लागि २०७८ माघमा बाँकेको खड्का निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो । त्यहाँ ‘हाईक्वालिटी’ कालोपत्रेसहित १४ मिटर सडक चौडाइ बनाइएको छ । 

यो सडक मात्र होइन, प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयको लगानीमा बनेका विभिन्न १७ वटा सडकको कालोपत्रेको काम सकिएको छ । 

निर्देशनालयका सूचना अधिकारीसमेत रहेका इन्जिनियर हरि शर्मा धितालका अनुसार वडा नम्बर ८ को वडा कार्यालय नजिकको १८० मिटरको सडक, इलाइट बोर्डिङ स्कुल हटलाइन बाटो (८० मि), शंकरचोक–पृतना सडक (१४०० मि), बाटुली–आचार्य चिया पसल (१२३ मि), अलायाचौर सडक (२५० मि), प्रमुख पर्यटकीय स्थलसहित पार्क जोड्ने (१ किमी) सडकको कालापत्रेको काम सम्पन्न भइसकेको छ । 

birendranagar road (6)

त्यस्तै, सुन्दर मार्ग (५५० मि), चन्द्रमान चोकबाट उत्तरतर्फ जोड्ने ६३० मिटर, फूलबारी चोक जोड्ने २५० मिटर सडक र ५ सय मिटरको खारखोली सडकको कालोपत्रेको काम पनि सम्पन्न भइसकेको छ ।

उता, मुख्य बजार क्षेत्रको ३५० मिटरको खोर्के लाईन सडक, वीरेन्द्र चोक– डिएनपी डाँडा जोड्ने प्रमुख सडक पनि कालोपत्रे गरिसकिएको छ भने जनमावि, पिपलचौतारा, एमआर ग्रिल उद्योग लगायतका क्षेत्रका बाटाहरूको पनि काम सकिएको इन्जिनियर शर्माले बताए । 

‘एक वर्ष अघिसम्म सडक पूर्वाधारको बेहाल अवस्थाले प्रदेश राजधानी जस्तो थिएन,’ शर्मा भन्छन्,‘तीनै तहका सरकारको समन्वयका कारण धमाधम काम भएपछि अहिले सडकको अवस्थामा व्यापक सुधार आएको छ ।’

चालु आर्थिक वर्षमा साना–ठुला गरी झण्डै ३१ वटा सडक पूर्वाधारको काम सुरु भएको थियो । जसमा मुख्य बजारका धेरैजसो सडक कालोपत्रे भइसकेका छन् भने कतिपय काम जारी नै छ । 

birendranagar road (1)

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालका अनुसार दैलेख रोडको कालोपत्रे पनि अबको केही दिनमै सम्पन्न हुनेछ । अहिले कालोपत्रे भएका अधिकांश सडकको काम वैशाख र जेठ महिनाभित्रमा भएको हो । ढकालका अनुसार अब करिब ५ किलोमिटर सडक असार मसान्तसम्म कालोपत्रे हुनेछ । 

नगरप्रमुख ढकालले कालोपत्रेसँगै स–साना पार्क, बजार व्यवस्थित गर्न पार्किङ स्थलहरू बनाउने काम पनि भइरहेको बताइन् । 

‘उपत्यकाको सहरी सौन्दर्यताका लागि नयाँ बनेका सडकको फुटपाथसहित ‘क्लियर’ भएका छन् । मुख्य बजारमा अब ‘ग्रिनरी’ गर्ने तयारी भइरहेको छ,’ ढकालले रातोपाटीसँग भनिन्,‘यसले सडक आकर्षक हुनुका साथै राजधानीको सुन्दरतालाई थप टेवा दिनेछ ।’ 

ढकालका अनुसार नगरपालिकाबाट मात्रै चालु आवमा ९ किलोमिटर पक्की नाला निर्माणको काम पनि सम्पन्न भएको छ ।

नगरपालिकाका अनुसार मंगलगढी चोकदेखि काँक्रेविहार जोड्ने सडक भने ठेकेदारको लापरबाहीका कारण यो वर्ष पनि पिच नहुने भएको छ । यसको अहिलेसम्म ५० प्रतिशत पनि काम भएको छैन । २४ सय मिटर सडक कालोपत्रे गर्ने गरी १२ करोड ७६ लाख १५ हजार ४०४ रुपैयाँ लागत रहेको सडकमा अहिले नाला निर्माण, फिलिङ्ग गर्ने, बीच भागमा इँटा राख्ने काम भइरहेका छन् । 

birendranagar road (3)

यस्तै, कांग्रेस सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को ‘कान्छाराम कन्स्ट्रक्सन’ले जिम्मा लिएको भीआईपी एरियाका १३ वटा सडक पनि ठेकेदारको लापरबाहीका कारण अलपत्र अवस्थामा छन् । 

४८ वटा नयाँ सडकको काम प्रारम्भ

नगरप्रमुख ढकालका अनुसार सघन सहरी योजना अन्तर्गतका करिब ४८ वटा सडकको काम प्रारम्भ भएको छ । करिब ५५ करोड लागतमा सम्पन्न गर्ने गरी कार्य प्रारम्भ भइसकेको ढकालले बताइन् । 

यो बजेट संघको हो । आउने आर्थिक वर्षभित्र उपत्यका नगर विकासले ‘प्लानिङ’ गरेका सबै ठुला सडक र रत्न राजमार्गदेखि दक्षिणतर्फका सडकहरूको स्तरोन्नति गरिसक्ने लक्ष्य नगरपालिकाको छ । वडासहित तीनवटै तहका सरकार उपत्यकाभित्र ‘प्याकेज’मै सडक पूर्वाधारको विकासमा अग्रसर छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप