शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काङ्ग्रेस, एमाले, माओवादी लगायत पार्टी कुन समाजवादका पक्षधर हुन् ?

बुधबार, १३ असार २०८०, १० : ३३
बुधबार, १३ असार २०८०

विशेषतः साम्यवाद, समाजवाद र वैज्ञानिक समाजवाद यस्ता विचारधारा हुन्, जो सामन्तवाद, उदारवाद र पुँजीवादको विरोधी छन् । पुँजीवाद र उदारवादसँग साम्यवाद र समाजवादको सम्बन्ध सधैँ द्वन्द्वात्मक हुन्छ, तर साम्यवाद र समाजवादमा केही समानता छन् ।

मूलतः आर्थिक समानताको ढाँचा र सामाजिक सुरक्षाको पक्ष अर्थात् विचारधारामा समाजवाद र साम्यवादबीच समानता देखिन्छ । साम्यवादमा जस्तो राज्यविहीनता वा शून्यताको अवस्था भने समाजवाद र वैज्ञानिक समाजवादमा हुँदैन । यसमा राज्य र बजार अर्थतन्त्रबीचको सन्तुलित अवस्था हुन्छ, अर्थात् यो व्यवस्था वा विचारधाराले धनी र गरिबबीचको खाडल कम हुन्छ भन्ने मान्यता राख्छ । राज्य जनताको सेवामा सधैँ सँगै र जनता पनि राज्यसँग हातेमालो गर्नुपर्छ भन्ने मान्यतालाई यसले जोड दिन्छ ।

विश्व अभ्यासलाई हेर्ने हो भने समाजवादका केही प्रकार छन्, तथापि समाजवादको एकल अर्थात् एउटै परम्परा कहीँकतै देखिँदैन । यसलाई देश, काल, परिस्थिति र परिवर्तित समय अनुसार फरक–फरक ढंगले व्याख्या गरेको पाइन्छ । जस्तो ः काल्पनिक समाजवाद (युटोपियन समाजवाद) फेबियन समाजवाद, (सन् १८८४), प्रजातान्त्रिक समाजवाद, स्केन्डिनेभियन समाजवाद, उदार–समाजवाद, बोलिभेरियन समाजवाद, मानवतावादी समाजवाद (अमेरिकी समाजवादी पार्टी), गान्धीवादी समाजवाद, सिन्डिकालिजम्, सोभियत आदि ।

यहाँ समाजवादी विचारधाराको सुरुवातदेखि पछिल्लो समय हामीकहाँ निर्माण भएको समाजवादी मोर्चाका सम्बन्धमा संक्षिप्त चर्चा गरिन्छ ।

काल्पनिक समाजवाद

प्राचीन ग्रिक दार्शनिक प्लेटोलाई यो धाराका चिन्तक मानिन्छ । प्लेटोका आदर्श र कल्पनालाई प्लेटोको साम्यवाद पनि भन्ने गरिन्छ । उनका आदर्श किताबमा पढ्दा निकै सुन्दर, रोमाञ्चक र आनन्द अनुभूत हुने हुन्छ, तर व्यवहारमा कहिल्यै लागु भएन । प्लेटोको समयपछि समाजवादका विभिन्न ढाँचा निर्माण हुन थाले । 

सन् १५१६ मा प्रकाशित थोमस मुरको पुस्तक ‘युटोपिया’बाट युटोपियन भएको हो । युटोपियाको अर्थ काल्पनिक भन्ने हुन्छ । अर्थात् कल्पनामा सुन्दर व्यवहारमा नभएको वा व्यवहारमा लागु त्यति सम्भव नभएको वा गर्न नसकिने भन्ने हुन्छ । 

थोमस मुर, सेन्ट साइमन चाल्र्स फुरियर आदि चिन्तकले कल्पना गरेको समाजवादी चिन्तन धारालाई विश्वको राजनीतिक चिन्तनमा काल्पनिक समाजवाद भन्ने गरिन्छ । युटोपियन चिन्तकले समाजवादलाई एक आदर्श समाज व्यवस्थाका रूपमा कल्पना गर्थे । कुनै प्रकारका शोषण, अन्याय, अत्याचार, असमानता नभएको न्यायपूर्ण समाज बन्नुपर्छ भन्ने तर्क उनीहरूको थियो, तर व्यवहारमा ती कल्पना कसरी लागु हुन्छन्, त्यस्तो समाज वा राज्य निर्माण गर्न कसरी सम्भव हुन्छ त भन्ने कुनै खास योजना थिएन । त्यस्तो समाजवादी चिन्तन साहित्य लेखनमा मात्र सीमित थियो । 

काल्पनिक समाजवादको अर्को उदाहरण १७८६ मा स्कटल्यान्डको ऐतिहासिक प्रसङ्ग हो । त्यस प्रसङ्गले समाजवाद के हो कसरी प्रयोग गर्दा व्यावहारिक हुन्छ भन्ने थप प्रस्ट हुनु सहज हुन्छ । स्कटिस पुँजीपति डेविड बेलले पानीले चल्ने कटन तानमिल सञ्चालन गर्थे । मिलमा काम गर्ने मजदुर त्यसबेला घरमूली पुरुषले मिलमा काम गरेपछि उनका बच्चाबच्ची तथा पत्नीले बिनाज्याला काम गर्नुपथ्र्यो । उनीहरूको बसोबास पनि राम्रो थिएन । कारखानानजिकै स–साना छाप्रोमा बस्ने गर्थे । त्यस्तो दुःखद अवस्था देखेर रोबर्ट ओवेनले उनीहरूका लागि आवासगृह बनाए । ओवेनको त्यो प्रयासको विश्वभरि समावादी नमुनाको रूपमा प्रचार पनि हुन थाल्यो । त्यसले बिस्तारै समाज सुधार वा राजनीतिक आन्दोलनको रूप लिन थाल्यो, तर मजदुरको उपभोग्य वस्तु र आवासको व्यवस्था एक्लै गर्न नसक्दा उनी सफल हुन सकेनन्, टाट पल्टिए । नमुनाको रूप लिएको समाजवादी आन्दोलन असफल भयो । ‘समाजवाद कुनै एक व्यक्तिले कुनै एक स्थानमा ल्याउन सक्ने चीज होइन रहेछ, यसका लागि राज्यले नै समाजवादी नीति लिनुपर्छ भन्ने टुंगोमा उनी पुगे । त्यही घटनाको आधारमा रोबर्ट ओवेनलाई समाजवादका पिता भन्ने भनिन्छ । 

उदार समाजवाद

उदार समाजवाद एक राजनीतिक दर्शन हो, जसले समाजवादमा उदारवादी सिद्धान्त समावेश गर्छ । यो संश्लेषणले उदारवादलाई राजनीतिक सिद्धान्तको रूपमा हेर्छ, जसले मानव आत्माको आन्तरिक स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई साझा मानव जीवनको लक्ष्य, साधन र नियमको रूपमा ग्रहण गर्छ ।

उदार समाजवादले पुँजीवादको अन्त्य गर्न अस्वीकार गर्छ र पुँजीगत वस्तुहरूमा सामाजिक स्वामित्व र निजी सम्पत्ति दुवै समावेश गर्ने मिश्रित अर्थ–व्यवस्थालाई समर्थन गर्छ । त्यसको उदाहरणका रूपमा ब्रिटिस र इटालियन राजनीतिमा उदार समाजवाद नीतिलाई लिन सकिन्छ । जससलाई जोन स्टुअर्ट मिलले प्रस्तुत गरेका हुन् । पुँजीवादी समाजले निजी उद्यमसँग सहअस्तित्वमा श्रमिक नियन्त्रित उद्यममार्फत सामाजिकीकरणको क्रमिक प्रक्रियाको अनुभव गर्नुपर्छ भन्ने उनको सिद्धान्त र मान्यता थियो । 

समाजवादको केन्द्रीकृत मोडेलले प्रतिस्पर्धा र रचनात्मकतालाई निरुत्साहित गर्न सक्छ, त्यसले स्वतन्त्रता र उदारतालाई साँघुरो बनाउँछ भन्ने उनको विचार थियो । आर्थिक अवसरको राम्रोसँग बाँडफाँड नभएमा लोकतन्त्र टिक्न नसक्ने उनको तर्क थियो । लोकतन्त्रलाई प्रतिनिधि सरकारको रूप मात्र होइन, एक सम्पूर्ण सामाजिक संगठनको रूपमा लिनुपर्छ भन्ने निष्कर्ष उनको थियो । 

प्रजातान्त्रिक समाजवाद 

प्रजातान्त्रिक समाजवाद त्यस्तो भिन्दै विचारधारा होइन, यो केवल माक्र्सवादमाथिको संशोधनवादी आलोचना हो । मूलतः यसले साम्यवादी विचारधाराका केही पक्षलाई स्वीकार र केही पक्षलाई अस्वीकार गर्छ । 

यसले सर्वहारा वर्गको अधिनायकत्व, एक दलीयता, एक वर्गीयता, कम्युनिन प्रणाली र सोभियत समाजवादको विरोध गर्छ । ट्रेड युनियन अधिकार र श्रमिक आन्दोलनको भने समर्थन गर्छ । 

संसदीय अभ्यासबाटै समाजवाद सम्भव हुन्छ भन्ने धारणा राख्ने बर्नस्टिन र कार्ल काउत्स्कीको संशोधनवादी विचारक हुन् । संशोधनवादको लहरले विश्वका १४७ राष्ट्रका पार्टीलाई प्रभाव पा¥यो । यसमा समाजवादी पार्टीको प्रतिनिधित्व नेपालबाट नेपाली कांग्रेसले गर्छ । कतिपयले यसलाई स्केन्डिनेभियन समाजवाद भन्ने गर्छन् । 

नेपालमा समाजवादको चरण

नेपाली राजनीतिमा प्रायः पार्टी समाजवादी धाराका हुन् भन्ने देखिन्छ, किनकि संविधानले नेपाली जनतालाई समाजवादको संसारमा पु¥याउने लक्ष्य लिएको छ ।

यो एक किसिमले समाजवादप्रतिको नेपाली जनताको आकर्षण र राजनीतिक पार्टीहरूको प्रतिबद्धता पनि हो, तर पार्टीहरूले भिन्दाभिन्दै विशेषता रहेका समाजवादको वकालत र पैरवी गर्ने भएकाले समाजवादीबीच आपसमा द्वन्द्वात्मक अवस्था छ भन्ने देखिन्छ । 

नेपाली कांग्रेस उदार समाजवाद र प्रजातान्त्रिक समाजवाद दुवैको पैरवी गर्दै छ भने एमाले र माओवादी केन्द्रले उदार समाजको भन्दा समतामा आधारित समाजको वकालत गर्छन् । अर्कोतिर माओवादी र एमाले लगायत स–साना गुटमा विभाजित कम्युनिस्ट पार्टीले साम्यवाद भन्न छाडेका छैनन् ।

मधेसवादी दलहरू कुनैले प्रजातान्त्रिक समाजवादलाई प्राथमिकता दिन्छन् भने कुनैले वर्गीय समतालाई जोड दिएको देखिन्छ । कांग्रेस र कम्युनिस्टबीच यी दुई विचारधारामा स्थापना कालदेखि आजको दिनसम्म द्वन्द्वात्मक गतिविधि र अन्तक्र्रिया चलिरहेका छन् । 

अर्कोतिर मोहन वैद्य, सिपी गजुरेल, गोपाल किराती र बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वजस्ता व्यक्तिपिच्छेको कम्युनिस्ट पार्टीको मोर्चा बन्ने र भत्कने क्रम चलिरहेकै छन् । पछिल्लो समय सत्ता गठबन्धनका उपेन्द्र यादव, माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र ध्वंशात्मक आन्दोलनबाट थाकेका विप्लव मिलेर बनेको समाजवादी मोर्चाले समाजवादको आधार तयार गर्दै समाजवादको लक्ष्यमा पुग्ने भनिएको छ, तर प्रचण्ड नेतृत्वको सरकारको आयु लम्ब्याउने र विगतको दोस्तीलाई ब्युँताउने प्रथम प्रयासको रुपमा समेत यसलाई हेरिएको छ । 

डा. बाबुराम भट्टराई कुबेरले तोरीको गेडा टिपेजस्तै मसिना कम्युनिस्ट टिप्ने तर्खर गर्दै छन् । 

उदार समाजवाद र मानवतावादी समाजवादको पक्षमा उभिएका नेपाली कांग्रेस कुनै मोर्चामा मोर्चाबन्दी छैन । तसर्थ एक्लिएको कांग्रेसले दक्षिणपन्थी वा घोर दक्षिणपन्थी पार्टीसँग मोर्चा बनाउने प्रयास गर्ने कि बिनामोर्चा नै आगामी चुनौतीको सामना गर्ने भन्ने ऐतिहासिक मोडमा छ । 

यतिखेर समाजवादका प्रकारमध्ये कुन समाजवाद ल्याउन कम्युनिस्ट पार्टीको मोर्चा गठन भएको हो, त्यो समयले देखाउला । संविधानमा उल्लिखित समाजवाद कुन समाजवाद हो ? त्यो प्रस्ट नभएको हुँदा यस्ता अमूर्त र अस्पष्ट नामका मोर्चा गठन हुने र भत्कने भइरहन्छ । 

(लेखक नेपाली कांग्रेसका नेता हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लाओस राई
लाओस राई
लेखकबाट थप