आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
विचार

विश्व परिवेशमा २१औँ शताब्दीको समाजवाद

बुधबार, २० असार २०८०, १२ : ३८
बुधबार, २० असार २०८०

सन् १९९० ताका तत्कालीन सोभियत संघ र पूर्वी युरोपका देशमा रहेको साम्यवादी मोडेलका शासन व्यवस्था असफल भएपछि समाजवादी तथा साम्यवादी लहर र शासन व्यवस्थामा प्रश्न चिह्न लाग्यो । 

यो लहर रक्षात्मक अवस्थामा पुग्यो । यसको तुलनामा प्रजातान्त्रिक समाजवादी व्यवस्था अँगालेर लोक कल्याणकारी राज्यको अवधारणा अनुसार शासन गरिरहेका देश (स्विडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क) र युरोपका धेरै देश सफल रहे, तर समाजवादी व्यवस्थाको आवश्यकता र साम्यवादको चर्चा विभिन्न देशका वाम बौद्धिक वर्गमा र वामपन्थी दलहरूमा जीवन्त रह्यो र अझै पनि छ । साम्यवादी व्यवस्था र एक दलीय साम्यवादी दल भएका मुलुकमा चीन, उत्तरकोरिया, क्युबा, भियतनाम, लाओस तुथा कम्बोडियाजस्ता मुलुक छन् ।

संयुक्त अमेरिकाको नाकमुनि रहेर साम्यवादी व्यवस्था कायम राख्न सफल क्युबा दक्षिण अमेरिकी वामपन्थीका लागि प्रेरणाको स्रोत रह्यो । तैपनि दक्षिण अमेरिकामा विगत केही दशकमा निर्वाचनका माध्यमबाट सत्तामा पुग्ने वामपन्थी लहर प्रमुख रह्यो । यो लहरअन्तर्गत वामपन्थी पृष्ठभूमिका ह्युगो चाभेज भेनेजुयलामा, डानियल ओर्टेगा निकारागुआमा, मोरालिस बोलिभियामा, किर्चनर अर्जेन्टिनामा र लुला ब्राजिलमा निर्वाचित भए । 

दक्षिण अमेरिकी वामपन्थी लहर र तत्कालीन सोभियत संघको साम्यवादी शासन व्यवस्थाको असफलतासँगै २१औँ शताब्दीको समाजवादको अवधारणा विकसित भएको देखिन्छ । दक्षिण अमेरिकी वामपन्थी लहर र तत्कालीन सोभियत संघको साम्यवादी शासन व्यवस्थाको असफलतासँगै यो अवधारणा सन् १९९६ मा हेन्ज डायटेरिचले प्रतिपादन गरे र पछि ल्याटिन अमेरिकी नेताहरू चाभेज (भेनेजुयला), कोरिरा (एक्वाडर), मोरालिस (बोलिभिया) र लुला (ब्राजिल)ले आफ्नो देशमा लागू गर्ने प्रयास गरेको देखिन्छ । 

२१औँ शताब्दीको समाजवादको अवधारणा विकसित गर्ने क्रममा क्यानडामा कार्यरत अर्थशास्त्रका प्राध्यापक माइकल लेबोविज तथा उनकी श्रीमती मार्ता हारनेकरको नाम विशेषगरी उल्लेखनीय छ । मार्ता चिलीको समाजशास्त्री (साल्भादोर अलेन्डेको पालामा पत्रकार), क्युबामा सरकारको सल्लाहकार, भेनेजुयलामा ह्युगो चाभेजको सल्लाहकार रहनुका साथै ८० भन्दा बढी किताबका लेखिका हुन् । दक्षिण अमेरिकी वामपन्थीहरूमा मार्ता प्रभावशाली माक्र्सवादी विचारकका रूपमा चिनिन्छिन् । 

यसका साथै वामपन्थी नेता तथा विचारक एन्टोनिओ ग्राम्स्कीको कल्चरल हेजेमोनीको अवधारणा (सर्वहारा वर्गले राज्य सत्ता कब्जा गर्नुअगाडि सांस्कृतिक प्रभुत्व स्थापित गर्नुपर्ने), फ्रान्सिसी कम्युनिस्ट र विचारक अलान बाडियो (आफूलाई माओवादी कम्युनिस्ट भन्ने तर गैरमाक्र्सवादी भन्न रुचाउने) को चीनको सांस्कृतिक क्रान्तिसम्बन्धी अवधारणा (सांस्कृतिक क्रान्ति अन्तर्विरोधको ऐतिहासिक विकास क्रम हो, पार्टी र सरकारभित्र फस्टाएको र कब्जा गरेको पुँजीवादी प्रवृत्तिविरुद्धको संघर्ष) र इजिप्टका अर्थशास्त्रका प्राध्यापक समिर अमिनको डिपेन्डेन्सी सिद्धान्त र चीनको समाजवादतर्फको यात्रा र इमानुयल वालरस्टाइनको वल्र्ड सिस्टम सिद्धान्तसम्बन्धी लेख तथा प्रकाशनहरू विश्व समाजवादी आन्दोलनमा सघाउ पुर्‍याउने तहका कोसेढुंगा हुन् । 

यस आलेखमा प्राध्यापक माइकल लेबोवित्ज र मार्ता हारनेकरको २१औँ शताब्दीको समाजवादसम्बन्धी अवधारणाबारे विशेष चर्चा हुनेछ । 

यो समाजवाद प्रजातान्त्रिक समाजवादजस्तो कल्याणकारी राज्यको अवधारणा भएको पुँजीवादी व्यवस्थाको लिबरल प्याकेज होइन । माक्र्सले भनेझैँ यसमा औद्योगिक मजदुर (सर्वहारा)को विशेष भूमिका हुँदैन । सर्वहारा ठूलो संख्यामा केन्द्रित नभएको (औद्योगिक मजदुरहरू कम्पनीको उत्पादनमा विभाजित भई काम गर्नुपरेको) अवस्था (सबकन्ट्राक्टिङ)मा समाजवादी क्रान्तिलाई सघाउ पुर्‍याउने अरु तत्त्व (दक्षिण अमेरिकामा आदिवासी जनजाति र क्रिस्चियन)को सहयोग र भूमिका महत्त्वपूर्ण हुन्छ । 

उत्पादन सम्बन्धलाई बेवास्ता गरी उत्पादक शक्तिमाथि मात्रै ध्यान दिनु उचित हुँदैन । उत्पादक शक्तिका विकासमा मात्रै ध्यान दिँदा पहिलेको सोभियत संघ र पूर्वी युरोपका देशमा समाजभन्दा केन्द्रीकृत राज्य व्यवस्था माथि रहन गयो । 

माक्र्सले भनेझैँ प्रत्येक मानिसको सिर्जनशील प्रतिभाको विकास नै समाजवादको लक्ष्य हो । समाजको प्रत्येक तहमा प्रजातान्त्रिक किसिमले योजना बनाउने र सहभागितामूलक रूपमा बजेट विनियोजन गर्ने २१औँ शताब्दीको समाजवादको प्रमुख कार्य हो । 

सोभियत संघ र पूर्वी युरोपका तत्कालीन समाजवादी देशहरू असफल हुनुमा एउटा प्रमुख कारण थियो — माथिल्लो तहले निर्णय गर्नु, तलसम्म पुर्‍याउनु तर आमजनताले निर्णय गर्ने क्षमताको विकास गर्न नसक्नु । यस्तै  पार्टी र राज्यले सुविधा दिने र जनताले लिनेजस्तो प्रवृत्तिको विकास हुनु । पार्टी र राज्य हुकुमी शैलीमा चल्ने र अधिनायकवादी प्रवृत्ति लागू गर्ने परिपाटी रहन गयो । 

पार्टीले आम जनताको सबै गतिविधि (आर्थिक, राजनीतिक, सांस्कृतिक)लाई नियन्त्रण गर्न थाल्यो । २१औँ शताब्दीको समाजवादसम्बन्धी माथिका अवधारणालाई भेनेजुयलामा चाभेज, इक्वेडरमा कोरिरा, बोलिभियामा मोरालिस र ब्राजिलमा लुलाले लागू गर्ने प्रयास गरे । 

चाभेज समाजवाद माथिबाट लागू गर्न सकिँदैन, यसको विकास तलैबाट हुनुपर्छ भन्ने मत राख्थे । उनले जनतालाई संगठित गर्ने र उनीहरूको आवाजलाई प्रतिविम्बित गर्ने विभिन्न उपायको प्रयास गरे । मजदुरहरूको काउन्सिल, कम्युनिटी काउन्सिल, कम्युनहरूको स्थापना लगायत कार्यबाट जनताको आवश्यकता छलफल गर्ने र योजना बनाउन प्रेरित गरे । उनको पालामा गरिबी ५५ प्रतिशतबाट घटेर ३४ प्रतिशतमा पुग्यो । सामाजिक सेवामा खर्च ७.८ प्रतिशतबाट बढेर १४.७ प्रतिशत पुग्यो । यस्तै १५ लाख वयस्क नागरिक साक्षर भए र सस्तो बजार (खाद्य वस्तुका लागि) बाट जनतालाई खाद्य सुरक्षाको प्रत्याभूति गर्ने लगायत कार्य सम्पन्न भए । 

चाभेजपछिको भेनेजुयलाको स्थिति फरक छ । यहाँ  अमेरिकी साम्राज्यवाद र यसका मतियारहरूको साँठगाँठमा अर्थतन्त्रलाई नै तहसनहस हुने गरी देशलाई अराजकतातर्फ लैजाने दुष्प्रयास भएको स्पष्ट देख्न सकिन्छ । 

मार्ताका शब्दमा दुईवटा रणनीति अनुसार अमेरिका र यसका मतियारले काम गरे ः १) जनताका बीचमा सत्ता र पार्टीप्रति असन्तुष्टि सिर्जना गर्ने । २) प्रायोजित मुद्रा स्फीति (नियोजित रूपले बजार भाउ बढाउने) र प्रायोजित खाद्यवस्तुको कमी । यसरी विरोधीले आर्थिक युद्धको सुरुवात गरे । यो घटनाबाट समाजवादीले पाठ सिक्नु जरुरी छ — अर्थतन्त्र एउटा वस्तुमा मात्रै बढी निर्भर भयो भने ठूलो जोखिमको सामना गर्नुपर्ने हुन्छ । जनताको आवश्यकता पूरा गर्न सकिँदैन, असन्तुष्टि बढ्छ र विरोधीले यसलाई ठूलो मुद्दा बनाएर आन्दोलन गर्छन् । सरकार ढाल्ने कोसिस गर्छन् ।

(लेखक बौद्धिक मञ्च मकवानपुरका अध्यक्ष हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विमल केशरी पौड्याल
विमल केशरी पौड्याल
लेखकबाट थप