मङ्गलबार, ०१ साउन २०८१
ताजा लोकप्रिय
विचार

अघिअघि ‘गद्दार पुष्पलाल’, पछिपछि क्रान्तिकारी कामरेड

शुक्रबार, ०५ साउन २०८०, १२ : १८
शुक्रबार, ०५ साउन २०८०

यस धर्तीमा पुष्पलाल उभिएको आकास रित्तो भएको निकै भइसक्यो । ‘संयुक्त जनआन्दोलन’ भन्दाभन्दै उनी बितेर गए । उनको विचारलाई ऊबेला न कांग्रेसीहरूले सुने, न कम्युनिस्टहरूले टेरे । तर २०४६ सालमा पञ्च दानवविरुद्धको धावामा वाम, काङ एकता भयो र पुष्पलालले चिताएको संयुक्त जनआन्दोलन भएरै छाड्यो ।

पुष्पलालको विचारले साकार रूप लिँदा पञ्चपशुहरू पछारिए । तर पुष्पलालको सम्झना त्यति नजिक भएको कतै देखिएन । आन्दोलन कालमा कि त हुङ्कार सुनियो, कि गालीका पर्रा सुनियो, कि त गणेशमानको चर्चा सुनियो । आन्दोलनमा पुष्पलालका विचारको उपस्थिति सर्वत्र थियो तर उनको सम्झना भने एकाध अन्तरकुन्तरमा बाहेक कतै गरिएन । 

पुष्पलाल जीवित छँदा एउटा गोप्य लिखत छापिएथ्यो । त्यसको नाउँ थियो– ‘गद्दार पुष्पलाल’ । यसपाला आन्दोलन हुँदा एउटा अचम्मको दृश्य देखियो । पुष्पलालकै विचारको झोला बोकेर आन्दोलन अघिल्तिर लम्क्यो । पुष्पलाललाई ‘गद्दार’ को फत्तुर लगाउने कामरेड पनि यस धावामा हाजिर भए । हाजिर त भए तर पहिलो पङ्क्तिमा होइन, दोस्रो पङ्क्तिमा । ‘गद्दार पुष्पलाल’ को विचार आन्दोलनको अघिअघि, ‘गद्दार’ को फत्तुर लाउने कामरेड आन्दोलनको पछिपछि । इतिहासको यो कस्तो मजाको मजाक !

एक साधारण मानिसमा हुन सक्ने दुर्बलताहरू पुष्पलालमा पनि हुँदा हुन् । ती के थिए, म जान्दिनँ । एक साधारण नेतामा हुन सक्ने दुर्बलताहरू पुष्पलालमा पनि हुँदा हुन् । ती के थिए म जान्दिनँ । एक साधारण चिन्तकमा हुन सक्ने समयका सीमाहरू पुष्पलालमा पनि हुँदा हुन् । ती के थिए, म जान्दिनँ । उनीबारे म एउटै कुरा जान्दछु । त्यो के भने, विचार बेचीखाने काम उनले कहिल्यै गरेनन् । आफ्नो आदर्शनिष्ठाको निम्ति सत्तिसालको रुखझैँ उनी हर्दम खडा रहे । र, निष्ठारक्षाको निर्मम सङ्घर्षमा उनी सगर्व ढलेर गए ।

‘गद्दार’ नाउँले पुष्पलालको न्वारान गर्ने कामरेडले एउटा फत्तुरपत्र लेखेथे । फत्तुरको सार के थियो भने जनताले तत्काल हिँड्ने बाटो पुष्पलालले पहिल्याउन सकेनन् रे । राजनीतिको भाषामा यस्तो बाटोको नाउँ रहेछ– तात्कालीन कार्यक्रम । अनि भयो के रे भने जाने दिशाको पत्तो नुहँदा पुष्पलाल झैँ भित्तेघडीको पेन्डुलम हुनाको दुःखबाट जोगिन भनेर क्रान्तिकारी कामरेडले नयाँ बाटो ठम्याए । त्यस बाटाको नाउँ थियो– ‘देशभक्त र जनतान्त्रिक शक्तिहरूको सरकार’ । आठ–दस वर्षसम्म धुइँपत्ताल खोजी भयो । तर न कतै देशभक्त फेला प¥यो, न कतै जनतान्त्रिक हात लाग्यो । ‘हनुमान चालिसा’ जपे झैँ त्यो नयाँ मन्त्र जपियो । तर त्यसबाट न क्रान्तिको दृष्टि खुल्यो, न जनताको बाटो सोझियो । आखिर सही दिशा ठम्याउन भनी रचिएको त्यो सूत्र रचनाकारकै हातले दिसाको रासमा मिल्काउन कर लाग्यो । सूत्र त मिल्काइयो तर पुष्पलालका थाप्लाको ‘गद्दार’ को पगरी भने ज्युँकात्युँ रह्यो । 

पुष्पलाल अब हाम्रा माझमा छैनन् । तर व्यवहारको जाँचमा उनको विचार जीवनको सत्य ठहरियो । उनका विचारको सत्यता सहिदका रगतले जनताको स्मृतिमा लेखियो । रगतको मसी साह्रै गाढा हुन्छ । यो सत्य अब लेखियो र यो मेटिनसक्नु भयो । आन्दोलन सम्झौतामा टुङ्गियो, र सम्झौताले महाविवाद जन्मायो । भन्नैका लागि भन्ने हो भने यसो पनि भन्न सकिएला– सम्झौतामा धोखा भयो, त्यसैले पुष्पलालमाथिको फत्तुर अझै सदर छ । तर खाएको विष पो लाग्छ, नखाएको विष किन लाग्ने ? संयुक्त जनआन्दोलनका विचार–शिल्पी पुष्पलाल थिए । त्यसैले यसको जस उनलाई जाला । सम्झौताको टेबुलामा पुष्पलाल थिएनन् । त्यसैले सम्झौताको खोटको अपजस उनलाई कसरी जाला र ?

आखिर पुष्पलालका सपनाले साकार रूप लियो– संयुक्त जनआन्दोलन भएरै छाड्यो । आन्दोलनको चिम्टाको एक खुट्टो पुष्पलाल थिए, अर्का थिए गणेशमान । गणेशमान जीवित छन्, त्यसैले होला उनको स्तुति अस्ति नै सुरु भइसक्यो । पुष्पलाल यस धर्तीमा छैनन्, त्यसैले होला उनलाई सम्झने फुर्सद कसैलाई छैन ।

पुष्पलाललाई बित्थामा ‘गद्दार’ को पगरी लगाइयो । तर जनआन्दोलनमा उनै ‘गद्दार’ को पछि लाग्न ‘गद्दार’ का स्रष्टालाई कर लाग्यो । आन्दोलनले आफ्नो हैसियतअनुसारको फल जनतालाई दिएर गयो । पशुवत् प्रजाबाट अर्ध मान्छेमा फेरिँदाको सुख केही नेपालीलाई प्राप्त भयो । जे पाइयो, पाउनेले त्यसको भोगचलन गरिरहेकै छन् । तर पुष्पलाललाई सम्झने फुर्सद भने कसैलाई छैन । नेताहरू आआफ्नै लुते धन्दामा व्यस्त छन् । दलहरू आआफ्नै स्वार्थको सिकार खेल्नमा मस्त छन् । व्यवहारको जाँचमा पुष्पलालको विचार जीवनको सत्य ठहरियो । तर उनका थाप्लाको गद्दारीको पगरी झिकिदिने फुर्सद कसैलाई छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप