बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
खगेन्द्र संग्रौलाको टिप्पणी

नयाँ र पुराना पार्टी वा नेताको अनुहार, आदर्श र चरित्रमा कति भिन्नता ?

बुधबार, १० साउन २०८०

पुराना पार्टीहरूमा नयाँ नेतृत्वको दाबी गर्नेहरूलाई नियाल्दा, खासगरी कम्युनिस्ट पार्टीहरूमा त्यस्तो दाबी गरिएको म धेरै देख्दिनँ । नेकपा एमालेमा घनश्याम भुसालले दाबी गरेका हुन् । उनको दाबी आफ्नै प्रयत्नको कमी वा समयको संयोग नमिल्दा त्यति प्रभावकारी देखिएन । अहिले उनी एमाले छाडेर समाजवादीमा आए । यसो हेर्दा समाजवादी वैचारिक रूपमा वल्लो घाट न पल्लो तीरको कुनै खास सम्भावना नभएको देखिन्छ । 

यता, परिवर्तनको आँधी उठाएर आएको माओवादी जो छ, त्यसमा नेतृत्वको दाबी गर्ने त्यस्तो शक्ति व्यक्तिको रूपमा कोही पनि देख्दिनँ । अहिले यो पार्टी नै धार्मिक सम्प्रदायजस्तो लाग्छ, जहाँ एकजना स्वामी छन् र बाँकी भक्तहरू । स्वामीको हातमा सम्पूर्ण अधिकार केन्द्रित छ । सांसदको उम्मेदवारी, मन्त्री आदि पार्टीका पद टिकेप्रथाबाट चयन हुन्छ । कहिलेकाहीँ बैठकको अभिनय पनि गरिन्छ । तीन–चार दिन बैठक बसिन्छ र बैठकमा केही नमिलेपछि स्वामीजीलाई बुझाइन्छ । स्वामीजीको सुविवेकले सबै कुरा निर्धारण गर्ने, यस्तो त राजतन्त्रमा हुने हो । कम्युनिस्ट पार्टीमा राजतन्त्रको सांस्कृतिक प्रेत जबर्जस्त रूपमा उपस्थित छ । 

देखिने र सुनिने गरी प्रभावकारी ढंगले नेतृत्वको दाबी गरेको कम्युनिस्ट पार्टीहरूमा देखिँदैन । उदार लोकतन्त्रवादी पार्टी भएकाले कांग्रेसभित्र केही न केही बोल्न पाइन्छ, यस पार्टीमा कम्युनिस्टमा भन्दा सकारात्मक पक्ष यही छ । 

शेरबहादुर देउवाको विकल्पमा उनकै कानले सुन्ने गरी उनकै अगाडि भन्न सक्छन् । तपाईंको भूमिका ठीक भएन ।  उमेर–अवस्था, वैचारिकी, अनुभव, प्रभावकारिता, बोली केहीले पनि तपाईं नेपाली कांग्रेसको सभापति भइरहन लायक देखिनुभएन । तपाईंले बाटो छाड्नुस् — औपचारिक कमिटीमा उनकै अगाडि गगन थापाले यो कुरा भनेका छन् । कम्युनिस्ट पार्टीमा यस्तो हुँदैन । जुन कम्युनिस्ट पार्टीहरूले सिक्नैपर्ने महत्त्वपूर्ण कुरा हो । 

बहुदलीय प्रतिस्पर्धा एक पार्टी र अर्को पार्टी बीचमा मात्रै हुँदैन । आन्तरिक रूपमा प्रतिस्पर्धा भएन, योग्य–अयोग्य र ठीक–बेठीकको चयनमा प्रतिस्पर्धा भएन भने त्यो पार्टी हुँदैन, धार्मिक सम्प्रदाय हुन्छ । कांग्रेसमा गगनले प्रतिस्पर्धा गरेका छन् । यो बूढो पुस्ताले इतिहासको बाटो छेक्यो, कांग्रेस कांग्रेसजस्तो देखिएन ।

लोकतन्त्र, समाजवाद के के बन्ने केही संज्ञा कांग्रेसभित्र थिए, ती सबै बिर्सिइयो । त्यसैले पार्टी पार्टीजस्तो भएन । बीपीको दूरदर्शी योजनाअन्तर्गत बनेको यो पार्टीमा बीपीको चिन्तन र सपना परित्याग भयो । त्यसलाई पुनर्जीवित गर्नका निम्ति युवाबाट नयाँ नेतृत्वको आवश्यकता छ । युवा पनि विचारले मात्रै होइन, अनुभव र हस्तक्षेपसहितको हुनुपर्छ, उसले नेतृत्व गर्नुपर्छ भन्ने गगन थापाले दाबी गरेका छन् । 

मैले ट्विटमा ठट्टा पनि गरेँ — ‘उमेर र विचारले हामी युवा हौँ, वृद्ध कांग्रेस हामीलाई बाटो छाड, नत्र... भन्दै थिए केही कांग्रेस । उच्च वृद्ध, मध्यम वृद्ध र तरुण वृद्ध जम्मै वृद्ध कांग्रेस एकगठ भएर यी ‘नत्र’ भन्नेहरूलाई गिज्याउँदै लतारेर भित्तामा पु¥याए त ! आफ्ना नाडी नछामी ठूला कुरा गर्दा हास्यपात्र भइन्छ है पार्टनर !’

दुई महासचिव (गगन, विश्वप्रकाश)को अस्ति मन्तव्य सुनेँ । सबैले घेरेर उपहास गरेपछि मलाई लागेको थियो, यिनको मनोबल खस्कियो होला, यिनीहरू कसरी बोल्लान् ! तर दुवैले सानदार, अत्यन्तै शिष्ट, मर्यादित भाषा र तर्कपूर्ण ढंगले बोले । तपाईंहरू सबैले कांग्रेस पार्टीभित्रका भ्रष्टाचारीको पक्षमा बहस–पैरवी गर्नुभयो । कांग्रेस पार्टी आन्तरिक भ्रष्टाचारको पक्षमा बहस–पैरवी र प्रतिकार गर्ने पार्टी होइन । भ्रष्टाचार पार्टी बाहिरको होस् वा भित्रको, भ्रष्ट पार्टी बाहिरको होस् वा भित्रको, त्यो कारबाहीयोग्य छ । यस कारण कांग्रेसमा केही लक्षण देखिन्छ । 

बाबुराम भट्टराईले नयाँ पार्टीको प्रारम्भ गरे । पार्टीको स्वरूप नलिईकनै उनको पार्टीको सबै कुरा सकियो । सुरुमा त उनले फिल्मी तामझाम शैलीको एउटा पार्टी सुरु गरे । उनको पार्टीले संस्थाको स्वरूप कहीँ पनि लिएन, उनको पार्टीको वैचारिकी के हो भन्ने कहिल्यै प्रस्ट भएन । पार्टीलाई विभिन्नसँग जोड्दै गए, जोड्दाजोड्दै सबै सकियो । 

उनी आफैँले पुरानो पार्टी वैचारिक र संगठनात्मक सबै किसिमले पत्रु भयो भन्थे । त्यही पार्टी माके (माओवादी केन्द्र)मा उनी फर्किए ।

उनीपछि आएका नयाँ शक्तिहरू पनि राप्रपाभन्दा भिन्न देखिएनन् । यही नै उनीहरूको सबैभन्दा ठूलो वैचारिक संकट थियो । कुनै पार्टी पार्टी बन्नका निम्ति त्यसको एउटा दार्शनिक आधार होला, विचारधारा होला, भावी कार्यक्रम होला, सत्ता सञ्चालन गर्ने मोडालिटी केही होला, जीवन–जगत्लाई हेर्ने दृष्टिकोण के ? यी नयाँमा केही पनि छैन । न नयाँ पार्टी भन्नेमा थियो, न अहिले बालेन र रविसँग छ । यी पार्टी भिन्नभिन्न समयमा भिन्नभिन्न ढंगले उदय भए पनि, यिनका भन्ने केही कुरा फरक भए पनि, राप्रपा र यिनीहरूको बीचमा तात्त्विक रूपमा फरक देख्दिनँ म । 

शेरबहादुरको विकल्पमा उनकै कानले सुन्ने गरी उनकै अगाडि गगनले भन्न सक्छन् — उमेर, अवस्था, वैचारिकी, अनुभव, प्रभावकारिता, बोली केहीले पनि तपाईं नेपाली कांग्रेसको सभापति भइरहन लायक देखिनुभएन । तपाईंले बाटो छाड्नुस् । कम्युनिस्ट पार्टीहरूमा यस्तो देखिँदैन ।

बालेन केही तयारीका साथ आएका थिए । उनको कमसे कम पाँच वर्षको तयारी रहेको अनुमान गर्न सकिन्छ । रविलगायत नयाँ पार्टी र अनुहारमा दुइटा कुरा छन् — एउटा भ्रष्टाचार उन्मूलन र सुशासन । 

यी दुवै गर्नका लागि दृष्टिकोण चाहिन्छ । कुन दृष्टिकोण, कुन संगठन, कुन शक्ति, कुन प्रयोजनका लागि भन्ने हुन्छ । यीसँग केही पनि छैन । वैचारिक पृष्ठभूमि, दर्शन, दृष्टिकोण, अनुभव, व्यक्तित्व, योगदान इत्यादिले यिनीहरु उदाएका होइनन्, पुरानाहरूप्रति जनतामा उत्पन्न भएको अनाकर्षण र घृणा यिनका निम्ति लाभ भयो । आफ्नै सामथ्र्यका आधारमा होइन, स्थापित पार्टीका नेताहरू र सत्ता सञ्चालकहरूको नालायकीपनको जगमा यिनीहरू उभिएका छन् । यिनीहरू उभिनुको आफ्नै धरातल छैन । त्यसैले म यिनीहरूको भविष्य देख्दिनँ । यी मौसमी खहरेहरू हुन्, कालान्तरमा यो भेल सुकेर जान्छ ।

रविन्द्र मिश्रले विचारभन्दा माथि देश भनेका थिए, रविको पनि लगभग त्यस्तै हो । यिनी विचारको सर्वथा विरोधी हुन् । उनी भन्छन् — विचार किन चाहिन्छ, हाम्रो विचार भनेको भ्रष्टाचार उन्मूलन हो । 

363039076_663881728973399_3340031934975338105_n

भ्रष्टाचार उन्मूलनका निम्ति पनि कुनै एउटा दार्शनिक र वैचारिक पृष्ठभूमि होला, भविष्यका केही परिकल्पना होलान् । त्यसै हावामा भ्रष्टाचार उन्मूलन हुने होइन । त्यसैले बालेन्द्रसँग केही विचार छ कि भन्ने लाग्छ, रविसँग त्यो पनि छैन । उग्रराष्ट्रवाद, विशुद्ध हिन्दुत्व र लोकप्रियतावाद — नयाँ र पुराना सबैका हतियार यिनै हुन् । 

अहिलेको दुर्भाग्य के हो भने नयाँ भन्नेहरूले सत्तामा गरिखानका निम्ति जे जे र जुन जुन हतियार अँगालेका छन्, स्थापित सत्ता माओवादी, कांग्रेस र राप्रपाका सबै नायकहरूको हतियार त्यही हो । 

माओवादी केन्द्रको वैचारिक स्तर, सांस्कृतिक स्तर, जीवनशैली, त्यसले निर्माण गरेको सामाजिक सम्बन्ध र राप्रपाको विचारमा के फरक छ ? अहिलेको समस्या भनेकै विचारको रिक्तता वा संकट हो । जुन नयाँ र पुराना सबैमा देखिन्छ । सबैले आफ्नो आदर्श परित्याग गरे । यद्यपि कांग्रेसभित्र कतै कुनाकाप्चामा आफ्नो इतिहास, आदर्श र लक्ष्यको सम्झना होला, तर कम्युनिस्ट पार्टीहरूभित्र त्यो देखिँदैन । 

एक समय थियो, माओवादी र एमाले भन्ने कुकुर र बिरालाजस्ता थिए । शब्दकोशमा भएका सबै दुष्प्रचारका संज्ञाहरू एक–अर्काको विरुद्धमा तिनले प्रचार गरे । आखिरमा माओवादी भन्ने पार्टी ओलीको कमान्डमा विलय हुन गयो । यही नै पतनको पराकाष्ठा हो, विचार वा वैचारिक दिशा, गौरव र इतिहासको परित्याग हो । इतिहासमा भएका सारा बलिदानबाट उत्पन्न अपेक्षाको परित्याग हो ।

कांग्रेसमा नयाँको स्वर दिनेहरूको कुरा गर्दा, अरु हेरीकन गगनमा वैचारिक समृद्धता, स्पष्टता होला कि भन्ने म अनुमान गर्थें । जब चुनाव आयो, मैदानमा उत्रिँदा उनले हरिको सम्झना गरे । कार्यकर्ताको अगाडि गएर उनले भने — अब तिमीहरूले नेपाली कांग्रेसलाई भोट दिएनौँ भने माथिबाट हरिले देख्छन् र दण्डित गर्छन् । मान्छेलाई आतंकित गराउने यस्तै शैलीका कुरा उनले गरे । गगनको मुखबाट सम्भवतः कसैले पनि यस्तो अपेक्षा गरेको थिएन । आखिर गगन पनि राजनीतिमा गरिखाने प्रतिस्पर्धामा गइरहेका छन् । 

एकजना कम्युनिस्ट स्वामी उता भारतमा ५१ हजारको दान टक्र्याउन गए । ती स्वामीका पाइला पछ्याउँदै गगन पनि पशुपतिमा गेरुवस्त्र लगाएर भजन गाउँदै हिँडे । हामी अहिले धर्मनिरपेक्ष मुलुकमा छौँ, कम्युनिस्ट भनिने नेता र गगनको कदम धर्मनिरपेक्षता विरुद्धको एउटा उग्र अपराधीकरण हो भन्ने मलाई लाग्छ । गगन थापाले पनि समयको सन्दर्भमा वैचारिक स्पष्टता र दृढता देखाएनन् ।

यति हुँदाहुँदै पनि पार्टीभित्र एक आलोचकका रूपमा गगन उपस्थित छन् । उनको वरिपरि केही सम्भावना छन्, यस कुराबाट अरुले सिक्नुपर्छ भन्ने मलाई लाग्छ । 

माओवादीमा नयाँ नेतृत्वको निषेध कसरी भयो भन्ने इतिहासको गम्भीर शोध–अनुसन्धानको विषय छ । सोभियत संघको विघटनपछि संसारमा ठूलो संकट थियो । व्यापक संकटका बीचमा, दुइटा विशाल अजिंगरजस्ता देशको बीचको सानो लगभग सम्पूर्ण रूपमा परनिर्भर मागिखाने देशमा माओवादीको जुन संग्रामी जनआन्दोलन उठ्यो, त्यो अकल्पनीय कुरा थियो । अहिले अध्ययनको विषय के हो भने के के कारणले त्यस्तो अप्ठेरो विश्व परिस्थितिमा नेपालमा त्यो संग्राम उठ्यो ? 

कुनै कुराको उत्थानसँगै उत्थानको प्रक्रिया र समयावधि हुन्छ भने पतनको पनि समयावधि होला नि ! माओवादी पतन हुन समय चाहिएन । उत्थान किन भयो भन्नेमा कल्पना गर्न सकिन्छ । नेपाली समाजमा विभेद र अन्यायको संग्रहालय भएको हुनाले सारा मान्छे असन्तुष्ट थिए, ती असन्तुष्ट मान्छेको आवेगलाई माओवादीले उद्वेलित ग¥यो, मान्छे पछि लागे । माओवादीको यो पतन भने यति नाटकीय ढंगले, यति अकल्पनीय ढंगले आफ्नै आदर्शविरुद्ध तरबार उठाएर कसरी भयो ? यसको मसँग कुनै जवाफ छैन । यो गम्भीर अनुसन्धानको विषय हो । 

यो समाजलाई अघि लैजान, माक्र्सवादबाट प्रेरित र प्रभावित साम्यवादलाई शक्तिको रूपमा स्थापित गर्न र परिवर्तनको हतियारको रूपमा प्रयोग गर्नको निम्ति यो विषयको गम्भीर अध्ययन जरुरी छ । 

यसको अध्ययन नगर्ने हो भने अर्को क्रान्ति किन गर्ने ? क्रान्तिबाट आएको एउटा नायक आफ्नै आदर्शविरुद्ध तरबार चलाउँदै हिँड्छ भने अर्को क्रान्ति र बलिदान किन चाहियो भन्ने प्रश्न छ । यसको जवाफ मसँग छैन, अनुसन्धान गरिनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया