नेपालमा बढी बाढी–पहिरो किन जान्छ, रोकथाम के ?
हामीकहाँ हिमालय पर्वत बन्दा धेरै नै उथलपुथल भएर बनेका थिए । जहाँ ठूलो पानी पर्दा भासिने वा भूकम्प आउँदा बढी खलबल र क्षति हुने खतरा रहन्छ ।
हामीकहाँ अधिकांश नदी तथा खोला छेउका सम्म भूभाग पुराना पहिरोबाट बनेका हुन् । एकातिर, पहिरोबाट बनेको भूभाग भएकाले यी ठाउँ मलिलो हुन्छन्, अर्कोतिर सम्म पनि भएकाले मानिसले खेतीपातीका लागि बस्ती बसाउँछन् । हिजो पहिरोबाट बनेका ठाउँ फेरि कुनै बेला बग्न सक्छन् । खासगरी वर्षा, बाढी र भूकम्पले यस्ता ठाउँमा असर पु¥याउन सक्छन् ।
चार–पाँच वर्षअघि पोखराको अर्मलामा जमिन भासिएर ठुल्ठुला भ्वाङ परे । यो समस्या किन देखियो र कहाँ समस्या छ भनी अनुसन्धान गरिनुपर्छ । यस्ता ठाउँको भित्री संरचना कस्तो छ, त्यसमा पनि पहिरोको जोखिम निर्भर रहन्छ । यस्ता बस्तीमा राज्यले अध्ययन अनुसन्धान गर्न आवश्यक छ ।
जथाभावी विकास निर्माणले जोखिम
ठुल्ठुला राजमार्ग निर्माण वा ठूला योजनाका काममा हामीकहाँ भूगर्भविद्को संलग्नता रहन्छ, तर पछिल्लो समय स्थानीय स्तरमा बनेका अधिकांश सडक तथा विकास निर्माणमा भूगर्भविद्को उपस्थिति देखिँदैन । मनलागी विकास निर्माण भइरहेका छन् । भूगर्भविद्ले अध्ययन–अनुसन्धान गरी उनीहरूले बनाएको भौगर्भिक नक्सांकनका आधारमा भएको विकास निर्माण दीर्घकालीन हुन्छ । विकास निर्माणको मूलभूत सम्बन्ध ढुंगा र माटोसँग हुन्छ । त्यसमा आधारित विकास निर्माण नहुँदा जोखिमको सम्भावना रहन्छ । कुनै पनि विकास–निर्माण सुरु गर्नुअघि गरिने सर्वेक्षणमै भूगर्भविद् र सिभिल इन्जिनियर सँगसँगै चाहिन्छ ।
सडक बनाउँदा कि खन्नुपर्छ, कि खाडल भएका ठाउँमा पुर्नुपर्छ । कुनै पनि भूगोलको आफ्नो खालको भौगर्भिक अवस्था हुन्छ, माथि वा बीचबाट खनेपछि त्यहाँको चट्टान वा माटोको अवस्था खलबलिन पुग्छ र जमिने भासिने वा बग्ने सम्भावना रहन्छ । यस्तै कुनै ठाउँ पुर्दा अकासेपानी वा बाढीले पार्ने असरलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । यसैले सुरुमै अनुसन्धान गरी सावधानी अपनाउनैपर्छ । भूगर्भविद्को अनुसन्धान र सल्लाहबाट काम हुँदा भूक्षयमा कमी गर्न सकिन्छ ।
भूगर्भविद्ले विभिन्न आयाममा अध्ययन गर्छन् । कति ठाउँमा पानीको मूल रहेको हुन्छ वा पानी रसाइरहेको हुन्छ । यसको मतलब त्यहाँभित्र दरार (फ्राक्चर) छन् । कुनै ठाउँमा भूमिगत पानी पनि हुन सक्छ । कुनै ठाउँमा पानीको मूल हुनु भनेको दरार पनि हुनु हो । यस्तो ठाउँमा विकास निर्माण गर्नुअघि ती दरारको अवस्थाबारे अनुसन्धान गरिनुपर्छ ।
अर्कोतिर, कुनै पनि भूगोलमा भेलपानी बग्ने प्राकृतिक बाटो हुन्छ । विकास निर्माण कार्यले त्यसमा फेरबदल पर्दा पानीले आफू बग्नका लागि बाटो आफैँ बनाउँछ । त्यस्तो अवस्थामा भेलपानी कुनै चरमा पस्यो भने पहिरोको सम्भावना बढ्ने हुन्छ ।
यस्तै, सदावहार पानी बगिरहने खोला वा नदीको पनि विगत र वर्तमान हेरिनुपर्छ । त्यो खोला पहिले अन्यत्रबाट बगेको पनि हुन सक्छ । जहाँँ बगिरहेको छ, त्यहीँ पनि पहिले वर्षाका बेला पानी कति मात्रामा बगेको थियो, यसलाई ख्याल नगरी विकास निर्माण गर्दा बाढी–पहिरोको जोखिममा पर्न सक्ने सम्भावना रहन्छ । खोलाको वरिपरि पानीले आफ्नो निसान बनाएको हुन्छ । भूगर्भविद्ले अध्ययन गरी कहिले कहाँसम्म पानी बगेको थियो भनी पत्ता लगाउन सक्छन् ।
जस्तो ः परार साल मेलम्चीमा पहिरो र लेदोसहितको बाढी आयो । किनभने, त्यहाँ हिमनदीले थुपारेको ढुंगामाटो रहेछ । बढी वर्षा हुँदा त्यो माटो गलेर बग्न थाल्यो । मेलम्ची खोलाको विगतको अध्ययन गरी बस्ती वा बजार बसाएको भए उत्रो क्षति बेहोर्नुपर्ने थिएन ।
तराईमा बस्ती बसाउँदा वा बस्ती भएका ठाउँमा त्यस नजिकका खोलाको विगत र वर्तमान अवस्थिति हेर्नुपर्ने हुन्छ । यसका लागि अहिले गुगल म्यामबाट पनि हेर्न सकिन्छ । पछिल्लो दुई–तीन सय वर्षमा कोशी नदी नै दुई–तीन सय मिटर पूर्वतिर सरेको स्याटलाइट इमेजहरूले देखाएका छन् ।
यी सम्पूर्ण भौगर्भिक अवस्थाको हामीकहाँ अध्ययन अनुसन्धान आवश्यक छ । यस कारण स्थानीय निकायमै अथवा उनीहरूको नजिकै भूगर्भविद् राखिनुपर्छ । यसका लागि प्रत्येक स्थानीय निकायले भूगर्भविद् राख्न नसके पनि प्रदेश सरकारका मन्त्रालयले जिल्ला–जिल्लामा भूगर्भविद्को व्यवस्था गर्न सक्छ ।
हाम्रा हरेक जिल्लामा आ–आफ्ना भौगर्भिक समस्या छन् किनभने हाम्रो भौगोलिक विशेषताको पनि विविधता छ । कम्तीमा जिल्लामा एउटा भूगर्भविद रहने व्यवस्था भए स्थानीय समस्या पहिचान हुन्छ । यसका लागि राज्य नै नीतिगत रूपमा अगाडि बढ्नुपर्छ । राज्यको नीति हुने हो भने जिल्लाहरूमा भूगर्भविद्को व्यवस्था गर्न त्यति समस्या हुँदैन ।
(कुराकानीमा आधारित । पौडेल भूगर्भशास्त्र केन्द्रीय विभाग, त्रिविका विभागीय प्रमुख हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री खड्का हुल बाँधे्र पुगे जमुनी सिँचाइ आयोजना हेर्न
-
१२ बजे, १२ समाचार : वाइडबडी काण्डमा पूर्वमन्त्री शाहीले पाए सफाइदेखि एनपिएलमा भारतीय गिरोहको सट्टेबाजीसम्म
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान
-
आइटिएफ टेनिस : नेपालका आरभ र सुनिरा सेमिफाइनलमा
-
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको चरणमा छ : मन्त्री भट्टराई
-
भरतपुर अस्पतालमा विपन्नका लागि ‘कपडा बैंक’