सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
त्रिभुवन विश्वविद्यालय

काउन्सिलबाट अनुमोदन नै नभएको विषय पढाउँदै त्रिविका इन्जिनियरिङ कलेज !

काउन्सिलमा दर्ता नभएको विषय पढेका विद्यार्थी शैक्षिक प्रमाणपत्र पाउन वञ्चित
बिहीबार, २५ साउन २०८०, १३ : १२
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा दर्ता नै नभएको विषय पढाई भएपछि विद्यार्थीहरू मर्कामा परेका छन् । त्रिवि अन्तर्गतका इन्जिनियरिङ कलेजहरूमा सन् २०१८ देखि ‘इलेक्ट्रोनिक कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ’ विषयको पढाई सुरु भएको थियो । उक्त कोर्स हालसम्म पनि त्रिविको शैक्षिक परिषद् ‘एकाडेमिक काउन्सिल’ मा दर्ता नभएको पाइएको हो । 

काउन्सिलमा दर्ता नै नभएपछि यो विषय पढेका विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्र पाउन सकेका छैनन् । 

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका ४ वटा आङ्गिक र १० वटा सम्बन्धन प्राप्त क्याम्पसमा ‘इलेक्ट्रोनिक कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ’ विषयको पढाई हुँदै आएको छ । तर, परीक्षा नियन्त्रण कार्यालयले यो विषय दर्ता नभएको भन्दै विद्यार्थीहरूलाई शैक्षिक प्रमाणपत्र दिन अस्वीकार गरेको छ । 

थापाथली इन्जिनियरिङ क्याम्पसबाट सन् २०१८ मा सो विषय पहिलो ब्याचमा पढेका शिवरञ्जन गुप्ता सन् २०२३ मा पासआउट भए । अनि, शैक्षिक प्रमाणपत्रका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर माइग्रेसन सर्टिफिकेटका लागि आवेदन दिए । 

गुप्ता लगायतका उनका साथीहरूलाई २० दिनपछि आउन भनियो । एक हप्तापछि हिजो (मंगलबार) गएर बुझ्दा उक्त विषय दर्ता नै नभएकाले प्रमाणपत्र दिन नसकिने बताइयो । त्यसपछि आफूले पढेको विषय दर्ता नै नभएको रहेछ भन्ने बल्ल थाहा पाए । 

सन् २०१८ देखि यो विषय पढिरहेका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरू गरी झण्डै २ हजारको हाराहारीमा विद्यार्थी छन् । पहिला इलेक्ट्रोनिक कम्युनिकेशन मात्र पढाई हुन्थ्यो । पछि इन्फरमेशन पनि थपिएको थियो । 

पढेर सर्टिफिकेट लिने बेला यो विषय दर्तै नभएकाले प्रमाणपत्र दिन नमिल्ने बताइएको पीडित गुप्ताले बताए । 

‘विषय छनोटको लागि त्रिविको एकाडेमिक काउन्सिल हुन्छ । त्यसमा दर्ता हुनुपर्ने रहेछ । यो २०१८ मै हुनुपर्ने काम हो । तर, अहिलेसम्म भएको रहेनछ ।’ गुप्ताले भने ।  

स्नातक तहमा यो विषय पढेपछि थप अध्ययनका लागि नेपालमा कोर्स नै छैन । त्यसका लागि बाहिर जानुपर्ने हुन्छ । पढाई सकेपछि बाहिरका विश्वविद्यालयमा अध्ययनका लागि तयारी गरिरहेका थिए । तर, प्रमाणपत्र नै नहुँदा अन्यौलता सिर्जना भएको कैलालीका अर्का विद्यार्थी हेमन्त शर्माले बताए । 

‘मास्टर्सको लागि भिएलएसआई (भेरी लार्ज स्केल इन्टिग्रेसन), कम्युनिकेशन सिग्नेल लगायतका कोर्स पढ्न बाहिर जानुपर्ने हुन्छ । जुन कोर्षको पढाई नेपालमा हँुदैन । तर, प्रमाणपत्र नपाएपछि के गर्ने भन्ने अन्योलमा छौँ ।’ शर्माले भने ।  उनी अमेरिका पढ्न जाने योजनामा थिए, त्यहाँका विश्वविद्यालयमा एकाडेमिक सेसन सुरु भैसकेको छ । तर, प्रमाणपत्र विना अन्योलमा छन् । 

यो कोर्षअन्तर्गत मोबाइलको चिप, स्याटेलाइटसम्बन्ध अध्यापन हुँदै आएको छ । नेपालमा पहिलो पटक पढाई हुन लागेको र नौलो विषय भएकाले स्नातकोत्तर तहमा यसको पढाई गर्न सकिएको छैन । त्यसका लागि विद्यार्थीहरू बाहिर गएरै पढ्नुपर्ने बाध्यता छ । 

परीक्षा नियन्त्रण कार्यालयले एकाडेमिक काउन्सिलले पत्र पठाएपछि मात्रै प्रमाणपत्र दिन सकिने बताएको छ । काउन्सिलको लापरबाहीका कारण यस्तो समस्या आएको गुप्ताको भनाई छ । कोष नै दर्ता नभएकाले इन्जिनियरिङ लाइसेन्सको परीक्षासमेत दिन नपाएको उनले दुखेसो पोखे । 

‘यो कोर्स दर्ता भएको छैन भने लाइसेन्सको परीक्षा दिन पनि पाउँदैनौँ । जबकि मङ्सिरमा लाइसेन्सको परीक्षा हुँदैछ,’ गुप्ताले भने ।  

काठमाडौँ, दहचोकका अर्जुन पौडेलले समेत विदेशमा गएर पढ्ने योजना बनाएका थिए । तर, प्रमाणपत्र नै नहुँदा के गर्ने भन्नेमा अन्योलमा छन् । 

आईओईका तत्कालीन डीन सुशील बज्राचार्यको पालामा यो कोर्स लागू भएको थियो । त्यो बेला आईओईका पुल्चोकसहित सबै आङ्गिक क्याम्पसमा पढाउन थालिएको थियो । पछि सम्बन्धन प्राप्त इन्जिनियरिङ कलेजहरूले समेत पढाउन थालेका थिए । 

पढाई सुरु गर्दै गर्ने र दर्ताको प्रक्रियामा पनि बिस्तारै कोर्स अगाडि बढाउँदै लैजाने भन्ने थियो, जुन अहिलेसम्म हुन सकेको छैन । आईओई र त्रिविको लापरबाहीका कारण आफूहरू मर्कामा परेको विद्यार्थीहरूको भनाई छ । 

आईओईका डीन प्राडा शशिधर राम जोशीले यो विषय गम्भीर रहेकाले आवश्यक प्रक्रिया अगाडि बढाउने आश्वासन विद्यार्थीहरूलाई दिएका छन् । उनले पनि पीडित विद्यार्थीले ज्ञापनपत्र बुझाएपछि मात्र जानकारी पाएका थिए । यो विषयमा सरोकारवाला निकायसँग समन्वय र छलफल गरी अगाडि बढ्ने प्रतिबद्धता उनले जनाएका हुन् । 

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले भने एकाडेमिक काउन्सिलमा कोर्स नै दर्ता नभएको भन्ने नहुने जिकिर गर्छन् । 

‘कोर्षको नाम र कोर्स स्ट्रक्चर पहिला नै पास भइसकेको हुन्छ । त्यही आधारमा पढाई सुरु हुन्छ, त्यसलाई एकाडेमिक काउन्सिलले पछि अनुमोदन गर्छ । नाम र कोर्स पास नभएको खण्डमा विद्यार्थी भर्ना नै लिन पाइँदैन ।’ उनले भने । 

त्रिविमा हाल ३२८ वटा शैक्षिक कार्यक्रम छन् । ती कतिपय रिभिजन हुन्छ भने कतिपय नयाँ थपिएर आउँछ । ती सबैमा कोर्षको नाम र पाठ्यक्रम संरचना पास भएर पठनपाठन गर्दै पछि काउन्सिलबाट अनुमोदन गर्न सकिने व्यवस्था रहेको उनले बताए । 

यो समस्या विगतमा पनि रहेको तर हाललाई भने सबै प्रक्रिया पुरा भएपछि मात्रै पास गर्ने र त्यही आधारमा शैक्षिक कार्यक्रम अघि बढ्ने उनको भनाई छ । 

उक्त कोर्षको हकमा पहिला नै कोर्षको नाम र संरचना पास भइसकेको हुनाले काउन्सिलले अनुमोदन गर्न समस्या नरहेको उनको भनाई छ । डीनमार्फत् सिफारिस भएर आएको खण्डमा काउन्सिलको बैठक बसेर तत्काल अनुमोदन गर्न सकिने उनले बताए । 

प्राविधिक विषय भएकाले इन्जिनियरिङ काउन्सिलमा समेत दर्ता गराउनुपर्ने हुन्छ । त्यसका लागि समेत डीन कार्यालयले नै आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने उपकुलपति बाँस्कोटाको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप