शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

बालुवाटार जग्गा प्रकरण छानबिनका लागि मेरो सहयोगी भूमिका रहन्छ : माधव नेपाल

‘माधव नेपाल भाग्ने खालको मान्छे होइन, आत्तिएको पनि छैन’
सोमबार, २९ साउन २०८०, १५ : ००
सोमबार, २९ साउन २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू पूर्व निर्धारित कार्यक्रमअनुसार युरोप भ्रमणमा गएका बेला माधव नेपाल भाग्यो भनेर समाचारहरू प्रकाशित भएकोमा चित्त दुखाएका छन् ।  सोमबार युरोपबाट नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले माधव नेपाल भाग्ने खालको मान्छे नभएको प्रस्ट्याए । साथै उनले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिए पनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताए । 

‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर अलिअलि चित्त दुखेको छ’, पूर्व प्रधानमन्त्री नेपालले भने, ‘बालुवाटार जग्गा प्रकरणमा केही कमजोरी भएको छ भने त्यसको छानबिन होस्, मेरो सहयोगी भूमिका रहनेछ ।’ अध्यक्ष नेपालले आफूले कुनै अपराध नगरेकाले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम जोडिए पनि संलग्नता नरहेको दाबी गरे । 

‘कतिपयले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन । गोली खाँदा त नभाग्ने, राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्छे म । कुनै गल्ती अपराध र बदमासी नगरेको सन्दर्भमा ’, उनले भने, ‘कुनै पनि कानुनको प्रक्रिया अन्तर्गत प्रोसेसहरू अघि बढ्छन् ।’   

अध्यक्ष नेपालले आफू लतारिएर स्वदेश नफर्केको पनि बताए । आफू युरोप जाने तयारीमा रहनु र सर्वोच्चको आदेश काकताली जस्तै भएको पनि उनले सुनाए । उनले देशको परिस्थितले गर्दा आफू दुई देशको भ्रमण छोट्टाएर फर्किएको भन्दै कुनै खास खास बेलामा नेताहरूको महत्त्वपूर्ण भूमिका हुने बताए ।

बालुवाटार प्रकरणमा के भने नेपालले ? 

मैले नितान्त असल मनसायले नेपाल सरकारको जग्गा नेपाल सरकारकै नाममा हुनुपर्छ भन्ने मनसायले गरेको हो । यदि कागजपत्र छैन भने पनि स्रेस्ता कायम गर्ने भनेर काम गरेको हुँ । त्यो काम गर्दा सरकारी जग्गा र अन्य प्रकारको जग्गा कानुनसम्मत ढङ्गले छुट्टाएर गर्ने गरिएको हो । बाटोको सन्दर्भमा पनि कसैलाई कुनै मुआब्जा नदिइकन ।

सट्टापट्टा नगरी उनीहरूबाट प्राप्त गरीकन सात रोपनी जग्गा नेपाल सरकारको नाममा थप ल्याउने कुराहरू भए । तर कुनै नाममा मोहीको नाम नक्कली पर्‍यो के पर्‍यो भन्ने कुरा आएको छ त्यो तथ्य तथ्याङ्कले बताउला । को को संलग्न छन् भन्ने कुरा पनि होला । तर मेरो कुनै पनि संलग्नता रहेको छैन । मेरो पालामा यो जटिलता र झमेलावाल भनेर कसैले भनेको थिएन ।

यसका केही जटिलता पनि होलान्, सर्वोच्चले के भन्यो ? अख्तियारले के भन्यो ? पहिले के भयो पछि के भयो ? सबैको राम्रो ढङ्गले छिनोफानो होस् । निर्दोष कोही नपरुन्, दोषी कोही नपरुन् भन्ने आधारमा जानुपर्छ । बालुवाटार प्रकरणमा पनि भन्ने हो भने बालुवाटार निवासमा कोही जाने हो त्यसले हेर्न सक्छ र भन्न सक्छ, कि त्यो काम कुन प्रधानमन्त्रीको पालामा सुरु भयो ? सम्भवतः मेरो नाम अरूभन्दा अग्रपङ्क्तिमा पर्दै छ । केही बदमासी त्यहाँ भएको छ भने त्यसको छानबिन होस् । त्यसमा मेरोतर्फबाट जुन सहयोग गर्नुपर्ने हो मेरो सहयोगी भूमिका रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप