सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
प्रदेश

कोशी प्रदेश : सुरु भयो सत्ता यात्राको तमासा

‘तरल अंकगणित’ कारण देखाएर संसदीय अभ्यासको हुर्मत लिइँदै
आइतबार, ०३ भदौ २०८०, २० : ४१
आइतबार, ०३ भदौ २०८०

विराटनगर । कोशी प्रदेशमा संसदीय अभ्यासको हुर्मत लिने गरी दलहरूले गतिविधि अगाडि बढाएका छन् । यसअघि गठबन्धन दलहरूले सभामुख पदमा बहाल रहेका बेला बाबुराम गौतमलाई सरकार गठनमा सहभागी गराएर संसदीय अभ्यासको हुर्मत लिएका थिए । अहिले विश्वासको मत लिने बेलामा सांसदहरूलाई बिदा बस्न लगाएर प्रतिपक्षी दल एमाले र राप्रपाले संसद्को हुर्मत लिँदैछन् । 

यस खेलमा कोहीभन्दा कोही कम देखिएका छैनन् । आफ्नो हात माथि हुँदा सबै ठिक, अर्को आउने परिस्थिति निर्माण भए सबै बेठिक भन्ने दलहरूको ‘दोषी चस्मा’ले कोशी प्रदेशमा संसदीय अभ्यासको हुर्मत मात्रै लिइएको छैन, भयानक दुर्घटनाको सङ्केत पनि गर्दैछ ।

संसदीय परम्परा अनुसार दलहरूले प्राप्त मत र सिट सङ्ख्याको आधारमा सरकार बनाउने र गिराउने खेल खेल्न पाउँछन् । तर, सत्तामै जानकै लागि ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै कोशी प्रदेशमा जात्रा हुँदैछ । दलहरूको आफ्नै कारणले कोशी प्रदेशसभा विघटनको बाटोमा मात्रै जाँदै छैन, भर्खरै बामे सर्न लागेको संघीय व्यवस्था माथि प्रश्न चिह्न उठाउने सङ्केत दिएको छ । 

संघीयताको विरोधी दल राप्रपालाई यस विषयमा कुनै चासो र चिन्ता नहुनु स्वाभाविक हो । उसले प्रदेशसभामा रहेर वा प्रदेशको मन्त्री बनेरै पनि त्यसैमाथि प्रहार गर्ने बताइसकेको छ । राप्रपाको त्यही योजनालाई समर्थन हुने गरी एमाले र सत्ता गठबन्धन दलहरूले कदम चालिरहेका छन् । 

सत्ता गठबन्धनले बहाल रहेका सभामुखलाई मुख्यमन्त्री चयनमा सहभागी गराएको कदम सर्वोच्च अदालतले सच्याइदियो । त्यसपछि सभामुख पदबाटै राजीनामा दिएर मन्त्री बन्न तयार देखिएका गौतम र उनलाई राजीनामा गराउन भूमिका खेल्ने दल तथा उनका नेताहरू यसका लागि कम जिम्मेवार छैनन् । 

अझै आश्चर्यजनक कुरा के छ भने सत्ता गठबन्धन दलको कदमलाई नैतिकताको कसीमा राखेर आलोचना गर्ने र अदालतमा मुद्दा हाल्ने विपक्षी दल एमालेले अहिले आएर आफ्ना ६ सांसदलाई एकै पटक अनुपस्थित गराएर अर्को खेल सुरु गरेको छ । एमालेले आफ्नो दलबाट निर्वाचित उपसभामुख सिर्जना दनुवारलाई पनि विभिन्न कारण देखाएर प्रदेशसभामा अनुपस्थित गराउने सम्मको योजनामा रहेको छ । 

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन उपसभामुखले नै तोकेकी हुन् । उनैलाई प्रदेशसभा सञ्चालन गर्नबाट एमालेले रोक्ने कोसिस गर्नु संसदीय अभ्यास र परम्परा विपरीत हो । संघीय संसद्को दुई–दुई पटक विघटन गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको गलत प्रयोग गरेको एमालेले त्यही कदमको निरन्तरता कोशी प्रदेशमा गराउँदैछ । 

प्रदेशसभा विघटनको बाटोमा

कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा तेस्रो सरकारले विश्वासको मत लिने प्रयास गरिरहेको छ । तर, सभामुखलाई राजीनामा गराउने, उपसभामुखलाई अनुपस्थित गराउने र ज्येष्ठ सांसदहरूलाई बिदामा पठाउने जस्ता खेलबीच सरकारले विश्वासको मत पाउने सम्भावना कमजोर छ । 

दोस्रो प्रदेशसभाको ८ महिनाको अवधिमा तीन वटा सरकार गठन हुनु र दर्जन बढी मन्त्री नियुक्त भइसक्नु आफैँमा लज्जास्पद विषय हो । प्रदेशका जनताको सुशासन, समृद्धि र अपेक्षाको चाङ एकातिर छ । प्रदेशसभाको गतिविधि अर्कोतिर भइरहेको छ । 

प्रदेशभर अहिले डेंगुको प्रकोप छ । सुनसरीको धरान झनै सङ्कटमा छ । प्रदेश सरकार र प्रदेशसभाको भूमिका त्यतातिर केन्द्रित छैन । प्रदेशका हजारौँ गाईबस्तुमा लम्पीस्किन रोगको कारण मरिरहेका छन् । जसले जनतालाई करोडौँ क्षति भइरहेको छ । प्रदेश सरकार र संसद् मौन छ । अहिलेसम्म संसदीय समिति बन्ने प्रक्रिया नै सुरु भएको छैन । आफ्नै नियमावली बनाउन सकिएको छैन ।

यो प्रदेशसभाले नियमित केही काम बाहेक उल्लेखनीय कुनै काम गर्न सकेको छैन । जनताको आवाज बोल्ने, सुशासनमा खबरदारी गर्ने, कानुनहरू निर्माण गर्ने, संविधानले दिएका अधिकार सूचीको विषयमा खरो बहस पैरवी गर्ने र ती अधिकार कार्यान्वयन गर्न दबाब दिन यो प्रदेशसभाले गर्न सकेको छैन । 

प्रदेशसभाले गरेको एउटा नामकरणको विषय पनि विवादित र आलोचित छ । यस्तो प्रदेशसभा किन चाहियो ? यस्ता राजनीतिक दल किन चाहियो ? यस्ता प्रदेश सरकार किन चाहियो ? पर्याप्त प्रश्न गर्ने ठाउँ बनेको छ । यही प्रश्न र आलोचनाको बीचमा भइरहेको सत्ता प्राप्तिको तमासाले प्रदेशसभा विघटनको बाटोमा हिँडिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप