बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जापानसँग नेपालको सम्बन्ध महत्वपूर्ण र ऐतिहासिक छ : चेम्बर अफ कमर्स

बिहीबार, ०७ भदौ २०८०, १९ : ५२
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । नेपाल र जापानबीचको कूटनीतिक र आर्थिक सम्बन्ध ऐतिहासिक रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । नेपाल भ्रमणमा रहेका जापानी सांसदहरु काजुहिरो कोवायासी र नागाई मनावुसँगको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानसँग नेपालको सम्बन्ध आर्थिक र व्यापारिक दृष्टिकोणले ऐतिहासिक रहेको बताए ।

राजदूत किकुता युताकासहित भएको कार्यक्रममा अध्यक्ष मल्लले नेपालमा लगानीका लागि पहल गर्न जापानी सांदहरुसँग आग्रह समेत गरे । अध्यक्ष मल्लले भने, ‘दुई मुलकबीचको कूटनीतिक सम्बन्ध ७० वर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारी मार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ ।’

उनले नेपालको जलविद्युत, पूर्वाधार क्षेत्र पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको  वातावरण बनाउन सांसदहरुसंग आग्रह गरे । कृषिमा प्रविधि हस्तान्तरण हुन सके नेपालले लाभ प्राप्त गर्न सक्ने अध्यक्ष मल्लको भनाई छ । जापानमा १ लाख ३९ हजार हाराहारीमा नेपालीहरु रहेको भन्दै अध्यक्ष मल्लले नागरिक स्तरमा पनि दुई मुलुकबीचको सम्बन्ध निकै उत्कृष्ट रहेको उल्लेख गरे ।

नेपालले जापानमा ९० लाख डलर बराबरको बस्तु निर्यात गर्दा ४ करोड ७० लाख डलर हाराहारीमा आयात गर्ने गरेको छ । चेम्बरको स्वागत कार्यक्रममा जापानी सांसद काजुहिरो कोवायासीले नेपालमा ३० वर्ष अघि आएर लुम्बिनीमा वृक्षारोपण गरेको स्मरण गरे । नेपाल र जपानबीचको आर्थिक र कूटनीतिक सम्बन्ध संधै उत्कृष्ट रहेको उनको भनाई छ । अर्का सांसद नागाई मनावुले पनि दुई मुलुकबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई जनस्तर सम्मै पुर्‍याउनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप