आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बंगलादेशले ८९ रनले हरायो अफगानिस्तानलाई

आइतबार, १७ भदौ २०८०, २३ : १०
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा बंगलादेशले सफलता हात पारेको छ । पाकिस्तानको लाहोरमा भएको उक्त खेलमा बंगलादेशले अफगानिस्तालाई ८९ रनले पराजित गर्‍यो ।

जारी प्रतियोगितामा बंगलादेशको यो पहिलो जित हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा बंगलादेशी टोली श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो । समूह ‘बी’ मा अफगानिस्तानको भने यो पहिलो खेल हो । 

टस जिती पहिलो ब्याटिङको निणर्य लिएको बंगलादेशले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय ३४ रनको विशाल योगफल तयार पारेको थियो । ठूलो लक्ष्यसहित जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले ४४।३ ओभरमा अलआउट हुनुअघि दुई सय ४५ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर ब्याट्सम्यान मेहिदी हसन मिराजले सतकीय पाली खेलेका थिए । उनले एक सय १९ बलको सामना गरी तीन छक्का र सात चौकाको मद्दतले एक सय १२ रन बनाएका थिए । उनी ‘रिटायर्ड हर्ट’ भई मैदानबाट बाहिरिएका थिए ।

चौथो नम्बरका ब्याट्सम्यान नजमुल होसैन सान्तोले पनि टोलीका लागि सतकीय योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले एक सय चार रन बनाए । उनले केवल एक सय पाँच बलको सामना गरी दुई छक्का र नौवटा चौका पनि हिर्काएका थिए । उनी रनआउट भएका थिए ।

ओपनर मोहम्मद नइम २८ रनमा पेभेलियन फर्किए । विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमले २५ रन बनाए भने कप्तान सकिब अल हसन ३२ रनमा अविजित रहे । समिम होसैनले पनि टोलीको खातामा ११ रन थपे । उनी रनआउट भई मैदानबाट बाहिरिएका थिए ।

अफिफ होसैन चार रनमा अविजित रहे । बंगलादेशले अतिरिक्त रुपमा १८ रन पाएको थियो । अफगानिस्तानका बलरहरुले गतिलो प्रदर्शन गर्न सकेनन् । मजिब उर रहमान र गुलबदिन नइबले एक—एक विकेट लिए । 

अफगानिस्तानका लागि ओपनर इब्राहिम जदरानले सर्वाधिक ७५ रन बनाए । उनले ७४ बलको सामना गरी एक छक्का र १० चौका हिर्काए । कप्तान हसमतउल्लाह साहिदीले पनि ५१ रन बनाए । उनले ६० बलको सामना गरी ६ चौका प्रहार गरे । 

रहमत शाहले टोलीको खातामा ३३ रन थपे । रसिद खानले पनि २४ रन जोडे । बंगलादेशी बलर तासकिन अहमदले पनि चार विकेट हात पारे । सोरिफुल इस्लामले तीन विकेट लिए । हसन महमुदले एक विकेट लिए । मेहिदी हसन मिराजले पनि एक विकेट लिए । अफगानिस्तानले अतिरिक्त रुपमा २० रन पायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप