बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको परिवर्तनमा जनयुद्धको महत्वपूर्ण भूमिका छ : मोहन वैद्य

शनिबार, ०६ असोज २०८०, १२ : ४९
शनिबार, ०६ असोज २०८०

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेपालमा भएको सम्पूर्ण परिवर्तन महान् जनयुद्ध र क्रान्तिकारी कम्युनिस्ट पार्टीका कारण सम्भव भएको बताएका छन् । अब हुने परिवर्तन पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमै सम्भव हुने उनले बताए ।

खेम थपिलयाको ‘कम्युनिस्ट पार्टी सङ्गठन’ पुस्तक लोकार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका पार्टी अध्यक्ष किरणले कम्युनिस्ट पार्टी र सङ्गठनहरू धेरै भए भनेर कोही पनि आत्तिनु नपर्ने, दर्शन, सिद्धान्त, विचार र राजनीति मिल्ने क्रान्तिकारी कम्युनिस्टहरूबीच एकता र ध्रुवीकरण भएर क्रान्तिका कार्यभार पूरा गर्ने विश्वास पनि व्यक्त गरे । जनयुद्धबाट अपेक्षा गरिएको गुणात्मक परिवर्तन हुन नसकेको र त्यो क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न हुने क्रान्तिले पूरा गर्ने पनि नेता किरणले बताए ।

क्रान्ति र परिवर्तनमा जनसङ्गठनहरूको महत्व दर्साउँदै अध्यक्ष किरणले गौतम बुद्धको ‘सङ्गम शरणम् गच्छामी’ देखि मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका पार्टी सङ्गठन निर्माण र परिचालन सम्बन्धी उदाहरणहरू प्रस्तुत गरे । 

उनले भने, ‘रूपान्तरण गर्नु सङ्गठनको काम हो । माओले पनि क्रान्तिका तीन जादुगरी हतियारको चर्चा गर्दा सङ्गठनलाई जोड दिनुभएको छ । कम्युनिस्ट पार्टी र सङ्गठन धेरै भए भनेर चिन्ता गर्नु आवश्यक छैन । सच्चा कम्युनिस्ट पार्टीले क्रान्ति सम्पन्न गर्ने हो ।’

क्रान्ति गर्ने र चुनाव गर्ने पार्टी एकताका दुई लक्ष्य हुने प्रस्ट पार्दै अध्यक्ष किरणले क्रान्ति पनि नगर्ने, चुनावमा पनि नजाने भए जति पार्टी बनाए पनि कुनै अर्थ नहुने बताए । क्रान्तिकारी कम्युनिस्ट पार्टी क्रान्ति सम्पन्न गर्न निर्माण भएकाले रूपान्तरित हुन नसकेकाहरू रूपान्तरित भएर यसमा गोलबन्द हुनुपर्ने उनले बताए । संसदीय व्यवस्थाले नेपाली जनतालाई निराश, गरिब बनाएको र जनताका विचार र भावनालाई कुल्चिएकाले यसलाई उखेलेर फाल्नुपर्ने उनको भनाइ थियो । 

संसद्वादी पार्टीहरू कम्युनिस्ट हुनै नसक्ने ठोकुवा गर्दै अध्यक्ष किरणले संसद्वादी कांग्रेस, एमाले, माकेहरू मिलेर एउटै पार्टी बनाए फरक नपर्ने पनि प्रस्ट पारे । त्यसपछि एमाले, माकेलगायत संसद्वादी पार्टीहरूमा रहेका क्रान्तिकारीहरू पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकृत हुने उनले बताए । कोही पनि निराश बन्नु नहुने र क्रान्ति सम्पन्न हुने कुरामा सबै आशावादी, साहसी र निर्भीक भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य एवम् तीन नं. प्रदेश इन्चार्ज सुदर्शनले कम्युनिस्ट भनेकै निजी सम्पत्ति÷स्वामित्वको अन्त्य रहेको तर यहाँ सामूहिकतालाई निषेध गरेर निजी स्वामित्व÷सम्पत्ति कसरी बढाउने भन्ने उल्टो काम गर्नेहरूले नै आफूलाई कम्युनिस्ट भनेर बदनाम गरिरहेको बताए । कम्युनिस्ट घोषणापत्रमा कार्ल मार्क्स÷एङ्गेल्सले निजी स्वामित्व अन्त्य नभएसम्म कम्युनिस्ट नहुने÷नबन्ने घोषणा गरे पनि नेपालका कम्युनिस्ट पार्टीमा त्यसको कुनै अभ्यास नभएको तीक्ष्ण टिप्पणी पनि गरे । कम्युनिस्ट शब्द मात्र नभएर आचरण र व्यवहार पनि हो भन्दै नेता सुदर्शनले कम्युनिस्ट पार्टीका सदस्यले मेरो भन्न छाडेर हाम्रो भन्न र त्यसै अनुसारको कर्म गर्नुपर्नेमा निजी स्वार्थ र सम्पत्तिमा लिप्त भएर कम्युनिस्ट शब्दकै बदनाम गराइरहेको बताए ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिस्टहरू सिद्धान्त, विचार र आदर्शबाट च्यूतहुँदै गएको स्वीकार गरिन् । कम्युनिस्ट पार्टीभित्र जवस, मोर्चा र सङ्गठनहरू अत्यावश्यक रहेकोमा जोड दिँदै शाक्यले वैकल्पिक नेतृत्वमा युवाहरूलाई ल्याउनुपर्ने धारणा राखिन् । 

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले कम्युनिस्ट पार्टी सङ्गठनमा लागेका नेता–कार्यकर्ताहरूले गरेको बदनामीको सन्दर्भ कोट्ट्याउँदै विचार र सिद्धान्तलाई केन्द्रमा राखेर एकता नहुँदा विशृङ्खलता बढेको बताए ।

राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले सङ्गठन, विचार, सिद्धान्त, दर्शन, पार्टी वा व्यक्ति समस्याकहाँ छ भन्ने स्पष्ट हुनुपर्ने बताए । कम्युनिस्ट आन्दोलनप्रतिरक्षात्मकबन्दै गएकोमा चिन्ता व्यक्त गर्दै डा. केसीले जनयुद्धका नायकहरू नै पतन भएको अवस्थामा आन्दोलनका समस्याहरू चिनेर अघि बढ्नु राम्रो हुने बताए ।

पुस्तकका लेखक थपलियाले भने कम्युनिस्ट पार्टीमा नयाँविधि र पद्धति खोज्नुपर्ने र जवस-मोर्चा राख्नु नहुने बताएका थिए । स्वाभिमान प्रकाशन गृह प्रालिका सञ्चालक भीम चापागाईंले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टीकी नेत्री एवम् पत्रकार अम्बिका चन्दले गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप