तालिकाको पहिलो स्थानमा उक्लने लक्ष्यसहित भिड्दै मुम्बई र गुजरात

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा मंगलबार दुई बलिया टोली मुम्बई इन्डियन्स र गुजरात टाइटन्स आपसमा भिड्दैछन् । खेल मुम्बईको वानखेड स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
जारी आईपीएलमा खेल्न लागिएको यो ५६औँ खेल हो । गुजरातले आफ्नो ११औँ र मुम्बईले आफ्नो १२औँ खेल खेल्न लागेका हुन् । यी दुवै टोली जारी संस्करणको प्ले–अफ चरणमा स्थान सुरक्षित गर्ने अभियानमा छन् ।
आईपीएलको १८औँ संस्करणमा यी दुई टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि खेलिएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३६ रनले हराएको थियो । उक्त खेल गुजरातको घरेलु मैदानमा खेलिएको थियो ।
त्यसैले मुम्बईका लागि यो खेल गुजरातसँग अघिल्लो खेलमा भोगेको हारको बदला लिने गतिलो अवसर पनि हो । मंगलबारको खेलमा विजयी हुने टोली अंक तालिकाको पहिलो स्थानमा उक्लनेछ । हाल तालिकाको पहिलो र दोस्रो स्थानमा आसीन टोलीभन्दा मुम्बई र गुजरातको नेट रन रेट राम्रो छ ।
आईपीएलको इतिहासमा मुम्बई इन्डियन्स सर्वाधिक सफल टोलीमध्ये एक हो । मुम्बई इन्डियन्सले हालसम्म पाँचपटक आईपीएलको उपाधि जितिसकेको छ । मुम्बई इन्डियन्सले सन् २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई २३ रनले हराएको थियो ।
सन् २०१५ मा मुम्बईले दोस्रोपटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नईलाई नै ४१ रनले हराएको थियो । मुम्बईले सन् २०१७ को फाइनलमा राइजिङ पुणे सुपरजायन्ट्सलाई एक रनले हराउँदै तेस्रो पटक उपाधि हात पारेको थियो ।
मुम्बईले सन् २०१९ मा चौथो पटक उपाधि उचालेको थियो । उक्त संस्करणको फाइनलमा मुम्बईले चेन्नईलाई एक रनले नै हराएको थियो । मुम्बईले अन्तिम पटक सन् २०२० मा उपाधि जितेको थियो । त्यतिबेला मुम्बईले फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको थियो ।
गुजरात टाइटन्सले भने हालसम्म एकपटक आईपीएलको उपाधि चुमेको छ । गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो ।
- उत्कृष्ट पुनरागमनसँगै बलियो बनेको मुम्बई
आईपीएलको जारी संस्करणमा निराशाजनक सुरुवात गरेको मुम्बई इन्डियन्सले उत्कृष्ट पुनरागमन गर्दै आफूलाई बलियो स्थितिमा उभ्याएको हो । मुम्बईको टोली सुरुकै दुई खेलमा पराजित भएपछि दबाबमा परेको थियो ।
त्यसपछि मुम्बईले तेस्रो खेलमा जित हात पारेको थियो । चौथो र पाँचौँ खेलमा मुम्बईको टोली पुनः पराजित भएको थियो । त्यसपछि भने लयमा फर्किएको मुम्बईले लगातार ६ खेलमा जित हासिल गरिसकेको छ ।
मुम्बईले हालसम्म ११ खेल खेलिसकेको छ । त्यसमध्ये मुम्बईको टोली सात खेलमा विजयी र चार खेलमा पराजित भएको छ । मुम्बई १४ अंकसहित तालिकाको तेस्रो स्थानमा आसीन छ । अब मुम्बईले तीन खेल खेल्न बाँकी छ ।
प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न मुम्बईले तीनमध्ये कम्तिमा दुई खेल जित्नुपर्ने हुन्छ । हालको स्थितिमा सहभागी सबै टोलीमध्ये सबैभन्दा राम्रो नेट रन रेट पनि मुम्बईकै छ । मुम्बईले अब गुजरातका अतिरिक्त पञ्जाब किङ्स र दिल्ली क्यापिटल्ससँग खेल्न बाँकी छ ।
मुम्बईले खेल्न बाँकी रहेको गुजरात, पञ्जाब र दिल्ली तीनवटै बलियो टोली हुन् । त्यसैले मुम्बईका लागि प्ले–अफ चरणको यात्रा अझै पनि सोचेजस्तो सहज भने छैन ।
- कम छैन तीन खेलमा हारेको गुजरात
आईपीएलको १८औँ संस्करणमा गुजरात टाइटन्सले हालसम्म अब्बल प्रदर्शन गर्दै आएको छ । एकपछि अर्को उत्कृष्ट प्रदर्शनसँगै गुजरातले प्ले–अफ चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । गुजरातले हारबाट जारी सिजनको सुरुवात गरेको थियो ।
पहिलो खेलमै पराजित भएको गुजरात त्यसपछि लगातार चार खेलमा विजयी भएको थियो । छैटौँ खेलमा पराजित भएको गुजरातले सातौँ र आठौँ खेलमा फेरि जित हात पारेको थियो । नवौँ खेलमा पराजित भएको गुजरात १०औँ खेलमा भने विजयी भएको थियो ।
गुजरातको टोली हालसम्म पञ्जाब किङ्स, लखनउ सुपर जायन्ट्स र राजस्थान रोयल्ससँग मात्र पराजित भएको छ । गुजरातले हालसम्म १० खेल खेलेको छ । त्यसमध्ये सात खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।
गुजरात १४ अंकसहित तालिकाको चौथो स्थानमा आसीन छ । मुम्बईपछि सबैभन्दा राम्रो नेट रन रेट गुजरातकै छ । गुजरातले अब मुम्बईका अतिरिक्त दिल्ली क्यापिटल्स, लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्ससँग खेल्न बाँकी छ ।
त्यसमध्ये चेन्नई जारी प्रतियोगितामा सबैभन्दा कमजोर टोलीका रुपमा देखिएको छ । गुजरातले खेल्न बाँकी मुम्बई, दिल्ली र लखनउ भने बलिया टोली हुन् । त्यसैले गुजरातका लागि पनि प्ले–अफ चरणको यात्रा सहज छैन । गुजरातले प्ले–अफ चरणमा पुग्न कम्तिमा दुई खेल जित्नु आवश्यक छ ।
- हेड टु हेडमा गुजरात अगाडि
आईपीएलमा हालसम्म गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच कुल ६ खेल खेलिएको छ । त्यसमा गुजरात बलियो देखिन्छ । गुजरातले चार खेलमा मुम्बईलाई हराएको छ । मुम्बईले भने दुई खेलमा मात्र गुजरातलाई हराउन सकेको छ ।
मुम्बईस्थित वानखेड स्टेडियममा भने हालसम्म यी दुई टोलीबिच एक खेलमात्र खेलिएको छ । त्यो खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको थियो ।
- लयमा छन् मुम्बईका सूर्य, रिकेल्टन र रोहित
जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्सका ब्याट्सम्यान र बलर दुबैले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सुरुमा निराशाजनक प्रदर्शन गरेका पूर्वकप्तान रोहित शर्मा पनि पछिल्ला खेलमा लयमा फर्किएका छन् ।
खासगरी माथिल्लो क्रममा ब्याट्सम्यानको प्रदर्शन उत्कृष्ट देखिन्छ । मुम्बईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सूर्यकुमार यादव हुन् । उनले १७२ को स्ट्राइक रेटमा कुल चार सय ७५ रन बनाइसकेका छन् ।
मुम्बईका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान रायन रिकेल्टन हुन् । उनले ११ खेलमा कुल तीन सय ३४ रन बनाएका छन् । पूर्वकप्तान रोहित शर्माले पनि दुई सय ९३ रन बनाएका छन् ।
मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर ट्रेन्ट बोल्ट हुन् । उनले ११ खेलमा १६ विकेट लिएका छन् । जसप्रित बुमराह पनि लयमा फर्किएका छन् । उनले सात खेलमा ११ विकेट लिइसकेका छन् । कप्तान हार्दिक पाण्ड्याको पनि बलिङ र ब्याटिङ दुवै उत्कृष्ट छ । उनले कुल एक सय ५७ रन बनाएका छन् भने १३ विकेट लिएका छन् ।
- गुजरातका साई, बटलर र गिलको उत्कृष्ट ब्याटिङ
आईपीएलको जारी संस्करणमा गुजरात टाइटन्सका ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । गुजरातका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा साई सुदर्शन, जस बटलर र कप्तान शुभमन गिल अग्रस्थानमा छन् ।
साई सुदर्शनले १० खेलमा कुल पाँच सय चार रन बनाइसकेका छन् । उनी जारी सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि दोस्रो स्थानमा छन् । यस क्रममा उनले पाँचवटा अर्धशतक प्रहार गरेका छन् ।
बटलरले पनि १० खेलमा कुल चार सय ७० रन बनाएका छन् । उनले पनि पाँचवटा अर्धशतक प्रहार गरेका छन् । कप्तान गिलले पनि १० खेलमा कुल चार सय ६५ रन बनाएका छन् । उनले पनि पाँचवटा अर्धशतक प्रहार गरेका छन् ।
गुजरातका लागि सर्वाधिक विकेट लिने बलर भने प्रसिद्ध कृष्णा हुन् । तिब्रगतिका बलर प्रसिद्धले हालसम्म १० खेलमा १९ विकेट लिइसकेका छन् । गुजरातको टोलीमा मोहम्मद सिराज र ईशान्त शर्माजस्ता प्रभावशाली बलर पनि छन् ।
- ब्याट्सम्यानलाई साथ दिने पिच
गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच मंगलबारको खेल हुने वानखेड स्टेडियमको पिच खासगरी ब्याट्सम्यानहरुलाई साट दिने प्रकृतिको रहेको छ । त्यसैले यो स्टेडियममा बढी नै रन बन्ने गरेको छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल एक सय २१ खेल खेलिएको छ । त्यसमध्ये ५६ खेलमा पहिले ब्याटिङ गर्ने टोली र ६५ खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् ।
यो स्टेडियममा बनेको उच्च स्कोर एक विकेट गुमाएर दुई सय ३५ रन हो । यो स्कोर सन् २०१५ को आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बई इन्डियन्सविरुद्ध बनाएको थियो ।
- वर्षाको ६० प्रतिशत सम्भावना
मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबिच खेल हुने दिन मंगलबार मुम्बईमा वर्षाको सम्भावना रहेको बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, मंगलबार मुम्बईमा ६० प्रतिशत वर्षाको सम्भावना छ । तापक्रम २७ देखि ३५ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।
- सम्भावित टोली
मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रायन रिकेल्सन (विकेटकिपर), रोहित शर्मा, विल ज्याक्स, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, कार्बिन बोश, दीपक चाहर, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र कर्ण शर्मा ।
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), साई सुदर्शन, जस बट्लर, शाहरुख खान, वाशिङ्टन सुन्दर, राहुल तेवतिया, राशिद खान, मोहम्मद सिराज, जेराल्ड कोएट्जी, साई किशोर, प्रसिद्ध कृष्णा र ईशान्त शर्मा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा सेज चलायमान बन्दै, उत्पादन र निर्यात बढ्दो
-
‘मितज्यू’ मा स्मिता
-
ललितपुरको एकान्तकुनामा खुल्यो इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’
-
नेपाल राष्ट्र बैङ्कद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस
-
सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता
-
भारत–पाकिस्तान तनावको प्रभावबारे छलफल गर्न सुरक्षा समिति बैठक