शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले अस्ट्रेलियालाई हराउँदा बनेको सर्वाधिक छक्का र सर्वाधिक रनको कीर्तिमान

सोमबार, ०८ असोज २०८०, १० : ३३
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । घरेलु टोली भारतले आइतबार राति सम्पन्न दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ९९ रनले हराएको छ । जितसँगै भारतले तीन खेलको शृङ्खलामा २—० को अग्रता पनि लिएको छ । 

भारतको इन्दौरमा खेलिएको दोस्रो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय ९९ रन बनाएको थियो । अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा भारतले बनाएको यो हालसम्मकै सर्वाधिक रन हो । यसअघि सन् २०१३ मा भारतले अस्ट्रेलियाविरुद्ध तीन सय ८३ रन बनाएको थियो ।

वर्षाका कारण अस्ट्रेलियाले ३३ ओभरमा तीन सय १७ रन बनाउनु पर्ने गरी लक्ष्य निर्धारण गरिएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले २८.२ ओभरमा अलआउट हुनुअघि दुई सय १७ रनमात्र बनाउन सक्यो । 

भारतका लागि दुई ब्याट्सम्यानले शतकीय पाली खेलेका थिए । ओपनर शुभमन गिलले एक सय चार रनको योगदान गरे । उनले केवल ९७ बलको सामना गरी चार छक्का र ६ चौका प्रहार गरेका थिए । उनले एकदिवसीय क्रिकेटमा छैटौँ शतक बनाएका हुन् । १६ रनमै पहिलो विकेट गुमाएपछि गिल र श्रेयस ऐयरले भारतको स्कोरलाई दुई सय १६ रनको बलियो स्थितिसम्म पुर्‍याएका थिए । 

ऐयरले पनि भारतका लागि शतकीय पाली खेले । उनले एक सय पाँच रन बनाए । ऐयरले केवल ९० बलको सामना गरी तीन छक्का र ११ चौका हिर्काएका थिए । उनले एकदिवसीय क्रिकेटमा बनाएको यो तेस्रो शतक हो । भारतका लागि सूर्यकुमार यादव र केएल राहुलले पनि अर्धशतकीय पाली खेलेका थिए । 

यादवले अविजित ७२ रन बनाए । उनले केवल ३७ बलको सामना गरी ६ छक्का र ६ चौका पनि हिर्काएका थिए । राहुलले भने ३८ बलको सामना गरी तीन छक्का र तीन चौकाको मद्दतले ५२ रन बनाएका थिए । उक्त खेलमा राहुल कप्तानको भूमिकामा थिए । 

भारतले उक्त खेलमा आफ्ना अधिकांश अनुभवी खेलाडीलाई आराम दिएको थियो । नियमित कप्तान रोहित शर्मा, प्रभावशाली ब्याट्सम्यान विराट कोहलीलगायतका खेलाडी टोलीमा थिएनन् । दुवै टोलीबाट थुप्रै बाउन्ड्र प्रहार भएको थियो । भारतीय टोलीले मात्र आफ्नो पालीमा १८ छक्का र ३१ वटा चौका हिर्काएको थियो ।

भारतले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने राष्ट्रको कीर्तिमान पनि बनाएको छ । भारत एकदिवसीय क्रिकेटमा तीन हजारवटा छक्का प्रहार गर्ने पहिलो राष्ट्र बनेको हो । एकदिवसीय विश्वकपअघि हासिल गरेको यो सफलताले भारतको हौसला पनि बढाएको छ । 

अस्ट्रेलियन टोलीका बलर क्यामरुन ग्रिनले दुई तथा जस हेजलउड, सिन एबट र एडम जाम्पाले एक—एक विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएका अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले ५३ रन बनाए । छिटोछिटो रन बनाउनु पर्ने दबाबमा खेलेको अस्ट्रेलियाका लागि वार्नरले ३९ बलको सामना गरी एक छक्का र सात चौका हिर्काए । 

तल्लो क्रमका ब्याट्सम्यान सिन एबटले पनि ५४ रन बनाएका थिए । उनले ३६ बलमा पाँच छक्का र चार चौका हिर्काएका थिए । अस्ट्रेलियाका अन्य ब्याट्सम्यानले भने उल्लेख्य पाली खेल्न सकेनन् । भारतीय टोलीका बलर रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाले तीन—तीन विकेट लिए । प्रसिद्ध कृष्णले दुई र मोहम्मद सामीले एक विकेट हात पारे । श्रेयस ऐयर प्लेअर अफ दी म्याच घोषित भए । 

एकदिवसीय विश्वकपको सँघारमा भोगेको यो पराजयले अस्ट्रेलिया दबाबमा परेको छ । एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाले भोगेको यो लगातार पाँचौँ पराजय हो । भारत र अस्ट्रेलियाबिचको तेस्रो खेल बुधबार राजकोटमा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप