परनिर्भर हुँदै मुलुक
काठमाडौं । मुलुक परनिर्भर हुँदै स्वदेशमै उत्पादन गर्न सकिने वस्तुको आयातमा निरन्तर अघि बढिरहेको छ । नेपालमै उत्पादन हुनसक्ने कृषि उत्पादन नै बर्सेनि आयात हुन थालेसँगै मुलुक परनिर्भर बन्दै गएको हो ।
तरकारी, धान, चामल, भटमासको तेल, सूर्यमुखी तेल, औषधिलगायतका सामग्री आयात बढिरहेको छ । विद्युत्ले प्रतिस्थापन गर्न सकिने इन्धनको आयातमा कमी नआउँदा पनि मुलुक परनिर्भरको चपेटामा पर्दै गएको हो ।
नेपालमा अत्यधिक आयात हुने प्रमुख वस्तुहरूमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धन, फलामजन्य उत्पादन, स्टिल तथा फलामका पाता, स्मार्ट फोन, सुन, औषधिका कच्चा सामग्री, कोइला, युरिया, भटमासको तेल, धान, सूर्यमुखीको कच्चा तेल, मेडिकल उपचारका लागि आवश्यक सामग्री, अर्धनिर्मित फलामजन्य उत्पादन, छड, आटा, हवाईजहाज तथा पार्टपूर्जा, बिटुमन, पेयपदार्थ र मकैलगायत छन् ।
मुलुकको व्यापार घाटा बढाइरहेको प्रमुख कारक तत्वका रूपमा रहेको पेट्रोलियम पदार्थको आयातलाई विस्थापन गर्नेगरी विद्युत्को उपयोग गराउन नीति लिन सकिने अवस्था रहँदा पनि सरकारले बिजुली निर्यात गर्नेमा ध्यान दिएको मात्रै देखिएको छ । मुलुकमा नै बिजुली उपभोग गराउन प्रचार गर्ने र उत्प्रेरित गर्ने कार्य गर्न सकिएको छैन ।
चालू आर्थिक वर्ष २०८०÷८१ को पहिलो दुई महिनामा ५ अर्ब ४२ करोड ३१ लाख रुपैयाँको बिजुली निर्यात हुँदा पेट्रोलियम पदार्थको आयात ३३ अर्ब ७२ करोड रुपैयाँको भएको छ ।
साउन र भदौ महिनामा विकास निर्माण नहुने भएकाले खासै पेट्रोलियम पदार्थको खपत नहुने समयमा समेत ३४ अर्बको आयात हुनु परनिर्भरताको पराकाष्ठा भएको विज्ञहरूको भनाइ छ ।
भन्सार विभागका अनुसार दुई महिनामा ७ अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपैयाँबराबरको डिजेल आयात भएको छ । यसैगरी, ५ अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपैयाँबराबरको पेट्रोल आयात हुँदा ३ अर्ब ८२ करोड ७ लाख ३५ हजारको खाना पकाउने ग्यास आयात भएको छ ।
त्यस्तै, ३ अर्ब ७४ करोडको फलामजन्य उत्पादन र ३ अर्ब ३६ करोडको स्टिल तथा फलामका पाता आयात भएका छन् । ५ अर्ब ३६ करोड ५२ लाखको स्मार्ट फोन र २ अर्ब ९० करोडको धान आयात भएको छ ।
रासायनिक मलसहित अन्य युरिया मात्रै ३ अर्ब २४ करोड १७ लाखको आयात भएको छ । सुन मात्रै ४ अर्ब १२ करोड ८१ लाख ८३ हजार रुपैयाँको आयात भएको देखिएको छ ।
३ अर्ब ५३ करोड ३१ लाखको कोइला आयात भएको छ । विभागका अनुसार २ अर्ब ९६ करोड ५० लाखबराबरको भटमासको कच्चा तेल आयात भएको छ । यसैगरी, २ अर्ब ८८ करोड रुपैयाँको सूर्यमुखीको कच्चा तेल आयात भएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण