मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

सामुदायिक वनको अतिक्रमित जग्गा खाली गराइयो

मङ्गलबार, ०९ असार २०८३, १३ : ५७
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • बाराको निजगढ नगरपालिका–२, सिंगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहको अतिक्रमित ८ हेक्टर जग्गा खाली गराइएको छ ।
  • वन कार्यालयले स्थानीयहरूले केरा खेती र घर–टहरा बनाएको जग्गा खाली गराएको हो ।
  • वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा वन्यजन्तुको बासस्थान सुरक्षित राख्ने उद्देश्यले अतिक्रमण हटाइएको छ ।

बारा । बाराको निजगढ नगरपालिका–२, सिंगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहको अतिक्रमित ८ हेक्टर जग्गा वन कार्यालयले खाली गराएको छ ।

डिभिजन वन कार्यालय बाराले वन रक्षक, नेपाल प्रहरी र वन कर्मचारीको सहयोगमा सोमबारदेखि सो जग्गा खाली गराउन थालेको हो । वनको अतिक्रमित भूभागमा स्थानीयहरूले केरा खेती गर्नुका साथै घर–टहरासमेत बनाएका थिए ।

डिभिजन वन कार्यालय बाराले जेठ २९ गते सूचना जारी गरेर १ साताभित्र अतिक्रमित भूभाग खाली गर्न भनेको थियो । वनको पत्राचारपछि स्थानीयहरूले जस्तापाता, टायल, झ्याल, ढोका सुरक्षित स्थानमा लैजाने कार्य केही दिनदेखि सुरु गरेका थिए ।

उनीहरूले वन क्षेत्र आफूहरूले फँडानी नगरेको जनाउँदै विभिन्न व्यक्ति र विद्यालयसँग किनेर बसोबास तथा भोगचलन गरेको बताएका थिए ।

अतिक्रमणमा परेको वनदेवी सामुदायिक वन समूहको २० हेक्टर क्षेत्रफलमध्ये करिब १३ हेक्टर जग्गामा यसअघि खाली गरेर काँडे तारबार गरी विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।

डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले सोमबारबाट अतिक्रमण हटाउन सुरु गरिएको ८ हेक्टर जग्गामा वृक्षारोपण सुरु गरिने बताए ।

वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा वन्यजन्तुको बासस्थान सुरक्षित राख्ने उद्देश्यले अतिक्रमण हटाइएको वन कार्यालयले जनाएको छ । अतिक्रमित क्षेत्र खाली गर्ने क्रममा कुनै प्रकारको अप्रिय घटना वा दुर्घटना नभएको डिभिजन वन कार्यालयको भनाइ छ ।

सो क्षेत्र खाली गर्ने क्रममा वन कर्मचारी, सशस्त्र प्रहरी, वनरक्षक, इप्रका, निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारी, इप्रका, कोल्हवीका प्रहरी नायब निरीक्षक कुमारप्रसाद मैनाली, अस्थायी प्रहरी चौकी सिंगौलका इन्चार्ज मनोज तिवारीलगायतको नेतृत्व र सशस्त्र प्रहरी बेस निजगढको सुरक्षा टोली खटिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप