१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
सारांश
- जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ ।
- उपमहानगरका २४ वटा वडाका लागि २२ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ, जसमध्ये ५० प्रतिशत समान र बाँकी जनसंख्या, भूगोल र राजस्वका आधारमा बाँडिनेछ ।
- संघीय सरकारबाट ५१ करोड र मधेश प्रदेश सरकारबाट ५ करोडका ससर्त कार्यक्रम प्राप्त भएका छन् ।
बारा । जितपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । असार १० गते बुधबार सार्वजनिक हुने बजेटको तयारी पूरा भएको उपमहानगरले जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि उपमहानगरका २४ वटा वडाका लागि २२ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ, जसमा ५० प्रतिशत अर्थात् ११ करोड ८ लाख रुपैयाँलाई समान रूपमा विभाजन गरिने र बाँकी बजेट वडाको जनसंख्या, भूगोल र राजस्व संकलनका आधारमा बाँडफाँट गरिएको उपमहानगरका योजना शाखा प्रमुख सुधन चौधरीले जानकारी दिएका छन् ।
उनका अनुसार सबैभन्दा सानो वडा ९६० लाई ६१ लाख र सबैभन्दा ठुलो वडा (२२) लाई १ करोड २३ लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘हामीले सबै वडालाई बजेट सिलिङसँगै २१ लाख बराबरका ससर्त कार्यक्रमहरू पनि दिएका छौँ,’ प्रमुख चौधरीले भने, ‘वडाभित्रको घर नम्बरिङ गर्न, बालमैत्री, वातावरणमैत्री, महिलामैत्री वडा घोषणा गर्न र भूमिहीन सुकुमबासीको तथ्याङ्क संकलन गर्न ससर्त कार्यक्रम पठाइएको हो । बाँकी बजेटको हकमा वडा समिति बसेर निर्णय गर्न सकिनेछ ।’
उपमहानगरलाई आगामी आर्थिक वर्षका लागि संघीय सरकारले ५१ करोड र मधेश प्रदेश सरकारले ५ करोड रुपैयाँ बराबरका ससर्त कार्यक्रम पठाएका छन् ।
उपमहानगरको कुल १ अर्ब ८७ करोड बजेटमध्ये बाँकी १ अर्ब १० करोडबाट आगामी वर्ष जितपुरसिमरा नगर अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ८ देखि १० करोड, अनिवार्य दायित्वअन्तर्गत कर्मचारीहरूको वृद्धि भएको तलब र भत्तामा ४५ करोड तथा पुराना योजनाहरूको भुक्तानी मिलानमा ४० देखि ५० करोड रुपैयाँ खर्च हुने चौधरीले जनाएका छन् ।
दोस्रो स्थानीय तह निर्वाचनपछिको अन्तिम वर्ष भएकाले यसपटकको नगरसभामा टेबल, कुर्सी तोडफोड तथा हुलदङ्गा नहुने चौधरीले दाबी गरे । ‘सबै वडाध्यक्षहरूको सहमतिमा यो निर्णय भएको हो,’ योजना शाखा प्रमुख चौधरीले भने, ‘यस वर्षको नगरसभामा विगतमा जस्तो टेबल कुर्सी तोडफोड हुँदैन ।’
उपमहानगरले चालु आव २०८२/०८३ का लागि २ अर्ब १ लाख बराबरको बजेट ल्याएको थियो । ५० करोड घाटा बजेट तयार हुँदा उपमहानगरलाई पुराना योजनाहरूको भुक्तानीमा समस्या परेको थियो ।
उपमहानगरले सम्पत्ति कर, बहाल कर, मालपोत, मनोरञ्जन, सवारी, कवाडी कर तथा ढुङ्गा, गिटी र बालुवासहित ३६ वटा शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । जसमा वार्षिक अनुमानित २५ करोड रुपैयाँ राजस्व संकलन हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण