बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

बुधबार, १० असार २०८३, ०१ : २५
बुधबार, १० असार २०८३

सारांश

  • भरतपुर अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएपछि वैकल्पिक व्यवस्था गरिएको छ।
  • बिरामीलाई निजी अस्पतालमा सरकारी दरमा सिटी स्क्यान सेवा दिइनेछ।
  • मेसिन मर्मतमा दुई हप्ता लाग्न सक्ने अनुमान छ।

चितवन । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा अवरुद्ध भए पनि बिरामीको सहजताका लागि वैकल्पिक व्यवस्था गरिएको छ ।

अस्पतालमा मेसिन बिग्रेका कारण केही दिनदेखि सेवा प्रवाह गर्न नसकिएपछि निजी अस्पतालहरूसँगको समन्वयमा सेवालाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार सिटी स्क्यानका लागि आउने बिरामीहरूलाई मर्का नपरोस् भनी निजी अस्पताल समन्वय समिति (अफिन) चितवनसँग विशेष सम्झौता गरिएको छ । सम्झौताअनुसार भरतपुर अस्पतालमा स्वास्थ्य बीमाअन्तर्गत लाग्ने सरकारी दररेटमै अफिनसँग आबद्ध निजी अस्पतालहरूले सिटी स्क्यान सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

उनले भने, “भरतपुर अस्पतालमा बीमाबाट लाग्ने खर्च जति हुन्छ, त्यही दरमा अफिनसँग आबद्ध निजी अस्पतालहरूमा सिटी स्क्यान सेवा उपलब्ध गराइदिन अनुरोध गरेका थियौँ । अफिन चितवनले यो प्रस्ताव स्वीकार गर्दै आफ्ना सदस्य अस्पतालमार्फत सेवा दिने प्रतिबद्धता जनाएको छ । त्यसैले हामीले सिटी स्क्यान सेवालाई निरन्तरता दिइरहेका छौँ ।”

बिरामीहरूलाई भरतपुर अस्पतालकै सवारीसाधनमार्फत तोकिएको निजी अस्पतालसम्म लैजाने र परीक्षणपछि पुनः भरतपुर अस्पतालमै ल्याउने व्यवस्था गरिएको छ । मेसिन मर्मतको क्रममा रहे पनि बिरामीको सेवामा कुनै अवरोध नआउने गरी व्यवस्थापन गरिएको उनले बताए ।

अस्पतालले मेसिन मर्मत तथा सञ्चालनका लागि आवश्यक प्रक्रिया पनि अघि बढाएको जनाएको छ । भरतपुर अस्पतालको नौ वर्ष पुरानो सिटी स्क्यान मेसिनको एक्स–रे ट्युब बिग्रिएपछि सेवा अवरुद्ध भएको हो ।

अस्पतालका अनुसार नयाँ ट्युब नेदरल्यान्ड्सबाट मगाउनुपर्ने भएकाले सेवा पूर्ण रूपमा पुनः सञ्चालन हुन केही दुई हप्ता लाग्न सक्छ । अस्पतालमा दैनिक करिब ५० जनाले सिटी स्क्यान सेवा लिने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप