मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मधेस प्रदेश

धान रोपाइँ गर्ने चटारोकै समयमा मधेसका किसानलाई सिँचाइ र मलको अभाव

मङ्गलबार, ०९ असार २०८३, १४ : ००
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • मधेसका किसानहरू धान रोपाइँको चटारोमा सिँचाइ र रासायनिक मलको अभाव झेलिरहेका छन् ।
  • पर्याप्त वर्षा नहुँदा खेतमा पानीको अभाव छ भने रासायनिक मलको सहज उपलब्धता नहुँदा किसानहरू चिन्तित छन् ।
  • प्रदेश सरकारले मल वितरण गरेको दाबी गरे पनि अधिकांश डिपो र उपभोक्तासम्म पुग्न नसकेको गुनासो छ ।

जनकपुरधाम । असार लागेसँगै किसानहरु धान रोपाइँको चटारोमा छन् । मधेसका किसान भने धान रोप्ने समयमै रासायनिक मल र सिँचाइको अभाव झेलिरहेका छन् ।

सिँचाइ सुविधा नभएका क्षेत्रमा आकाशे पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता हुन्छ । पर्याप्त वर्षा नहुँदा खेतमा आवश्यक पानीको अभाव भएको छ भने रासायनिक मलको सहज उपलब्धता नहुँदा किसानहरू चिन्तित छन् ।

कतिपय स्थानमा सिँचाइ सुविधा भए पनि अधिकांश क्षेत्रमा सिँचाइ प्रणाली कमजोर भएकाले किसानहरू आकाशे पानीको प्रतीक्षामा बस्न बाध्य भएका छन् ।

मधेस प्रदेशका धनुषा, महोत्तरी, सिराहा, सप्तरी, बारा, रौतहट जिल्लामा सबैभन्दा बढी धान खेती हुने गर्दछ ।

1000224279

यस वर्ष बदलिँदो मौसम र अनियमित वर्षाले किसानको चिन्ता थप बढाएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० का विजयप्रसाद राउत चार बिघा खेतमा धान खेती गर्छन् । उनले भने, 'आज केही खेतमा रोपाइँ गरियो, तर मल कहाँबाट ल्याउने ? रोपिएको धानमा मल आवश्यक छ । डिपोमा जाँदा मल छैन भनेर फर्काइदिन्छन् ।'

यता जनकपुरधाम उपमहानगरपालिका–२४ का बद्री साहले अरूको बोरिङबाट पानी ल्याएर धान रोपाइँ गरे पनि मल पाउन नसेको गुनासो गरे । समयमा पानी र मल उपलब्ध नहुँदा बाली राम्रो नहुने चिन्ताले सताएको उनको गुनासो छ ।

त्यस्तै जलेश्वर उपमहानगरपालिका-१० का राघव ठाकुरले पनि मल र सिँचाइको उपलब्धता नहुँदा खेती गर्न गाह्रो भएको सुनाए ।

बलवा नगरपालिका–७ का सीताशरण पण्डितको गुनासो पनि उस्तै छ । 'भोट माग्ने बेलामा समयमा मल दिन्छु, बोरिङ दिन्छु, सिँचाइको व्यवस्था गर्छु भनेर बाचा गर्छन्, तर अहिले हामी समस्यामा पर्दा कोही आउँदैनन्,' उनले भने ।

मधेस प्रदेशका अधिकांश जिल्लामा यस्तै समस्या देखिएको छ ।

1000224286

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बर्खे धानलाई लक्षित गर्दै ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार ६१० मेट्रिक टन डीएपी मल प्रदेशका १३६ वटै स्थानीय तहमा वितरण गरिसकेको जनाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडबाट प्राप्त युरिया र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट प्राप्त डीएपी मल स्थानीय तहमा पठाइसकिएको भए पनि अधिकांश स्थानमा डिपो र उपभोक्तासम्म मल पुग्न सकेको छैन ।

जनकपुरधाम उपमहानगरपालिका–२३ का डिपो सञ्चालक कैलाश साहले भने, 'जनकपुर उपमहानगरपालिकाले अहिलेसम्म पत्र दिएको छैन । हामीलाई समयमा मल पनि उपलब्ध गराइएको छैन ।' 

1000224285

पहिलेदेखि बाँकी रहेको अलिअलि मल वितरण गरिरहे पनि त्यो पर्याप्त नभएको उनले बताए ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मलसम्बन्धी गुनासो सुन्ने अधिकारी रवि बस्नेत भने डिपोमा मल पठाइसकेको बताउँछन् ।

'धेरै पालिकाबाट डिपोसम्म मल नपुगेको गुनासो आएको छ । त्यसलाई समन्वय गरेर छिटै प्रत्येक पालिकामा मल पुर्‍याउने र किसानसम्म समयमै उपलब्ध गराउने हाम्रो प्रयास छ,' उनले भने ।

मधेसमा कतिपय किसानले अर्काको जग्गा बटैयामा लिएर खेती गर्ने गरेका छन् । धनुषाको माछी झिटकैया निवासी रघुवीर यादवले यसरी बटैया लिएर खेती गर्न पनि कठिन भएको बताए । उत्पादनको आधा हिस्सा जग्गा धनीलाई दिनु पर्ने हुन्छ तर सिँचाइ र मल अभावका कारण उत्पादन घट्ने र लागत बढ्ने हुँदा त्यस्ता किसानलाई मर्का पर्ने उनको भनाइ छ ।

सर्लाहीको सलमपुरका गगनदेव झाले भने, 'कहीँ पानी छ, कहीँ सुक्खा छ । कतै खेत तयार छ तर बिउ छैन, कतै बिउ छ तर मजदुर छैनन्, मल छैन । अधिकांश बोरिङ र ट्युबवेल बिग्रिएका छन् । आकाशे पानीको भरमा कहिलेसम्म खेती गर्ने ?'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप