मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
दसैँ

दसैँको मुखमा किन चलायमान बनेन अर्थतन्त्र ?

रोजगारी र अध्ययनमा युवा बाहिरिँदा घट्यो उपभोग
मङ्गलबार, १६ असोज २०८०, १२ : १७
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । दसैँ, तिहार र छठलाई वर्षकै सबैभन्दा धेरै खर्च हुने चाडबाडका रूपमा लिइन्छ । सन् २०२१ मा सार्वजनिक विश्व बैंकको तथ्याङ्कअनुसार वर्षभरिको कूल खर्चको २० प्रतिशत रकम यही तीन पर्वमै खर्च हुन्छ । उक्त तथ्याङ्कअनुसार एक नेपालीले वर्षमा सरदर ३ लाख ८० हजार रुपैयाँ खर्च गर्दा त्यसको २० प्रतिशत दसैँदेखि छठसम्म खर्च गर्छन् ।

दसैँ, तिहार र छठमा उपभोक्ताले लत्ताकपडा, माछामासु, खाद्यान्न र यात्रा लगायतमा उल्लेख्य खर्च गर्नुपर्ने हो । तर, यो वर्षको दसैँमा सो अनुसारको किनमेल र व्यापार नरहेको भन्सार विभागको तथ्याङ्कले नै पुष्टि गर्छ । 

साउन र भदौ महिनामा गत वर्षको सोही अवधिको तुलनामा ५.०६ प्रतिशतले आयात घटेको छ । गत वर्ष सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउने लक्ष्यसहित आयातमा प्रतिबन्ध लगाएको थियो ।

गत वर्ष सरकारले वस्तुहरूको सूची नै तोकेर आयात प्रतिबन्ध गरेको थियो । यस्तै, केन्द्रीय बैंकले समेत वस्तु आयात अघिको बैंक ग्यारेन्टी (एलसी)मा कडाइ गरेको थियो । 

गत वर्षको दुई महिनामा २ खर्ब ७३ अर्ब आयात भएकामा चालू वर्षको सोही अवधिमा २ खर्ब ५९ अर्बको मात्रै आयात भएको छ । यसरी राज्यको सबै निकायको संलग्नतामा आयात रोक्ने योजना बनाएको वर्षमा भित्रिएको वस्तुको तुलनामा समेत आयात घट्नुले बजारमा माग नरहेको प्रस्ट्याउँछ । 

खास गरी, कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा मन्दी छाएको छ । यसको बाछिटा नेपाली अर्थतन्त्रमा समेत परेको छ भने विविध कारणले विश्वभर नै महँगी उल्लेख्य रूपमा बढेको छ । जसकारण, विश्वभरका उपभोक्तासँगै नेपाली उपभोक्ताको समेत क्रयशक्ति खुम्चिएको छ । 

यसबाहेक, गत आर्थिक वर्ष २०७९/८० मा अहिले सम्मकै सबैभन्दा धेरै नेपाली रोजगारी र उच्च शिक्षाको खोजीमा विदेशिएका छन् ।

बाहिरिँदै नेपाली, घट्दै आन्तरिक उपभोग

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७ लाखभन्दा धेरै छ । जुन, अहिलेसम्मकै सबैभन्दा धेरै हो । 

कोरोना महामारीका कारण वैदेशिक रोजगारीको भविष्य नै अन्योलमा परेको थियो । तर, बिस्तारै महामारीको प्रभाव घट्दै जाँदा वैदेशिक रोजगारीको बजार झनै बढ्दै गएको छ ।

वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमा खाडी मुलुक पर्छन् । देशमा रहेका उच्च र न्यून मध्यमवर्गीय जनसङ्ख्याको तुलनामा मध्यमवर्गीयको सङ्ख्या अधिक छ । जसले देशको आर्थिक गतिविधिमा ठुलो हिस्सा ओगट्छ । 

यस्तै, पछिल्ला वर्षहरूमा उच्च शिक्षा अध्ययनका लागि विदेशिने नेपालीको सङ्ख्यासमेत बढ्न थालेको छ । आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक शिक्षाका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको सङ्ख्या ६३ हजार थियो । जुन, आर्थिक वर्ष २०७९/८० मा बढेर १ लाख १० हजारभन्दा माथि पुगेको छ । उच्च शिक्षा अध्ययनका लागि बाहिरिनेमा शतप्रशित युवा छन् ।

रोजगारी र अध्ययनको सिलसिलामा २/३ वर्षको अवधिमै दसौँ लाख नेपाली बाहिरिएका छन् । र, यसरी बाहिरिनेको उमेर समूह १८ देखि ४० वर्ष छ । यो समूह नेपालमा बसेर मोटरसाइकल, लत्ताकपडा, खाद्यान्न, यात्रा, मदिरा लगायतमा उच्च खर्च गर्थ्यो ।

एकै वर्षमा ७ लाख नेपाली वैदेशिक रोजगारीको खोजीमा र केही वर्षको अन्तरालमा ३ देखि ४ लाख नेपाली उच्च शिक्षाको खोजीमा बाहिरिएको तथ्याङ्क छ । 

यसरी, वैदेशिक रोजगारीमा जानेहरुको सङ्ख्या प्रत्येक वर्ष बढ्दो क्रममा छ । रोजगारी र अध्ययनको सिलसिलामा विदेशिने क्रम बढेपछि नेपालमा बसेर आन्तरिक उपभोग गर्नेको सङ्ख्या घट्दै छ ।

अर्थविद् ज्ञानेन्द्र अधिकारी खर्च गर्ने उमेर समूहका युवा विदेशिदा उपभोग घटेको बताउँछन् । उनका अनुसार उमेर समूहले खर्च गर्ने शैली र मात्रामा भिन्नता ल्याउँछ । 

रोजगारी र अध्ययनको सिलसिलामा २/३ वर्षको अवधिमै दसौँ लाख नेपाली बाहिरिएका छन् । र, यसरी बाहिरिनेको उमेर समूह १८ देखि ४० वर्ष छ । यो समूह नेपालमा बसेर मोटरसाइकल, लत्ताकपडा, खाद्यान्न, यात्रा, मदिरा लगायतमा उच्च खर्च गर्थ्यो ।

‘यही उमेर समूहका युवा रोजगारी र अध्ययनको सिलसिलामा विदेशिएपछि खर्च नगर्ने उमेरका जनसङ्ख्या मात्रै नेपाल रहे,’ अधिकारी भन्छन्, ‘यसबाहेक, कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण बजार महँगी ह्वात्तै बढ्दा आम्दानीको स्रोत बढेको छैन । सरकारले समेत आफ्ना कर्मचारीको तलब बढाएको छैन ।’ 

बजार महँगी बढ्दा र आम्दानी नबढ्दा अघिल्ला वर्षका तुलनामा खर्च हुने रकमले न्यून वस्तु खरिद हुन्छ । सोहीकारण, बजारमा उपभोग र किनमेल नै घट्छ ।

बढ्यो महँगी, बढेन आम्दानी

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनमा महँगी ७.५२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको साउन महिनामा मुद्रास्फिति ८.२६ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ८.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति ६.४२ प्रतिशतले बढेको छ । 

यस्तै, दुग्ध पदार्थ तथा अण्डाको १२.१९ प्रतिशत, तरकारीको १०.८० प्रतिशत, रेस्टुरेन्ट तथा होटलको ११.०५ प्रतिशतले बढेको छ ।

तर, बजार महँगीको तुलनामा उपभोक्ताको आम्दानी भने बढेको छैन । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार २०८० साउन महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.३६ प्रतिशतले मात्रै बढेको छ । 

यो समीक्षा अवधिमा महँगीको वृद्धिदरको तुलनामा तलब वृद्धिदर न्यून हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.५७ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ६.६७ प्रतिशतले बढेको छ । उपभोक्ताको आम्दानीको तुलनामा बजार महँगी बढ्दा उनीहरूले गर्ने खर्चसमेत स्वतः घट्छ ।

के भन्छन् व्यवसायी ?

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्षसमेत रहेका व्यवसायी नरेश कटुवाल आर्थिक शिथिलताकाबीच मुख्य चाडवाडकै समयमा बजारमा सन्नाटा छाएको बताउँछन् । 

‘उपभोग्य बजारको स्थिति भयावहकै अवस्थामा छ । अत्यावश्यक बाहेक अतिरिक्त कुनै पनि सामान वस्तुको खरिद बिक्री छैन । मुख्यतः उपभोक्ताहरूको हातमा पैसा छैन, पैसा भए पनि आर्थिक मन्दीको भयले खर्च गर्न चाहिरहेका छैनन् । यस कारण व्यापार प्रायः ठप्पको स्थितिमा छ,’ उनले रातोपाटीसँग भने ।

दसैँ, तिहारको उत्साह यतिबेला बजारको भिड थामी नसक्नु हुनुपर्ने बेला व्यवसायीहरू तनावमा बस्नु परेको उनको भनाइ छ । 

यस्तै, न्यूरोडमा कस्मेटिक व्यापार गर्दै आएकी शर्मिला राई तीजमा पनि सोचेअनुसार व्यापार हुन नसकेको स्मरण गर्दै दसैँमा पनि माहौल उस्तै रहेको बताउँछिन् । ‘त्यही भएर सामान पनि धेरै हाल्न आँट गर्न सकेकी छैन । सामान ल्याएर थुप्रिने मात्र हुन्छ कि भन्ने डरले मगाउनै डर लागेको छ,’ उनले भनिन् ।

शर्मिलाजस्तै अर्की कस्मेटिक व्यवसायी भावना पनि व्यवसाय नहुँदा दिनभरजसो मोबाइल चलाएर दिन कटाउनु परेको बताउँछिन् । ‘दसैँको माहौल बन्दै गर्दा व्यापार मारामार हुनुपर्ने बेलामा मजाले मोबाइल चलाएर बस्ने फुर्सद मिलेको छ,’ उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप