सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
भिडियो रिपोर्ट

न्यूरोड–असनका ब्यापारीको बिलौना : दसैँ त आयो, ग्राहक आएनन्

आइतबार, १४ असोज २०८०

काठमाडौँ । दसैँ नजिकिँदै गर्दा काठमाडौँका मुख्य बजारमा पहिलाको वर्षहरुमा देखिने रौनक यो वर्ष छैन । दसैँ आएपनि व्यावसायिक माहोल अझै नआएको व्यवसायीहरूको गुनासो छ । उनीहरू भन्छन्, ‘दसैँ आयो तर व्यापार खासै हुने छाँट देखिँदैन ।’ 

न्यूरोडमा कस्मेटिक व्यापार गर्दै आएकी सर्श ला राई भन्छिन्, ‘तीजमा पनि सोचेअनुसार व्यापार हुन सकेन, दसैँमा पनि माहोल उस्तै छ । त्यही भएर सामान पनि धेरै हाल्न आँट गर्न सकेकी छैन । सामान ल्याएर थुप्रिने मात्र हुन्छ कि भन्ने डरले मगाउनै डर लागेको छ ।’

शर्मिला जस्तै अर्की कस्मेटिक व्यावसायी भावना पनि व्यावसाय नहुँदा दिनभरजसो मोबाइल चलाएर दिन कटाउनु परेको गुनासो पोख्छिन् । उनी भन्छिन्, ‘दसैँको माहोल बन्दै गर्दा व्यापार मारामार हुनुपर्ने बेलामा मजाले मोबाइल चलाएर बस्ने फुर्सद मिलेको छ ।’

अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष बजार खस्किएको बताउँछन् अर्का व्यापारी वीरेन्द्र विक्रम मल्ल । असनमा व्यावसाय गर्दै आएको मल्ल फुटपाथ हटाइनुका साथै आर्थिक मन्दीले पनि यो क्षेत्रमा ग्राहक कम आएको हुन सक्ने उनको बुझाइ छ । 

न्यूरोड, असन इन्द्रचोक लगायतको क्षेत्र दसैँ, तिहार जस्ता चार्डपर्वको छेकोमा अत्याधिक भिडभाड हुने व्यापारिक क्षेत्रमा पर्दछ । तर यस वर्ष त्यो माहोल कम देखिन्छ । 

बाटोमा हिँड्ने मान्छेको भीड भएपनि पसलहरु खाली–खाली नै भएकाले अझै दसैँको माहोल बनी नसकेको व्यावसायी आकाशको बुझाइ छ ।

चाडबाडका बेलामा अन्य अफ सिजनका बेलामा जति पनि व्यापार नहुँदा व्यवसायीहरु सामान मगाउनसमेत अन्यौलमा परेको देखिन्छ । उनीहरु स्टोरमा भएका सामानको विक्री वितरणमा कुनै उत्साह नदेखिँदा नयाँ सामान आयात र स्टोर गर्न सकिरहेका छैनन् । 

भन्सार विभागका अनुसार यो वर्ष भदौ मसान्तसम्ममा २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको विदेशी तयारी तथा केही कच्चा मालवस्तु आयात भएको छ । अघिल्लो वर्षको यसै अवधिमा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

दसैँ–तिहारकै लागि भनेर बढी मालवस्तु आयात हुने यसै समयमा आयात घट्नुले बजारमा आर्थिक मन्दीको प्रभाव अझै कायम रहेको देखिन्छ । 

उपभोक्तासँग पैसै नभएको र भएपनि अति आवश्यक सामानमा मात्र ग्राहक आउने गरेको व्यावासायीहरूको बुझाइ छ । यद्यपि दसैँ आउन अझै केही दिन बाँकी रहेकाले आस भने मारिनसकेको व्यावसायीहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया