बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘हनी ट्र्याप’ भनेको के हो, यस्तो अपराधको न्यूनीकरण कसरी गर्न सकिन्छ ?

बुधबार, १७ असोज २०८०, ११ : ४५
बुधबार, १७ असोज २०८०

अंग्रेजी शब्द ‘हनी’ले मह र ‘ट्र्याप’ले जालमा पार्ने अर्थ दिन्छ । महजस्तै मीठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्र्यापमा पारिन्छ भने यही व्यवहारलाई सामान्य बुझाइमा ‘हनी ट्र्याप’ भनिन्छ । यो शब्द हेर्दा र सुन्दा जति सरल र सूक्ष्म देखिन्छ, त्यति नै बृहत् र फराकिलो रूपमा यसलाई अथ्र्याउन सकिन्छ ।

‘हनी ट्र्याप’ शब्द कहाँ प्रयोग हुन्छन् भनी नियाल्दा — कुनै अपराधमा भइरहेको प्रहरी अनुसन्धानका क्रममा प्रमाण संकलन गर्नका लागि शंकास्पद व्यक्तिलाई कुनै किसिमको प्रलोभन देखाई ‘हनी ट्र्याप’मा पारेकोे पाइन्छ । त्यस्तै, राजनीतिज्ञले आफ्नो स्वार्थ अनुरूपको राजनीतिक लाभ लिनका लागि कसैलाई परिपञ्चमा पार्नुपरेको खण्डमा पनि ‘हनी ट्र्याप’ शब्दको प्रयोग गरेको पाइन्छ । हाल देशको परिस्थिति, सामाजिक कुरीति, महँगाइ, कमजोर आर्थिक हैसियत, साक्षरताको कमीका कारण छिटै सजिलो तरिकाले आर्थिक आम्दानी गर्ने शैली वा माध्यम बनेको छ, ‘हनी ट्र्याप’ । 

विदेशतिर नियाल्ने हो भने ‘स्क्यामर’ (धोकाधडी गर्ने व्यक्ति)ले राम्रो जागिर दिलाइदिने, राम्रो घर वा कोठा खोजिदिने, घरमै बसी–बसी सजिलो तरिकाले आम्दानी गराइदिने, भारी रकमको चिट्ठा पारिदिएको भन्ने नाम वा बहानामा कसैलाई ‘हनी ट्र्याप’मा पार्ने गर्छन् । हामीकहाँ कसैलाई अनैतिक वा अवैध यौन व्यवहारमा फसाएर आर्थिक लाभ लिनका लागि यसको प्रयोग भएको पाइन्छ ।

अनुचित लाभ लिनका लागि सामाजिक सञ्जालको माध्यमले कुनै व्यक्तिको गोप्य रूपमा सम्पूर्ण जानकारी संकलन गर्छन् । संकलन गरेको जानकारीअनुरूप कस्तो व्यक्तिलाई जालमा फसाउने भनेर अनौपचारिक योजना बनाउँछन् । विशेष गरी बढी सम्पन्न भई आर्थिक रूपमा बलियो भएका र पारिवारिक बन्धनमा परेका विवाहित व्यक्ति उनीहरूको छनोटमा पर्छन् । यी कार्य गर्नका लागि केवल एक मात्र व्यक्ति नभई एकै संगठनमा विभिन्न थरीका व्यक्तिको मिलेमतो रहेको पाइन्छ । भित्री रूपमा काम गर्नका लागि जे–जस्ता व्यक्ति समावेश भए पनि बाहिरी रूपमा देखापर्ने व्यक्ति भने रूप–रंगमा निकै नै लोभलाग्दा, मनमोहक हुन्छन् । ती संगठित व्यक्तिले परिचालन गरेको ‘हनी’ अर्थात् सुन्दर व्यक्तिले प्रारम्भमा सामाजिक सञ्जालकै माध्यमबाट उनीहरूको छनोटमा परेको अपरिचित व्यक्तिसँग साथी बनाउने ढोँग गर्दै साथीको नाताबाट सम्बन्ध अगाडि बढाउँछ । साथीका रूपमा अगाडि बढाएको सम्बन्धलाई बिस्तारै प्रेममा परिणत गर्छ र सो प्रेम सम्बन्धलाई प्रगाढ बनाउने नाममा शारीरिक सम्बन्धको प्रलोभन देखाई बिस्तारै शारीरिक सम्बन्ध कायम राख्छ । तत्पश्चात् उक्त व्यक्ति ट्र्यापमा परेको छ भनी ढुक्क भएर उनीहरूबीच भएको नाटकी प्रेमको माध्यमबाट ट्र्यापमा पारेको व्यक्तिलाई ब्ल्याकमेल गर्न सुरु गरिन्छ । उनीहरूबीच भएको प्रेम सम्बन्ध अन्ततः आर्थिक कारोबारद्वारा समाप्त हुन्छ ।

हनी ट्र्याप गर्ने व्यक्तिले आर्थिक कारोबारको विषयलाई अगाडि बढाउन आफ्नो पारिवारिक नातागोताका व्यक्ति हुन् भनी अन्य सदस्यलाई समावेश गरेर पैसाको सौदाबाजी गर्ने गर्छन् । पैसाको सौदाबाजी गर्दा दुईजनाबीच भएको वार्तालाप, कतै होटल वा कहीँ बसेको भए त्यसको अडियो तथा भिडियो रेकर्ड गरी राखेको छ भन्दै तर्साउँछन् ।

उनीहरूको माग बमोजिमको कार्य नगरेमा वा मागेको रकम नदिएमा प्रहरीमा जाने धम्की दिन्छन् । प्रहरीलाई सम्पूर्ण प्रमाण पेस गरी जबर्जस्ती करणीको मुद्दा लगाएर जीवनभर कारागारमा कुहाइदिने अनि पारिवारिक जीवनलाई समेत तहसनहस बनाइदिने भनी नकारात्मक परिणामको धम्की दिन्छन् । त्यसैले छिटै निर्णय गरी पैसा दिनु भनी दबाब दिन्छन् । त्यसरी दबाबका साथै धाकधम्की आइसकेपछि ट्र्यापमा पर्ने व्यक्ति आफ्नो पारिवारिक जीवन बचाउन र आफ्नो नाजायज तथा गोप्य सम्बन्धबाट छुटकारा पाउन उनीहरूले बोलेबमोजिमको रकम तिर्न तयार भएको पाइन्छ ।

२०८० साउन २८ मा एक अनलाइन समाचारले एउटा समाचार दिएको थियो, जसमा भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा एक महिलालाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । उक्त मुद्दामा महिलाले आफू अविवाहित भएको भनी विवाह गर्ने नाटक गरेकी थिइन् । जबकि ती महिलाले पहिला नै चारवटा यस्तै नाटकीय विवाह गरिसकेको भनी उनका श्रीमान्ले पत्ता लगाएका रहेछन् । विवाहको समयमा केटाले २५ तोला सुन र करिब १५ लाख रुपैयाँ खर्च पनि गरेका रहेछन् । विवाहपश्चात् ससुरा र बुढाको श्रीसम्पत्ति उनले आफ्नो बनाइछन् ।

त्यसपछि केही सम्पत्ति आफ्नो ऋण तिर्न भनी बेच्न लगाएर बाँकी रहेको रकम आफ्नो हातमा पारी उनी जापान गइछन् अनि श्रीमान्लाई डिभोर्स गर्न दबाब दिइछिन् । त्यसपछि उनका श्रीमानले उनीविरुद्ध भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता गराएका रहेछन् । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट ती महिला कसुरदार होइनन् भन्न नसकिने भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको रहेछ । यस अवस्थामा उनी त्यस आदेशलाई नमिलेको भनी विभिन्न तहको अदालत पुगे पनि सोही आदेश सदर भएछ । त्यसपश्चात् उनी थुनामै बस्न बाध्य भएकी रहिछन् ।

आफू थुनाबाट बाहिर निस्कन नपाएपछि आफूउपर मुद्दा दिई थुनाउने श्रीमान्लाई उल्टै वैवाहिक बलात्कारको आरोप लगाई मुद्दा दायर गरेकी रहिछन्, जुन मुद्दा हालसम्म विचाराधीन अवस्थामा  छ ।

यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरले यही गएको साउनमा हनी ट्र्यापको उजुरीकै कारण चार व्यक्ति समातेको समाचार आएका थिए । जसमा एक केटीले फेसबुकमा आफ्नो नाम परिवर्तन गरी फ्रेन्ड रिक्वेस्ट पठाएर केटा साथी बनाइछन् । म्यासेन्जरबाट कुराकानी गरी ती केटा साथीलाई होटल जानका लागि अनुरोध गरिछन् । होटलमा लगेर सामान्य वार्तालाप समेत गरिछन् । वार्तालापपछि बहाना बनाएर होटलबाट बाहिर निस्किइछन् । त्यसपछि ती महिलाले ‘हामी बीचको सबै कुरा दाजु–भाउजूलाई थाहा भएछ, अब उहाँहरूले भनेबमोजिम गर्नुस्’ भनी सो घटनामा अर्का व्यक्तिलाई सामेल गराएकी रहिछन् । ती व्यक्तिले पीडितले प्रयोग गर्ने नम्बरमा कल तथा म्यासेज गर्न थालेपछि पीडितले चेक दिइसकेको रहेछ । यस्तो ठगी ती महिलाले अन्य केटामाथि पनि गरेकी रहिछन् । दुई पीडितले उक्त विषयमा जाहेरी दिइसकेपछि प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा ती महिलालाई कारबाही चलाएको भन्ने पाइयो ।

वास्तवमा यस्ता प्रकृतिका घटना राजधानीमा मात्र नभई नेपालका विभिन्न जिल्लामा घटिरहेको पाइन्छ । माई रिपब्लिकाले २०७९ मंसिर २५ मा दाङ जिल्लामा भएको हनी ट्र्यापका बारेमा तीन व्यक्तिलाई प्रहरीले समातेको भन्ने खबर छापेको थियो । त्यस घटनामा महिलाले अपरिचित व्यक्तिसँग सम्बन्ध अगाडि बढाएर भारी रकम माग्न थालेकी थिइन् । घटनाको पीडितले पहिलोपटक १४ लाख रुपैयाँ ती महिलालाई बुझाए पनि निरन्तर डर र त्रास दिने कार्य भइरहेको रहेछ । उनको बारम्बारको मागलार्ई अनादर गर्दा मानसिक यातना दिन थालेपछि निकै शंका लागेर प्रहरीमा उजुरी गरेको पाइयो । 

नेपालगन्जमा एक व्यक्तिले १२ लाख दिइसकेपछि वकिलकै सहायता लिई कागज गरेर अब उप्रान्त कुनै किसिमको सम्बन्ध वा जबर्जस्ती करणीको आरोप नलगाउने भनी लिखत समेत बनाएको पाइयो ।

यसरी ठगी गर्न नहुने भनी मुलुकी अपराध संहिता २०७४ ले विभिन्न व्यवस्था गरेको छ । यसैको दफा २५३ ले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने भनेको छ । आपराधिक लाभ (एक्सटर्सन) भनेको कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पु¥याउने डर त्रासमा पारी निजबाट बेइमानीपूूर्वक आफ्नो वा अरु कसैका लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको भनिन्छ भनी सोही दफामा परिभाषित गरेको छ । 

यस्तै, दफा २५३(क) मा आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अंगभंग गर्ने वा गम्भीर चोट पु¥याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । २५३ (ख) मा कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पु¥याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर–त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना र माथि उल्लिखित (क) र (ख) मा लेखिएबाहेक अन्य अवस्थामा आपराधिक लाभ लिएमा एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

कानुनमा विभिन्न थरीका व्यवस्था भए पनि हनी ट्र्याप गर्ने समूह जताततै तीव्र रूपमा फैलिरहेको देखिन्छ । त्यसको कारण के हो भन्नेबारे कसैको ध्यानाकर्षण भएको देखिन्न । समस्याको किनारा लगाउन वास्तवमा हामी समस्याको जरासम्म पुग्नुपर्ने हुन्छ । यस विषयमा पीडितको मनोविज्ञान हेर्दा उनीहरू कानुनद्वारा नै पीडित भएको भन्ने बुझाइ रहेको पाइन्छ । किनभने बारम्बार सबैजसो पीडितलाई जबर्जस्ती करणीजस्तो संवेदनशील मुद्दाको आरोप लगाइदिने भन्ने धम्की र सो विषयमा पीडितले उजुरी दिन जाँदा आपराधिक कार्य कुन पक्षबाट भयो भन्ने मानक सम्बन्धित कार्यालयबाट नगरी उल्टै आफैँलाई पक्रेर कारबाही गर्ने हो कि भन्ने त्रासका कारण पीडितहरू कानुनको दायरामा आउन नखोजेको पाइन्छ । त्यसकारण जाहेरी लिने निकायदेखि कानुनको परिपालन गराउने निकायले कुनै पनि महिला–पुरुषमा भेदभाव नराखी सबै खाले व्यक्तिको गुनासोलाई लिएर कारबाहीको दायरालाई फराकिलो बनाएमा समाजमा समयसापक्ष भइरहने यस्ता किसिमका अपराध नियन्त्रण गर्न सहज हुन सक्छ ।

(लेखिका शाह अधिवक्ता हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरस्वती शाह
सरस्वती शाह
लेखकबाट थप