‘पूर्वराजा ज्ञानेन्द्र र प्रचण्ड उस्तै हुन्, टोपी साटासाटले निकास निस्किन्न’
वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी संयुक्त सरकार र जनसंविधान निर्माणलाई तत्कालीन कार्यनीति बनाएर सङ्घर्ष चर्काउने निर्णय गरेको छ ।
असोज (१६–२१) सम्म काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले जनसंघर्षमा जाने निर्णय गरेको हो । तर, अस्थायी सरकार कसरी र कसको नेतृत्वमा बनाउने भन्ने ठोस आधार दिन सकेको छैन । पछिल्लो अवस्थामा परम्परागत दलहरूमाथि जनआक्रोश बढ्दै गएको अवस्थामा यसैलाई आधार बनाएर विद्रोह गर्न सकिने बैठकले निष्कर्ष निकालेको छ ।
अस्थायी संयुक्त सरकार, जनसंघर्षको मोडालिटी तथा पछिल्लो राजनीतिक घटनाक्रमको सम्बन्धमा प्रस्तुत छ, रातोपाटी सहकर्मी गणेश पाण्डेले अध्यक्ष मोहन वैद्यसँग कुराकानीको सम्पादित अंशः
_VsAqXKDzVs.jpg)
पार्टीको केन्द्रीय समिति बैठकमा तपाईंले प्रतिरोध संघर्षको बिचबाट अस्थायी संयुक्त सरकार गठन गर्ने प्रस्ताव गर्नु भएको छ । यसबारे खुलस्त गर्दिनोस् न ।
खास गरी, अहिले संसदीय व्यवस्था छ । संसदीय व्यवस्थाले राष्ट्रियता, जनजीविकाको सवालमा काम गर्न सकेन । देश भयावह स्थितिमा छ । भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक कब्जा गरेको छ । सुस्ताको हालत त्यस्तै छ । दक्षिणी क्षेत्रमा सीमा मिचिएको छ ।
सरकार एमसीसी कार्यान्वयन गर्नेतर्फ गइरहेको छ । यसले राष्ट्रियताको प्रश्न गम्भीर मोडमा पुगेको छ । राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई बचाउनका लागि सङ्घर्ष चर्काउने पहिलो विषय त्यही नै हो ।
दोस्रो जनतन्त्रको क्षेत्रमा अधिकार जनतालाई दिइएको भनिएको छ तर अधिकार दिइएको छैन । मजदुर, किसानको अवस्था उस्तै छ । उनीहरूले हक, अधिकार पाउनुपर्छ ।
तेस्रो जनजीविका बेहाल छ । खास गरी, पहाडका गाउँघरमा जग्गाजमिन बाँझै छ । काम गर्ने युवा जनशक्ति विदेशिएका छन् । कृषिप्रधान देश भनेको छ तर अर्बौँको बस्तु आयात भएको छ । भारतले धान चामल रोकिदियो भने बडा मुस्किल छ ।
आयातमा महँगो भन्सार लगाउने र रेमिट्यान्सबाट आएको पैसाले सरकार फुर्ती लगाएर बसेको छ । सबै सरकारले त्यस्तै गर्दै आएको छ ।
त्यसैले, पुरानो राज्यसत्ताको विकल्पमा प्रगतिशील दलहरूको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्छ भनेर तत्कालीन कार्यनीतिको आधारमा एजेण्डा तय गरेका छौँ । यो बहसको विषयमै छ । यसलाई महाधिवेशनमा गएर फाइनल गर्छौँ ।
संयुक्त सरकार जनविद्रोहबाट हुन्छ कि क्रान्तिकारीहरूको गोलमेच सम्मेलनबाट हुन्छ ?
क्रान्तिकारीबिच एकता आवश्यक छ । देशभक्त, क्रान्तिकारी र वामपन्थी शक्तिहरूसँग एकता हुन्छ । सँगै सङ्घर्ष पनि गर्नुपर्छ । सङ्घर्ष नगरी हुँदैन । सङ्घर्ष र एकताको बिचबाट अस्थायी सरकार बनाउनुपर्छ । त्यस्तो सरकारले मात्र जनगणतन्त्र र वैज्ञानिक समाजवादमा पुग्न सकिन्छ ।
सरकार कसको नेतृत्वमा बन्छ नि ?
सरकार कसको नेतृत्वमा बनाउने र कसरी बनाउने भन्ने विषयमा हामीले अहिले तय गरेका छैनौँ । सङ्घर्ष कसरी जान्छ, त्यसमा भर पर्छ । सङ्घर्ष सशक्त रूपमा गयो भने त्यो सरकार राम्रै हुन्छ । संघर्षलाई प्रभावकारी ढंगबाट अगाडि बढाएर क्रान्तिकारीको नेतृत्वमा सरकार हुनुपर्छ । कम्युनिस्ट पार्टीले सक्यो भने उसकै नेतृत्वमा बन्न सक्छ ।
अहिलेको सत्ता राजनीतिबाट निकास निस्कँदैन भन्ने तपाईंको निष्कर्ष हो ?
अहिलेको राज्यसत्ताबाट कुनै पनि निकास निस्कँदैन । सरकारमात्र होइन, हामीले संसदीय व्यवस्थाकै विकल्प खोजेका हौँ । दलाल पुँजीवादी र बचेखुचेको सामन्ती वर्गको हातमा सत्ता छ । राणाकालदेखि नै पुरानै शक्तिले निरन्तरता पाइरहेको छ ।
व्यवस्था बदलियो भनेको छ, के बदलियो थाहा छैन । माओवादीले १० वर्ष जनयुद्ध गर्यो, सरकारमा जाँदा तीनै पुराना अनुहार देखिन्छ । के बदलियो ? त्यसकारण अब नयाँ अनुहार आउनुपर्छ ।
_hn9XRg8JBA.jpg)
माओवादी आन्दोलनले सामन्तवादको अन्त्य गर्यो भन्नुहुन्छ । तर, तपाईंले भन्ने गरेको दलाल पुँजीवाद झनै डरलाग्दो अवस्थामा आएको छ नि ?
सामन्तवाद अलि अलि छ, धेरै छैन । मुख्य रूपमा दलाल पुँजीवाद छ । नेपाली जनताको शोषण उत्पीडनको मुख्य शक्ति त्यही हो । दलाल पुँजीवाद, नोकरशाही सामन्तवाद समेतको राज्यसत्तालाई अन्त्य गरेर जनताको राज्यसत्ता स्थापना गर्ने हो । यो उद्देश्य जनयुद्धदेखिकै हो । जुन उद्देश्यका लागि जनयुद्ध गरेका थियौँ, बिचमा आएर धोका खायो । त्यो उद्देश्य पुरा गर्नका निम्ति फेरि सङ्घर्ष गर्नुपर्छ ।
सामन्तवादसँग लड्न सजिलो रहेछ कि तपाईंले भनेको जस्तै दलाल पुँजीवादसँग लड्न सजिलो रहेछ ?
दलाल पुँजीवाद अलि बलियो छ । अलि अलि भएको सामन्तवादलाई अनि दलाल पुँजीवादलाई जोगाउने विदेशी तत्त्व हो । अहिले हामी अर्धसामन्ती, अर्धउपनिवेश र नवउपनिवेश अवस्थामा छौँ । यस भित्रका शोषक, शासक वर्ग र विदेशी प्रतिक्रियावादीहरू मिलेर शोषण उत्पीडनको दमन गरिरहेका छन् । यहाँको मात्र छैनन्, विदेशी पनि छन् । यिनीहरूले अहिलेको व्यवस्थालाई जोगाइराखेका छन् ।
जनयुद्ध लडेको शक्ति माओवादी अहिले छिन्नभिन्न अवस्थामा छ । पुराना दलहरूप्रति जनआक्रोश बढ्दै गएको छ । प्रधानमन्त्री प्रचण्डले पनि प्रतिक्रान्तिको खतरा रहेको संकेत गरेका छन् । पछिल्लो राजनीतिक अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?
पहिलो क्रान्ति र प्रतिक्रान्ति भइराख्छ । यो इतिहासको नियम नै हो । पहिलो कुरा जनताका आधारभूत समस्या अहिलेको व्यवस्थाले गर्दैन । जनताले रूपान्तरण र परिवर्तन चाहेको छ । परिवर्तनका लागि क्रान्ति अवश्यभावी हो । यो ढिलो, चाँडो हुन्छ ।
_VfSkZmpdxg.jpg)
दोस्रो रूपान्तरण र परिवर्तन तत्कालै हुँदैन । त्यसका लागि लामो समय लाग्छ । क्रान्ति प्रतिक्रान्ति लामो समय चल्दै जान्छ । अन्त्यमा विजय प्राप्ति गर्ने हुन्छ । हामीलाई १० वर्षको जनयुद्धले धेरै कुरा सिकाएको छ ।
युद्धमा हाम्रो पार्टी सानै थियो । तर युद्ध देशव्यापी रूपमा फैलियो । जनताको बिचमा हामी झाँगियौं । गोली, बन्दुक केही थिएन । मनाङबाट २ वटा बन्दुक ल्याएर युद्ध लडेको हो । त्यसकै भरमा ७ वटा डिभिजनसम्म बनायौँ ।
त्यसकारण विचार चाहियो । सही रणनीति र कार्यनीति चाहियो, सही कार्यदिशा चाहियो । यति भयो भने अरू ठीक ढंगले आइहाल्छ । त्यसकारण पुरानो सत्ताको आयु सिद्धिँदै छ ।
क्रान्तिकारी पार्टी भनिएका माओवादीका शीर्ष नेताहरू अहिले विभिन्न प्रकरणमा मुछिएका छन् । तपाईंहरूको नाम कसैले लिनै चाहँदैनन् । यस्तो अवस्थामा तपाईंलाई जनताले कसरी विश्वास गर्ने ?
यसमा के बुझ्नुपर्यो भने कुनै जमानाका क्रान्तिहरू अर्को जमानामा गएर बिग्रिन्छन् । अवसरवादी हुन्छन् । माओवादी भनेको सोलोडोलो एउटै हो, बदमास हो भन्ने कुरा पनि भएन । उसो भए कांग्रेसलाई विश्वास गर्छन् त ? आफूलाई संसदीय व्यवस्थाको मसिहा भन्छन् । ओलीजी कुर्लिनु हुन्छ, विकास र समृद्धि भनेर । अरुलाई बोल्नै दिनुहुन्न । प्रचण्डजी पनि त्यही हो ।
यसरी उनीहरूले जतिसुकै विकास र समृद्धिका कुरा गरेपनि पुरानो राज्यसत्ता छ । साम्राज्यवादी नवउदारवादको नीति सबैले पक्रेका छन् । त्यसैले, यो संसदीय व्यवस्थाको अन्त्य जरुरी छ । पुरानो राज्यसत्ताको अन्त्य जरुरी छ । क्रान्ति आवश्यक छ ।
_t4ODclg7GI.jpg)
हामीले राम्रोसँग सङ्घर्ष गरियो भने जनताले पत्याउँछन् । हाम्रो पनि कमी कमजोरी र सीमा छन् । गलत तत्त्व प्रवृत्तिको विरुद्ध आन्दोलन गर्न सक्दैनौँ, त्यो साँचो कुरा हो । किनभने टुटफुट भयो, टाउको उठाउन गाह्रो परेको छ ।
तर, आगोको झिल्को हामीले बचाएर राखेका छौँ । क्रान्तिको झण्डालाई हामीले गिर्न दिएको छैनौँ । माओले भनेजस्तै क्रान्तिको ज्वालाबाट सारा जंगलमा डढेलो लगाउन चाहन्छौँ । परिवर्तन अवश्यभावी छ । कसैले रोकेर रोकिँदैन ।
तपाईंले गर्ने भनेको विद्रोह कस्तो हुन्छ ? सशस्त्र वा निशस्त्र ?
हामीले चाहेको व्यवस्था ल्याउनका लागि सशस्त्र सङ्घर्ष नगरी सुख छैन । सशस्त्र विद्रोहबिना कतैपनि क्रान्ति सफल भएको छैन । हतियार कहिले उठाउने भन्ने विषय सरकार र सत्तासँगको स्थिति कस्तो हुन्छ, त्यसमा भर पर्छ । संघर्षको विकास कसरी भएर जान्छ, त्यसले निर्धारण गर्छ । हामीले गर्ने संघर्षमा सरकारले कस्तो व्यवहार गर्छ, त्यसमा भर पर्छ ।
भनेपछि आवश्यकताअनुसार तपाईंहरु फेरि हतियार उठाउन तयार हुनुहुन्छ ?
हतियार नउठाई हुँदैहुँदैन । आवश्यक पर्ने बित्तिकै फेरि हतियार उठाउँछौँ । नेपालले धेरै वीर योद्धाहरू जन्माएको छ । फेरि जन्मिनेछन् ।
तपाईंहरु एमसीसीविरुद्ध उभिनु भयो । तर, चुनाव तीनै राजनीतिक दलहरूले जिते, जो एमसीसीको पक्षधर थिए । तपाईंहरूलाई जनताले विश्वास गरेको देखिएन नि ?
सानो ठूलो हुन्छ, ठूलो सानो हुन्छ । त्यो समयको कुरा हो । पहिलो हामी मसाल थियौँ । असाध्यै सानो थियौँ । चौथो महाधिवेशन गरेका थियौँ । तीन पक्ष थियौँ । महोनविक्रमजी, निर्मल लामाजी र हाम्रो नेता भक्तबहादुरजी हुनुहुन्थ्यो । तीन जना तीनतिर विभाजित भइयो । पार्टी तीन टुक्रा भयो । माले छँदै थियो । मनमोहनजी छँदै थिए । जब हामीले जनयुद्ध गर्यौँ, शक्ति कहाँबाट आयो आयो ।
अहिलेको गणतन्त्र कसले ल्यायो भन्नोस् त ? माओवादीले ल्याएको हो कि होइन ? कहाँबाट आए ती शक्ति ? त्यसैले हामीमा अनुभव छ । एउटा कार्यदिशा, विचार, सिद्धान्त, नीति भएपछि शक्ति आउँछ भन्ने हाम्रो संश्लेषण हो । इतिहास र द्वन्द्ववादको नियम यही हो ।
अहिलेको व्यवस्था ल्याउन माओवादीको भूमिका थियो भन्नु हुन्छ । तर, त्यही माओवादीको संघर्षबाट आएको संविधान खारेज गर्न तपाईंहरू लागिपर्नु भएको छ । यो विरोधाभाष भएन र ?
हामीले अहिलेमात्र भनेको होइन । संविधान बनाउने बेलामा पनि हुँदैन भनेको हो । प्रचण्ड र बाबुरामजीसँग पनि यो संविधान बनाउन नलाग्नोस् भनेको हो । ‘नोट अफ डिसेन्ट’ लेख्नोस् भनेको हो ।
_0YsBqmTOa9.jpg)
जनयुद्ध गरेको यस्तै संविधान बनाउन होइन नि । यो संसदीय संविधान हो । जसकाविरूद्ध विद्रोह गरी नयाँ जनवादी र वैज्ञानिक समाजवादी व्यवस्था लागु गर्छौँ भनेका थियौँ । त्यो अवस्था रहेन ।
अहिलेको संविधानले जनताको समस्या समाधान गर्न सक्दैन भन्ने कुरा पुष्टि भइसकेको छ । कसैले संशोधन भनेका छन् । कसैले पुनर्लेखन भनेका छन् । हामी खारेज गर्ने पक्षमा छौँ । संघर्षका बिचबाट नयाँ संविधान बनाउनु पर्छ । यो संविधानबाट केही हुनेवाला छैन ।
निर्वाचन प्रक्रियाबाट जनताको मन जितेर दुई तिहाइ ल्याएर पनि संविधान खारेज गर्न सक्नुहुन्छ नि । किन जनतामाथि विश्वास नभएको हो ?
तपाईंले जुन संसद् देख्नुहुन्छ, त्यो बाहिर देखिएको मात्र हो । सेना, पुलिस, जेल, अदालत त्यसले पो जोगाएको छ । बाहिरका साम्राज्यवादी शक्तिहरूले जोगाएका छन् । संसद् त बिचरो गहना हो । त्यहाँ जान्छन्, उफ्रिन्छन् । संसद् देखाउने दाँतमात्र हो ।
तपाईंको भनाइको अर्थ अहिलेको संविधानबाट निकास निस्किँदैन ?
कुनै हालतमा निकास निस्किँदैन । यसलाई खारेज नै गर्नुपर्छ ।
तपाईंले प्रचण्डलाई धेरै नजिकबाट चिन्नु भएको छ । जनयुद्धमा विश्वास पनि गर्नुभयो । नेतृत्व हस्तान्तरण पनि गर्नुभयो । पछिल्लो समय प्रचण्डको मनोवृत्ति र पूर्वराजा ज्ञानेन्द्रको गतिविधि हेर्दा को चाहिँ ठिक रहेछन् त ?
प्रचण्डजी एक जमानामा राम्रै हुन् । हामीसँगै बस्यौँ । सँगसँगै आयौँ । त्यतिबेला उहाँले राम्रै काम गरेको हो । पछिल्लो समय हामीलाई छोडेर गए । संसदीय व्यवस्थाको संरक्षक प्रचण्ड, ओली र देउवा उस्तै हुन् । प्रचण्डले क्रान्तिकारी धार छोड्नुभयो । संसदीय व्यवस्था कांग्रेसको हो । उसको भाग प्रचण्डले खोसेका हुन् ।
मैले भन्न खोजेको कुरा तपाईंले एक पटक ज्ञानेन्द्रसँग सहकार्य गर्न सकिने बताउनु भएको थियो । राजावादीसँग तपाईंको सहकार्य हुन्छ कि हुँदैन ? प्रचण्डभन्दा ज्ञानेन्द्र ठिक भन्नु भएको होइन ?
मैले एउटा प्रसङ्गमा कम्बोडियाको नरोद्दम सिंहानुक जस्तै कम्युनिस्टहरूसँग मिलेर जानुपर्यो भनेको थिएँ । त्यो हिजोको प्रसङ्गमा बोलेको थिएँ । यहाँ व्यक्ति व्यक्तिको कुराभन्दा पनि संसदीय व्यवस्था मान्ने राजा र प्रचण्ड, ओली र देउवा एउटै हुन् । अहिले पनि नरोद्दम सिंहानुक हुने त होइन ?
राजतन्त्र फर्काएर पनि काम हुँदैन । त्यो त पश्चगामी हो । त्यो राजतन्त्र भन्दा यही लोकतान्त्रिक गणतन्त्र ठिक छ । राजतन्त्रको तुलनामा लोकतान्त्रिक गणतन्त्र प्रगतिशील हो । अहिलेको जमानामा राजाहरू देशभक्त र राष्ट्रवादी हुन् भन्न सकिँदैन । हिजो केही राजाहरू राष्ट्रवादी थिए । दुनियाँका राजाहरूले पनि प्रगतिशील भूमिका खेलेका थिए तर अहिले त्यो सम्भव छैन ।
संसदीय व्यवस्थाको रक्षा गर्ने र गणतन्त्रको मूल्य र मान्यताअनुसार चल्न नसक्दा पुराना दलमा विकृति देखिएको हो । मान्छेले शासनसत्ताको मात्र कुरा गर्छ, राज्यसत्ताको कुरा गर्दैन । शासनसत्तामा परिवर्तन हुँदै आएका छन् । राज्यसत्तामा परिवर्तन भएको छैन ।
यहाँ दलाल पुँजीपति वर्ग, नोकरशाह पुँजीपति वर्ग र सामन्त वर्गका केही अवशेषको हातमा राज्यसत्ता छ । राजा पुनः आए त्यही राज्यसत्ता हो । अझै तानाशाही राज्यसत्ता हो । त्यो जनतालाई चाहिएन ।
अहिले भएका संसद्वादको संरक्षण गर्ने पनि पुरानो तत्त्वको संरक्षक हुन् । त्यसलाई क्रान्तिकारी कम्युनिस्ट भन्नेले पनि फाल्न सकेनन् । पछिल्लो प्रचण्ड–बाबुरामले पनि त्यही सत्ता र व्यवस्थालाई समाउन गएपछि राजा र प्रचण्डमा कुनै फरक छैन ।
त्यसो भए अब प्रचण्डसँग तपाईंको सहकार्य हुन्छ कि हुँदैन ?
अहिले के मुद्दाले कार्यगत एकता गर्ने र ? पार्टी एकता हुँदैन । अहिलेकै अवस्थामा एकता सम्भव छैन । तर यो व्यवस्था त्यागेर आएमा सम्भावना रहन्छ ।
हालकै अवस्था रहे पुराना भनिएका दलहरू आगामी निर्वाचनमा समाप्त जाने स्थिति देखिएको छ । त्यस्तो अवस्थामा प्रचण्डले सहकार्य गरेर जाऊँ भनेर प्रस्ताव राखे तपाईं मान्नु हुन्छ कि ?
मैले भनिहालेँ नि, सहकार्य केका लागि गर्ने ? यही व्यवस्था बचाउनका लागि सहकार्य हुँदैन । यही संविधानको रक्षा गर्छु, पुरानो सत्तालाई बचाएर जान्छु भन्ने शक्तिसँग के को सहकार्य हुन्छ ? संविधान र संघीय गणतन्त्र चाहिएको छैन, यो खारेज हुनुपर्छ । जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जाने हाम्रो मिसन हो । त्यसमा सहभागी भए सहकार्य हुन सक्छ ।
_1Tsdapjjp0.jpg)
नयाँ राजनीतिक दलहरूलाई हेर्ने तपाईंको दृष्टिकोण के हो ?
अहिलेको सत्ता र व्यवस्थाको रक्षा पनि संसद्वादी दलहरूले गर्न सकेनन् । त्यसैले, यही व्यवस्थाको रक्षा गर्न उनीहरू (नयाँ दल) आएको हुन् । नयाँ आएका क्रान्तिकारी हुन् भन्ने होइन । पुरानो सत्ता र व्यवस्थालाई बचाउन पुराना दलले नसकेपछि नयाँ दल उदाएको हो ।
यसको मतलब बढ्दो आक्रोशका बिच अहिलेको संविधान र व्यवस्था समाप्त पार्न जनविद्रोह हुन्छ, त्यसबाट फाइदा लिन सकिन्छ भन्ने तपाईंको निष्कर्ष हो ?
हो, त्यही हो । अहिलेको व्यवस्थामाथि बिस्तारै असन्तुष्टि बढ्दै जान्छ । सङ्कटको बिचमा नयाँ विद्रोह हुन्छ । रेमिट्यान्स र राजश्वबाट आउने आम्दानी कम भयो भने अर्थतन्त्र कसरी बच्छ ? सरकारले बेरोजगारीको व्यवस्थापन गर्न सकेको छैन । पुराना राज्यव्यवस्थाका पक्षधरहरूले जति कुरा गरे पनि यसको रक्षा गर्न सक्दैन । रक्षा गर्न नसक्ने भएपछि हामी रक्षा गर्छौँ भनेर नयाँ दलहरू आएका हुन् । उनीहरूले पनि असफल हुन्छन् ।
२०८४ को निर्वाचनपछि नेपालको राजनीतिक कोर्स करेक्सन हुने कतिको सम्भावना देख्नु हुन्छ ?
०८४ को चुनाव छाड्नोस्, त्यो चुनाव हो । संसदीय व्यवस्थाबाट हुने चुनाव जति चक्र घुमे पनि काम छैन । संसदीय व्यवस्थामा सरकारमा हुने बाहिर पुग्छ, बाहिर विरोध गर्ने सरकारमा पुग्छ । यो टोपी साटासाट हो । यी नेताहरू टोपी साटासाट हुन् । टोपी कहिले एउटाले लगाउँछ, कहिले अर्कोले लगाउँछ ।
ओलीजीले विकास र समृद्धि भनेर कुर्लिनुभयो । अहिले प्रचण्डको पालामा केही पनि भएन भनेर कुर्लिरहेका छन् । सबै उस्तै हुन् ।
तपाईंहरू बारम्बार राष्ट्रियताको कुरा उठाउनु हुन्छ । भारतले नेपालको भू–भाग समावेश गरेर नक्सा जारी गर्दा विरोध गर्नुभयो । तर नेपालको संसद्बाट पारित गरेको चुच्चे नक्सा चीनले समावेश नगर्दा मौन बस्नु भएको छ । राष्ट्रियता फरक फरक हुन्छ, हो ?
लिपुलेकको नाका खोल्ने सम्बन्धमा नेपाललाई बाइपास गरेर चीन र भारतले सम्झौता गरे । हामीले त्यसको पनि विरोध गरेको हो । अहिले चुच्चे नक्सा उनीहरूले प्रकाशित गरेको नक्सामा छैन । चीनले किन गरेन भन्ने प्रश्न उठेको छ । चुच्चे नक्सा बनाइसकेपछि नेपालको तर्फबाट अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिनुपर्थ्यो । न ओली सरकारले जानकारी दियो, न देउवा–प्रचण्ड सरकारले दियो । हामीले यसमा खबरदारी गर्दै आएका छौँ ।
राष्ट्रियताको विरुद्धमा जसले गरे पनि विरोध गर्छौँ । अमेरिकी साम्राज्यवादको तुलनामा चीन नेपालप्रति सकारात्मक छ । चीनले पनि बदमासी गरेको छ, त्यसको पनि विरोध हुन्छ ।
अन्तमा, जनसंघर्षका लागि तपाईंको पार्टीको आगामी एजेण्डा के के छन् ?
यस विषयमा सबै पक्षसँग छलफल गरेर संघर्षका कार्यक्रम घोषणा गर्छौँ । वर्तमान राज्यसत्ताको विकल्पसहित क्रान्तिकारी कम्युनिस्ट पार्टी र देशभक्तहरूसँग मोर्चाबन्दी गर्छौँ । एमसीसी, महँगी, बेरोजगारी, जनजीविका सम्बन्धमा कार्यक्रम बनाएर जान्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण