आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सात मिनेटको कार्यक्रममा प्रधानमन्त्रीबाट रेशम चौधरीको ‘धरातल’ विमोचन

बिहीबार, २५ असोज २०८०, ११ : ३४
बिहीबार, २५ असोज २०८०

कला–साहित्य र राजनीतिमा कुन क्षेत्र तपाईंका लागि प्रतिभा र कुन क्षेत्र बाध्यता हो ? अपर्झट मैले यस्तै प्रश्न सोध्न पुगेँ — नागरिक उन्मुक्ति पार्टीका संरक्षक, संगीतकर्मी तथा लेखक रेशम चौधरीलाई ।  

‘लेखन, गायन र संगीत सिर्जना मेरो सोख वा प्रतिभा हो । राजनीतिमा मलाई जबर्जस्ती धकेलियो, म राजनीतिमा आउन चाहन्नथेँ । जबर्जस्ती मलाई यो भुङ्ग्रोमा हालियो,’ उनले भने, ‘हीराले हीरालाई काट्छ भनेझैँ यो राजनीतिक भुङ्ग्रोबाट उम्कन पनि मैले भुङ्ग्राकै राजनीति गर्नुपर्यो । राजनीति आफैँमा त्यति फेयर चिज होइन तर कलम चलाउनेले झुट लेख्दैन ।’

रेशमको नयाँ पुस्तक ‘धरातल’ हिजो (२४ असोज)देखि बजारमा आएको छ । रेशमको प्रवासदेखि कारावाससम्मको संस्मरण समेटिएको पुस्तक ‘धरातल’लाई बुधबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकार्पण गरे । 

प्रधानमन्त्री प्रचण्डले रेशमको नयाँ पुस्तक विमोचन गर्दै छन् भन्ने सुइँको पाएर बुधबार दिउँसो रातोपाटीकर्मी प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेका थियौँ । प्रधानमन्त्रीको हातबाट पुस्तकको विमोचन गर्न र त्यसको तस्बिर खिच्नका लागि मात्र १५ मिनेटजति समय लिइएको रहेछ, रेशमसहितको ८–१० जनाको टोलीले प्रधानमन्त्रीलाई भेट गर्यो ।

लेखक चौधरीले सुरुमै प्रधानमन्त्री प्रचण्डलाई पुस्तक देखाउँदै भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू यो पुस्तकमा मैले प्रवासदेखि कारावाससम्म आफूले भोगेका दुःखकष्ट लेखेको छु । बाँकी त पुस्तकले नै बोल्छ ।’ प्रधानमन्त्रीले बीचमै थपे, ‘हो पुस्तकले नै बोल्छ ।’

भेटमा लेखक चौधरीले सुरुमै प्रधानमन्त्री प्रचण्डलाई पुस्तक देखाउँदै भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू ! यो पुस्तकमा मैले प्रवासदेखि कारावाससम्म आफूले भोगेका दुःखकष्ट लेखेको छु । बाँकी पुस्तकले नै बोल्छ ।’ प्रधानमन्त्रीले बीचमै थपे, ‘हो पुस्तकले नै बोल्छ ।’

सुरुमा प्रधानमन्त्री प्रचण्डलाई पुष्पगुच्छा अर्पण गरी खादा ओढाइयो । खादा ओढाइदिने पाका उमेरका लालवीर चौधरीबारे प्रचण्डले रेशमसँग सोधे, ‘यहाँ तपाईंको बुवा होइन ?’
रेशमले हो भनेपछि प्रचण्डले रेशमका बुवासँग कसिलो गरी हात मिलाए ।  त्यसलगत्तै प्रधानमन्त्री प्रचण्डले पुस्तक धरातलको विमोचन गरे । प्रधानमन्त्री कार्यालयकै कर्मचारीले त्यसको तस्बिर लिए, मोबाइलबाट । विमोचनलगत्तै प्रधानमन्त्री प्रचण्ड एक मिनेटजति बोले, त्यसको भिडियो पनि प्रधानमन्त्री कार्यालयकै कर्मचारीले मोबाइलमार्फत खिचे । 

सुरक्षाका कारण हामी सबैको मोबाइल, रेकर्डर लगायत सामान बाहिर लकरमा राख्न लगाइएको थियो । त्यसैले त्यस कार्यक्रमको तस्बिर खिच्न र अडियो रेकर्ड गर्न सकिएन । खासगरी प्रचण्डले पुस्तकका लागि लेखक चौधरीलाई बधाई दिएका थिए । त्यसलगत्तै लेखक चौधरीको आग्रहमा प्रचण्डले दुईवटा पुस्तकमा हस्ताक्षर गरे, ‘धन्यवादसहित लोकार्पण’ लेखेर । हस्ताक्षरमुनि मिति उल्लेख गरे — २४ आश्विन २०८० । यसरी करिब सात मिनेटमा धरातल पुस्तकको लोकार्पण सम्पन्न भयो । प्रधानमन्त्री कार्यालयबाट बाहिर प्राङ्गणमा निस्केपछि लेखक चौधरीले प्रकाशक कुयाङ लामालाई सोधे, ‘पुस्तक बजारमा पठाउनुभयो नि ?’

लामाले भने, ‘मुख्य मुख्यमा । रत्न पुस्तक, एजुकेसन बुक... ।’ कला–साहित्य, लेखन र राजनीति एकअर्कासँग जोडिएका छन् । राजनीतिक तथा सामाजिक परिवर्तन वा न्यायका लागि कला–साहित्य र लेखन सालीन आवाज हो । कतिपय अवस्थामा सामाजिक र राजनीतिक मुद्दा उठाएर लेखकले सत्ता पक्षसँग राजनीति गर्छन् अर्थात् प्रश्न गर्छन् । यस पुस्तकमा रेशमले प्रश्न गरेका छन्, ‘हजारभन्दा बढी गीत–संगीतका सर्जक, दर्जनभन्दा बढी पुस्तकका लेखक, राज्यले राष्ट्रिय प्रतिभा पुरस्कारदेखि गोरखा दक्षिणबाहुसम्म दिने एक भूमिपुत्र थारुपुत्रलाई विनाकारण दोष करार कसले कुन राजनीतिक स्वार्थमा गरिरहेको छ ? यसको जवाफ राज्यले दिनैपर्छ ।’

हुन त यतिखेर राज्यले रेशमलाई आममाफी दिइसकेको छ । माफी ‘अपराध’मा दिइने हो । ‘यस कारण लेखेँ’ शीर्षकको प्राक्कथनमा रेशमले लेखेका छन्, ‘धरातल मैले जेलमा लेखेँ । प्रकाशन बखत जेलमुक्त छु म । जेलमा बन्धक जीवनको पीडा थियो । बाहिर उन्मुक्तिको पीडा छ । टेक्ने भूगोल फरक छ तर धरातल त उही हो ।’ यी शब्दले यही आशय व्यक्त गर्छन् — उनलाई अझै न्याय भएको छैन अर्थात् उनले सफाइ पाएका छैनन् । 

‘न्याय ! न्याय !! न्याय !!!’  शीर्षक दिएर उनले लेखेका छन्, ‘जिउँदै पोलिदिए पनि बोलिदिने कोही नभएको पात्र । अन्याय देख्दादेख्दै पनि कसैले न्यायको पक्षमा नलेखिदिने पात्र । प्रतिशोधै प्रतिशोधले घेरिएको एक उपयुक्त अनुहारको खोजी राज्यले गर्दै थियो । त्यो सुदूरपश्चिममा म जतिको उपयुक्त पात्र राज्यका तानाशाहले कहाँ पाउँथे र ?’

यस पुस्तकमा रेशमले केही यस्ता पात्रलाई लिएका छन्, जोसँग उनको बाल्यकालमै र पछिल्लो समय सम्बन्ध बनेको थियो, जो रेशमको जेल जीवनसँग कुनै न कुनै रूपमा जोडिन आएका छन् । उनको घरमा गोठालो बसेको उनकै उमेरका भौना डिल्लीबजार जेलमा दुई किलो सुँगुरको मासु लिएर भेट्न पुग्छन् — मै अप्किन छेग्रहवा भौना ! (म तपाईंको बाख्रा गोठालो भौना !) अचेल काठमाडौँमा मिस्त्रीको काम गर्ने भौनाले रेशमलाई भेटेर फर्कने बेला दुई हजार रुपैयाँ जबर्जस्ती रेशमको गोजीमा हालिदिए । 

resham

रेशमका बुवाले भौनाका बुवाआमाको पुराना मालिकलाई खोज्नी बोझ्नी (मोलमोलाइ) गरी १४ सय सौँकी (ऋण) तिरेर आफ्नो घरमा ल्याएका थिए, काम गर्नका लागि । पछि रेशमका बाजेले भौनाका बुवालाई चार सय २० रुपैयाँ सौँकी मिनाहा गरिदिएका रहेछन् । भौनाले सायद त्यसको ब्याजसहित दुई हजार रुपैयाँ तिरे । यस पुस्तकमा थारु संस्कृति, समाज र थारुलाई राज्यले र अन्य समुदायले हेर्ने दृष्टिकोण समेत आएको छ । थारुहरुले बासी भातको डल्लालाई बिहानमा आगोमा पोलेर खाने चलन रहेछ । यस्तो चलन पहाडतिरका धेरैका लागि अनौठो र रोचक लाग्न सक्छ । 

‘शपथ खाने र खुवाउने दुवै जेलमा’ शीर्षक दिएर उनले पुस्तकमा माओवादी नेता कृष्णबहादुर महरासँग जोडिएको प्रसंगलाई उल्लेख गरेका छन् । जेलमा रहँदा महराले जाडो याममा मुसाको मासु खुब सम्झेका रहेछन् । आफूलाई झुट्टा मुद्दा लेखेर जेल पठाउने इन्सपेक्टर जगन्नाथ खनाललाई भनेर मुसाको मासु मगाएको प्रसंग रेशमले उल्लेख गरेका छन् । ‘मेरो नोकरीको सवालका लागि उच्च तहको दबाब खेप्न नसकेर मुद्दा लगाइएको भनेर पश्चाताप गर्दै बारम्बार उनी (इन्सपेक्टर खनाल) मलाई भेट्न आइरहन्छन्,’ रेशम लेख्छन्, ‘म पनि उनीसँग ईष्र्या, दुश्मनी केही नसाँधीकन व्यवहार गर्छु किनकि मलाई कसले, किन, के कति स्वार्थका कारण फसाइएको छ, यसका बारेमा म जानकार छु ।’     
‘सबै गुमाएको त्यो दिन’ शीर्षक दिएर उनी लेख्छन्, ‘टीकापुर घटनामा मेरो तन, मन र धन तीनवटै जल्यो । मैले जिन्दगीभर कमाएको मान–प्रतिष्ठा, इज्जत, तक्मा र संग्रहित अमूल्यवान पुरातात्त्विक थारु पौराणिक ग्रन्थ लगायत अन्य सामग्रीहरु पनि आगोमा जलेर खरानी भयो ।  अन्य सामग्रीहरु पनि आगोमा जलेर खरानी भयो । राज्यले लगाएको कफ्र्यूका बीच टिकापुर बजारभित्र रहेका ८२ वटा घरलाई आगो लगाएर खरानी बनाइयो ।’  

जेलमा लेखेको यो पुस्तकलाई रेशमले जेलमै विमोचन गर्ने सोचेका रहेछन् । संयोगले अहिले प्रधानमन्त्रीको हातबाट पुस्तक विमोचन गर्न पाउँदा उनी प्रफुल्लित देखिन्थे ।  
२०४७ सालमा ‘जोगनी’ नामक पत्रिकाको सम्पादन गरेर पत्रकारिता तथा लेखनमा लागेका रेशमको २०५० सालमा ‘एक ठो वीरहीन कथा’ नामक कविता संग्रह प्रकाशन भएको थियो । रेशमका गुरु दामोदर शर्मा ‘पण्डित’ले यस कविता संग्रहबारे स्नातकोत्तरमा नेपाली विषयको थेसिस लेखेका छन् । पण्डित लगायत १२ जनाले यस कविता संग्रहबारे थेसिस गरेको रेशम बताउँछन् । यस्तै रेशमको पछिल्लो पुस्तक ‘टीकापुर घटनाको चिरफार’ पुस्तकमाथि पनि २० जनाभन्दा बढीले थेसिस गरेका छन् ।


रेशमले अहिले चारवटा पुस्तक लेख्दै रहेछन् । बुधबार साँझको भेटमा रेशमले आफ्नो प्रकाशोन्मुख उपन्यासको थोरै प्लट सुनाए । एउटा थारु महिला बच्चैदेखि कमलरी, विवाहपछि बुकरही हुँदै पछि नेता र मन्त्री बनेको कथा उनले उपन्यासमा ल्याएका छन् । मन्त्री बनेपछि उसको राजनीतिक धरातल सिद्धिन्छ र पुनः मजदुरीमा फर्कन्छिन् । ‘मेरो उपन्यासको कथा कुनै थारु महिला नेताको जीवनसँग मेल खाँदैन तर परिवेश र संघर्षहरू मिल्न सक्छन्,’ उनले भने ।  

नेपाली शब्दकोशमा ‘धरातल’ शब्दको अर्थमा धरती र पृष्ठभूमि शब्द समेत आउँछन् । यस पुस्तकमा रेशमले आफू जेल पर्नुको मात्रै होइन थरुहट आन्दोलनको पनि पृष्ठभूमि केलाउने कोसिस गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप