आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश सरकार

पार्टीभित्र विद्रोह गर्दै कोशीको छैटौँ मुख्यमन्त्री बनेका केदार कार्की

एमालेमाथि आलोचनाको तीर बर्साउने कार्की एमालेकै सहयोगमा मुख्यमन्त्री बन्न सफल
शनिबार, २७ असोज २०८०, १२ : ०९
शनिबार, २७ असोज २०८०

विराटनगर । मोरङ बुढीगंगाका ५० वर्षे केदार कार्की कोशी प्रदेशको व्यक्तिका रुपमा छैटौँ मुख्यमन्त्री बनेका छन् भने समग्रमा आठौँ मुख्यमन्त्री हुन् । यसअघि कोशी प्रदेशमा शेरधन राई, भीम आचार्य, राजेन्द्र राई, हिक्मतकुमार कार्की र उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् ।

मोरङको क्षेत्र नम्बर ६ (२) बाट माओवादीसँगको गठबन्धन गरेर निर्वाचित कांग्रेस सांसद कार्कीको प्रदेश सांसदको रूपमा यो दोस्रो यात्रा हो । २०७४ सालको निर्वाचनमा पनि कार्की सोही निर्वाचन क्षेत्रबाट वाम गठबन्धनलाई पराजित गर्दै विजयी बनेका थिए । अघिल्लो कार्यकालमा नेकपा विभाजनपछि बनेको गठबन्धनबाट उनी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए । मन्त्री बन्नुअगाडि उनी कांग्रेसका कोशी प्रदेशसभाका प्रमुख सचेतक थिए ।

हक्की र निडर स्वभावका कार्की प्रदेशसभामा प्रतिपक्षीय भूमिकामा रहँदा चर्को स्वरले सत्तापक्षमाथि आलोचना गर्दथे । जनताको आवाजलाई मुखरित गर्ने कोसिस गरिरहने कार्की अहिले मुख्यमन्त्रीको भूमिकामा पुगेका छन् । उनको शपथग्रहण आइतबारका लागि राखिएको छ । 

यद्यपि कार्कीका लागि मुख्यमन्त्रीको भूमिकामा पुग्न सहज भने भएन । उनले मुख्यमन्त्रीको पदमा पुगे पनि त्यहाँ पुग्नका लागि कठिन र चुनौतीपूर्ण सङ्घर्ष र विद्रोह गरेका छन् । सांसदको भूमिकामा रहँदा गठबन्धन र पार्टीप्रति इमानदारिता देखाउने कार्की यस पटक गठबन्धन र आफ्नै पार्टी कांग्रेसको निर्णयको खिलाफमा उभिए । 

विगतमा एमालेमाथि खरो आलोचनाको तिर बर्साउने कार्की एमालेकै सहयोगमा मुख्यमन्त्री बन्न सफल भए । उनी कांग्रेस संसदीय दलको निर्वाचनमा नेता उद्धव थापासँग प्रतिस्पर्धा गरेका थिए । उनले ९ मत ल्याउँदा थापाले १८ मत पाएका थिए । अहिले कार्कीले त्यही ९ दिनेमध्येका ८ जना सांसदलाई पार्टीभित्र विद्रोह गराएर आफू मुख्यमन्त्री बन्न सफल भएका हुन् । संसदीय दलको निर्वाचनमा पनि कार्की शेखर कोइराला पक्षबाट उम्मेदवार बनेका थिए ।

दुई दुई पटक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस संसदीय दलका नेता थापाले विश्वासको मत लिन नसकिरहेको बेला कार्कीले भने एमालेको समर्थनमा ४७ सांसदको समर्थन पाएका छन् । तर, उनले आगामी ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन सक्छन् या सक्दैनन् त्यो भने हेर्न बाँकी छ । त्यसका साथै आफ्नै पार्टीबाट निर्वाचित एक जना सांसद मुख्यमन्त्री बनेपछि कांग्रेस प्रतिपक्षी बेन्चमा बस्छ या सत्तापक्षमा यो पनि चासोको विषय छ । 

कार्कीले आफ्नै पार्टी र एमालेसँगको सहकार्यको सन्तुलन मिलाउन निक्कै चर्को पर्ने देखिन्छ । सिट सङ्ख्याका हिसाबले कमजोर रहे पनि गठबन्धनका सहयात्री दलहरू माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपालाई उनले कसरी विश्वासमा लिन्छन् त्यो पनि हेर्न बाँकी छ । भनिन्छ, ‘विद्रोह र संघर्षमा नेपालका राजनीतिक पार्टीहरू र नेताहरू सफल भएका छन्, तर, त्यसपछिको व्यवस्थापनमा असफल सिद्ध भएका छन् ।’ 

मुख्यमन्त्री बन्न कै लागि सफल विद्रोह गरेका कार्कीका लागि आगामी व्यवस्थापन गाह्रो हुनेछ । किनकि आफूलाई साथ दिने ८ सांसदले पक्कै पनि मन्त्रीमण्डलमा सहभागी हुन खोज्नेछन् । आफूलाई भारी मनका साथ सहयोग गरेको एमालेलाई पनि सानो भागमा चित्त बुझाउन गाह्रो पर्नेछ । प्रदेशसभाको सभामुख पददेखि संसदीय समितिका निर्वाचनहरू बाँकी छन् । प्रदेशको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने उनलाई अर्को चुनौती छ । प्रदेशमा देखिएको पहिचानको आन्दोलन, धर्म, जाती र सम्प्रदायमा देखिइरहेको छिटपुट असन्तुष्टि र विद्रोहका सङ्केतलाई मत्थर पार्नुपर्ने दायित्व पनि उनको काँधमा हुनेछ । यस्तै संविधानमा उल्लेखित प्रदेशका अधिकारहरू नदिइरहेको अवस्थामा संघीय सरकारसँग समन्वय गरेर काम गर्न पनि उनलाई चुनौतीपूर्ण छ । 

केदार कार्कीको राजनीतिक यात्रा

केदार कार्कीको जन्म आमा ईश्वरी र पिता प्रेमबहादुरका कोखबाट २०३० पुस ७ गते भएको हो । विद्रोही स्वभावका उनी विद्यालय कालदेखि नै राजनीतिमा होमिएका थिए । । 

जनता उच्च माध्यमिक विद्यालय मधेसा इनरुवामा २०४४ सालमा नेपाल विद्यार्थी संघको इकाई सभापति भएका कार्कीले विद्यालय स्तरको शिक्षापछि उनको उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट सुरु भयो । २०५२ सालमा नेविसंघबाटै महेन्द्र मोरङ क्याम्पस इकाई सभापति भएका कार्की नेविसंघकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे । 

२०६० मा महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचनमा भने कार्की अनेरास्ववियुका सागर थापासँग सभापतिमा पराजित भएका थिए । यद्यपि त्यहाँबाट उनको राजनीतिक उचाइ झनै बढ्दै गयो । हाल उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका छन् । कोइराला परिवारसँग नजिक रहेर राजनीति गरिरहेका उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा भने मोरङ क्षेत्र नम्बर ६ (२)बाट निर्वाचित भए । त्यसपछि कार्की कांग्रेस संसदीय दलको प्रमुख सचेतक भए । यस्तै कार्की २०७८ भदौदेखि २०७९ पौषसम्म आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा काम गरे । उनी २०७९ सालको निर्वाचनमा पुनः सोही निर्वाचन क्षेत्रबाट विजयी भए । स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका कार्कीका पत्नीसहित २ छोरा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप