मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

साबिक विजेता आर्मीलाई पराजित गर्दै पुलिसले जित्यो एमएम कप क्रिकेटको उपाधि

शनिबार, २० वैशाख २०८२, १८ : १९
शनिबार, २० वैशाख २०८२

विराटनगर । एमएम कप फाउन्डेसनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा साबिक विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको छ ।

लगातार ३ पटक फाइनलमा पुगेको पुलिसको यो पहिलो उपाधि हो । दुई पटक एमएम कपको फाइनलमा आर्मीसँग पराजित पुलिसले उपाधि जित्दा आर्मीको ह्याट्रिक गर्ने सपना चकनाचुर भएको छ । जितसँगै पुलिसले नगद ४ लाख र ट्रफ र उपविजेता आर्मीले नगद २ लाख र ट्रफी हात परेको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाई २ सय ३९ योगफल खडा गरेको थियो । 

पुलिसका लागि अरुण ऐरी  कप्तान शंकर रानाले अर्धशतक पारी खेले । ऐरीले ६४ रन र रानाले ५१ रन पारी खेले । श्रवण यादवले ३२ रन तथा दीपक डुम्रेले ३६ रनको पारी खेले । आर्मीका नरेन साउदले २ विकेट लिँदा दुर्गेश गुप्ता र तुलबहादुर थापाले पनि २–२ विकेट लिए ।

 पुलिसले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाई २ सय १५ रन मात्र बनाउन सक्यो । आर्मीका विकेट किपर हिमांशु दत्तले अर्धशतकीय पारी खेल्दा पनि आर्मीलाई जित दिलाउन सकेनन् । दत्तले ६३ रन बनाउँदा निश्चल क्षेत्रीले ३६ रन, इमरान शेखले २४ रन, नरेन राउदले २१ रन, जितेन्दू सिंह ठकुरीले २० रन र विशाल सुस्लिङले १८ रनको योगदान दिए । पुलिसका प्लेयर अफ फाइनल श्रवण यादवले ४ विकेट लिँदा चित्र विष्टले २ विकेट लिए ।

 प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका नरेन साउद भए । उनले नगद २५ हजार र ट्रफ हात पारे । त्यस्तै उत्कृष्ट ब्याटर पुलिसका शंकर राना र उत्कृष्ट बलर कोशीका प्रेम कामत घोषित भए । उनीहरूले जनही नगद १५–१५ हजार र ट्रफ हात पारे ।

 वैशाख १३ गतेदेखि भएको प्रतियोगितामा भारतको असम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी रहेका थिए ।

 प्रतियोगितामा करिब एक करोड खर्च भएको आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले बताए । विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक जगत टमाटा, जिल्ला खेलकुद समिति मोरङका अध्यक्ष सुरज श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विप्लव घोष, कोशी क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ क्रिकेट संघका अध्यक्ष महमद सादबाबु कुरेसीलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप