सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
यात्रा–निबन्ध

सुगाचरी भञ्ज्याङ

शनिबार, २७ असोज २०८०, १२ : २३
शनिबार, २७ असोज २०८०

भित्री मधेस र पहाडको सिमाना स्थल हो, सुगाचरी भञ्ज्याङ । उदयपुरको शिर, खोटाङको पुछार । पहाडी टाकुराको यो उचाइ थलो । पहाडको एका पाटो र अर्को पाटोलाई छुट्याउने साँध, घाँटी, नेटो । मानिसहरू जमघट हुने ‘जक्शन’ । हिँडेर थाकेको शरीर सुस्ताउने चौतारी । शक्ति सञ्चय गर्ने थलो ।

कोशीबाट छुइलाको ठाडो उकालो चढेर पुगिन्थ्यो सुगाचरी भञ्ज्याङ । बरपिपलका पातमा हावाले हल्लाए पछिको आवाज र चिसोपन यात्रीका लागि दिव्य औषधि हुन्थ्यो । ग्रामीण सुस्केरा, सास्तीपछि दक्षिणी भूमि आँखामा मित लगाउन आइपुग्थ्यो । जुन भूमि भित्री मधेसको कुइनेटो हो । 

गर्मीले हप्हप्ती पार्ने तर रमणीय प्रकृति–परिवेश । जहाँबाट पहाडी कोप्चेरो भीर सिद्धिन्थ्यो । र, सुरू हुन्थ्यो समथल भूमि । अहिले यातायातको सुविस्ताले गाउँ पनि सहर भइसकेको छ । त्यसैले ‘थियो’, ‘हुन्थ्यो’ भन्नुपर्ने अवस्था छ । किनभने ‘बेल्टारबाट हिँडेर चिसापानी पुगिन्थ्यो’ भन्दा आज पत्याउन गाह्रो भइसक्यो ।

बेल्टारबाट दम्साइलो बाटो हुँदै उकालिँदै आइपुगिन्छ सुगाचरी भञ्ज्याङ । हो, यहीँबाट देखिन्छ पहाड, पहिरो, खोलानाला, गाउँघर । विशुद्ध प्रकृतिको विहङ्गम दृश्यका अनेकौँ ताँती । एउटा अर्को अलग्ग बस्ती ।

सुगाचरी भञ्ज्याङमा बिसाउनीको सुरम्य स्थान । हिँडेर थकिन ज्यान–प्राणले त्राण  पाउँछ । पसिनाले भिजेर आँत हरहर भइरहेको बेला खोजेको र चाहिएको कुरा पाइन्छ । 

अन्ततः सुगाचरी भञ्ज्याङ्गको बरपिपलमा पुग्दा मरणासन्त प्राणपखेरूमा नव–जीवनको सञ्चार हुन्छ । बेग्लै उल्लास थपिन्छ । अर्कै उमङ्गले मन प्रफुल्ल हुन्छ । उत्साहले तन रमाउन थाल्छ । शीतल महसुस मिल्छ । कति आनन्द आभास हुन्छ । साँच्चै कति सुन्दर, शान्त ठाउँमा विश्राम स्थल छ ।

नाम पनि कति सुन्दर लाग्छ, सुगाचरी ! सायद कुनै समय यहाँ सुगाहरू प्रशस्तै थिए होलान् । हिजोआज फाट्टफुट्ट मात्र देखिन्छन् सुगाहरू । मैले थाहा पाउँदासम्म पनि सुगाहरू निकै उडिरहेका, हाँगामा बसिरहेका देखिन्थे । घर–घरमा पनि पालिएका भेटिन्थे । 

घरपालुवा सुगा कतिसम्म तालिम प्राप्त भने बाटो हिँडिरहेकालाई तिनले ‘कता हिँडेका हौ ?’, ‘तिमी को हौ ?’, ‘गोपीकृष्ण कहो ।’ जस्ता बोली अनौठो आवाज निकालेर बोलेको अझै म सम्झिन्छु । थाहा नपाउनेहरू सुन्थे, हिँड्थे, चरा देख्दैनथे । तर थाहा पाउनेहरू सुगामैनासँग केही छिन नजिकिन्थे र जिस्किन्थे । 

अनि गाउँघरतिर तिनै तालिमप्राप्त सुगामैना लिएर आउनेहरू हुन्थे । सायद ती सुगाचरीकै सुगाहरू हुन्थे कि ! मानिसले जस्तै चराले बोलेको सुन्दा आश्चर्य लाग्थ्यो । त्यस्तै पुतली नचाउन कुसुलेहरू आउँथे । हातमा लुकाएर राखेको पुतली नचाएर विरह भाकामा गीत गाउँदै उनीहरूले घर–घरमा माग्दै हिँड्थे । उनीहरूको राम्रो कमाउधन्दा थियो । जे भए पनि तिनताका ग्रामीण जीवनका लागि एउटा अलग्ग मनोरञ्जन मिल्थ्यो ।

सुगाचरीसँग मितरी साइनो गाँस्नेहरू धनी, गरिब सबै हुन्थे । तल्लाघरे, माथ्लाघरे, नयाँघरे, पुरानाघरे वा भनौँ गाउँमा नभेटिएका गाउँलेहरू त्यहाँ भेटिन्थे । कोही नूनतेल लिन तराई झरिरहेका, कोही नूनतेलको मरिकुच्चे ढाकर बोकेर उकालो उक्लिरहेका हुन्थे । 

अलि छिटो हिँडेर तल झर्नेहरू वा माथि पुगेर बिसाउनसमेत भ्याउनेहरू ‘सुइय्या’ सुसेल्दै साथी बोलाउँथे । लेग्रो तानेर कोही नाम काडेर ‘कहाँ पुग्यौ ?’ भनी चिच्याउँथे । उताबाट आवाज प्रतिध्वनित हुँदै ‘आउँदैछौँ, आउँदैछौँ । पर्ख है पर्ख ।’ भन्दै जवाफ फर्काउँथे । अगाडि उछिन्नेहरू भाह्री बिसाएर पर्खिन्थे । पछाडि छुटिनेहरू छिटो गरी बाटो लाग्थे ।

भञ्ज्याङ्गमा बस्ने, बिसाउनेहरू, उकालिने र ओह्रालिनेहरूका बीच मीठो मित्र–मिजास आदान–प्रदान हुन्थ्यो । त्यहाँ अनेक जात, अनेक गाउँका तर प्रायः एकै धर्मका हुन्थे । धर्मको भेद थिएन । कर्मको भेद पनि थिएन । सबैको समान ढाक्रेजीवन त्यहाँ जम्काभेट हुन्थ्यो । त्यस भेटमा राजनीतिको कुनै रङ थिएन । सबै नेपाली थिए । सबै गाउँले थिए । 

बाटो हिँड्नेका साथै त्यहाँ गाउँका घाँसेदाउरे, घँसिनी दाउरेनीहरू पनि भारी बिसाएर पसिना पुछ्न आइपुग्थे । भाका हालेर घँसिनी गीत गुञ्जाउँथे । दोहोरी चल्थ्यो बटुवा र स्थानीयबीच । कति रमाइलो जीवन थियो । कति सुन्दर वातावरण ! हाँसो, ठट्टासँगै घरायसी तनाव बिर्सिन्थे । 

यसरी अरू त अरू त्यहाँ दुःखका कुरा साटिन्थे । सुखका दिनको बातचित गरिन्थे । माया र प्रेमका, मित्रता र विछोडका संलाप र संवाद हुन्थे । बुहारी र सासू, छोरा र छोरीका कुरा हुन्थे । को, कस्तो आदि छरछिमेकीका पनि कुरा चल्थे । ‘फलानोले त कस्तो प्रगति ग¥यो है’ देखि ‘विचरी फलानोको त घरबारै भएन, कति दुःख छ ।’ जस्ता कुरा हुन्थे । आफन्तको पीडामा दुःख मान्थे । अरूको खुसीमा हाँसो बाँड्थे ।

सुगाचरीमा बिसाउनेदेखि गफिनेहरू उत्तिकै हुन्थे । मकैभट्मास चपाइरहेका, ढिँडो उमालिरहेका र ढाकर मिलाइरहेका त्यत्तिकै हुन्थे । एक प्रकारले मेलाजस्तै हुन्थ्यो भञ्ज्याङ । ओहोरदोहोर गर्ने मान्छेको चहलपहलले सम्भवतः सुगाचरीमा सुगा विस्थापित भएका होलान् । 

पहाड चड्दा, तराई झर्दा सुगाचरी तराई नजिकका गाउँघरमा घरघरै सुगामैना पालिएका हुन्थे । हिँड्दा बाटामा सुगामैनाको बोली पनि सुनिदैन अचेल । गाउँघरतिर डुलाएको पनि पाइँदैन । यसले गर्दा ‘सुगाचरी’ नाम पनि अलि अनौठो लाग्न थालेको छ । 

हामी हिँड्यौँ, हिँडिरह्यौँ । हिँड्दा धेरै बस्नु विसाउनु हुँदैन । झन् थाकिन्छ । थाकेपछि हिँड्न सकिन्न । बिस्तारै हिँडिरहनुपर्छ । यसो गर्दा सन्तुलित हुन्छ हिँडाइको गति ।

मैले साथीहरूलाई यसै भन्थेँ । किनभने बसेपछि थाकेको ज्यान उठ्न हम्मे हम्मे हुन्छ । अनि पुग्नुपर्ने गन्तव्य टाढिन्छ । समयमा पुगिँदैन । कुबेलाको बास त्यति व्यवस्थित हुन सक्दैन । खानपान र सुत्ने ठाउँको जगेडा नमिल्न सक्छ । समयमै पाहुना बन्न पुग्दा बास पाइन्छ । खाने, बस्नेको पनि राम्रो सुविधा मिल्छ ।

हिजोआज त ठाउँ–ठाउँमा होटल खुलेका छन् । अतिथि गृह बनेका छन् । पैदल यात्रा पनि धेरै गर्नु पर्दैन । बाटोघाटो र खाने, बस्नेको राम्रै व्यवस्था छ । यात्रा सहज बन्दै आएको छ । तर, केही वर्ष अघिसम्म पहाडी भेगमा कति दुःख थियो भनीसाध्य छैन । हिँडेरै सारा काम पूरा गर्नुपर्ने । पिठ्युँमा बोकेरै नूनतेल, खाद्यान्न आदि सबैको जोगाड गर्नुपर्ने । तराईकै भरथेग । तराई नझरी नहुने । तराईबाट धेरै कुराको आपूर्ति हुने । 

परन्तु बाटोको बिजोग उस्तै । खोलाखहरेको डर त्यत्तिकै । न पुल, न फड्के । ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता थियो । राँको बालेर हिँड्नु र ओडारमा बास बस्नु पर्दैन अहिले । बाटो भएपछि कठिनाइ हट्ने रहेछ । सुविस्ता भएपछि सुख भित्रिने र खुसीका दिनहरू निम्तिने रहेछ ।

उकालो चढ्न अलि सजिलो तर ओह्रालो झर्दा खुट्टा चिप्लिए, ठेस लागे जीवन र मरणको भरोसा हुँदैनथ्यो । कति ग्रामीण दुःखीदासीहरूले यसरी नै अकाल मृत्युवरण गरेका छन् । त्यसबाट बाँचेका पुस्ताहरूले आज सुविधाको उपयोग सायद राम्रै गरिरहेका छन् । पैताला खियाएर, खुट्टा दुखाएर आज हिँड्नु पर्दैन । कति सजिलै, छिट्टै घरसम्मै नूनतेल आइपुग्छ ।

उकालो हिँड्दा सुस्तरी हिँडिन्छ । तर जब बिसौनी आउँछ । जब चौतारी, भञ्ज्याङ पुगिन्छ । देउरालीमा पाइला टेकिन्छ । ओहो त्यहाँ एकछिन नबसी, नबिसाइकन पाइला अगाडि जानै मान्दैन । त्यहाँ रमाएर बसिरहने मन गर्छ । 

त्यसपछि आफैँले बनाएको नियम आफैँले उलङ्घन गरिन्छ । मजाले बसिन्छ । बसेर हेरिन्छ । दृश्यहरूका मनमोहनी छटाहरू देखिन्छ  । जता आँखा डुलाए पनि उतै कति सुन्दर प्रकृति । कतै झरना झरिरहेको छ । कतै चरा उडिरहेको छ । कतै धानबालीको लहलह फाँटमा धानका बाला पहेँलपुर । कतै पहाडी तरेलीको विछट्टकै विम्ब !

सुगाचरी भञ्ज्याङ्गबाट चारैतिर हेर्न सकिन्छ । तराई देखिन्छ, पहाड देखिन्छ । तल ब्वाँखोलाको नागबेली प्रवाहको स्वरूप देखिन्छ । कोशीको नीलो दह, बाढीले खाएर बाँकी रहेको काँसेबगरको विशाल फाँट । जहाँ सैयौँ मुरी धानबाली उब्जनी हुन्थ्यो । हजारौँ रोपनी जग्गा कोशी नदी कटानले बगरमा परिणत गरिदिएको पनि आधा शताब्दी भइसक्यो होला । जग्गावालाहरूको उठिबासै भएको थियो ।

बगरकै छेऊ भएर कोशी नदीको भेल बगिरहेको हुन्थ्यो । त्यही स्थानमा थियो– तराई झर्ने र पहाड पस्ने नाका अर्थात् ‘ब्वाँजरघाट’ । घाटको वल्लो र पल्लो किनारमा केही खिर्चीमिर्ची सामान र खानपानका छाप्राहरू हुन्थे । नदी छेउमा काठेडुङ्गा, माझी दाइ र आवत जावत गर्ने मान्छे । 

यिनैमा समेटिँदै, सङ्लिँदै, धमिलिँदै आएका विगत छन् पितापुर्खाहरूका । तराईको भावर ताप सकिएर अलिकति उकालो चढेपछि देखिने यिनै विविध दृश्यहरू यात्रीका मन हर्ने छटा–छवि हुन् ।

प्राकृतिक सौन्दर्यका मनोरम क्षितिज यसरी एक–एक गर्दै खुल्छन् । तारूण्य रूप–लावण्यले भरिभराउ आकर्षक ती दृश्यहरू हेरेर धित मर्दैन आँखाको । एकपछि अर्को पहाडका तरेलीहरूले आँखाका परेलीमा प्रित गाँस्न तँछाड मछाड गर्थे । 

थकाइ विर्साउने दृश्यहरू । दुःख भुलाउने ठाउँहरू । भोकप्यास भुलाउने गाउँ–ठाउँहरू । मायालु आभासका कति प्रिय परिवेशहरू । चुपचाप मन मौनतामा तर प्रकृति र परिवेशले बोलाउँदो रहेछ । 

हेरेर नअघाउँदै । देखेर तृप्त नहुँदै । यात्राको विश्राम हुँदैन । पुनः अब ओह्रालो बाटोको हिँडाइमा तराई भेट्ने हतारमा पाइला चल्न थाल्छन् । पहाड चढेर छिट्टै घर पुग्ने सोँचमा उकालो उक्लिन्छन् । उकालो र ओह्रालोको यही सिमाना–साँध ‘सुगाचरी भञ्ज्याङ’ मा विश्राम लिन्छन् । अनि शक्ति सञ्चित गरी पुन आ–आफ्नै गन्तव्य लम्किन्छन् ।

हामी पनि तिनकै साथ–सङ्गतमा भुलिँदै, रमाउँदै अघि बढ्छौँ, बढिरहन्छौँ । हिँडाइ रोकिदैन, गतिशील पाइला–पदचाप गन्तव्यतिर सधैँ लम्किरहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप