सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
यातायात

हचुवाका भरमा द्रुत बस सेवा

रङ्ग पोत्न साढे दुई करोड खर्च, व्यवस्थापनमा ट्राफिक र यातायातबिच आरोप प्रत्यारोप
सोमबार, १३ कात्तिक २०८०, १३ : ०७
सोमबार, १३ कात्तिक २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकाको यातायात सेवालाई थप व्यवस्थित पार्ने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रत्नपार्क देखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन गर्यो ।  असोज ३ गते संविधान दिवस पारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कबाट द्रुत बस सेवा सुरुवात गरे ।

उक्त कार्यलाई प्रदेशले समेत अपनत्व लियोस् भनेर उद्घाटनका बेला बागमती प्रदेशका यातायात मन्त्री लक्ष्मण लम्साललाई समेत काठमाडौँ निम्त्याइएको थियो ‘सूर्य विनायकदेखि रत्नपार्क ४५ मिनेटमै’ पुग्ने भन्दै ठुलै प्रचारप्रसार गरेर रातारात सडकमा रातो रङ्ग पोतेर छुट्टै लेन बनाइएको थियो ।

सुरुमा ट्राफिक प्रहरीले कडाइ गरेर बस सञ्चालन गरे पनि पछि व्यवस्थापन राम्रो नभएको भन्दै बस समितिले नै असन्तुष्टि जनाउँदै बस सञ्चालन गरेनन् । घटस्थापनादेखि द्रुत बस सेवा सञ्चालनमा आएको छैन । सडक लेनमा लगाइएको रङ्ग पनि खुइलिँदै गएको छ । 

मन्त्री ज्वालाको निर्देशनमा दीर्घकालीन सोच विनै सुरु भएको तीव्र बस सेवा एक महिनामै रोकिएको छ । आवश्यक तयारी विनै थालिएको यो अभ्यासले राज्य कोषमा अनावश्यक भार थपिन पुगेको हो । त्यसो त बस सञ्चालनको पहिलो दिनमा नै सरकार आलोचित हुन पुगेको थियो । कारण, एम्बुलेन्स र दमकललाई समेत अलग लेन नरहेको अवस्थामा केही बसका लागि मात्रै भनेर लेन बनाइएको थियो ।

रातो रङ्ग पोतिएको सडक लेनमा अन्य सवारीसाधनलाई गुड्न रोक लगाइएपछि सोही रुटमा गुड्ने गाडी लामो लाममा अड्किन परेपछि सरकारको आलोचना भएको थियो । 

सडक विभागका प्रवक्ता रामहरि पोखरेल सरकारले तीव्र तयारी गरेरै द्रुत बस सेवा सञ्चालनमा ल्याएको बताउँछन् । व्यवस्थापनमा केही थप सुधार गर्नुपर्ने भएकाले तत्कालका लागि यो सेवा रोकिए पनि एक साताभित्रै पुनः सञ्चालनमा आउने दाबी पोखरेलको छ ।

उनले सडक लेन बनाउन साढे दुई करोडको हाराहारीमा खर्च भएको जानकारी आफूले पाएको बताए । उनले व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका प्रभावकारी हुन नसकेको आरोप लगाए । उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्ट पोखरेलको आरोपमा खण्डन गर्छन् ।

उनले भने, ‘काठमाडौँ उपत्यकामा साना ठूला गरी अनुमानित १३ देखि १४ लाख सवारीसाधन गुड्छन्, सडकको अवस्था यही हो, अब द्रुत लेन बनाएपछि त्यो लेनमा अन्य सवारी गुड्न नपाएपछि त्यसको भार सडकमै पर्ने भएकाले अलि अव्यवस्थित देखिएको हो ।’ उनले सबै सरोकारवाला निकायको आपसी समन्वयमा द्रुत बस सेवा पुनः सञ्चालन ल्याउने बताए । 

बिहान र बेलुका सीमित बसमार्फत २/२ घण्टाका लागि सुरु गरिएको द्रुत बस सेवा बन्द भएपछि फेरि सुरु गर्न छलफल सुरु भएको छ । आइतबार मन्त्री ज्वालाले सडक विभाग, यातायात विभाग, उपत्यका ट्राफिक कार्यालय लगायत सरोकारवाला कार्यालयका कर्मचारीलाई मन्त्रालयमा बोलाएर द्रुत बस सेवा पुनः सञ्चालन गर्न आवश्यक तयारीका बारेमा तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

उनले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा समिति बनाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप