फुटपाथको जिमखाना : सित्तैमा स्वास्थ्य लाभ
काठमाडौँ । शान्तिनगर बस्ने भीम दाहाल बिहान पाँच बजे हिँड्दै कोटेश्वर महादेवथानमा रहेको मदन भण्डारी स्मृति पार्कमा पुग्छन् । र, त्यहाँ राखिएको जिमका विभिन्न मेसिनमा व्यायाम गर्छन् । उनको यस्तो दिनचर्या सुरु भएको करिब डेढ वर्ष भइसक्यो ।
पहिला डाक्टरसँग जँचाउँदा कहिले सुगर भनियो त कहिले ब्लडपेसर । त्यसका लागि बिहान हिँडडुल र योगा पनि गरे । तर छुटकारा पाएनन् । जबदेखि यसरी फुटपाथमा राखिएको मेसिनमै बिहान बिहान व्यायाम गर्न थाले, त्यसपछि रोगबाट केही मुक्ति मिलेको उनले अनुभव सुनाए ।
घर जग्गाको व्यापार गर्दै उनलाई जिमखाना जान फुर्सद हुँदैन, कडा व्यायाम पनि गर्न आउँदैन । बिहान हिँड्दै गयो, यहाँ राखिएको विभिन्न मेसिनमा २०–२५ मिनेट एक्सरसाइज गर्यो र त्यसपछि यही छेउमा राखिएको जुम्बामा एकछिन नाच्यो । घर फर्किदा पुरै फ्रेस र हल्का महसुस हुने गरेको उनले बताए ।
_XrLdZ23hCu.jpg)
भीम दाहाल मात्र होइन, उपत्यकामा यसरी फुटपाथ तथा पार्कहरूमा राखिएको जिमका मेसिनमा एक्सरसाइज गर्नेहरूको भीड नै हुन्छ । व्यावसायिक जिमखानामा हुने प्रायः सबै मेसिन त्यहाँ हुन्छ । फरक यत्ति छ, जिमखानामा रहेका मेसिन इलेक्ट्रिकबाट चल्छ । तर, फुटपाथमा राखिएको मेसिन व्यायाम गर्ने मान्छेबाट नै सञ्चालित हुन्छन् ।
उता, कुपण्डोलस्थित बागमती किनारको फुटपाथमा राखिएको मेसिनमा व्यायाम गर्न जितेन्द्र यादव बखुण्डोलबाट दिनहुँ पुगेका हुन्छन् ।
_6ssc3pKsH6.jpg)
यादव बिहान बिहान सधैँ आधा घण्टा कुद्थे । तर, शरीरमा कुनै परिवर्तन महसुस भएन । फुटपाथमा रहेको जिममा व्यायाम गर्न थालेपछि ठुलो परिवर्तन आएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘आधा घण्टा हिँड्छु । अनि, आधा घण्टा यहाँ एक्सरसाइज गर्छु । शरीरलाई चाहिने पुरै एक्सरसाइज हुन्छ । घर फर्केपछि पुरै हल्का फिल हुन्छ ।’ जति कुदे पनि पेट घट्दैनथ्यो । यसमा नियमित एक्सरसाइज गर्न थालेपछि पेट र तौल दुवै घटेको उनले सुनाए ।
दिनभर व्यस्त भइरहने र कम आय स्रोत भएको व्यक्ति जिमखाना जान सक्दैन, त्यहाँ महिनाको महँगो शुल्क बुझाउनुपर्छ । यादवले भने, ‘यहाँ आफू खुसी जतिबेला आए हुन्छ । जतिबेरसम्म अभ्यास गरे हुन्छ । जसरी पनि गरे हुन्छ, कसैले रोकटोक गर्दैन ।’
_PxyCzGBzTq.jpg)
कहिलेकाहिँ धेरै मान्छे आए भने पालो पाइँदैन, त्यही भएर आफू बिहान पाँच बजे नै जाने गरेको उनले बताए ।
बबरमहलबाट कुपण्डोल बागमती किनार पुगेर फुटपाथको जिम मेसिनमा व्यायाम गर्ने गणेशमान प्रधान भन्छन्, ‘व्यावसायिक जिमखानामा हुने लगभग सबै इक्युपमेन्ट यहाँ हुन्छ । केही कुरामा फरक होला तर मलाई खासै अन्तर लागेन ।’
प्रधानका विचारमा सार्वजनिक रूपमा यसरी लगानी गरेर मेसिन जडान गरिएको छ, एउटा ट्रेनर वा जानकार मान्छे यहाँ राखी दियो भने झन् राम्रो हुन्थ्यो । मान्छेहरू जथाभाबी एक्सरसाइज गर्छन् । त्यसैले, मेसिनहरू पनि भाँचिएका हुन्छन् । एक पटक भाँचिएपछि लामो समय बन्दैन ।
बबरमहलबाट कुपण्डोल आएका सानु महर्जन भन्छन्, ‘न्युनतम शुल्क तोकेर यो सञ्चालन गर्नुपर्छ । सोही शुल्कबाट मर्मत गर्न सजिलो हुन्छ र यहाँ बस्न र खानेपानीको पनि व्यवस्था गर्न सकिन्छ र सित्तैमा भएपछि मान्छेले बेवास्ता गरेको र चाँडै टुटुफुट हुने गरेको छ ।’
_m2k0Rkmgx6.jpg)
शान्तिनगर भिएस निकेतन स्कुलको अगाडि फुटपाथमा जडान गरिएको जिमका मेसिनको गणेश शोभा भगवती व्यवस्था समितिले संरक्षण गरिरहेको छ । सो समितिले महिनाको दुई सय र दिनको १० रुपियाँ शुल्क लिने गरेको छ । समितिले त्यसका लागि एक जना कर्मचारी नै खटाएको छ ।
त्यहाँ खटिएका अर्जुन तिमिल्सिनाले भने, ‘शुल्क लिएर मेसिनमा एक्सरसाइज गर्न दिएपछि धेरैबाट थ्रेट र गाली पनि आयो ।’ पालिकाले जडान गरिदिएको मेसिनको शुल्क लिने तपाईँ ? भन्दै गाली गर्ने पनि धेरै आए । तर, बिस्तारै बुझ्दै गएपछि गाली गर्न छाडेको उनले सुनाए ।
_IAqkUbAqzW.jpg)
त्यहाँको मेसिनमा व्यायाम गर्न आएकी शान्तिनगरकी निरा थापाले एकदम नाम मात्रको शुल्कले आफूहरूलाई कुनै फरक नपरेको बताइन् । बरु मेसिन सुरक्षित भएकोमा उनलाई खुसी लागेको छ ।
जिममा जाँदा महिनाकै सात आठ हजार बुझाउनुपर्छ । जबकि, जिमजस्तै एक्सरसाइज यहाँ पनि हुन्छ । महिनाको दुई सय तिर्नुपर्छ, त्यो धेरै नै राम्रो रहेको उनले बताइन् । उनले आफू यहाँ आउन थालेपछि एक महिनामै सात केजी घटेको बताइन् ।
जिमखानमा ट्रेनर हुन्छ, खानपिनको बारेमा जानकारी दिने विज्ञ हुन्छन् तर यहाँ कोही पनि हुँदैन, आफू खुसी गरिरहेका हुन्छन् । त्यसले कतिपयलाई फाइदा पनि हुन्छ भने कतिपयलाई घाटा पनि लाग्न सक्छ भन्दै उनले पनि यी ठाउँहरूमा कुनै जान्ने मान्छे राखिदिए सबैलाई सहज हुने बताइन् ।
कुपण्डोलकी गृहिणी ललिता साह भन्छिन्, ‘यहाँ आधा घण्टा नियमित गर्न थालेपछि सबै समस्या हराएको छ ।’ उनले फुटपाथमा यसरी के एक्सरसाइज गर्नु भनी कतिपय लजाउने गरेका छन् तर आफू नियमित अभ्यास गर्न थालेपछि त्यसले फाइदा भएको बताइन् ।
_LnN0TjoRyO.jpg)
थापाथलीस्थित बागमती पुलको छेउ कुपण्डोल साइडमा राखिएको मेसिनमा पनि बिहानैदेखि भीड हुन्छ । त्यहाँ नियमित एक्सरसाइज गर्ने राजेश महतोले भने, ‘जिमखाना सुनेको हुँ तर आजसम्म गएको छैन । जबदेखि यो फुटपाथमा यी मेसिनहरू जडान भयो, जिमखानाको आनन्द लिइरहेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
-
कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
-
नेपालगन्जबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी
-
आर्थिक विधेयकमा कुन सांसदले के–के हाले संशोधन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण