बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
पर्व

छठ पर्व आजदेखि प्रारम्भ

पहिलेदेखि नै थियो छठ गणतन्त्रको प्रतीक
शुक्रबार, ०१ मङ्सिर २०८०, १५ : १७
शुक्रबार, ०१ मङ्सिर २०८०

काठमाडौँ । तिहार सकिनेबित्तिकै विधिवत् रूपमा आज (शुक्रबार) देखि छठपर्व सुरु भएको छ । व्रतालु महिला एवं पुरुषले बिहानै उठेर हात खुट्टाका नङ काटेर र चोखो पानीले नुहाइधुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । यसरी गरिने नित्यकर्मलाई ‘नहाइ–खाइ’ भनिन्छ । 

स्नान गरी शुद्ध भएका व्रतालुहरूले ‘अब जथाभावी खाँदिनँ र तन मनले प्रभुको शरणमा बस्छु’ भनी प्रणसमेत गर्दछन् । छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । खर्नाको दिन नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सक्खरको खीर, लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् ।

यस दिन व्रतालुले एक छाक मात्र भोजन गर्छन् । छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानी समेत नपिई निराहार व्रत बस्नुको पूर्वाभ्यास हो । कार्तिक शुक्ल षष्ठी अर्थात् तेस्रो दिनलाई छठको मुख्य दिन मानिन्छ । छठमा सूर्यको पूजा गर्ने दिन भएकाले व्रतालुहरू पानीसमेत नपिई निराहार बस्छन् ।

साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् ।  त्यस क्रममा सूर्यलाई चढाउन बनाइएका सामग्रीहरू पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाइन्छ । 

कात्तिक शुक्ल सप्तमी अर्थात् छठको चौथो दिन उदाउँदो सूर्यको पूजाआजा गरिन्छ । उदाउँदो सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलीमा पानी भरी जल चढाउँछन् । छठमा पवित्रता र चोखोनितोलाई अति महत्त्व दिइन्छ ।

गणतान्त्रिक पर्व

छठलाई गणतान्त्रिक पर्व भन्न थालिएको छ । हिमाल, पहाड तथा तराईका हरेक समुदायले यो पर्व मनाउन थालिएकाले पनि यसलाई गणतान्त्रिक पर्व भनिएको हो । सञ्चारकर्मी चन्द्रकिशोर भन्छन्, ‘यो पर्वका लागि पण्डित, पुरोहित चाहिँदैन । कुनै शास्त्र चाहिँदैन, व्रतालुले आफ्नो लौकिक शास्त्रका आधारमा यो पर्वमा पूजापाठ गर्छन् । त्यसले यो पर्व सबैका लागि सहज भएको छ ।’

यो पर्व सबै समुदाय, हरेक भूगोल, हरेक धर्मका मानिसले मनाउन थालेकाले यसलाई समावेशी तथा गणतान्त्रिक पर्व भन्न थालिए पनि उनले यो पर्व अब अर्गानिक नरहेको भनी चिन्ता व्यक्त गरे । उनले भने, ‘पहिला पहिला यो पर्व मनाउन कुनै तामझाम हुँदैनथ्यो, आफ्नै खेतबारीमा उत्पादन भएको अन्नपातले बडो सधारण तरिकाले सूर्यको पूजा गरेर सम्पन्न गरिन्थ्यो तर अहिले त्यस्तो छैन ।’

अहिले तामझाम, देखावटी र रेडिमेड समानहरू बढी प्रयोग हुन थालेका छन् । नदी वा तलाउभित्र गएर भव्य मञ्च बनाउँछन्, त्यहाँ मूर्तिको स्थापना गर्छन्, नाचगान, आरकेस्ट्राहरू हुन्छन् । पहिला माटाका भाँडा छठका लागि प्रयोग हुन्थ्यो तर अहिले पित्तल तथा अन्य धातुबाट बनेका भाँडा प्रयोग हुन थालेका छन् ।

कतिसम्म भने छठमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूलाई संलग्न गराएर छठघाटको उद्घाटन गराउने चलन बढेको बताउँदै उनले व्रत बसेका बाहेक अरू कसैले अर्घ दिन सक्दैनन् तर राष्ट्रपति वा प्रधानमन्त्री त्यहाँ पुगेपछि अर्घ दिन लगाएका बताए । यही कारण समावेशी,  लोकतान्त्रिक गणतान्त्रिक पर्व भए पनि अर्गानिक पर्व हुन नसकेको टिप्पणी उनले गरे । 

छठ पर्व नै एउटा यस्तो पर्व हो, जसमा अस्ताउँदा सूर्यको समेत पूजा हुन्छ । अरू चाडपर्व तथा अन्य धार्मिक अनुष्ठानमा उदाउँदो सूर्यको मात्र पूजा हुन्छ । तर यो पर्वमा उदाउँदो सूर्यको पूजा हुन्छ नै अस्ताउँदो सूर्यका पनि पूजा हुन्छ ।

सूर्यले कुनै प्राणीमाथि भेदभाव नगरे जस्तै यो छठ पर्वले पनि कसैमाथि भेदभाव नगरेको कारण गणतान्त्रि पर्व भनिएको प्रध्यापक चन्द्रेश्वर यादवले बताए ।  उनले भने, ‘यो हिन्दुको पर्व हो, हिन्दुले मनाउने पर्व हो तर पछिल्लो समय अन्य अन्य समुदाय जस्तै मुस्लिम, दलित र बौद्ध धर्म मान्नेहरूले पनि यो छठ पर्व मनाउन थालिएको हो ।’

तराई मधेशको ग्रामीण क्षेत्रमा सीमित रहेको यो पर्व विस्तार हुँदै हिमाल चढेको छ । अहिले अमेरिका, जपान, अस्ट्रेलिया जस्ता देशमा पनि यो पर्व मनाउन थालिएको उनले बताए । 

कुम्हालेले बनाएको माटोको भाँडो, डोम समुदयाले बनाएको नाङ्लो, ढकिया, मालीले दिने फूल, किसानले उत्पादन गर्ने अन्नबाट यो पर्व मनाइन्छ । यो नै एउटा यस्तो पर्व हो जसमा सबै समुदायको प्रत्यक्ष संलग्नता हुन्छ । 

त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्रध्यापक डा. भोगेन्द्र झाले यो समावेशी भन्दा पनि समाजिक पर्व रहेको र समाजका हरेक समुदायका व्यक्ति एकै ठाउँमा बसेर मनाइने पर्व भनेको छठ हो, त्यसैले यसलाई समाजिक पर्व भनिएको बताए ।

उनले भने, ‘एउटा पोखरी वा तलाउमा हरेक समुदायका, हरेक जातका, विभिन्न धर्मका व्यक्तिहरु भेला भएर बनाउने पर्व भनेकै छठ हो । यसमा को गरिब, को धनी केही हेरिँदैन, सबैलाई समान रुपमा हेरिन्छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप