सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको  निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन

बुधबार, २६ वैशाख २०८१, २१ : ४०
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् । उनले प्रस्थान र आवागमनका दुवै कक्षसँगै कार्यालयको निरीक्षण गरेका हुन् ।

यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रुकै रूपमा विमानस्थल छिरेका अर्यालले एयरलाइन्सका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्ने सम्मको निरीक्षण गरे । उनी बुधबार बिहान ९ बजे अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेका थिए । तर, उनी आउने सुइँको कर्मचारीहरूले पाएका थिएनन् ।

यात्रुको चेकजाँज हुने क्षेत्रको निरीक्षण गरेका गृह सचिव अर्यालले अध्यागमनमा डेक्स थप्ने लगायत भीआइपी कक्ष, सिसी क्यामरा, कर्मचारीहरूको कार्यकक्षसँगै अध्यागमन र सुरक्षा अवस्थाबारेसमेत निरीक्षण गरेका छन् ।

आकस्मिक निरीक्षणमा पुगेका गृहसचिव अर्यालले विमानस्थलस्थित डिउटीमा खटिएका अध्यागमन अधिकृतहरूसँग सेवा सञ्चालनका क्रममा केही समस्या छन् कि ? भनेर सोधेका थिए । उनले कुनै समस्या भए कार्यालय प्रमुखमार्फत् मन्त्रालयमा पठाउन भने । गृहसचिव अर्यालले जिम्मेवारी निर्वाह गर्ने क्रममा सेवाग्राहीलाई सेवा दिने कार्यमा कुनै कन्ज्यूस्याई नगर्न कर्मचारीलाई भनेका छन् ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका डिउटी अधिकृतहरूसँग पनि उनले कुराकानी गरेका थिए । भौतिक पूर्वाधारदेखि लिएर जनशक्ति तथा समन्वयबारे समेत चासो राखेका गृहसचिव अर्यालले डिउटीमा खटिएका जवानदेखि अधिकृतसम्मका अनुभव र गुनासा सुन्नुका साथै तत्काल समन्वय गर्नुपर्ने विषयमा अन दि स्पट नै सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशनसमेत दिएका छन् । यात्रु आगमनदेखि कर्मचारी, सुरक्षाकर्मी तथा कार्यालय प्रमुखहरु बस्ने कार्यकक्षसम्मै अनुगमन गरेका गृह सचिव अर्यालले देखिएका स–साना समस्याहरू समाधान गर्न र सरसफाइमा ध्यान दिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।

नेपाल प्रहरी प्रमुख आइजीपी वसन्त बहादुर कुँवर र गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायण प्रसाद भट्टराईसहित अध्यागमन पुगेका गृहसचिव अर्यालले अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, प्रमुख अध्यागमन अधिकृत नर बहादुर थापा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्मा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा महाशाखा प्रमुख बच्चुराम श्रेष्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका विजय ढुंगाना लगायतलाई आ–आफ्नो क्षेत्रबाट सेवा प्रवाहलाई चुस्त राख्न निर्देशन दिएका छन् । 

‘उपलब्ध स्रोत र साधनहरूको अधिकतम उपयोग गर्नुस् । जुन–जुन निकायको जे–जे जिम्मेवारी हो, तत्तत् निकायका कर्मचारीहरूले इमान्दार भएर त्यो पुरा गर्नुस्’, उनले भने, ‘भएका उपकरणहरूलाई समयमै मर्मत गरी तत्काल सञ्चालनमा ल्याउनुस् । भौतिक पूर्वाधारका मर्मत तथा निर्माणका कार्यहरू छिटो सक्नुस् ।’ राम्रो काममा मन्त्रालयको सधैँ सहयोग हुने उनको भनाइ छ ।

अर्यालले विभागलाई विमानस्थलमा हुने कार्य प्रविधिमैत्री बनाउन, नेटवर्किङ र अन्तर निकाय समन्वय गरेर प्रभावकारी सेवा सञ्चालन गर्न निर्देशन दिए ।

निरीक्षणका क्रममा गृहसचिव अर्यालले प्रमुख अध्यागमन अधिकृत नरबहादुर थापालाई अध्यागमनमा डेस्क थप्न भएको निर्णय कार्यान्वयनमा ल्याउन, भिसा इन्ट्री डेक्स अपडेट राख्न, सबै डेक्समा कर्मचारीको व्यवस्था मिलाउन तथा बिग्रेको सामान तत्काल मर्मत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्माले विशेष गरी न्यून स्रोत साधन तथा जनशक्तिका बिच बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थापन गरिरहेको जानकारी गराए । अहिले २८ वटा मेसिन सञ्चालनमा रहेका छन् । जुन २४ घण्टा सञ्चालनमा रहन्छन् । जसका लागि तीनवटा सिफ्टमा सञ्चालन गर्दा ८४ जना जनशक्ति आवश्यक पर्छ तर ६० जना प्रहरीले काम गरिरहेको प्रहरी अधिकारीले जनाएका छन् । त्यहाँ कम्तीमा पनि १०० जना प्रहरी अधिकारी आवश्यक पर्ने बताइन्छ । इमिग्रेसनमा यात्रुको चाप बढेकोले डेक्स सङ्ख्या थप्ने निर्णय भएपनि कार्यान्वयनमा भने आइसकेको छैन ।  

अध्यागमनको डिपाचर तर्फका दुईवटा काउन्टर तत्काल सुचारु गर्न पनि गृह सचिव अर्यालले निर्देशन दिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप