शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

‘मधुमेहपछि हुनसक्छ अन्धोपना’

मङ्गलबार, ०५ मङ्सिर २०८०, ११ : ०७
मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । नसर्ने रोगमध्येको एक मधुमेह विश्वभरि विकराल स्वास्थ्य समस्याको रूपमा बढ्दै गइरहेको छ । नेपालमा मधुमेह रोग प्रमुख समस्या देखिएको चिकित्सकहरू बताउँछन् । नेपालमा १० लाख भन्दा धेरै मधुमेहका बिरामी छन् ।

ग्रामीण भेगमा भन्दा शहरी क्षेत्रमा मधुमेहका बिरामी धेरै छन् । मधुमेह रोगले शरीरका महत्त्वपूर्ण अङ्गहरूलाई क्षति पुर्‍याउने गर्छ । मधुमेहले आँखा, मिर्गौला, मुटु, दिमाग लगायतका अङ्गमा क्षति पुर्‍याउने गरेको चिकित्सकहरू बताउँछन् ।

मधुमेह रोगका कारण दृष्टि गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय दृष्टि गुम्नुको मुख्य कारणमध्ये मधुमेह पनि रहेको चिकित्सकहरूको भनाइ छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत आँखा विभागको तथ्याङ्कलाई केलाउँदा आँखाको उपचार तथा परीक्षण गराउन आउने प्रत्येक १०० जनामा १५ प्रतिशत मधुमेहका बिरामी हुने गरेका छन् । तीमध्ये अधिकांशलाई मधुमेहका कारण आँखाको दृष्टि पर्दामा असर गरेको अर्थात् डायबेटिक रेटिनोप्याथी देखा परेको आँखा विभागका प्रमुख डा. रञ्जना शर्माले बताइन् ।

मधुमेह र आँखासम्बन्धी समस्याबिचको सम्बन्ध कस्तो हुन्छ र मधुमेहका बिरामीले कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा केन्द्रित रहेर रातोपाटीले आँखा रोग विशेषज्ञ विभाग प्रमुख डा. रञ्जना शर्मासँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

डायबेटिक रेटिनोप्याथी भनेको के हो ? 

आँखाको रेटिनामा देखिने असरलाई डायबेटिक रेटिनोप्याथी भनिन्छ । नेपालमा मधुमेहका बिरामी बढ्दै गएका छन् । यस रोगले आँखाको दृष्टि पर्दाको रक्त नलीमा असर गर्छ । मधुमेह भएका बिरामीलाई क्रमशः शरीरमा मुख्य अङ्गहरूमा गम्भीर असर पुर्‍याउँछ । आँखाको दृष्टिमा समस्या देखिने कारणमध्ये मधुमेह रोग पनि एक हो । 

डायबेटिक रेटिनोप्याथी हुँदा आँखामा के–के हुन्छ ?

डायबेटिक रेटिनोप्याथी हुँदा आँखाको रक्त नशाहरूमा असर भई पर्दामा रक्तश्राव हुने गर्छ । यस्तै, आँखा पनि सुन्निने गर्छ । उपचार नगरिएको खण्डमा आँखाभित्र धेरै रगत जम्मा भई पर्दा खुम्चिन सक्छ । आँखाको पर्दामा बढी असर भएको खण्डमा दृष्टि फर्काउन गाह्रो हुन्छ ।

यस रोगले केही व्यक्तिमा मोतीविन्दुको समस्या पनि देखिन सक्छ । समयमै मधुमेहका बिरामीले आँखा परीक्षण नगराएको खण्डमा भविष्यमा अन्धोपना समेत आउन सक्छ ।

डायबेटिक रेटिनोप्याथी भएको कसरी थाहा पाउन सकिन्छ ? यसका  लक्षण के–के हुन् ?

डायबेटिक रेटिनोप्याथी कतिपय बिरामीले थाहा नै पाउँदैनन् । सामान्य समस्या देखिएर स्वास्थ्य परीक्षण गर्ने चलन हामीकहाँ कम छ । मधुमेहका धेरै बिरामीलाई अझै पनि आँखा लगायत शरीरका मुख्य अङ्गहरूमा गम्भीर क्षति पुर्‍याउन सक्छ भन्ने जानकारी नै छैन ।

कतिपय बिरामी आँखामा समस्या देखिएर परीक्षण गर्न आउँदा डायबेटिक रेटिनोप्याथी भएको पुष्टिपछि मात्रै आफूलाई मधुमेह भएको थाहा पाउनु हुन्छ । मधुमेह भएका बिरामीलाई सुरुवाती समयमा कुनै पनि लक्षण देखिँदैन । रेटिनामा असर भई धमिलो देख्न थालेपछि मात्रै थाहा पाउन सकिन्छ ।

आँखा धमिलो हुने, दृष्टि कमजोर हुने, त्यसपछि बिस्तारै आँखामा रगत आउने गर्छ । बिहान उठ्ने बित्तिकै आँखा नदेख्ने हुन्छ । मधुमेह भई समस्या हुने भनेको दृष्टि कमजोर नै हो । डायबेटिक रेटिनोप्याथी भएका धेरैजसो बिरामीको आँखा धमिलो हुन्छ । मधुमेह भई धूम्रपान गर्ने मानिसमा चाँडै दृष्टि पर्दामा असर गर्छ ।

यस रोगबाट अन्धोपना आउने सम्भावना कति छ ?

आँखामा समस्या नदेखिएसम्म परीक्षण गराउने चलन कम छ । मधुमेह हुँदा आँखामा जटिल खालको समस्या आउँछ भन्ने जानकारी नहुँदा परीक्षण नगराई बस्दा अन्धोपना आउन सक्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा डायबेटिक रेटिनोप्याथी भएकामध्ये २ प्रतिशतमा अन्धोपना आउन सक्ने सम्भावना हुन्छ । 

मधुमेहका सबै बिरामीलाई डायबेटिक रेटिनोप्याथी हुन्छ ?

मधुमेह रोग पुष्टि भएको समयावधि क्रमशः बढ्दै जाँदा डायबेटिक रेटिनोप्याथीे हुने सम्भावना पनि उच्च रहन्छ । मधुमेहका बिरामीमध्ये एक तिहाइलाई डायबेटिक रेटिनोप्याथी भएको छ ।

पहिलो प्रकारका मधुमेहका बिरामी २० वर्ष कटेका सबैमा आँखाको समस्या देखिएको पाइन्छ । यस्तै, दोस्रो प्रकारका मधुमेहका बिरामीलाई ७० प्रतिशतसम्म डायबेटिक रेटिनोप्याथी भएको पाइएको छ । पछिल्लो समय मधुमेह रोग पुष्टि हुने बित्तिकै आँखा परीक्षण गर्दा केही मानिसमा डायबेटिक रेटिनोप्याथी देखिएको छ ।

डायबेटिक रेटिनोप्याथी लागेपछि निको हुन्छ ?

डायबेटिक रेटिनोप्याथी रोग मधुमेहका कारण लाग्ने गर्छ । यो रोग आँखाको मात्रै होइन । मधुमेह हुँदा सावधानी नअपनाएमा मुटु, मिर्गौला, नसा, दिमाग र आँखामा क्षति पुर्‍याउँछ । जति मधुमेह रोगको तहलाई नियन्त्रणमा लिन सकिन्छ, त्यति डायबेटिक रेटिनोप्याथीको समस्या पनि  कम हुँदै जान्छ । ब्लड प्रेसर, रगतमा हुने बोसोको मात्रा र सुगरलाई सामान्य अवस्थामा राखिएको खण्डमा आँखामा आउने जटिलता कम हुन सक्छ ।

मुख्य कुरा, मधुमह भएको थाहा पाउन साथ आँखा परीक्षण गर्नुपर्छ । त्यसपछि आँखा रोग विशेषज्ञको सल्लाहमा समय समयमा आँखा परीक्षण गर्न जरुरी छ ।

डायबेटिक रेटिनोप्याथीका कारण आँखामा रगत देखिएमा लेजर विधिबाट उपचार गरिन्छ । आँखामा धेरै जटिलता आयो भने विशेष किसिमको इन्जेक्सनमार्फत आँखाभित्र भएको रगतलाई सफा गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप