आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

७२ घण्टासम्म भोकै बस्यो भने शरीरमा के हुन्छ ?

शनिबार, ०९ मङ्सिर २०८०, १५ : ३८
शनिबार, ०९ मङ्सिर २०८०

 काठमाडौँ । तपाईं ७२ घण्टासम्म केही पनि नखाई भोकै बस्न सक्नु हुन्छ ? तीन दिनसम्म अन्नपात नखाई कन पानी मात्रै खाएर ब्रत बस्यो भने शरीरमा के होला ? 

पछिल्लो समय हामीले इन्टरमिटेन्ट फाष्टिङ, ७२ घण्टासम्म अन्न नखाई बसिने व्रत आदिबारे सुन्दै आएको छौँ । यस्तो खालको व्रतले हाम्रो शरीरमा अनेकौँ प्रभाव पार्न सक्छ । सुरुमा त शरीरले ताकतका लागि शरीरमा जम्मा भएर बसेको ग्लाइकोजिनको चलाउँछ  ।

 ग्लाइकोजिन सकिँदै गएपछि रगतमा चिनीको मात्रा घट्न थाल्छ । व्रत जारी रहँदा शरीर किटोशिशको अवस्थामा जान्छ, ऊर्जाका लागि शरीरले फ्याट बर्न गर्न थाल्छ । यो मेटाबोलिक स्टेटले तौल घटाउन सक्छ भन्छन् भारतको नारायण अस्पतालका वरिष्ठ परामर्शदाता डा. पंकज बर्मा । व्रतको बेलामा इन्सुलिनको स्तर पनि घट्न सक्छ । शरीरले क्षतिग्रस्त भएका कोषहरूलाई हटाउने प्रक्रिया अर्थात् अटोफागी तीव्र हुन थाल्छ । यसले सेल्युलर हेल्थलाई पनि लाभ हुने डा. बर्माको भनाई छ ।

 लगातार ७२ घण्टासम्म अन्न नखाई बस्दा व्यक्तिको शरीरबाट ७ हजार क्यालोरी कम हुन्छ । यो भनेको २ पाउन्ड बोसो घटे बराबर हो । तर लामो समयसम्म ७२ घन्टे व्रत बस्दा यसले तौलमा उल्टो असर गर्न सक्छ । अनि घट्नुको सट्टा उल्टै तौल बढ्न पनि सक्छ । त्यसैले यो बेलामा पर्याप्तमा पानी, इलेक्ट्रोलाइट, भिटामिन, मिनरल खानु पर्ने डाक्टरहरू बताउँछन् ।

 तर यसरी लामो समयसम्म भोको बस्नुको बेफाइदा पनि छन् । शरीरमा पोषक तत्त्वको अभाव भएर समग्र स्वास्थ्यमा नै नकारात्मक असर पर्न सक्छ । शरीरले ऊर्जाको वैकल्पिक स्रोत खोज्ने भएकोले यसको असर मांसपेशीमा देखिन थाल्छ । जल वियोजन हुन सक्छ । यस्तो व्रत बस्दा पर्याप्त मात्रामा पानीको सेवन गर्नु जरुरी छ । यस्तो खालको व्रत खतरनाक हुन्छ ।

 यति बेला शरीर मेटाबोलिज्मबाट किटोन्सको अवस्थामा जान्छ । विज्ञहरूको निगरानी बिना गर्दा यो झन् घातक बन्न सक्छ । यसमा जलवियोजन पनि देखियो भने मिर्गौलामा अपूरणीय क्षति हुन सक्छ । हाइपोटेन्सन र एरिदमियस हुन सक्छ । शरीरमा सोडियम, क्याल्सियम, म्याग्नेसियम जस्ता आवश्यक तत्त्वको अभाव आदि समस्या देखिन सक्छ ।

व्यक्तिपिच्छे तीन दिनसम्म लगातार व्रतको अनुभव फरक फरक हुन सक्छ । तर मधुमेहका रोगीले यस्तो खालको व्रत बस्नै हुन्न ।

 इन्टरमिटेन्ट फाष्टिङको स्वास्थ्य लाभहरू पनि छन् । तर लामो समयसम्म अन्न नखाई कन बस्दा विशेष सावधानी अपनाउन अनि पेसाकर्मी वा विज्ञहरूको निगरानीमा मात्रै यस्तो व्रत बस्न डाक्टरहरू सुझाव दिन्छन् । उपर्युक्त व्यक्तिको निगरानीमा यस्तो व्रत बस्दा भने क्यान्सर, हर्ट फेलियर, पार्किन्सन्स÷अल्जाइमर्स र मस्तिष्कमा देखिने अन्य समस्याहरूको रोकथाममा सहयोग मिल्ने पनि देखिएको छ ।

 यस्तो खालको व्रतले शरीरमा खराब खालको ब्याक्टेरियाको स्तर घटाउँछ भने असल ब्याक्टेरियालाई बढाउँछ । निश्चित अवधिसम्म भोको रहँदा कलेजोको इन्जाइमलाई पनि सुधार्न सकिन्छ । तर यस्तो खालको व्रत बस्नु अघि विशेष गरी पहिला देखि नै स्वास्थ्य समस्या भएका व्यक्तिहरूले भने डाक्टरहरूको सल्लाह लिनु पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप