मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

वैदेशिक रोजगार ठगीको ‘ट्रेन्ड चेन्ज’ : खाडी छाडेर ठग्ने गिरोहको सक्रियता युरोपतिर

आइतबार, १० मङ्सिर २०८०, १४ : ०४
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । काभ्रेका विकास आचार्य (नाम परिवर्तन) हातमा एउटा रेकर्ड फाइल बोकेर वैदेशिक रोजगार विभाग धाइरहन्छन् । विदेशको सपना बोकेका उनी ठगिएपछि न्यायको खोजीमा विभाग धाउन थालेका हुन् ।

काभ्रेका अमृत लामाले आफूलाई ठगेको उनको आरोप छ । उनी लामाविरुद्ध ठगीको फाइल बोकेर विभाग धाइरहेका भेटिन्छन् । 

कलङ्की खसीबजारमा एउटा सानो कोठामा अफिस थियो । त्यही कुचुक्क परेको कोठाबाटै विदेश पठाउने सपना देखाउँथे लामा । त्यसको फन्दामा आचार्य पनि परे । ६ महिने सिजनल वर्करको रूपमा बेलायत पठाउने भन्दै लामाले साढे ४ लाख रुपैयाँ मागेका थिए ।

त्यसमा आचार्यले डेढ लाख रुपैयाँ बुझाइसकेका थिए । पैसा बुझाएर उनी युके जाने दिनको प्रतीक्षामा थिए । तर, अचानक लामा बेपत्ता भए । त्यसपछि आचार्यलाई आफू ठगिएको भन्ने लाग्यो र विभागमा लामाविरुद्ध ठगीको उजुरी दिन पुगे ।

यसअघि दुई पटक खाडी मुलुकमा गइसकेका आचार्यलाई राम्रो देश जान पाए जीवन सहज हुन्छ भन्ने लाग्यो । त्यही क्रममा लामासँग उनको भेट हुन पुगेको थियो ।

बागलुङका हरि सुवेदी (नाम परिवर्तन) लाई पनि तिनै लामाले युके सिजनल वर्करको रूपमा पठाइदिने भन्दै फन्दामा पारेका थिए । कात्तिक २१ को फ्लाइट छ भनेर उनले सुवेदीलाई बोलाएका थिए । घरबाट टीकाटालो गरेर आउन भनेका लामा अचानक सम्पर्कविहीन बने ।

त्यस्तै बाराका आशिष लामिछाने (नाम परिवर्तन) लाई समेत लामाले युके पठाइदिने भन्दै ३ लाख रुपैयाँ लिए । युकेमा स्ट्रबेरी टिप्नुपर्ने र घण्टाको १० पाउन्ड स्यालरी पाउने प्रलोभन देखाएर लामाले २५ भन्दा बढी युवाबाट लाखौँ ठगी गरेको पाइएको हो । उनीबाट ठगिएका सबै पीडितले विभागमा उजुरी दिएका छन् ।
नुवाकोटका श्यामराज पाण्डेले क्यानडा पठाइदिने भन्दै युवाहरूबाट लाखौँ रुपैयाँ ठगेर फरार छन् । उनीबाट पीडित भएका व्यक्तिहरूले समेत विभागमा उजुरी दिएका छन् । क्यानडा पठाइदिने, मासिक ४ लाखभन्दा बढी तलब हुने, डेढ २ वर्षमै पीआर पाइने भन्दै उनले युवाहरूलाई प्रलोभनमा पार्ने गरेका थिए ।

उनी यसअघि पनि पटकपटक यसरी नै ठगीको आरोपमा पक्राउ पर्दै आएका व्यक्ति हुन् । क्यानडा जानका लागि ३५ लाख रुपैयाँ तिर्न तयार भएका व्यक्तिले उनलाई ६ लाख रुपैयाँ अग्रिम रूपमा बुझाइ सकेका थिए ।

काठमाडौँ र लमजुङका तीन जनालाई उनले क्यानडा पठाइदिने आश्वासन दिएका थिए । प्रतिव्यक्ति ३५ लाख रुपैयाँ लागत लाग्ने बताउँदै पाण्डेले अग्रिम रूपमा तीन देखि ६ लाख रुपैयाँ लिइसकेका छन् । पैसा लिएर पनि क्यानडा पठाउन आनाकानी गरेपछि पीडितहरू विभाग पुगेका हुन् । तीनै जनाले विभागमा उजुरी दर्ता गराएर उनीविरुद्ध पक्राउ पुर्जी जारी गराएका छन् ।

यसरी क्यानडा, बेलायत तथा युरोपेली मुलुक जान खोज्नेमा शिक्षित युवा बढी छन् । यसकै फाइदा उठाएर ठगी गर्ने गिरोह पनि सक्रिय भइरहेको हो । जति धेरै युवाहरूमा विदेशमोह जाग्दै आएको छ, त्यति धेरै ठग्ने प्रवृत्ति बढ्दो छ ।

आप्रवासी कामदारका लागि निःशुल्क कानुनी परामर्श सेवा प्रदान गर्दै आएको मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) का परियोजना संयोजक सुदीप देवकोटाले अहिले ठगीको ट्रेन्ड खाडीबाट युरोपतिर सरेको बताए ।  

उनले भने, ‘ठगीको ट्रेन्ड पहिलाको तुलनामा अहिले फरक छ । पहिला खाडीमा जान खोज्नेसँग २/३ लाख ठग्ने हुन्थ्यो । ठगमा पनि आफैँले पैसा बुझ्ने हुन्थ्यो । अहिलेचाहिँ फरक भयो ।’

देवकोटाका अनुसार ‘ए’ भन्नेले डिलिङ गर्ने तर उसले सोझै पैसा नलिएर ‘बी’, ‘सी’ वा ‘डी’ को खातामा रकम हाल्न लगाउँछ ।

मेनपावर व्यवसायीको हकमा समेत यस्तै खालबाट ठगी हुने गरेको उनको भनाइ छ । ‘म्यानपावरहरूले एजेन्टलाई कुरा गर्न लगाउँछ । पैसा हाल्न लगाउँदा बाहिरको मान्छेको खातमा हाल्न लगाउँछ । व्यक्तिगत र संस्थागत रूपमा समेत यस्तो ठगी भइरहेको हुन्छ,’ उनले भने ।

लामो समयसम्म अनेकन् बहाना गरेपछि मात्र बल्ल आफू ठगिएको भन्नेबारे जानकारी पाउने उनको भनाइ छ । ‘पढेलेखेको युवाहरू खाडी जान लाज मान्छन् । युरोप तथा क्यानडा, अस्ट्रेलिया, बेलायत जान खोज्दा उनीहरू ठगीमा पर्छन्,’ देवकोटाले भने, ‘खाडीमा ठगी गर्नेहरू अहिले युरोपतिर सरेका छन् । खाडीमा १० जनालाई ठग्दा पनि थोरै आउने । युरोपमा एकै जनालाई ठग्दा पनि धेरै आउने भयो । त्यसैले ठगहरूको केन्द्र युरोप देखियो ।’

युरोपतिर मेनपावरभन्दा पनि व्यक्तिगत तथा कन्सल्टेन्सीहरूबाट ठगिने बढी रहेको देवकोटाले बताए । युरोपतिर केन्द्रित हुनु र ठगिनुको पछाडि मान्छेहरू धेरै महत्त्वाकाङ्क्षी हुनु, हावाको पछि लाग्नु, देखासिकी गर्नु जस्ता कारण रहेको उनको भनाइ छ ।

यसरी ठगिनेमा ५० प्रतिशतभन्दा बढी सामाजिक सञ्जालको माध्यमबाट सम्पर्कमा आएकाहरू रहेको उनको भनाइ छ । यसमा सोसल मिडियाको अहम् भूमिका रहेको उनले बताए ।

ठगिएपछि न्यायको पाटो :

वैदेशिक रोजगारीमा जाने आशामा रहेका युवाहरूलाई जसरी पनि ठग्ने प्रवृत्ति बढी छ । कतिपयलाई आफू ठगिएको भन्ने समेत जानकारी हुँदैन भने कतिपय जानी जानी ठगीमा पर्ने गरेका छन् ।

यस्तो अवस्थामा वैदेशिक रोजगार विभागमा ठगीको उजुरी पर्छ । विभागमा दुई खालको उजुरी पर्छन् । एउटा इजाजतपत्र व्यवसायीबाट ठगिनको उजुरी । अर्को भनेको व्यक्तिबाट तथा कन्सल्टेन्सीबाट हुने ठगी ।

इजाजतपत्रवालाबाट ठगीका घटना निकै कम रहेको विभागको भनाइ छ । तर, व्यक्तिगत तथा कन्सल्टेन्सी अथवा ट्राभल एजेन्सीबाट ठगिने क्रम बढ्दो रहेको विभागका महानिर्देशक मदन दाहालले बताए ।

इजाजतपत्रवालाविरुद्ध परेको उजुरीमा विभागले नै अनुसन्धान गर्छ र त्यहीँबाट निर्णय गर्छ । उक्त निर्णयविरुद्ध श्रम मन्त्रालयमा पुनरावेदन हुन्छ । वैदेशिक रोजगारीमा हुने ठगीमा पीडितहरूलाई पिपुल फोरमले निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको छ ।

व्यक्तिगत मुद्दाको हकमा विभागलाई अनुसन्धान गर्ने अधिकारमात्र हुन्छ । उजुरी परेपछि कानुनले मेलमिलाप गर्न समय दिएको हुन्छ । उजुरीपछि दुवै पक्ष सहमत भएर आउँछन् भने मेलमिलापको विकल्प दिएको परियोजना संयोजक देवकोटाले बताए ।

कति छन् उजुरी ?

वैदेशिक रोजगारीमा हुने ठगीका घटना दिन प्रतिदिन बढ्दो क्रममा छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्रै ४ हजार ४६४ ठगीमा उजुरी परेका थिए । चालु आर्थिक वर्षको एक महिनामा मात्रै ६६६ उजुरी परेको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी कविराज उप्रेतीले गत आर्थिक वर्ष २०७९/०८० मा १ हजार ४२८ संस्थागत अर्थात् मेनपावर व्यवसायीबाट ठगीको उजुरी परेको बताए । व्यक्ति, एजेन्ट तथा अन्य माध्यमबाट ३ हजार ३६ उजुरी परेको उनको भनाइ छ ।

यो आर्थिक वर्षको साउन महिनामा मेनपावर व्यवसायीबाट ठगिएको भन्दै ७० उजुरी परेका थिए । तीमध्ये २२ उजुरी फर्स्यौट भइसकेको विभागले जनाएको छ । साउन महिनामै व्यक्तिगत ठगीका ५९६ उजुरी परेका छन् ।

गत वर्ष ठगीका उजुरीबाट ५५ करोड ६१ लाख ३७ हजार ५०३ रुपैयाँ बराबरको क्षतिपूर्ति माग दाबी गरिएको थियो । यो वर्षको साउन महिनामा १ करोड ६३ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति माग दाबी गरिएको विभागले जनाएको छ ।

माग प्रमाणीकरण नहुँदा युरोपमा ठगी बढ्यो : अध्यक्ष भण्डारी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले माग प्रमाणीकरण नहुँदा युरोपतिर ठगीका घटना बढेको बताए । संस्थागत रूपमा पठाइएका ४० हजारभन्दा बढी डिमाण्ड प्रमाणीकरण नहुँदा व्यक्तिगत रूपमा जाने क्रम बढेको र सोही आधारमा ठगीका घटना बढिरहेको उनको भनाइ छ ।

‘हामीले भन्दै आएको माग प्रमाणीकरण भएन । संस्थागत रूपमा आएका डिमाण्ड प्रमाणीकरण नभएको तर, व्यक्तिले भने आफन्त भन्दै प्रमाणीकरण गर्ने गरेको देखिन्छ । यसले ठगीका घटना बढिरहेका छन्,’ अध्यक्ष भण्डारीले भने ।

व्यवसायीका माग प्रमाणीकरण नभएपछि यसको फाइला बिचौलियाहरूले लिने गरेको उनको भनाइ छ । युरोपतिर व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरूको संख्या बढ्दो क्रममा रहेको भन्दै उनले भने, ‘संस्थागत रूपमा पठाएका माग प्रमाणीकरण हुन सकेको छैन । व्यक्तिगत श्रम स्वीकृति लिएर जाने क्रम बढिरहेको छ । यसमा बिचौलियाहरूले मनलाग्दी पैसा लिइरहेका हुन्छन् । १०० मा १ जना जान पाउँछन् । अरू ९९ जना ठगीमा पर्छन् ।’

माग प्रमाणीकरणको लफडा 

वैदेशिक रोजगार ऐन २०६४ को दफा १५ अनुसार अनिवार्य रूपमा माग प्रमाणीकरण गर्नुपर्छ । त्यसका लागि सम्बन्धित देशमा रहेको दूतावासबाट माग प्रमाणीकरणको काम हुँदै आएको छ । सीमित जनशक्ति तथा दूतावासको अभावमा माग प्रमाणीकरणमा ढिलाइ हुने गरेको छ । यो समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बेला उक्त दफा संशोधन गर्ने निर्णय गरेका थिए ।

वैदेशिक रोजगार विभागमा गठन गरिने कार्यदलले समेत माग प्रमाणीकरण गर्ने उल्लेख थियो । सोही आधारमा श्रम मन्त्रालयले ‘मागपत्र जाँचबुझ निर्देशिका २०७५’ मा आवश्यक रायका लागि भन्दै परराष्ट्र मन्त्रालयमा पठाएको थियो । जसमा हालसम्म समेत राय दिन सकेको छैन ।

यसमा दुई सरकारी निकायबिच लफडा देखिएको छ । परराष्ट्र मन्त्रालयले राय दिएर पठाइसकेको जनाएको छ । तर, श्रम मन्त्रालयले भने अझै नआएको बताएको छ ।

राय नदिँदा संशोधन गर्न ढिलाइ भइरहेको र माग प्रमाणीकरणको काममा समेत ढिलाइ भइरहेको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप