बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
लागूपदार्थ ओसारपसार

हुलाकबाट गाँजा सप्लाई, गण्डकीमा दुर्व्यसनीको ग्राफ बढ्दो

बुधबार, १३ मङ्सिर २०८०, ०८ : ४०
बुधबार, १३ मङ्सिर २०८०

पोखरा । गत भदौ २५ गते अमेरिका पठाउने ठेगानाबाट एउटा कार्टुन हुलाक मार्फत नेपाल आयो । उक्त कार्टुन ड्रोथी ह्यारिसले पठाएका थिए भने उक्त सामान पोखरामा भएका सावन गर्जले पाउनुपर्ने थियो । सबै नामहरू फेक थिए । 

लेकसाइडको ओम शान्ति हेयर सैलुनको ठेगाना लेखेर पठाइएको कार्टुन शङ्का लागेपछि हुलाक कार्यालयले नै चेकजाँच गरिदिन प्रहरीलाई पत्र पठायो र उक्त कार्टुन खोलेर हेर्दा खरानी रङ्गको सोभनियरबाट १ किलो ४ सय ग्राम गाँजा बरामद भयो ।

त्यसपछि प्रहरीले गज्जबको जुक्ती लगायो, उक्त कार्टुनमा छुट्टै चिज हालेर प्याक गरी पठाइयो । यो सामान क्षेत्रीय हुलाक कार्यालय पोखराले डेलिभरी गर्नुपर्ने थियो । सामान लिएर सम्बन्धित व्यक्ति खोज्दै जाँदा भदौ २७ गते हुलाक कार्यालय छेउबाटै भारत केरलाका २४ वर्षीय अजिन भारगेस पक्राउ परे । उनलाई सोधपुछ गर्दा उक्त गाँजा आफैले मगाएको स्विकारे । उनी बस्ने कोठा छानबिन गर्दा थप ७ सय २० ग्राम गाँजा भेटियो । उनको कोठामा डिजिटल तराजु राखिएको थियो ।

भारतको गोवामा उनीसँग भेट भए क्यानडाका चिक्कु । चिक्कु २ दिन उनीसँगै गोवामा बसेर क्यानडा फर्किए । त्यसपछि उनीहरुबीच सामाजिक सञ्जाल (विकर) मा कुराकानी हुन थाल्यो । विकर नेपालमा चल्दैन । त्यसैले उनले पोखरामा बस्दा पनि भारतीय सीम चलाउँथे । उनीहरू भेट्दा क्यानडामा गाँजा प्रतिबन्ध नभएको कुरा भएको थियो । कुरा हुँदै गएपछि चिक्कुले उनलाई गाँजा पठाइदिने भने । त्यसपछि उनले लोकेसन र आफ्नो केटी साथीको मोबाइल नम्बर फरवार्ड गरिदिए । त्यही लोकेसनमा चिक्कुले गत चैततिर हुलाक मार्फत गाँजा पठाइदिएका थिए । हुलाक कार्यालयबाट गाँजा लगेर उनले कोठामा राखे ।

जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्याङ्क हेर्दा धेरै मुद्दा मध्ये लागू पदार्थ दुर्व्यसनी सम्बन्धी पर्छ । गत आर्थिक वर्ष २०७९-०८० मा जिल्लाभर १ सय २ वटा लागूपदार्थ दुर्व्यसनी सम्बन्धी मुद्दा दर्ता भयो । १ सय ५३ जना पक्राउ पनि परे । ३ जना विदेशी महिला थिए ।

फेरि असार तिर पनि थप गाँजा हुलाक मार्फत आयो । उनले उसैगरी हुलाक कार्यालयबाट गाँजा लिए । उसैगरी भदौमा पनि गाँजा उनलाई हुलाक मार्फत नै पठाइएको थियो । तर यसपटक उनी फन्दामा परे । हुलाक मार्फत गाँजाको कारोबार गर्ने उनी मात्रै होइनन् । यस्ता घटनाहरूको सूचना आइरहेको र बेलाबेलामा आफूहरूले खानतलासी समेत गर्दै आएको प्रहरीले जनाएको छ ।

अजिनलाई मङ्सिर ८ गते कास्की जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । उनी अहिले कारागारमा छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्याङ्क हेर्दा धेरै मुद्दा मध्ये लागू पदार्थ दुर्व्यसनी सम्बन्धी पर्छ । गत आर्थिक वर्ष २०७९-०८० मा जिल्लाभर १ सय २ वटा लागूपदार्थ दुर्व्यसनी सम्बन्धी मुद्दा दर्ता भयो । १ सय ५३ जना पक्राउ पनि परे । ३ जना विदेशी महिला थिए । गत वर्ष सबैभन्दा धेरै बुप्रिनर्फिन २ हजार ५ सय २६ थान, डाइजापाम २ हजार ७ सय ३१ थान, फेनरागन २ हजार ५ सय ४८ थान बरामद भयो । फेनरागन एण्टी एलर्जीको औषधी हो । डाईजापाम निन्द्रा लाग्ने र बुप्रिनर्फिन दुखाई कम गराउनका लागि प्रयोग हुन्छन् ।

तर यी तीनवटै औषधी अहिले निषेधित छन् । सुईबाट लागू औषध प्रयोग गर्नेमध्ये करिब ५ प्रतिशतलाई एचआइभी सङ्क्रमण सर्ने जोखिम हुन्छ ।

गाँजा ४१ किलो, नाइट्रोभ्याट ५ सय ८ चक्की, ब्राउन सुगर करिब ८६ ग्राम, चरेस ३ किलो बरामद भएको तथ्याङ्क छ । त्यसअघिको वर्ष २ सय ४२ मुद्दा दर्ता हुँदा ३ सय ५२ जना पक्राउ परे । तीमध्ये ५ जना विदेशी छन् । चालू वर्षको हालसम्म कास्कीमा २१ वटा मुद्दा दर्ता भएको छ । ६३ जना पक्राउ परिसकेका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । 

गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९-०८० मा ११ जिल्लाबाट विभिन्न ४४ प्रकारका लागू पदार्थ ४० हजार १ सय ४५ थान बरामद भएको तथ्याङ्क छ । १ सय ५६ किलो गाँजा, करिब ४ किलो चरेस, ७१ ग्राम हिरोइन पनि बरामद भएको छ । अघिल्लो वर्ष २०७८-०७९ मा ४० प्रकारका आधुनिक लागू पदार्थ ३८ हजार ७ सय २ थान बरामद भएको थियो । ३ सय २३ किलो गाँजा, २० किलो चरेस, ४६ ग्राम हिरोइन बरामद भयो । चालू वर्षको हालसम्म ४५ प्रकारका लागूपदार्थ फेला परेका छन् । पहिलो ४ महिनामै १३ हजार ४ सय ३ थान बरामद भैसकेको गण्डकी प्रहरीले जनाएको छ । ४१ किलो गाँजा, ५२ ग्राम हिरोइन र ५ किलो अफिम पनि बरामद गरिएको एसएसपी शारदा प्रसाद चौधरीले जानकारी दिए ।  

२०७६ को सर्वेक्षण अनुसार गण्डकीमा ८ हजार ९ सय ५६ जना लागूपदार्थ प्रयोगकर्ता छन् । तीमध्ये ७ हजार ९ सय ६८ पुरुष र ९ सय ८८ महिला छन् । ५२ प्रतिशत प्रयोगकर्ता १५ देखि २४ वर्ष उमेर समूहका छन् भने ४२ प्रतिशत २५ देखि ३५ वर्ष उमेरका छन् ।

प्रदेशभरी आव २०७८-०७९ मा ४ सय ९ मुद्दामा ५ सय ७३ जना पक्राउ परे । तीमध्ये ७ जना भारतीय थिए भने अरु नेपाली थिए । आर्थिक वर्ष २०७९-०८० मा ३ सय १८ मुद्दामा ४ सय ६१ जना पक्राउ परे । ७ जना नै विदेशी थिए भने अरु नेपाली हुन् । चालू वर्षमा हालसम्म ८१ मुद्दाबाट १ सय २९ जना पक्राउ परेका छन् । ४ जना भारतीय छन् । आँकडा हेर्दा लागू पदार्थ दुर्व्यसनी घटेजस्तो देखिन्छ । तर दुर्व्यसनी नभई परम्परागत कारोबार घटेको जानकारहरू बताउँछन् । ‘आजभोलि मेडिकलबाट लागू औषधहरू दुरुपयोग हुन थालेको छ । दुर्व्यसनी घटेको छैन, बरु बढेको छ,’ यही क्षेत्रका जानकार भन्छन्, ‘परम्परागत कारोबार र दुरुपयोग चाहिँ केही कम भएको देखिन्छ ।’ यसले पनि गण्डकीमा लागू औषध दुर्व्यसनी भयावह रहेको सङ्केत गर्छ ।

२०७६ को सर्वेक्षण अनुसार गण्डकीमा ८ हजार ९ सय ५६ जना लागूपदार्थ प्रयोगकर्ता छन् । तीमध्ये ७ हजार ९ सय ६८ पुरुष र ९ सय ८८ महिला छन् । ५२ प्रतिशत प्रयोगकर्ता १५ देखि २४ वर्ष उमेर समूहका छन् भने ४२ प्रतिशत २५ देखि ३५ वर्ष उमेरका छन् । ३१ प्रतिशत प्रयोग कर्ता प्लस टू पढ्ने विद्यार्थी हुन् । ३० प्रतिशत प्रयोगकर्ताको परिवार जागिरमा छन् भने २५ प्रतिशतको परिवार व्यापारमा छन् । २१ प्रतिशत प्रयोगकर्ता विभिन्न खालको सरुवा रोगबाट पीडित रहेको तथ्याङ्क निकालिएको छ ।

दुर्व्यसनीको लत छुटाउन गण्डकी प्रदेशमा १९ वटा उपचार केन्द्रहरू छन् । ७ सय ३० जना उपचारका क्रममा छन् । १९ मध्ये २ वटा महिला पुनः स्थापना केन्द्र सञ्चालनमा छन् । पोखरा र गण्डकीमा इन्जेक्सनजन्य सबै लागू औषध भारतबाट नेपाल भित्रिन्छन् । विशेष गरी सुनौली, नवलपुरको छोटी भन्सार, वीरगन्ज, नेपालगन्ज नाकाबाट यस्ता लागू पदार्थ नेपाल आउँछन् । नेपालबाट चाहिँ गाँजा, चरेस, अफिम लगायत लागू पदार्थ निर्यात हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप