हटाइएका कर्णालीका उपसचिव शाहीले शंकर पोखरेललाई दिए यस्तो चेतावनी
सुर्खेत । मंगलबार नेकपा एमाले महासचिव शंकर पोखरेलले निर्णय गरेर पठाएको पत्रले एमाले कर्णालीमा विवाद उत्पन्न भएको छ ।
गत असोजमा प्रदेश अधिवेशनबाट निर्वाचित उपसचिव रमेश शाहीलाई हटाएर उनैसँग पराजित पद्मा खड्कालाई जिम्मेवारी दिएपछि नेता, कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
महासचिव पोखरेलले प्रदेश कमिटीलाई पत्र लेख्दै केन्द्रीय सचिवालयको गत कात्तिक २२ गतेको बैठकले उक्त निर्णय गरेको भन्दै पत्राचार गरेका थिए ।
प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीमा महिला आरक्षण हुन सकेको थिएन । महिला कोटा हुनुपर्ने दाबीसहितको निवेदन परेपछि सचिवालय बैठकले उक्त निर्णय गरिएको पत्रमा उल्लेख छ ।
तर, जोसँग पराजित व्यक्ति हो उसैलाई उपसचिवको जिम्मेवारी दिएपछि नेता, कार्यकर्ताहरू दुई भागमा विभाजन भएका छन् । हटाइएका उपसचिव शाहीले महासचिव शंकर पोखरेललाई विधान र निर्वाचन प्रक्रिया गहन रूपमा बुझ्न चेतावनी दिएका छन् ।
उनले पोखरेलको उक्त निर्णयको विरोध जनाएका छन् । उनले भनेका छन्, ‘विधान र विधि म २०४८ सालबाटै बुझेर नेकपा एमालेको नेता भएर बसेको एक सिपाही हुँ । एमालेको लामो समय जिल्ला कमिटी सदस्य, २ पटक सचिवालय सदस्य, जिल्ला पार्टी उपाध्यक्ष, जिल्ला अध्यक्ष, प्रदेश कमिटी सदस्य प्रदेश कमिटी सचिवालय सदस्य हुँदै प्रथम कर्णाली प्रदेश अधिवेशनबाट उपसचिव पदमा निर्वाचित भएको हुँ । पार्टीको विधान र विधि राम्रोसँग बुझेकै छु र हालसम्म कार्यान्वयन गर्दै र गराउँदै आएको छु । बरु विधान र निर्वाचन प्रक्रियालाई गहन रूपमा बुझ्न आदरणीय महासचिव कमरेडलाई अनुरोध गर्दछु ।’
निर्वाचनमा दाबी विरोधको पनि व्यवस्था गरिएको र कसैले पनि दाबी विरोधको निवेदन नदिएको उनको भनाइ छ ।
निर्वाचनको कलस्टरको छलफल निर्वाचन गराउनु भन्दा अगाडि फाइनल हुन्छ । ‘हाम्रो पार्टीमा कि त विधानले उल्लेख गर्छ कि त बन्दसत्रको हलले,’ उनले भनेका छन्, ‘जे निर्वाचनलाई निर्णय गरेर दियो त्यही निर्वाचन कलस्टर अनुसार निर्वाचन हुन्छ । यी सबै कुरालाई पालना गर्दै अधिवेशनबाट म लगायत पदाधिकारी र सदस्य निर्वाचित भएका हौँ । हामी मनोनीत भएका होइनौँ ।’
उक्त कुरा पार्टी महासचिवले निर्णय गर्दा हेक्का राख्नुपर्ने उनको भनाइ छ ।
‘पार्टीको विधान एकै हो जस्तो मलाई लाग्छ तर, केन्द्रीय पार्टीको विधान एउटा, प्रदेश पार्टीको विधान एउटा र जिल्ला पार्टीको विधान एउटा हुन्छ जस्तो मलाई लग्दैन,’ शाही भन्छन् । विधानको पालना सबैले गर्नु पर्छ होला नि भन्दै प्रश्न समेत गरेका छन् ।
अधिवेशनमा निर्वाचन कमिटीले विजय घोषण गरी प्रमाणपत्र प्रदान गरेर शपथ गराइसकेको अवस्थामा पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णय भन्दै पदाधिकारी परिवर्तन गरेको निर्णय विधान र निर्वाचन प्रक्रियाको विपरीत भएको उनको दाबी छ ।
महासचिव पोखरेलको उक्त निर्णयको घोर भर्त्सना गरेका छन्, उनले । तत्काल निर्णय बदरका लागि केन्द्रीय पार्टी उनले अनुरोध समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘के तपाईंले मेरो देवता देख्नुभयो’ को पहिलो प्रदर्शन गरियो
-
गुठी संस्थानको अतिक्रमणमा परेको जग्गा प्रदेशको मातहतमा ल्याइन्छ : मुख्यमन्त्री सिंह
-
इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण
-
पशुपतिमा नवरात्रि महोत्सव सुरु
-
नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा बाढी पहिरो पीडितका लागि सहयोग
-
१० बजे, १० समाचार