बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग

बिहीबार, ११ असार २०८३, ०७ : ४५
बिहीबार, ११ असार २०८३

सारांश

  • चुरे तथा वनजंगल संरक्षण अभियानले डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहको सरुवा कार्यान्वयन गर्न माग गरेको छ।
  • अभियानले रौतहट वन क्षेत्रका अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न र बर्दिबास घटनाका दोषीलाई कारबाही गर्न पनि माग गरेको छ।
  • माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ।

जनकपुरधाम । डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहको सरुवा भएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि निर्णय कार्यान्वयन नभएको भन्दै चुरे तथा वनजंगल संरक्षण अभियानले तत्काल कार्यान्वयनको माग गरेको छ।

अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले बुधबार मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालय, जनकपुरधाममा ज्ञापनपत्र बुझाउँदै सरुवा आदेश अविलम्ब कार्यान्वयन गर्न आग्रह गरेका हुन्। उनले मन्त्रालयलाई बुझाएको ध्यानाकर्षण पत्रमा सरुवा निर्णय समयमै कार्यान्वयन नहुनुले मन्त्रालयका निर्णयहरू कागजी र प्रभावहीन बन्दै गएको सन्देश प्रवाह भएको आरोप लगाएका छन्।

ज्ञापनपत्रमा रौतहट वन क्षेत्रमा भएका विभिन्न अनियमितता तथा घटनाबारे गठित छानबिन समितिहरूले प्रतिवेदन बुझाइसक्दा पनि सार्वजनिक तथा कार्यान्वयन नगरिनु शंकास्पद रहेको उल्लेख गरिएको छ। साथै महोत्तरीको बर्दिबास–कालापानी क्षेत्रमा वन अतिक्रमण नियन्त्रणका क्रममा वन कर्मचारी श्वेता झा, समुनु श्रेष्ठलगायत सात जना कर्मचारीलाई ६ देखि ७ घण्टासम्म बन्धक बनाउने तथा सरकारी गाडी जलाउने जस्ता घटनाका दोषीहरूलाई कानुनी दायरामा ल्याउन नसकिएकोप्रति पनि अभियानले गम्भीर आपत्ति जनाएको छ।

अभियानले आफ्नै मातहतका कर्मचारीमाथि भएको अमानवीय घटनाप्रति मन्त्रालय मौन बसेको भन्दै त्यसलाई अस्वीकार्य रहेको जनाएको छ।

ज्ञापनपत्रमार्फत अभियानले तीनबुँदे माग अघि सारेको छ। मागहरूमा हेमन्त प्रसाद साहको सरुवा आदेश कार्यान्वयन गरी तत्काल प्रदेशमा हाजिर गराउने तथा रौतहटमा नयाँ डिभिजनल वन अधिकृत खटाउने, रौतहट वन क्षेत्रसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्ने तथा महोत्तरीको बर्दिबास–कालापानी घटनाका दोषीहरूलाई कानुनी कारबाही गरी पीडित वन कर्मचारीहरूलाई न्याय दिनुपर्ने रहेका छन्।

अभियानले आफ्ना मागहरू यथाशीघ्र सम्बोधन नगरिए सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।

ध्यानाकर्षण पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय महोत्तरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाम, गृह मन्त्रालय सिंहदरबार काठमाडौं तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँमा समेत पठाइएको छ।

1000227244

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप