बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाढी पहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति

बिहीबार, ११ असार २०८३, १० : २३
बिहीबार, ११ असार २०८३

सङ्खुवासभा  ।  यही असार ८ गते आएको बाढीबाट मकालु गाउँपालिकामा निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ ।

अविरल वर्षासँगै आएको बाढी मकालु–२ मा निर्माणाधीन ४५ मेगावटको कसुवाखोला जलविद्युत् आयोजनाको ड्यामसाइटमा बाढी पसेर ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

बाढीले निर्माण कम्पनी माउण्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर, मिक्सचर, कङ्क्रिट पम्प मेसिन, ६० टन रड ५०० बोरा सिमेन्ट बाढीले बगाएको कम्पनीका म्यानेजर दीपक महतोले बताए ।

त्यस्तै इसुवा हाइड्रोपावरलाई पनि बाढीले क्षति पुर्याएको छ । सताङदेखि ड्याम साइट जाने मोटरबाटोको करिब दुई किलोमिटर क्षेत्रमा ठाँउ ठाँउमा पहिरो गएको छ ।

आयोजनाका १०० मिलिमिटर व्यासका दुई वटा पाइप पहिरोले बगाएको छ भने बिछ्याइएका करिब २०० मिटर पाइपमा क्षति पुगेको छ ।

पहिरोले दुई घर र एक विद्यालय जोखिममा

पहिरोले मकालु गाउँपालिका–१ मा दुइ घर जोखिममा परेका छन् । पहिरोले मकालु–१ मयुमका आङटेम्बा शेर्पा र सानु शेर्पा घर जोखिममा परेको प्रहरी निरीक्षक राजवंशीले बताए । पहिरोले सिंहेश्वरी आधारभूत विद्यालय पनि जोखिममा परेको छ ।

बाढीले नुर्वुचौर र नुर्वु गाउँ जोड्ने इसुवाखोलाको झोलुङ्गे पुल बगाएको छ भने नुर्वु खोल्सीमा रहेको सार्वजनिक पानीघट्टा तथा चार वटा काठेपुल बगाएको छ ।

पुल बगाएपछि स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ । पहिरोका कारण सयौँ रोपनी अलैँचीबारी र खेतीयोग्य जमिनमा पनि क्षति पुगेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप