बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरसहित ३ स्थानीय तहले समयमै ल्याउन सकेनन् बजेट

बुधबार, १० असार २०८३, २१ : ३९
बुधबार, १० असार २०८३

जनकपुरधाम । धनुषाका १८ स्थानीय तहमध्ये १५ स्थानीय तहले कानुनले तोकेको समयसीमाभित्र नगरसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गरेका छन्। 

तर, जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिकाले विभिन्न कारण देखाउँदै असार १० गतेभित्र नगरसभा गर्न सकेनन्।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र नीति तथा कार्यक्रम तथा बजेट नगरसभामा पेस गर्नुपर्ने व्यवस्था रहे पनि यी तीन स्थानीय तह उक्त समयसीमा पालना गर्न असफल भएका हुन्।

धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरी कुल १८ स्थानीय तह छन्। तीमध्ये गणेशमान चारनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मिनियाँ गाउँपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका, सबैला नगरपालिका, शहीदनगर नगरपालिका, जनकनन्दिनी गाउँपालिका, मिथिला बिहारी नगरपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका, हंसपुर नगरपालिका र धनौजी गाउँपालिकाले समयमै नगरसभा सम्पन्न गरेका छन्।

बजेट प्रस्तुत गर्ने स्थानीय तहमध्ये मिथिला नगरपालिकाले ९१ करोड रुपैयाँ, क्षीरेश्वरनाथ नगरपालिकाले ७८ करोड रुपैयाँ, सबैला नगरपालिकाले ७७ करोड ७ लाख रुपैयाँ र शहीदनगर नगरपालिकाले ६५ करोड ८० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। धनौजी गाउँपालिकाले ६० करोड ६५ लाख रुपैयाँ, धनुषाधाम नगरपालिकाले ५७ करोड २० लाख रुपैयाँ तथा हंसपुर नगरपालिकाले ५५ करोड रुपैयाँको बजेट ल्याएका छन्।

यता, जनकपुरधाम उपमहानगरपालिकाले नगरप्रमुख जिल्लाबाहिर रहेको कारण नगरसभा हुन नसकेको जनाएको छ। विदेह नगरपालिकाले अघिल्लो आर्थिक वर्षको फर्छ्योट तथा प्रशासनिक जटिलतालाई कारण देखाएको छ भने कमला नगरपालिकाले चाँडै बैठक बसेर नगरसभाको नयाँ मिति तय गरिने जनाएको छ।

धनुषाका अधिकांश स्थानीय तहले समयमै बजेट र कार्यक्रम सार्वजनिक गरे पनि तीन स्थानीय तहमा नगरसभा हुन नसक्दा आगामी आर्थिक वर्षका योजना तथा बजेट कार्यान्वयन प्रभावित हुन सक्ने देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप